भक्तपुरमा बालकको हत्या, घ्याम्पे डाँडामा इन्काउन्टर

काठमाडौँ : सिन्धुपाल्चोकका गणेशबहादुर खड्का र चमेली खड्काका ११ वर्षीय छोरा निशानको अपहरणपछि हत्यामा संलग्न भनिएका दुईजनाको प्रहरी इन्काउन्टरमा ज्यान गएको छ । आइतवार बेलुका ८ बजे काँडाघारीस्थित चमेलीले सञ्चालन गरेको चिया पसलबाट अपहरण गरी लगिएका बालकको फिरौती बार्गेनिङका क्रममा नै हत्या गरिएको थियो ।

अपहरणमा संलग्न भनिएका अजय तामाङ र गोपाल तामाङले ठिमीस्थित उनीहरुको कोठामा निशानको हत्या गरेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले जानकारी दिएका छन् ।

अपहरणकारीले प्रयोग गरेको सिमकार्डका आधारमा उनीहरु बसेको स्थान खोज्दै जाने क्रममा ठिमी नगरपालिका वडा नम्बर–७ नगदेशस्थित श्याम लवटको निर्माणाधीन घरको गारोसँगै खाल्डो खनिएको अवस्थामा बालकको शव भेटिएको हो । तर, त्यहाँ शव रहेकोबारेमा प्रहरीलाई कसले जानकारी दियो भन्ने खुल्न सकेको छैन । हत्यामा संलग्न भनिएका गोपाल र अजय तामाङ भागेर घ्याम्पेडाँडा पुगेको प्रहरीको दाबी छ ।

बालकको शव नगदेशमा भेटिएको अवस्थामा हत्यामा संलग्न भनिएका नुवाकोट सामरीका २२ वर्षीय गोपाल तामाङ र सिन्धुपाल्चोकको कर्थली-१ का २३ वर्षीय अजय तामाङ त्यहाँबाट भाग्दै पाइलट बाबाको आश्रमतर्फ जाने भक्तपुरकै घ्याम्पे डाँडास्थित जंगलमा पुगेको दाबी प्रहरीले गरेको छ ।

प्रहरीका अनुसार सूर्यविनायक नगरपालिका–८ घ्याम्पे डाँडाथित जंगलमा प्रहरी पुगेपछि सुरुमा दुईमध्ये एकले गोली हानेका थिए । प्रहरीलाई गोली हान्न खोजिएपछि सूर्यविनायक नगरपालिका–८ स्थित गणेशस्थानबाट ५०० मिटर अगाडि उनीहरु दुवैमाथि जवाफी फायर गरिएको एसएसपी सिंहले बताए ।

बालकको अपहरण भएको सूचना पाएपछि काठमाडौँ प्रहरी परिसर, भक्तपुर प्रहरी परिसर र महानगरीय प्रहरी अपराध महाशाखाको टोली एकै साथ सक्रिय भएको थियो । सिंहका अनुसार प्रहरीलाई देखेर भागेका दुवैजना इन्काउन्टरमा मारिएका हुन् ।
‘हाम्रो टोली त्यहाँ पुगेपछि उनीहरुले गोली हान्न खोजेका थिए’, सिंहले भने, ‘तर हाम्रो टोलीले तत्कालै जबाफी कारबाही गर्दा उनीहरु दुवैजनाको घटनास्थलमै ज्यान गएको हो ।’प्रहरीका अनुसार इन्काउन्टरका क्रममा १८ राउन्ड गोली चलाइएको थियो । घ्याम्पेडाँडामा प्रहरीले शंका लागेर घेर्दा पेस्तोल निकालेर हान्न खोजेको सिंहको भनाइ छ ।

प्रहरीले घटनास्थलबाट एकथान पेस्तोल, त्यसमा लाग्ने केही राउन्ड गोली र बालक अपहरणपछि फिरौतीको बार्गेनिङ गर्न प्रयोग गरिएको सिमकार्ड पनि बरामद गरेको छ । तर प्रहरीले बालकको शव गाडिएको स्थान कसरी पत्ता लाग्यो भन्ने कुरा खुलाएको छैन । दुवै अपहरणकारी भाग्ने क्रममा इन्काउन्टरमा मारिएको प्रहरीले उल्लेख गरे पनि यसको विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

प्रहरीले कसरी पहिचान गर्‍यो ?

बालकका परिवारले निशान बेपत्ता भएको खबर आइतवारै राति ९ बजे गरेपछि काठमाडौँ र भक्तपुरका प्रहरी युनिट एकसाथ एलर्ट भएका थिए । राति नै खबर आएपछि सोमबार बिहानैबाट काठमाडौँ र भक्तपुर परिसरको टोलीले काँडाघारीबाट अनुसन्धान थालेको थियो ।

प्रहरीले अनुसन्धाननका लागि सबैभन्दा सजिलो निशानकी आमालाई फोन गर्न प्रयोग गरिएको मोइबालबाट भयो । अनुसन्धान बढ्दै गर्दा अपहरणकारीले प्रयोग गरेको सिमकार्डको अन्तिम लोकेशन भक्तपुरको ठिमी क्षेत्र देखाएपछि प्रहरीको डेढ सय जना भन्दा बढीको टोली त्यहाँ परिचालित भएको थियो । मोबाइल सेवा प्रदायकबाट दुवै सिमकार्डका लोकेशन नगदेश क्षेत्रमा रहेको भेटिएपछि प्रहरीले त्यहीँ अनुसन्धान केन्द्रित गरेको थियो ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up