IELTS को प्रश्नपत्र आउट, १० हजारदेखि दुई लाख सम्ममा बिक्री !

काठमाडौं–काठमाडौंस्थित ब्रिटिश काउन्सिलले लिने अंग्रेजी भाषा परीक्षा IELTSको प्रश्नपत्र आउट गराएर लाखौं असुल्ने गरेको तथ्य खुलेको छ । शुक्रबार महानगरीय प्रहरी परिसरले प्रश्नपत्र लिक गराउने कार्यमा संलग्न ४ जनासहित १२ जना परिक्षार्थीलाई पक्राउ गरेसँगै लामो समयदेखि यसरी प्रश्नपत्र बिक्री हुने गरेको तथ्य खुलेको हो ।
काठमाडौं प्रहरीले प्रश्नपत्र आउट गराउने कार्यमा संलग्न सुरज लामा, निकेश न्यौपाने, विधान आचार्य र गणेशराज उपाध्यायसहित ८ जना विद्यार्थीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा १० हजारदेखि दुई लाखसम्ममा IELTS को प्रश्नपत्र बिक्री हुने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
शुक्रबार पक्राउ परेका विद्यार्थीहरुलाई छाडिएको र प्रश्नपत्र बिक्री कार्यमा संलग्न ४ जना उपर मुद्धा दर्ता गरेर अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रामदत्त जोशिले बताएका छन् ।
यसरी बन्यो योजना
सुरज लामा झापाका स्थायी बासिन्दा हुन् , उनले एउटा कन्सल्टेन्सी दर्ता गरेका छन् । IELTS को परीक्षा दिन चाहने विद्यार्थीहरुको नाम ब्रिटिश काउन्सिलमा दर्ता गराएर हरेक विद्यार्थीबाट एक हजार कमिशन खाँदै आएका लामालाई एकदिन भारतीय विद्यार्थीले पञ्जावका हनी सिंहसँग भेट गराए । २०१७ मार्चमा हनी सिंहले सुरजलाई एउटा प्रस्ताव राखे, ‘प्रश्नपत्र आउट गर्ने जिम्मा मैले लिन्छु, विद्यार्थी खोज्न सक्नुहुन्छ ?’
राम्रो पैसा आउने देखेपछि सुरजले हनीको प्रस्ताव स्वीकार गरे । त्यसपछि शुरु भयो प्रश्नपत्र लिक गराउने ‘धन्दा’ । प्रहरी स्रोतका अनुसार पहिलो चरणमा हनी ले ह्वाट्स एपमार्फत भारतबाट लिक गरेर पठाएको प्रश्नमध्ये लिखित मात्र मिलेको थियो । अर्कोपटक मौखिक र लिस्निङ समेत मिल्ने ठोकुवा गर्दै उनले विद्यार्थी खोजेर पैसा उठाउन आग्रह गरे । त्यतिन्जेलसम्म हनी र सुरजको बीचमा प्रति विद्यार्थी भारतीय रुपैयाँ ५० हजार उठाउने सहमति भयो ।
सुरजले हनीको सेटिङअनुसार गणेशराज आचार्यलाई विद्यार्थी खोज्न भन्दै भाईबरमा मेसेज पठाए । त्यसपछि गणेशले विधान आचार्यलाई जिम्मा दिए । यसरी निकेश न्यौपाने समेतको मिलेमतोमा ९ जना विद्यार्थीबाट सुरजको समुहले पैसा उठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
१० हजारदेखि दुई लाख सम्मको खेल
हनी सिंहसँग भारतीय रुपैयाँ ५० हजारको डिल गरेपनि नेपालमा सक्रिय सुरजको गिरोहले १० हजार देखि २ लाखसम्म पैसा लिएर प्रश्नपत्र बिक्री गरेको खुलेको छ । अनुसन्धानमा संलग्न एक सुरक्षा अधिकारीकाअनुसार पर्वत फलेवास स्थायी घर भएका दिपशे श्रेष्ठले १० हजार बुझाएका थिए ।
मकवानपुरका सनिस गौतमले १७ हजार, बाग्लुङ्गका दिपक शर्माले ६७ हजार तिरेका थिए भने पर्वतकी सञ्जु सेनले २ लाख बुझाएको काठमाडौं प्रहरीले जनाएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानपछि विद्यार्थीहरुलाई भने थुनामुक्त गरेको छ ।
शनिाबार हुने भनिएको परीक्षाको अघिल्लो दिन शुक्रबार सुरजले सवै परिक्षार्थीलाई होटल सप्तरंगी सुन्धारामा कोठा बुक गरेर राखेका थिए । होटलको कोठा नम्बर ‘३१५’ र ‘३१६’ मा लिक गरिएको प्रश्नपत्र हेरेर परीक्षार्थीहरु अभ्यास गर्दै थिए । त्यहिबेला होटल पुगेको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । अनुसन्धानमा संलग्न एक सुरक्षा अधिकारी भन्छन्, ‘परीक्षा सकिएपछि हामीले दुवै प्रश्नपत्र ट्याली गरेर हेर्दा हु–बहु मिल्यो ।’

यी समाचार पनि पढ्नुहोस्