राजपरिवारले प्रयोग गर्ने अस्पताल छाडेर विदेश धाउँछन् नेता

पञ्चायतकालमा रानी ऐश्वर्यले यही कक्षमा भर्ना भएर उपचार गराएकी थिइन्। राजपरिवारका अन्य सदस्य पनि यहीँ भर्ना हुन्थे। ०४६ को जनआन्दोलनपछि यो अस्पताल अझ सुविधासम्पन्न होला भन्ने जनताको अपेक्षा थियो। त्यसको ठीक उल्टो सार्वभौम जनताले चुनेर पठाएका नेताहरू उपचार गर्न विदेश धाइरहेका छन्। हामी कुरा गर्दैछौं वीर अस्पतालको।

कुनै समय राजपरिवारका सदस्यले प्रयोग गर्ने वीर अस्पतालको भिभिआइपी कक्ष ०४६ यता एकपटक पनि प्रयोग भएको छैन। त्यहाँको सुविधा खेर गइरहेको छ भने सर्वाधिक चापयुक्त वीरमा सर्वसाधारण बिरामी बेड नपाएर उपचारबाट वञ्चित हुनुपर्ने अवस्था छ। अर्कातिर, झन्डै ३० वर्षदेखि प्रयोगमा नआएको यही कक्ष मर्मतसम्भार गर्न राज्यकोषबाट लाखौं खर्च भइरहेकै छ।

‘हामी उच्च गुणस्तरको उपचार र सुविधासम्पन्न भिभिआइपी कक्ष ग्यारेन्टी गर्न सक्छौं तर हाम्रा भिभिआइपी अन्तै उपचार गराउन जानुहुन्छ भने कसरी रोक्न सकिन्छ?’ वीर अस्पतालका निमित्त निर्देशक डा. सरोज शर्मा भन्छन्।

स्वास्थ्य सेवा जानकारहरूका अनुसार उपचारनिम्ति विदेश जाने क्रम २०४६ पछि बढेको हो। यसको थालनी नेताहरूले नै गरेका हुन्। उनीहरू स्वदेशमै उपलब्ध उपचार पनि यहाँ नगराएर सरकारी खर्चमा विदेश जान्छन्। कार्यकर्ता र सरकारी कर्मचारीसमेत सानाठूला सबै उपचारनिम्ति विदेश धाउन थालेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको पाँच महिनामै उपचार खर्च नाममा तीन करोड रुपैयाँभन्दा बढी बाँडिसकेको प्रधानमन्त्री कार्यालयको वेबसाइटमा छ। वेबसाइटअनुसार मन्त्रिपरिषदले पछिल्लोपटक असार ३ गते ताप्लेजुङका रविन सुनुवार र अनुप खिम्दिङलाई प्रतिव्यक्ति तीन लाख दिने निर्णय गरेको छ।

यस्तो निर्णय लगभग हरेकजसो मन्त्रिपरिषद बैठकले गरेको देखिन्छ। जेठ २० को बैठकले एकैदिन ४८ लाख दिने निर्णय गरेको थियो। त्यस दिन क्षेत्रीय वन निर्देशनालय मोरङका लेखाअधिकृत अशोक गौतमलाई थप ५ लाख, इलामका डा. मिमाङ तेम्बेलाई १२ लाख, सिरहाका नरेन्द्रराज पोखरेललाई ६ लाख, गरामनी झापाका खगेन्द्र चुँडाललाई १५ लाख र हेटौंडाका चन्द्र शर्मालाई १० लाख रुपैयाँ दिएको देखिन्छ।

उपचार नाममा सोझै पैसा बाँड्नु नियमविपरित हो। नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि (२०७३) र विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका (२०७१) ले बिलअनुसार उपचार खर्च अस्पताललाई दिने व्यवस्था गरेको छ। विदेश जानैपर्ने अवस्थामा सम्बन्धित मुलुकको दूतावासले बिल तिर्ने प्रावधान छ।

मन्त्रिपरिषद निर्णयबाट मात्र उपचार खर्च बाँडिएको छैन। स्वदेशकै अस्पतालको बिल तिर्ने गरी खडा गरिएको ‘विपन्न नागरिक औषधि उपचार कोष’ ले समेत विदेशै गएर उपचार गर्न खर्च दिँदै आएको छ। यस्तै प्रवृत्ति अन्य सरकारी निकायमा पनि छ।

नेताहरूका मामिलामा यो अझ भयावह छ। कांग्रेस नेता गगन थापा स्वास्थ्यमन्त्री हुँदा बढीमा १५ लाख रुपैयाँ मात्र उपचार खर्च दिने नियम बनाएका थिए। त्यो नियम उनकै सरकारका गृहमन्त्री विमलेन्द्र निधिले खिल्ली उडाउँदै कांग्रेस नेतृ सुजाता कोइरालालाई ५० लाख रुपैयाँ उपलब्ध गराए। मन्त्री थापा अनुपस्थित भएका बेला गृहमन्त्रीले लगेको प्रस्ताव मन्त्रिपरिषद बैठकले पारित गरिदिएको थियो।

त्यति बेला कोइरालालाई सिंगापुरमा स्तन क्यान्सरको उपचार गर्ने भनेर पैसा दिइएको थियो। तर उनले मलेसिया गएर शल्यक्रिया गराएको एक जानकार बताउँछन्।

‘नेपाली छोरीचेलीले यहीँ स्तन क्यान्सरको सफलतापूर्वक उपचार गराइरहेकै छन्,’ एक वरिष्ठ क्यान्सररोग विशेषज्ञले सेतोपाटीसँग भने, ‘त्यसमाथि सिंगो उपचार मलेसियामै गराउँदा पनि ५० लाख त कुनै हालतमा लाग्दैन।’ ‘विदेश उपचारका नाममा खोलो बगाएजस्तो राज्यकोष रित्याउनुको साटो वीरको भिभिआइपी कक्ष किन प्रयोग गरिँदैन?’ उनको प्रश्न छ।

कस्तो छ भिभिआइपी वार्ड?

वीर अस्पतालको दक्षिणतर्फ भवनमा दोस्रो तल्ला उक्लनेबित्तिकै ‘भिआइपी क्याबिन’ लेखिएको देखिन्छ। ढोकाबाट पस्नेबित्तिकै दायाँ र बायाँ दुईतिर करिडोर जान्छ। दाहिने जाँदा भिआइपी कक्ष पुगिन्छ भने बायाँ भिभिआइपी। भिभिआइपीमा पस्नेबित्तिकै फेरि अर्को ढोका आउँछ। त्यसपछि जहाँ पुगिन्छ, त्यो कुनै अस्पताल होइन, पाँचतारे होटलको करिडोर महशुस हुन्छ।

यहाँ प्रवेश गर्न जुत्ता खोल्नुपर्छ, ताकि लचक्क लच्किने महँगो गलैंचामा दाग नलागोस्।

यो कोठामा के छैन?

सुविधायुक्त बेड, सोफा, एयरकन्डिसन, चिल्लो बाथरुम, महँगा पर्दा, महँगा बत्ती र भित्तामा टाँसिएका स्तरीय ‘वालपेपर’।

बेडछेउ बिरामीको स्वास्थ्य अवस्था लगातार देखाइरहने ‘बेडसाइड मनिटर’ छ। टेलिभिजनजस्तो त्यस उपकरणले बिरामीको हृदयगति, श्वासप्रश्वास, रक्तचाप र शरीरको तापक्रमसहित शरीरको भित्री अवस्थाबारे सबै सूचना दिन्छ। केही तलमाथि परे नर्सलाई तत्काल जानकारी गराउने अलार्म पनि छ।

यो कोठामा ‘सेन्ट्रल अक्सिजन पाइपलाइन’, ‘सक्सन’, ‘डिफिब्रिलेटर’ लगायत आपतकालीन उपचारनिम्ति चाहिने सम्पूर्ण औषधि र सामग्री छन्। छेवैको कोठामा इसिजी मेसिन छ। त्यहाँका कर्मचारीका अनुसार अधिकांश मेसिन भर्खरै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा फेरिएका हुन्।

तीस वर्षदेखि कोही नबसे पनि यी उपकरण र औषधि दिनैजसो जाँच्ने र म्याद गुज्रेको भए फेरिने यहाँकी वरिष्ठ नर्स सीता अर्याल बताउँछिन्।

‘एउटा भेन्टिलेटरबाहेक यहाँ हरेक मेडिकल सुविधा उपलब्ध छ,’ ३० वर्षभन्दा लामो समयदेखि वीरमै सेवारत अर्याल भन्छिन्, ‘भेन्टिलेटरनिम्ति धेरैथोक चाहिने भएकाले त्यो एउटा मात्र यहाँ राखिएको छैन।’

उनका अनुसार कोठाकै छेउमा ड्रेसिङ रुम छ। ‘नेबुलाइजर’ यहीँ लगाउन मिल्छ। कहिलेकाहीँ बिरामी ‘अरेस्ट’ मा गए तत्काल प्रयोग गरिने ‘डिसी शक’ देखि अन्य सबै उपकरण कोठामै छन्।

यही तल्लामा अपरेसन थिएटर, पोस्ट–अपरेटिभ वार्डदेखि आइसियुसम्म छन्। भिभिआइपी र भिआइपी कक्ष बीचका लहरै कोठा अस्पतालकै विशेषज्ञ चिकित्सक बस्ने ठाउँ हो।

‘यो तल्लामा आइपुगेको बिरामीलाई कुनै पनि सेवा लिन अन्त लग्नु पर्दैन,’ अर्याल भन्छिन्।

बिरामी राख्ने सुविधासम्पन्न कोठासँगै पाँचवटा ‘भिजिटर्स रुम’ पनि छन्। महँगा सोफा, बत्ती, गलैंचा, पर्दा र कलाकृतिसमेत राखिएका यी भिजिटर्स रुमनिम्ति बेग्लै शौचालय छ। सुरक्षाकर्मी र चिकित्सक टोली बस्ने कोठा पनि छन्। भिभिआइपी क्षेत्रभित्रै एउटा आधुनिक भान्छाघर पनि छ।

‘हाम्रो देशका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखहरू उपचारनिम्ति विदेश गइरहेको खबर बारम्बार सुन्छौं,’ अर्याल भन्छिन्, ‘यस्तो सुविधासम्पन्न कक्ष ३० वर्षदेखि किन कसैले प्रयोग गर्न चाहिरहनुभएको छैन मैले बुझ्नै सकेकी छैन।’

यो भिभिआइपी कक्ष संवैधानिक अंगका प्रमुखलाई मात्र उपलब्ध गराउने अस्पतालको नीति छ। अर्कोतिरको भिआइपी कक्ष पनि सुविधासम्पन्न छ। यो बहालवालासहित पूर्व मन्त्री र सांसदसम्मले प्रयोग गर्न पाउँछन्। यही कक्षमा दुई वर्षदेखि काम गर्दै आएकी शुद्ध नेपाली हामी पुग्दा सरसफाइमा व्यस्त थिइन्।

‘भिभिआइपी, भिआइपी र छेउका छवटा क्याबिन हेर्न हामी सात जना कर्मचारी र सात जना नर्सको बेग्लै व्यवस्था छ,’ वीरमै ३३ वर्ष बिताएकी नेपालीले भनिन्, ‘बिरामी आए पनि, नआए पनि हामीले नियमित सेवा दिनैपर्छ।’ उनले यो कक्षमा आफू काम गर्न थालेको दुई वर्षमा तीन जना बिरामी भर्ना भएको बताइन्। त्यतिबेला एक महिनाभन्दा बढी प्रयोग भएन।

यहाँ उपचार गराउनेमध्ये एक जना तत्कालीन स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल हुन्। विदेश गएका बेला स्वाइनफ्लू लागेका उनलाई यही भिआइपी कक्षमा राखेर निको बनाएको अर्याल सुनाउँछिन्।

‘भिभिआइपीमा भने हामीले देखेदेखि कोही उपचार गराउन नआएकाले कसरी हुन्छ अनुभव गर्न पाएका छैनौं,’ उनले भनिन्, ‘पक्कै भिआइपी भन्दा बढी सतर्कतासाथ सेवा दिइन्छ होला।’ मन्त्री पोखरेल भर्ना भएका बेला मेडिकल र सर्जिकल डाक्टरको टोली गठन गरेर सेवा दिइएको थियो। एनेस्थेसियादेखि अन्य डाक्टर हरबखत तम्तयार रहन्थे। पोखरेलले भिभिआइपी कक्षका कोठामा मन्त्रालयको बैठकसमेत गरेको उनले स्मरण गरिन्।

यो अपवादबाहेक माओवादीका अन्य नेता सामान्य उपचार गराउनुपरे पनि विदेश जाने गरेका छन्। भर्खरै मात्र आपूर्तिमन्त्री मातृका यादव थाइल्यान्ड पुगेका थिए। मन्त्री तथा नेताले विदेश उपचार गराउन जाँदा र फर्कंदा विमानस्थलको भिभिआइपी कक्षमा पत्रकार सम्मेलन गरेर सगर्व घोषणा गर्छन्। यसले मुलुकको स्वास्थ्य सेवामा कस्तो नकारात्मक प्रभाव पर्छ भनेर कसैले नसोचिदिएको पूर्व स्वास्थ्यमन्त्री गगन थापाको गुनासो छ।

सबै नेता विदेश गइरहेका बेला भिभिआइपी र फाट्टफुट्ट मात्र बिरामी आउने भिआइपी कक्षलाई स्तरअनुसार सफा र व्यवस्थित राख्न गाह्रो भएको कर्मचारी बताउँछन्।

अस्पतालका अनुसार भिआइपी र भिभिआइपी कक्षनिम्ति वार्षिक ३० लाख रुपैयाँभन्दा बढी खर्च भइरहेको छ। पछिल्लो सार्क शिखर सम्मेलन हुँदा ५० लाख लगाएर मर्मतसम्भार गरिएको थियो। गत साता हामी पुग्दा पनि थुप्रै मिस्त्री मर्मतमा लागिरहेकै थिए।

भुइँचालोलगत्तै पनि ठूलो लगानीमा मर्मत गरिएको त्यहाँका कर्मचारीले जानकारी दिए। लेखा प्रमुख खिमबहादुर सुवेदीले भने आफू आउनुअघिको खर्च भएकाले विवरण दिन नसकिने बताए। बिरामी चाप बढी भएर धेरैले बेड पाउन नसकेका बेला ठूलाबडानिम्ति बनाइएको विशिष्ट सुविधायुक्त कक्ष सधैं ताल्चा लगाएर राखिएको देख्दा अर्याल उदेक मान्छिन्।

वीर अस्पतालका कलेजो रोग विशेषज्ञ डा. सुधांशु केसी पनि २३ वर्षअघि मेडिकल अफिसरका रूपमा यहाँ आउँदाका घटना सम्झँदै भन्छन्, ‘भिआइपी कक्षमा एकाधपटक बिरामी हेर्न गएको थाहा छ, भिभिआइपी कक्षतिर भने आजसम्म चिहाउन पाएको छैन।’

अस्पतालभित्रकै महत्वपूर्ण सेवा र सुविधायुक्त भाग वर्षौंदेखि प्रयोगविहीन देख्दा उनी अचम्म मान्छन्। ‘वीर अस्पताललाई महत्वपूर्ण ओहोदामा बसेका कसैले विश्वास नगरेर यो अवस्था आएको हो,’ डा. केसीले भने, ‘जहाँसम्म मेरो क्षेत्रको कुरा छ, कलेजो प्रत्यारोपणबाहेक कुनै त्यस्तो उपचार छैन, जुन दिल्लीमा उपलब्ध होस् र यहाँ वीर अस्पतालमा नहोस्।’

कतिपय अन्य रोगनिम्ति वीरको चिकित्सा सेवा अन्तर्राष्ट्रिय दाँजोमा कम नभएको उनको दाबी छ। ‘राम्रो डाक्टर र त्यति सुविधायुक्त कक्ष हुँदाहुँदै वीर अस्पताललाई विश्वास नगर्नुको कारण बुझिरहेको छैन,’ उनले थपे, ‘सायद यहाँका निर्देशकहरूले राम्ररी सम्झाउन, बुझाउन नसक्दा यस्तो अवस्था आएको हो।’

अस्पतालका निमित्त निर्देशक डा. सरोज शर्मा भने खण्डन गर्छन्। ‘स्वास्थ्य मन्त्रालयकै पहलमा यो सेवा–सुविधा तयार राखेको अवस्थामा उच्चपदस्थहरूलाई मन्त्रालयले जानकारी नदिएको पक्कै होइन,’ उनले भने, ‘तैपनि किन कोही आउनुहुन्न थाहा छैन।’

यी कक्षमा उच्च गुणस्तरीय सेवा ग्यारेन्टी गर्दै उनले थपे, ‘त्यसमा कतै तलमाथि पर्दैन।’ डा. शर्माका अनुसार वीरले दैनिक दुईदेखि तीन हजारभन्दा बढी बिरामीलाई बहिरंग विभागबाट सेवा दिइरहेको छ। चार सय २६ बेडमध्ये भुइँचालोयता सयवटा प्रयोग गर्न सकिएको छैन। यसले आएका बिरामी भर्ना गर्न मुश्किल परिरहेको डा. शर्माले बताए।

‘ठूलाबडाले नपत्याए पनि सर्वसाधारण नेपालीको सबभन्दा ठूलो विश्वास यही अस्पतालले आर्जन गरेको छ,’ उनले भने। कहिल्यै प्रयोगमा नआउने भिभिआइपी कक्षले ओगटेको क्षेत्र सर्वसाधारण बिरामीनिम्ति खुला गर्न पाए धेरैले राहत पाउने निमित्त निर्देशक डा. शर्मा स्वीकार्छन्। ‘यस्तो कुरा हामीले निर्णय गर्न मिल्दैन,’ उनले भने, ‘निर्णय गरिदिनुपर्ने स्वास्थ्य मन्त्रालयले हो, जसले केही गरेको छैन।’- साभार:सेतोपाटी बाट

यी समाचार पनि पढ्नुहोस्
Scroll Up