‘सापटी सेवा’ शुरु गर्न टेलिकमको ढिलाइ

११ चैत, काठमाडौं । नेपाल टेलिकमले प्रिपेड ग्राहकका लागि घोषणा गरेको ‘नमस्ते क्रेडिट सेवा’ शुरु गर्न ढिलाइ गरेको छ । गत माघ २२ गते एक समारोहका बीच एक महिनाभित्रै सेवा सुरु गर्ने गरी उद्घाटन गरिएको सेवा थाल्न टेलिकम असफल भएको छ ।

टेलिकमले आफ्नो १४ औं वाषिर्कोत्सवको अवसरमा यो सेवा सुरु भएको घोषणा गरेको थियो । प्रिपेड कार्डबाहक ग्राहकले फोन गर्दा-गर्दै पैसा सकिएमा पनि कुरालाई निरन्तरता दिन पाउने गरी यो योजना सार्वजनिक भएको थियो ।

युवा पुस्ताले यस्तो सेवा खुबै मनपराएको देखेपछि टेलिकमले पनि त्यसैलाई पछ्याउँदै ‘पैँचो’ लिने सेवा सुरु गर्न प्राविधिक तयारी गरेको एक वर्ष बढी भइसक्यो ।अहिले एनसेलले मात्रै सापटी दिने सेवा दिँदै आएको छ । एनसेलले सापटीलाई अहिलेका युवा पुस्ताले खुबै रुचाएका छन् । टेलिकमको प्रतिस्पर्धी मानिने ऐनसेलले यो सेवा सुरु गरेको लामो समयसम्म टेलिकमले यसमा चासो देखाएको थिएन ।

सफ्ट लञ्च भएको यो सेवा कहिलेबाट पूर्ण कार्यान्वयनमा आउँछ भन्नेबारे टेलिकमका अधिकारी स्पष्ट जवाफ दिँदैनन् । टेलिकमकी प्रवक्ता प्रतिभा वैद्य अब छिट्टै सेवा सुरु हुने बताउँछिन् ।

‘केही फाइनान्सियल तयारी बाँकी छन् । सापटीका रुपमा कति रकम कसरी उपलब्ध गराउने भनेर छलफलमै छौं,’ उनले भनिन्,’अब धेरै ढिलाइ हुँदैन ।’

यो योजनामा सापटीमा रुपमा कति रकमको सीमा राखिने भन्ने बिषय टुंगो लाग्न बाँकी रहेको उनले बताइन् । ग्राहकले पैसा सकिएपछि पनि कति बेरसम्म कुरा गर्न पाउने भन्ने विषय पूर्ण कार्यान्वयनमा आउनुअघि निर्धारण गर्नुपर्छ । टेलिकमले ग्राहकले बिना पैसा कुरा गर्न पाएको समय बराबरको रकम भने पछि रिर्चाज गर्दा काट्ने गरी योजना सार्वजनिक गरेको छ ।- साभार:अनलाइन खबर बाट

यी समाचार पनि पढ्नुहोस्
Scroll Up