रोल्पामा घर भत्किँदा सुत्केरी र शिशुसहित तीनको मृत्यु

रोल्पा : रोल्पाको दक्षिणी भेगको सैबाङ गाउँमा सोमबार बिहान करिब दश बजेतिर घर भत्किँदा सुत्केरी आमा, शिशुसहित तीनको मृत्यु भएको छ।भान्छा कोठामा आगो तापेर बसिरहेका सुत्केरीसहित तीनजना पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबारदेखि परेको अविरल वर्षाले पर्खाल भत्किएर तीनजनाको मृत्यु भएको हो। घरमाथिको पर्खाल भत्किएर घरमा पूर्ण क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीका अनुसार मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका-५ सैबाङकी १८ दिनकी सुत्केरी २२ वर्षीया कमला विश्कर्मा, उनकी १८ दिनकी छोरी र जेठाजुको १५ वर्षीया छोरी चित्रा विश्कर्मा रहेका छन्।

माथिल्लो घर आँगनको गाह्रो भत्किएर विश्कर्माको घर पुरिएको हो।सुत्केरीलाई प्राथमिक स्वास्थ्य केन्द्र होलेरी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।शिशुसहित दुईको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकका श्रीमान् राजकुमार विश्वकर्मा र सासूआमा सोही घरको अर्को कोठामा थिए। उनीहरु भने सुरक्षित रहेका छन्। घटनास्थलमा रहेका होलेरी एफएमका स्टेशन म्यानेजर सन्तोष शर्माका अनुसार श्रीमान राजकुमार र उनका आमा अचेत अवस्थामा छन्। गाउँले शोकमा डुबेका छन् । भर्खरकी सुत्केरी पत्नी र छोरीसहितको मृत्युले राजकुमार विक्षिप्त बनेका छन्।

घटनास्थलमा इलाका प्रहरी कार्यालय होलेरी र धौलाबाङ प्रहरी चौकीबाट प्रहरी र स्थानीयले शव निकालेका थिए। तीनवटै शव होलेरी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ। पोष्टमार्टम गरेर शव परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ। बाँचेका सासू र श्रीमान्लाई छिमेकीको घरमा राखिएको छ।

गाउँपालिका अध्यक्ष बालाराम बुढामगरसहित सोही वडाका वडा अध्यक्ष एवं विपद् व्यवस्थान समितिका अध्यक्ष समेत रहेका यामबहादुर दशौदी घतना स्थल पुगेका थिए। उनीहरुले बाँचेका परिवारसँग भेटघाट गरेका छन्। ‘वडा कार्यालयबाट तत्काल लत्ताकपडा, भाँडाकुडा र रासनपानीको व्यवस्थापन गर्न जिम्मा दिइसकेको छु,’ घटनास्थलबाट फर्किएका अध्यक्ष बुढामगरले भने, ‘गाउँपालिकाको आकस्मिक बैठक बसेर राहत र काजक्रिया खर्चको बारेमा निर्णय

गाउँलेका अनुसार होलेरी-स्वर्गद्वारी सडक खण्डमा पर्ने घटनास्थल सैबाङमा थप चार घर जोखिममा छन्। भत्किएको घर मुनिको अर्को घर पनि जोखिममा छ। भत्किएको घर माथिका तीनवटा घर सडक मुनि रहेको र कच्ची माटो क्षेत्रमा भएकाले जोखिम रहेको गाउँले बताउँछन्। जिल्लामा भारी वर्षा भइरहेकाले विपद्को जोखिम रहेको प्रहरीले जनाएको छ।- साभार:अन्नपूर्ण पोस्ट बाट

यी समाचार पनि पढ्नुहोस्
Scroll Up