फिफा विश्वकप हेरेर सिक्नुस् लगानी गर्ने पाँच मन्त्र

काठमाडौं– विश्वले यतिबेला फुटबलको महाकुम्भ मेला ‘फिफा विश्वकप २०१८’ मनाइरहेको छ । चार वर्षको अन्तरालमा हुने भएकाले पनि यो कुम्भ मेलालाई विश्वले निकै चाखका साथ पर्खेर बस्छ र एउटा उत्सवकै रुपमा मनाउने गरेको छ । फुटबलका समर्थकको कुनै दायरा छैन ।

विश्वकै प्रख्यात खेलमा फुटबल बाल, युवा तथा वृद्धा सबै समूहको रुचिको खेल हो । फुटबल सबैको रुचिको विषय पनि हो र यो मन नपराउने सायदै मानिस होलान् । अहिले फुटबल हेर्ने निहुँमा ठूलो धनराशि खर्च भइरहेको देखिन्छ ।

आयोजक राष्ट्रमै प्रत्यक्ष खेल हेर्न जानेदेखि महँगा टीभी तथा प्रोजेक्टरको खरिद बिक्री निकै बढेको छ । नेपालमा पनि हाल टीभी र प्रोजेक्टरको ठूलो ब्यापार भइरहेको छ ।

फुटबल हेर्नकै लागि भनेर महँगा टीभी र प्रोजेक्टर किन्ने मात्र होइन, विभिन्न रेस्टुरेन्ट वा क्लबहरुमा फुटबल समर्थकको भीड नै लागेको हुन्छ ।रेस्टुरेन्टका महँगा खानामा मानिसले हजारौं खर्च गरिरहेका छन् । साथै कति त खेलको सट्टेबाजीमा संलग्न भएको समाचारहरु पनि बाहिर आइरहेका छन् । साना रकमदेखि ठूलाठूला रकमको सट्टेबाजी गर्नेको धन्दा नै चल्छ यो बेला ।

धेरैले सट्टेबाजीमा करोडौँ गुमाएका छन् भने कतिले कमाएका पनि छन् । कति त घर न घाटको भएका समाचार पनि आएको छन् । यो सबै कुरा गरिरहँदा हामीले भविष्य बिर्सिरहेका छौँ कि भन्ने महसुस गर्न सकिन्छ । ठूलो धनराशिको खर्च गरेर क्लब र रेस्टुराँ धाउँदैमा महान भइन्छ भन्ने होइन ।

खेलको मज्जा घरमै बसेर आफ्नै साथीभाइ, परिवारका साथ पनि लिन सकिन्छ । सानो खर्चमा पनि खेलको मज्जा लिन सकिन्छ ।  हामी दिन, महिनौँ, वर्षौं मिहिनेत गरेर कमाएको सम्पत्तिलाई खुशीको बहानामा उडाइरहेका त छैनौँ ?

यो सोचनीय विषय हो ।

विश्वकप फुटबलका नियमबाट पनि हामीले धेरै ज्ञान लिन सक्छौँ । विश्वकप चलिरहँदा यो खेलको रणनीतिबाट हामीले लगानीका बाटाहरु पनि पहिल्याउन सक्छौँ ।

फुटबलले तपाईंलाई लगानी गर्ने सही तरिका सिकाउँछ । फुटबलमा टिमको महत्वपूर्ण भूमिका हुन्छ र टिम हरेक खेलमा अलग अलग रणनीति बताउँछ ।

साथै खेलमा जित हासिल गर्न विशेष रणनीतिमा कार्य गर्छ । फिफा विश्वकप २०१८ ले हामीलाई खेलका साथसाथै केही लगानीको मन्त्र पनि सिकाउँछ ।

लक्ष्यको निर्धारण गर्नुस्
खेल सुरु हुनुभन्दा पहिला टिमले सधैँ आफ्नो रणनीति तयार गर्छ । जुन टिमले जति धेरै गोल गर्छ, उसैले खेल जित्छ । तपाईंमा लगानीको बारेमा यही ख्याल हुनुपर्छ ।

लगानीकर्ताको आफ्नो लगानी मात्र बच्चाको पढाइ, बिहेसम्म मात्र सीमित राख्नुहुन्न । तपाईंले विदेश यात्रा, नयाँ गाडी, घर जग्गा आदिका लागि पनि पहिलेदेखि नै आफ्नो लक्ष्य निर्धारण गर्नुपर्छ । साथै लामो जीवनका लागि आफ्नो रिटायरमेन्टको लागि पनि लक्ष्य तय गर्नु व्यावहारिक हुन्छ ।

वास्तवमा वचत वा लगानी सुरु गर्ने समय रिटायरमेन्टका लागि योजना बनाउनु पहिलो गोल हुनेछ । रिटायरमेन्ट गोलको दुई चरण हुन्छन्, पहिलोः सञ्चयको चरण, जसमा तपाईं पैसाको बचत गर्न सुरु गर्नुहुनेछ ।

दोस्रो : वितरणको चरण, जसमा तपाईं आफू बाचुन्जेलसम्मका लागि मासिक आयको प्रबन्ध गर्नुहुनेछ । वित्तीय ज्ञान सबैमा नहुने हुँदा वित्तीय सल्लाहकार तपाईंलाई आफ्नो खर्चको बारेमा सुझाव तथा सल्लाह दिन सक्छन् । दोस्रो चरणमा कति लगानी गर्ने र कति लगानी गर्दा प्रतिफल कति र कसरी पाउँन सकिन्छ भन्नेबारे थाहा पाउन वित्तीय सल्लाहकारको सहयोग लिन सकिन्छ ।

एसेस्ट क्लासको गर्नुस् सही मिश्रण 
जसरी एउटा सन्तुलित टिमले खेलमा सजिलै जित हात पार्न सक्छ, त्यसैगरी तपाईंसँग पनि सन्तुलित पोर्टफोलियो हुनुपर्छ ताकि तपाईं अधिकतम रिटर्न प्राप्त गर्न सक्नुहुनेछ ।

विश्वकप फुटबलका दौरान निकै आशा गरिएको अर्जेन्टिनाको टोली बाहिरिनुको पछाडि टिममा राम्रो समन्वयको कमी भनेर विश्लेषण गरिएको छ । यदि टिममा सन्तुलन राख्न सक्ने हो भने खेल सजिलै जित्न सकिने विश्लेषकहरु बताउँछन् । यसैगरी डेट इन्स्ट्रुमेन्ट्समा लगानीको बाबजुद तपाईंको इक्विटीमा लगानी तथा सन्तुलित पोर्टफोलियो बनाउन जरुरी हुन्छ ।

वित्तीय सल्लाहकार तपाईंको एसेटको सही प्रयोगबारे बताउँन सक्छन्, जसबाट तपाईंले लगानीको राम्रो प्रतिफल पाउन सक्नुहुनेछ । यसले तपाईं आफ्नो गोल समय अनुसार प्राप्त गर्नुहुनेछ ।

रणनीतिको गर्नुस् समीक्षा
फुटबलमा खराब खेल्ने वा सुस्त प्रदर्शन गर्ने खेलाडीलाई खेलको बीचमै बाहिर गरिन्छ, चाहे ऊ जति नै ठूलो खेलाडी किन नहोस् । यसबाट के थाहा हुन्छ भने लगानीको पनि रिभ्यु गर्नु जरुरी हुन्छ ।  समय समयमा आफ्नो बचत तथा लगानी रणनीतिको समीक्षा पनि गर्नुपर्छ ।

यदि तपाईंको लगानी अनुसार प्रतिफल सही तरिकाबाट आइरहेको छैन भने उसमा सीमक्षा गर्नु जरुरी हुन्छ । ताकि उक्त लगानीमा अरु थप गर्ने हो या त्यो लगानी फिर्ता गर्नेबारे सही निर्णय गर्नुपर्छ ।

आफै अद्यावधिक गर्नु
फुटबल टिम प्रतिस्पर्धी टिमको बारेमा अध्ययन गर्दै रणनीति तयार पार्न तत्पर रहन्छ । लगानीको दौरान तपाईंको लगानीमा असर गर्ने खालका राष्ट्रिय, अन्तर्राष्ट्रिय खबर वा सूचनाबारे जानकारी हुनु जरुरी हुन्छ ।

साथै कुन क्षेत्रमा के भइरहेको छ, त्योबारे जानकारी राख्नु जरुरी हुन्छ । यसैगरी तपाईंको पनि नियमित रुपमा लगानीभन्दा पहिला रिसर्च गर्नु आवश्यक हुन्छ । बजार अस्थिर हुँदा नआत्तिई धैर्य रहन सक्नुपर्छ ।

वित्तीय सल्लाहकारबाट सल्लाह लिनुस् 
तपाईंको वित्तीय सल्लाहकार टिमको कोच जस्तै काम गर्दछ । जसरी टिमको कोच रणनीति बनाउँछ, अनि खेलाडीको ट्रेन गर्छ । उही तरिकाबाट सल्लाहकार तपार्इंलाई लगानीको रकम अनि सम्भावित प्रतिफलको अवस्थालाई हेरेर लगानीका बारेमा सल्लाह दिन्छन् ।

लगानीको  मामलामा सल्लाहकार (विज्ञ)को भूमिकालाई नजरअन्दाज गर्नु तपाईंको पोर्टफोलियो खतरामा पार्नु सरह हो । तपार्इंको मिहिनेतलाई सही ठाउँमा सही तरिकाले लगानी गर्न सकेमा प्रतिफल सोचेभन्दा राम्रो आउनेमा ढुक्क हुन सकिन्छ । – एजेन्सी

यी समाचार पनि पढ्नुहोस्
Scroll Up