प्रधानमन्त्रीको कुटनीतिक ब्रिफिङ : परराष्ट्रमन्त्रीले भने- ‘सबैसँग प्रगाढ सम्बन्ध चाहन्छौँ’

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल सबै मुलुकसँग समदूरीको सम्बन्धमा रहेर काम गर्न इच्छुक रहेको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार कुटनीतिक समुदायका प्रमुख र प्रतिनिधिहरूलाई स्वागत गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले सबै मुलुकसँग प्रगाढ सम्बन्ध चाहेको बताएका हुन्।

‘दिगो शान्ति र विकास हाम्रो चाहना हो’, कुटनीतिक समुदायलाई स्वागत गर्दै ज्ञवालीले भने, ‘चीन भारतसहितका देशसँग समदूरीको सम्बन्ध कायम गर्छौँ। हामीलाई सहयोग गर्ने विकास साझेदारसँग प्रगाढ मित्रता अगाडि बढाउन चाहन्छौँ।’

परराष्ट्रमन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नर्पालको वैदेशिक नीतिका बारेमा विभिन्न देशका राजदूत तथा कुटनीतिक अधिकारीहरूलाई ब्रिफङ गर्ने कार्यक्रम छ। कार्यक्रममा २५ देशका राजदूत तथा कुटनीतिक अधिकारी सहभागी छन्।

संयुक्त राष्ट्रसंघ, बिमस्टेक, सार्क लगायत अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले जनाएका प्रतिबद्धताप्रति कटिबद्ध रहेको उल्लेख गर्दै सबै देशबाट सहयोगको निरन्तरताको अपेक्षा गरे।

‘हामीसँग दुईतिहाईको सरकार छ तर हामीले चाहेको दिगो शान्ति र विकासको लक्ष्य प्राप्त गर्ने चुनौती हामीसँग छ’, उनले भने, ‘चुनौतीका बाबदुद पनि सफल हुन्छौँ भन्ने विश्वास छ। हामी तपाईँहरूबाट सहयोगको निरन्तरताको अपेक्षा गर्छौँ।’

कार्यक्रममा प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री ज्ञवाली, रक्षा मन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री डा. युवराज खतिवडा सहभागी छन्। एमाले नेताहरू झलनाथ खनाल र माधव नेपाल पनि कार्यक्रममा छन्। -साभार:अन्नपूर्ण पोस्ट बाट

यी समाचार पनि पढ्नुहोस्
Scroll Up