सेयर बजार घटेको घट्यै, साताको सुरुमै निराश बनायो

काठमाडौँ: निरन्तर ओरालो लाग्दै आएको सेयर बजारको नेप्से परिसूचक साताको पहिलो दिन आइतवार पनि दोहोरो अंकले घट्यो । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक १४.०१ प्रतिशतले ओरालो लागेर एक हजार १८४ बिन्दुमा आइपुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको सेयर मापक परिसूचकसमेत २.९७ बिन्दुले घटेर २४९.१२ बिन्दुमा ओर्लेको छ ।

आज कुल १५८ कम्पनीको छ लाख १९ हजार ७४१ कित्ता सेयर रु १९ करोड ७२ लाख ६२ हजार ६११ मूल्यमा खरिद बिक्री भएका छन् । आज सबै उपसमूहका सेयर घटेको हो । त्यसमा बैंकिङ १२.१४, होटल १८.६४, विकास बैंक २०.१४, जलविद्युत् १५.७, वित्त ६.१६, बीमा ८९.०३, उत्पादन ६.९९, अन्य ३.४६ र माइक्रोफाइनान्स २५.७४ बिन्दुले घटेको छ ।

एक करोड १० लाख कित्ता सेयर सूचीकृत 

स्टकका अनुसार आइतवार विभिन्न पाँच कम्पनीको एक करोड १० लाख ७७ हजार कित्ता सेयर सूचीकृत भएका छन् । त्यसमा दुई कम्पनीको बोनस सेयर र तीन कम्पनीको हकप्रद सेयर छन् । कर्णाली डेभलपमेन्ट बैंकको एक लाख २० हजार ८०० कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस्तै, ओम डेभलपमेन्ट बैंक ३७ लाख ८१ हजार ०७३ कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।

सूर्योदय लघुवित्त वित्तीय संस्थाको दुई लाख ८० हजार कित्ता हकप्रद सेयर र देव विकास बैंक लिमिटेडको ६५ लाख ३३ हजार १०८.५९ कित्ता हकप्रद सेयर सूचीकृत भएको स्टकले जनाएको छ । मञ्जुश्री फाइनान्सको तीन लाख ६२ हजार १९० कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । रासस

यी समाचार पनि पढ्नुहोस्
Scroll Up