२० गतेभित्रै एकता, २३ गते प्रधानमन्त्रीको भारत भ्रमण

काठमाडौं । वैशाख ९ गते गर्ने भनिएको नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रधानमन्त्रीको भारत भ्रमणका कारण अघि सार्ने तयारी गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली चैत २३ गते भारत भ्रमणमा जाने तयारी छ । त्यसभन्दा अघि नै दुवै कार्यदलले काम सकेर पार्टी एकताको घोषणा गर्ने तयारी भएको माओवादी केन्द्रका एक नेताले बताए ।

दुई तिहाइ समर्थन प्राप्त प्रधानमन्त्री ओलीले भारत भ्रमणमा जाँदा एकीकृत पार्टीका अध्यक्षका हैसियतले पनि प्रस्तुत हुने मनशाय देखाएपछि सोहीअनुसारको तयारी गरिएको स्रोतले जानकारी दियो ।

भारतीय विदेश मन्त्रालयले औपचारिक निमन्त्रणा पठाएपछि मात्रै भ्रमणको टुंगो लाग्ने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

“यो अहिले नै भन्न मिल्ने विषय रहेन, भारतीय विदेश मन्त्रालयले एजेन्डासहित भ्रमणको औपचारिक निम्तो पठाएपछि तय गर्ने विषय हो,” उनले भने । भारतले आन्तरिक तयारी गरे पनि औपचारिक निमन्त्रणा भने अन्तिममा पठाउने प्रचलन छ ।  त्यसैकारण २० गते अघि नै सकेसम्म पार्टी एकता गरेर २३ गते जाने तयारी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

यसबारेमा दुवै पार्टीका शीर्ष नेताहरुबीच पनि छलफल भइसकेको छ । सोहीअनुसार आइतबारबाटै प्रतिवेदन र विधान सम्बन्धि कार्यदलले बाँकी काम टुंग्याउनेगरी तीव्रता दिएका छन् ।

माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले पनि माओवादी केन्द्रको आन्तरिक बैठकमा अध्यक्ष प्रचण्डले भ्रमण अगावै पार्टी एकता टुंग्याउने विषयमा दुई अध्यक्षबीच भएको छलफलका बारेमा जानकारी गराएको बताए ।

त्यही भावनाअनुरू दुवै कार्यदलले काम थालेको र भ्रमण अगावै एकता गर्ने विश्वास व्यक्त गरे । उनले दुवै कार्यदलले मस्यौदा बुझाएपछि चैत १५ मा पार्टी एकता संयोजन समितिको बैठक बस्ने र त्यसलाई टुंग्याइने जानकारी दिए ।

भारत भ्रमण अगावै किन एकता ?

भारत भ्रमण अगावै पार्टी एकता गर्दा अध्यक्ष ओली एकीकृत पार्टीको अध्यक्षको रूपमा पनि प्रस्तुत हुनेछन् । दुई तिहाइ समर्थन प्राप्त र ठूलो कम्युनिस्ट पार्टी प्रमुखले राजकीय भ्रमण गर्दा त्यसको ठूलो राजनीतिक अर्थ हुने राजनीतिक विश्लेषक दाबी गर्छन् ।

तर, पार्टी एकता गरेर भारत भ्रमणमा जानुका पछाडि राजनीतिक कारण खोज्न नहुने तर्क छ एमाले उपमहासचिव विष्णु पौडेलको ।

“एकताको सम्पूर्ण तयारी पूरा भएपछि किन ढिला गर्ने ? भन्ने उहाँको आशय हो । भारत भ्रमणमै जानका लागि दुई पार्टी एकता गर्न लागेको होइन,” पौडेलले भने ।

दुवै कार्यदलले काम सकेर मस्यौदा अध्ययनसमेत अन्तिम चरणमा पुर्याइसकेकाले पार्टी एकतामा विलम्ब गर्नुनहुने निचोड दुवै पार्टीको भएको र भ्रमण अगावै काम टुंग्याउन खोजिएको उनको भनाइ थियो ।

“हामीले कसैलाई देखाउनका लागि पार्टी एकता गर्दैछैनौं, यो आवश्यकता हो, सबै काम पूरा भइसकेकाले एकता किन रोकेर राख्ने भन्ने प्रधानमन्त्रीज्यूको प्रश्न छ,” उनले बाह्रखरीसँग भने ।

कत्तिको छ त सम्भावना ?

भ्रमण अगावै पार्टी एकता गर्न सकिने गरी कार्यदलले काम टुंग्याइरहेको बताउँछन् पौडेल । “दुवै कार्यदलले केही दिनभित्रै मस्यौदा बुझाउने तयारी गरिरहेका छन् । कार्यदलले आफूले गर्नुपर्ने काम सकिसकेका छन् । भ्रमण अगावै एकता हुनेमा हामी ढुक्क छौं,” पौडेलले भने ।

त्यस्तै माओवादी केन्द्रका नेता पोखरेलले पनि अहिलेसम्मको तयारी हेर्दा भ्रमणअगावै एकता सक्न कुनै कठिन नहुने प्रष्ट्याए । “दुवै कार्यदल त्यही स्प्रिटमा छन्,” उनले भने । -साभार:१२खरि बाट

यी समाचार पनि पढ्नुहोस्
Scroll Up