पूर्वअधिराजकुमार धीरेन्द्र शाहकी ‘छोरी’ नागरिकताविहीन, वडाध्यक्ष भन्छन्– प्रमाण नै पुग्दैन

काठमाडौं । २०४५ साल असार २ गते काठमाडौंको टिचिङ अस्पतालमा जन्म लिएकी श्रेया शाहको उमेर ३० वर्ष पुग्दैछ, तर उनीसँग नेपालको नागरिकता छैन । श्रेयाले उनकी आमा जया शाह (पाण्डे) को नामबाट नागरिकता पाउँछिन्, तर पिताको नामको स्थानमा अज्ञात (अननोन) लेखाउन आमा–छोरीको मनले दिँदैन । नेपालको पूर्व राजपरिवारको कूलमा जन्मिएकी एक युवतीले कसरी बाबुको पत्तो नभएको भन्ने आधिकारिक प्रमाणपत्र बुझ्नु ?

यो विषय धेरैपटक पत्रपत्रिकामा आइसकेको छ, तर यसले कुनै समाधान पाएको छैन । पूर्वअधिराजकुमार धीरेन्द्र शाहले राजा वीरेन्द्र जिवितै हुँदा आफ्नो अधिराजकुमारको पदवी त्याग गरेर तत्कालिन बडामहारानी ऐश्वर्यकी बहिनी र धीरेन्द्रकी पहिलो पत्नी प्रेक्षा शाहसँग सम्बन्ध टुटाएका थिए । त्यसपछि उनले जया पाण्डेसँग विवाह गरे । धीरेन्द्र तथा जया शाहको वैवाहिक सम्बन्धको उपहारस्वरुप जन्म लिएकी श्रेया शाह भने अहिले नागरिकता नपाएर भौंतारिरहेकी छिन् ।

राजपरिवारमा जन्म लिनु नै उनको लागि अभिशापजस्तो भएको छ । तर, आफ्नो आमाको वैवाहिक सम्बन्धको उपहास गर्ने र आफूलाई औपचारिक रुपमा सधैं प्रताडित गर्ने बाबुको नाम अज्ञात लेखिएर दिइने नागरिकता पनि उनलाई स्वीकार्य छैन ।

जया भन्छिन्: “छोरी त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा जन्मिएकी हुन्, जसको जन्मदर्ता प्रमाणपत्र पनि मसँग छ ।”

त्यतिमात्र होइन, राजपरिवारका अधिकांश सदस्यको २०५८ जेठ १९ गते नरसंहार अघि नै उनले बनाएको पासपोर्टमा उनको बुवाको नाम धीरेन्द्र शाह भनेर लेखेर सरकारले नै दिएको छ । तर त्यसबेलाकी सर्वशक्तिमान र धीरेन्द्रसँग रिसाएकी बडामहारानी ऐश्वर्यको कोपभाजनको शिकार हुनुपर्ने डरले उनीहरू तुरुन्तै नेपाल छाडेर अमेरिकामा बसोबास गर्न थाले । त्यसबेला बिहे दर्ताको प्रमाणपत्र लिने कुरामा ध्यान पुगेन र अहिले आएर अनेक सामाजिक र राजनीतिक षड्यन्त्रको शिकार बन्न पुग्यो श्रेयाको नागरिकताको प्रश्न ।

“१९८८ को जुन १६ मा मेरी छोरीको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा जन्म भएको हो,” जया शाहले भनिन्, “डा. सुपात्रा कोइरालाले नै मेरो अपरेसन गरेर बच्चा निकाल्नुभएको हो । अस्पतालले लेखिदिएको कागजमा बुबाको नाम धीरेन्द्र वीरविक्रम शाह भनेर लेखिएको छ । त्यसबेला डा. भोला रिजाल, त्यहाँका सुपरिटेन्डेन्ट सानुमैया दली सबैजना अपरेसनमा हुनुहुन्थ्यो ।”

पारिवारिक अंशबण्डाको विषयमा जिल्ला अदालतले गरेको फैसलाले श्रेया धीरेन्द्रकी छोरी प्रमाणित हुन नसक्ने भन्दै काठमाडौं महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष दीपक केसीले सिफारिस दिन नमिल्ने बताएपछि अहिले उनी नागरिकताविहीन भएकी छन् ।

आमाको नामबाट नागरिकता लिँदा बाबुको नाम ‘पहिचान नभएको’ उल्लेख गर्नुपरेपछि उनले त्यो खालको नागरिकताले आफू र आफ्नो छोरीलाई ‘आत्मग्लानी’ हुने भन्दै श्रेया शाहकी आमा जया शाहले बाह्रखरीसँगको कुराकानीमा भनिन्, “बरु बाबुको विषयमा केही नलेखे पनि हुन्छ । तर ‘अननोन’ भनेर कसरी लेख्ने ? त्यो मेरो मनले कसरी मान्न सक्छ ? बाबुको नाम नतोकी दिन मिल्छ कि भनेर कोसिस पनि गरेँ तर तर बुबाको नाम ‘अननोन’ लेख्नुपरेपछि एउटी नारीको लागि त्योभन्दा ठूलो अपमान के हुन्छ ? मैले त्यो अपमान कसरी सहन सक्छु ?”

अमेरिकामा रहेकी जया शाहले छोरीको नागरिकताका लागि आफूले पाएको दुःख बाह्रखरीसँग (उनकै शब्दमा) यसरी व्यक्त गरिन् –

दरबार हत्याकाण्ड हुँदा हामी अमेरिकामै थियौं । दरबार हत्याकाण्ड हुनासाथ हामी नेपाल फर्किने तयारीमा थियौं । तर, धेरैजना आफन्त (घर र माइतीतर्फका)ले नै अहिले नेपालको अवस्था राम्रो छैन, तिमीहरुलाई पनि जे पनि हुन सक्छ, देशको स्थिति अलि सहज भएपछि फर्किँदा हुन्छ भनेर सम्झाउनुभयो ।

नेपाल आउने र परिवारमा परेको दुःखमा सहयोग गर्ने मन हुँदाहुँदै पनि आउन सकिएन ।

मैले यो देश (अमेरिका) मा पनि गैरकानुनी रुपमा बस्न त मिलेन । त्यसैले मैले यहाँ बस्नको लागि हत्याकाण्डको बारेमा जानकारी गराउँदै अहिले म तत्काल नेपाल फर्किन चाहन्न, यहाँ बस्न पाउँ भनेर वकिलमार्फत् निवेदन दिएँ । उनीहरुले सबै अनुसन्धान गरे । हाम्रो बारेमा बुझे ।

सबै बुझिसकेपछि हामीलाई अमेरिकामा बस्ने अनुमति दिइयो । ग्रीनकार्डका लागि प्रक्रियामा पनि राखिदियो । त्यो पाउन हामीले दश वर्ष पर्खिनुपर्यो । वर्क परमिट र सोसल सेक्युरिटी कार्ड तत्काल पाइयो तर ग्रीनकार्ड नपाउँदासम्म घुम्न नपाइने, देशबाहिर निस्कन नपाउने व्यवस्था रहेछ । नेपाली पासपोर्ट ५ वर्षमा रिन्यु भइरहेकै थियो ।
पोहोरसाल पासपोर्टको म्याद सकिएर रिन्यू गर्न र एमआरपी पनि बनाउनुपर्यो भनेर हामी आमाछोरी न्युयोर्क गयौं । न्युयोर्कमा जाँदा मलाई तपाईँको नागरिकता रहेछ, तपाईँलाई एमआरपी दिन मिल्छ तर छोरीको नागरिकता नभएका कारण उनलाई दिन मिल्दैन । पहिले नागरिकता बनाउनू भनेर भन्नुभयो ।

अनि मैले नेपाल नै जाऊँ, त्यहीँबाट नागरिकता र र एमआरपी बनाउँला भन्ने निर्णय गरेँ । छोरीका लागि ट्राभल डकुमेन्ट बनाइदियो । त्यही आधारमा छोरी नेपाल आएकी हुन् ।
त्यसको केही समयपछि म पनि नेपाल फर्किएँ । बुबा नभएपछि आमा नै छोरीको नागरिकता बनाउन लागिपरेँ । नागरिकता भयो भने सजिलो हुन्छ भनेर लागेँ । छोरी अक्टुबरमा नेपाल गएको र म जनवरीमा नेपाल पुगेको थिएँ । एकैदिनको काम त हो नि– सीडीओ कार्यालयमा गएर नागरिकता बनाउने र अर्कोदिन पासपोर्ट बनाउने त्यो सबै सकिन्छ भनेर छोरीको रिटर्न टिकट जनवरी ३० तारिखको बनाइएको थियो ।

त्यहाँ गएपछि जन्मदर्ता गर्नुपर्छ भनेर पहिला जन्मदर्ताको फर्म भर्यौं । बाउकै वडामा गर्नुपर्छ भनेर हामीलाई सुझाव दिइएपछि हामी ३ नम्बर वडामा पुग्यौं । त्यहाँ पुगेपछि अफिसको बाहिरपट्टी बसेका मान्छेले सबै कागजात हेरे । अनि भित्र जानुस् भनेर हामीलाई भित्र पठाए । भित्र पुग्दाखेरि दीपक केसी वडाध्यक्षसँग भेट भयो । उनले यसो हेरेर यो त हामीले केही पनि गर्न मिल्दैन भनेर ठाडै जवाफ दिए । मेरो फर्म भरिदिने व्यक्तिले वकालत पनि गर्नुहुन्छ नेपालमा । उहाँले दिनुपर्ने कागजात सबै छ भनेर भन्दा ‘तपाईं मेरो अफिसमा आएर कसरी काम गर्ने नसिकाउनुस्’ भन्दै वडाध्यक्ष दीपक केसी अलि झर्किनुभयो ।

दीपक केसीले हामीलाई ‘बर्थ सर्टिफिकेटमा त जसको नाम लेख्न पनि पाइन्छ नि’ भन्ने जस्तो कुरा गरे । त्यस्तो कुरा सुनेपछि वडाध्यक्ष कस्तो मान्छे रहेछन् भन्ने मैले थाहा पाएँ । एउटी आमालाई त्यो भन्दा ठूलो गाली अरु के हुन सक्छ ? छोरी जन्मिँदा बाबुको नाम जे राखे पनि हुन्छ भनेर भन्न मिल्छ उहाँले ?

मलाई त्यसबेला ‘तैँले अरु नै मान्छेको नाम लेखेर पनि आउन सक्छस् नि’ भन्नेजस्तो अपशब्द बोलेपछि त्यहाँ बस्नै मन लागेन । आफू निकै अपमानित भएको महसुस गरेँ । मेरो छोरी अलिकति भर्खरको भएको हुनाले यस्तो कुरा सुन्नेबित्तिकै चित्त बुझेन, उनी तत्काल कोठा नै छाडेर गइन् ।

केही नहोलाजस्तो लागेर हामी त्यहाँबाट निस्कियौं । कतिजनाले काठमाडौं ९ नम्बर वडाबाट पनि बनाउन सकिन्छ नि भनेपछि ९ नम्बर वडामा गएँ । त्यहाँ जाँदा ‘दिज्यू तपाईँको कागजात सबै रहेछ । नाबालक परिचयपत्र नै एक किसिमको प्रमाण हो । त्यो नागरिकता पाउनका लागि सजिलो हुने प्रमाण नै यही हो । हजुरको यही रहेछ गाह्रो हुँदैन भन्नुभयो । हामीले बुबाको नामबाट दिन मिल्दैन भनेर भन्नुभयो फेरि ।

साधारण व्यक्तिको भए हुन्थ्यो, यो हाइ प्रोफाइल पर्यो । बाबुकै नामबाट बनाउँदा राम्रो हुन्छ वडा नम्बर ३ मै जानुस् भनेर भन्नुभयो । बुबा धीरेन्द्र शाह भएको हुँदा यो विषय फेरि पनि उठ्न सक्छ भनेर नदिएको भन्ने हामीले सुन्यौं । हामीले पाएको म्यासेज पनि त्यही थियो ।

अरु मान्छे भएको भए एकैदिनमा हुन्थ्यो, तर धीरेन्द्रको हुँदा अलि अप्ठेरो भयो भन्छन् । जहाँ जाँदा पनि जसले भन्दा पनि त्यही भन्न थाले । त्यहाँबाट केही सिप लागेन ।

धीरेन्द्रको जेठी श्रीमती रानी ऐश्वर्यकी कान्छी बहिनी हो । उहाँसँग छोडपत्र भएपछि उहाँ (धीरेन्द्र) ले मेरो मुमा र बुबाहरुलाई म तपाईँको छोरी बिहे गर्न चाहन्छु भनेर हात माग्नुभएको हो । मेरो बुबाआमाले पनि मेरो छोरीलाई त्यत्तिकै लैजान मिल्दैन, विधिपूर्वक नै बिहा हुनुपर्छ भनेपछि १९८७ अप्रिल २१ मा दक्षिणकालीमा हाम्रो विवाह भएको हो ।

१९८८ को जुन १६ मा मेरो छोरीको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा जन्म भएको हो । डा. सुपात्रा कोइरालाले नै मेरो अपरेसन गरेर बच्चा निकाल्नुभएको हो ।

त्यसबेला डा. भोला रिजाल, त्यहाँका सुपरिटेन्डेन्ट सानुमैया दली सबैजना हुनुहुन्थ्यो । त्यहाँको स्टाफहरुले पनि हामीलाई राम्रो व्यवहार गर्नुभएको थियो । म त्यसबेला अस्पतालमा एक साताजति बसेको थिएँ । कृष्ण प्रजापति हुनुहुन्थ्यो । उहाँले पनि सहयोग गर्नुभयो ।

त्यसबेला नेपालको माहोलका कारण धीरेन्द्र शाह लन्डनबाट फर्किन पाउनुभएन । राजनीतिक कारण थियो त्यो । देशमा जनआन्दोलन चर्किने तयारी थियो, अन्य कारण पनि थिए ।
छोरी ६ महिनाकी हुने बेलामा उहाँ लन्डनबाट फर्किनुभएको हो । त्यसपछि उहाँ नेपालमा आएर पद त्याग गरेको घोषणा गर्नुभएको हो । त्यसबेला पहिलोपटक उहाँ नेपाल फर्किनुभएको हो ।

त्यसबेला रानी ऐश्वर्यका कारण छोरीको जन्म हुँदा पनि धुमधाम कार्यक्रम नगरिएको हो । उहाँसँग बच्नुपर्छ भन्ने समय थियो । बडामहारानी अलि आक्रोशित स्वभावको हुनुहुन्थ्यो । धुमधाम त्यही भएर नगरेको हो । उहाँ (धीरेन्द्र) नै देश छाडेर भाग्नुपर्ने अवस्था आएको थियो ।

उहाँको एडीसी भरत गुरुङ, आईजीपी डीबी लामाहरु सबै थुनुवामा पनि परे । उहाँ (धीरेन्द्र) देश नै छाडेर हिँड्नुपर्ने अवस्था आयो । हामी नै बाहिर बाहिर बस्यौं । त्यसैले पनि हामी आफ्नै तरिकाले सामान्य रुपमा नै बस्यौं ।

लन्डन जाँदा हामीले छोरीको पासपोर्ट बनाएका थियौं । त्यही पासपपोर्टका आधारमा हामी लन्डन गएको हो । तर अहिले जन्मदर्ता, पुरानो पासपोर्टलगायत कागजात पेस गर्दा पनि छोरीको नागरिकता बनाउन सकिएन । उल्टै अपहेलित हुने अवस्था आयो ।

किनकी दीपक केसी धीरेन्द्रको जेठी श्रीमतीतर्फका छोरीहरुसँग नजिक छन् भन्ने मैले पनि सुनेको हो ।

यस विषयसँग जोडिएको एउटा घटना छ । केही वर्ष पहिले हामी अमेरिकामै हुँदा मन्टी भन्ने रजत रानाले मलाई फोन गर्यो । ऊ मेरो दाइको छोराहरुको साथी थियो । साथी भनेर बेला–बेलामा पहिले हाम्रो घरमा पनि आउँथ्यो । दिज्यू मलाई चिनिबक्स्यो ? म अहिले राजबहादुरको लागि काम गरिरहेको छु । हजुरसँग एउटा विषयमा कुरा गर्नुपर्ने थियो भनेर भन्यो । मैले पनि के हो भन भनेर सोध्दा दरबार हत्याकाण्डमा स्वर्गीयहरु सबैको सम्पत्ति अधिग्रहण हुने भयो । धीरेन्द्रको पहिलो श्रीमतिबाट जन्मिएका सबै छोरीहरुको बिहे भइसक्यो । उनीहरुले दाबी गर्न मिल्दैन, अब हजुरहरुले नै दाबी गर्नुपर्ने हुन्छ भनेर भन्यो । मैले त्यो कुरामा त्यति चासो दिएकी थिइनँ ।

तर यो काम गर्नैपर्छ भनेर उनले भनेपछि मैले पनि के गर्नुपर्छ, म अहिले नेपाल आउन पनि सक्दिनँ भनेर भन्दा हामी नै सबै गरिदिन्छौं भनेर भन्नुभयो ।

अनि उनीहरुले हजुरले सरकारलाई मुद्दा दिने होइन, तीनवटा छोरीलाई नै मुद्दा दिने हो भनेर भने । अनि त्यो मुद्दा बाहिर आउनासाथ सरकारलाई पनि थाहा हुन्छ । हजुरहरुले सम्पत्ति  पाएपछि ३ भाग छोरीहरुलाई दिने दुई भाग हजुरहरुले राख्ने सर्त हो भनेर भन्यो । अनि मैले भनेँ– हुन्छ, त्यसो भए किन नहुने ?’ तर म मुद्दा लड्न तयार छैन भन्दा उनीहरुले सरकारले अधिग्रहण गर्ने चिज बचाउँदा सबैलाई फाइदा हुन्छ । अहिले कसैलाई वारेसनामा पठाइदिँदा हुन्छ भन्यो । हजुरको मुद्दा लिएको भन्दा राम्रो पनि देखिन्छ भनेपछि डीएचएल गरेर पठायो । मैले त्यही अनुसार गरेर पठाइदिएँ । हामी सबैको राम्रो हुन्छ भने गरौं न त भनेर मैले गरेको हो ।

तर उनीहरुको षड्यन्त्र रहेछ, त्यो कुरा मैले बुझिनँ । पछिमात्रै थाहा भयो । हामीलाई कोही पनि होइन, हामी चिन्दैनौं । हत्याकाण्डको ८ वर्षपछि श्रीमती बनेर कहाँबाट आएको ? विवाह गरेका छोरीहरुलाई पनि मुद्दा दिने पनि कहीँ हुन्छ ? भनेर यताउती भनेर हामीलाई सबै मिलेर ‘पागल’ नै बनाए । उनीहरुले नै मुद्दा हाले, उनीहरुले नै हराइदिए । त्यहाँ म उपस्थित हुनै सकिनँ । यो २०६८ सालको कुरा हो । अहिले दीपक केसीले अदालतले त्यसबेला गरेको फैसलाको आधारमा सिफारिस दिन मिल्दैन भन्ने तर्क निकालेका छन् ।
(मुद्दाको फैसलामा धीरेन्द्रकी श्रीमति र छोरी प्रमाणित हुन नसकेको उल्लेख छ)

अहिलेसम्म मैले नेपालको नागरिकता त्यागेकी छैन । मैले मेरो नामबाट पनि छोरीको नागरिकता दिलाउन तयार भएकी थिएँ । मेरै नामबाट नागरिकता देऊ न त भनेर पनि भनेँ ।
छोरी जन्मेर अहिलेसम्म श्रेया शाह भएर आएको मान्छे । मैले नागरिकता परिवर्तन गरेकी छैन । मेरो पासपोर्टमा जया पाण्डे शाह छ भने नागरिकतामा जया पाण्डेमात्रै छ ।

नागरिकता बिहेअघि नै निकालेको हो । मैले त्यसपछि परिवर्तन गरिनँ ।  मेरो नामबाट दिनुस् केही फरक पर्दैन भनेर मैले आग्रह गरेँ । तर त्यहाँ ‘फादर अननोन’ भनेर लेख्नुपर्छ रे !
अनि मैले भनेँ– यो अन्याय होइन र ? मैले त मेरो श्रीमान र उसको बुबालाई चिन्छु नि । म चरित्रहीन नारी त होइन नि । मैले ‘फादर अननोन’ भन्नुको अर्थ मैले अर्कै कोही व्यक्तिसँग रात बिताएँ, मैले गर्भधारण गरेँ भन्ने प्रश्न उठ्दैन त ? मैले मेरो छोरीलाई धोका दिन त सक्दिनँ । मैले धर्म छाडेको त छैन । मैले कसरी भन्न सक्छु बाउ ‘अननोन’ भनेर । मेरै नामबाट दिँदा पनि फरक पर्दैन तर बाउको नाम मेन्सन हुनुपर्यो । बाबु धीरेन्द्र शाह  थिए ।

ल, त्यो लेख्नै मिल्दैन भने बाबुको नाम नलेख तर अननोन भनेर लेखेको नागरिकता मैले छोरीलाई देऊ भनेर कसरी भन्न सक्छु ? बरु बाबुको नाम नतोक । बाबु ‘अननोन’ भन्ने शब्द नारीको लागि कति पीडादायी हुन्छ ? त्यो भन्दा ठूलो अपमान अरु के हुन्छ ?

छोरीलाई नागरिकताकै लागि श्रेया पाण्डे बनाउन पनि तयार छु । तर म नै जया शाह भइसकेँ । अहिलेसम्म उसका सबै डकुमेन्टमा श्रेया शाह छ । अब नागरिकता पाण्डे बनाउँदा उसलाई केही असर पर्न सक्छ । त्यो पनि सहन तयार तर बाबु अननोन उल्लेख गर्न तयार छैन ।

त्यसबेला राजपरिवारको भनेर होला, विवाह दर्ता पनि भएन । हामीले हिन्दू परम्पराअनुसार बिहे गरेका हौं । तर अहिले आएर यो विषय उठ्नु भनेको सबै हिन्दूहरुको अपमान होइन र ? ‘छोरीले बाउ खोज्नुअघि तिमीले पोइ खोज्नुपर्छ’ भनेर वडा कार्यालयमा बसेको मान्छेले मलाई भन्न मिल्थ्यो त ?

उहाँसँग कुनै प्रमाण पनि छैन : दीपक केसी
यो विषयमा हामीले काठमाडौं महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष दीपक केसीसँग पनि श्रेया शाहलाई किन सिफारिस नगर्नुभएको भनी प्रश्न गरेका छौं । यस्तो छ केसीले बाह्रखरीसँग गरेको कुराकानी

उहाँसँग कुनै पनि प्रमाण छैन । जस्तै– मकहाँ आउँदा श्रेया पाण्डेलाई नागरिकता लिन आउनुभयो । उहाँहरु आएपछि मैले तपाईंहरुसँग भएका डकुमेन्टहरु के–के छन् भनेर सोधें । सोध्दा वहाँहरुले टिचिङमा जन्मेको जन्मदर्ता छ भन्नुभो । रातो बङ्गलामा भर्ना गरेको कागज पनि छ भन्नुभो ।

अनि मैले के भनेँ भने धीरेन्द्र अधिराजकुमार बितेको त आज करिब १६ वर्ष भयो । अनि मैले छोरीले बाउ कायम गर्नुभन्दा पहिला श्रीमान्ले श्रीमति र श्रीमतिले श्रीमान् कायम गर्नुपर्यो नि । अनि बल्लमात्रै छोरीको कुरा आउँछ । छोरीको नागरिकता लिन आउँदा उसको आमा र बुबाको सम्बन्ध कायम भएको प्रमाण चाहिन्छ भनेर भनेको हुँ ।

तपाईंहरुको सम्बन्ध कायम गरेर आउनुस् भनिसकेपछि वहाँहरुले यो रातो बङ्गलामा भर्ना भएको टिचिङमा नानी जन्मेको कागज देखाउनुभयो । त्यसपछि मैले यति प्रमाणले मात्र पुग्दैन भनेँ । नागरिकताको हकमा त बर्बाद हुन्छ भनेर भनेको हुँ । थोरै मिस भयो भने ठूलो दण्ड सजाय हुन्छ । त्यसकारण यो कुरा मिल्दैन भनेर मैले पहिला श्रीमान्–श्रीमति कायम भएर आउनुस् भनेर पठाएँ । पठाइसकेपछि केही मिडियाहरुमा अनेक किसिमका कुराहरु पनि आए । खैर… त्यो आफ्नो ठाउँमा छ । प्रमाण नपुगी नागरिकता दिने कुरा पनि हुँदैन ।

पछि आएर खोज्दा के भेटियो भने उहाँहरुको सम्बन्ध नहुने भनेर २०६८ सालमा नै सम्माननीय अदालतबाट निर्णय भइसकेको रहेछ । त्यतिमात्र नभएर अर्को कुरा के निर्णय भइसकेको रहेछ भने श्रेयाजीको रातो बङ्गलामा पढेको दर्ता, प्रमाण पनि नभेटिएको र टिचिङमा जुन मितिमा उहाँहरुले जुन मैले बच्चा पाएँ भनेर भन्नुभो त्यो पनि दर्ता नभएको अदालतले निर्णय गरिसकेको छ । यो निर्णय देखिसकेपछि त म छर्लंग भएँ ।

आमाको नामबाट नागरिकता लिने त राज्यको कुरा हो । त्यस कुरामा त हामीले बोलिराख्नु नि परेन । हामीभन्दा माथि धेरै निकायहरु छन् । ती निकायले नै सबैकुरा बोल्ने हो । अब अहिले एउटा स्थानीय वडामा प्रतिनिधित्व गर्ने मान्छेलाई विभिन्न किसिमका लाञ्छनाहरु लगाउने काम गरियो ।

म बाह्रखरी डटकममार्फत् के अनुरोध गर्न चाहन्छु भने साँच्चीकै हामीले यो संसारमा नागरिकले सित्तैमा पाउने कुरा भनेकै नागरिकता हो । नागरिकता पाउनु कोही पनि नागरिकको नैसर्गिक अधिकार पनि हो । बरु सास फेर्दा हावाको पैसा तिर्नुपर्छ तर नागरिकता लिन कुनै पैसा तिर्नुपर्दैन तर नागरिकताका लागि प्रमाण त चाहियो नि !

प्रमाण पुगेरै मैले उहाँलाई नागरिकता नदिएको भए म आज यो सिटमा बसिरहेको हुन्थिनँ । मलाई राज्यले हत्कडी लगाएर कहाँ पुर्याइसक्थ्यो । मेरो पार्टीले मलाई निष्काशन गरिसक्थ्यो ।

यो विषयलाई धेरैले बुझेर पनि नबुझेजस्तो गरेका छन् । यही कुरामा डा. बाबुराम भट्टराईले पनि ट्वीट गर्नुभएछ– पूर्व प्रधानमन्त्रीजस्तो मान्छेले !

प्रमाण पुगेको मान्छेलाई नागरिकता नदिने भन्ने कुरै हुँदैन नि । अदालतले प्रमाण पुग्दैन भनेको विषयलाई मैले कसरी प्रमाणित गर्न सक्छु ?

रातो बङ्गला स्कुलमा पनि रेकर्ड नभेटिएको र  टिचिङमा पनि जन्ममिति नै जारी नभएको भेटियो । यसैले उनीहरुलाई त फर्जी केसमा मुद्दा हाल्ने अवस्था हुन्छ ।

उहाँले म धीरेन्द्रकी श्रीमती हुँ, मैले अंश पाउनुपर्छ भनी मुद्दा हालेकोमा पनि त्योअनुसार नैै अदालतबाट पनि प्रमाण नपुगेको पहिले नै निर्णय भइसकेको रहेछ ।- साभार:१२खरि बाट

यी समाचार पनि पढ्नुहोस्
Scroll Up