‘ज्ञानेन्द्र शाहसँग लडें, अब ओलीसँग लड्छु’

विमानस्थलबाट फर्काइएका उपकुलपतिले सुनाए बाघ र बाख्राको कथा


२४ असार, काठमाडौं । क्यानडा भ्रमणमा जान लागेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालालाई शनिबार साँझ प्रहरीले विमानस्थलबाटै पक्रेर प्रधानमन्त्रीनिवास बालुवाटार पुर्‍यायो । कोइरालाका अनुसार प्रहरीले उनलाई बालुवाटारको एउटा कोठाभित्र करिब एकघण्टा थुनेर राखेको थियो ।

प्रधानमन्त्रीज्यूले भेट्न खोजेको भन्दै बालुवाटार लगिए पनि प्रधानमन्त्रीसँग भेट्न नदिई जहाज उडिसकेपछि मात्रै कोइरालालाई घर फर्काइएको थियो । 

कोइराला तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका पालामा संस्कृत विश्वविद्यालयमा उपकुलपतिको जिम्मेवारी पाएका थिए । उनले आफूलाई राजनीतिक प्रतिशोधका कारण सरकारले विदेश जान रोक लगाएको दाबी गरे ।

उपकुलपति कोइरालाले प्रधानमन्त्री ओलीलाई ज्ञानेन्द्र शाहसँग तुलना गर्दै भने, ‘मैले ज्ञानेन्द्रविरुद्ध जे गरेको थिएँ, ओलीविरुद्ध पनि त्यही गर्नेछु । सरकारबाट अपमानजनक रुपमा विमानस्थलबाटै फर्काइएका उपकुलपति कोइरालासँग गरेको संक्षिप्त कुराकानी–

विमानस्थलबाटै पुलिसले नियन्त्रणमा लिनुपर्ने गरी तपाईंहरु के गर्दै हुनुहुन्थ्यो ?

क्यानडामा आयोजित १७ औं संस्कृत सम्मेलनमा सहभागी हुन हामी ७ जना सदस्य जाँदै थियौं । विमानस्थलमा लगेज चेक गराउने, कागजपत्र देखाउने लगायतको काम भइरहेको थियो । त्यहीबेला डीआईजी कमलबहादुर आएर ‘हजुरलाई प्रधानमन्त्री ज्यूले बोलाउनुभएको छ बालुवाटार जाऔं’ भन्नुभयो ।

मैले प्लेन उड्ने समय हुनै लाग्यो, अहिले किन जाने भनें । उहाँले होइन, एकैछिन त हो, प्रधानमन्त्री ज्यूलाई भेटेपछि फर्किनुहोला भन्नुभयो । अरु ६ जना साथीहरु प्लेनतिर जानुभयो, मलाई भने डीआईजीको गाडीमा राखियो र सीधै बालुवाटार पुर्‍याइयो ।

त्यहाँ तपाईँलाई कस्तो व्यवहार भयो ?

म बालुवाटार पुगेको थाहा पाएपछि शिक्षा मन्त्रालयका सचिव खगराज बराल र सहसचिव विनोद कुँवर पनि आउनुभयो । प्रहरीहरुले एकदमै राम्रो व्यवहार गरे । आदरपूर्वक राखे । हजुर हजुर भन्दै सम्बोधन गरे ।

तर, अपमान त प्रधानमन्त्रीबाट भयो । राति ८ बजे प्लेन उड्ने समय थियो । ८ बजेपछि ‘प्रधानमन्त्रीले टाइम मिलाउन सक्नुभएन’ भन्दै मलाई बालुवाटारबाट फर्काइयो ।

तपाईं प्रक्रिया नपुर्‍याई विदेश जान लागेर पो हो कि ?

होइन । सरकारले ७ सदस्यीय टोलीलाई विदेश पठाउने भनेर स्वीकृत गरेको छ । हामीले कार्यकारी परिषदबाट पनि निर्णय गराएका छौं । सहकुलपति (शिक्षामन्त्री) लाई त्यसबारे जानकारी गराएका छौं ।

देश बाहिर जानुपरेमा एक साताअघि सहकुलपतिलाई जानकारी गराउने व्यवस्थाअनुसार मैले असार १५ गते नै शिक्षा मन्त्रालयमा निवेदन दिएको छु ।

यही प्रक्रियाबाट म विगतमा चीन गएको छु । प्रचण्डका पालामा भारत पनि गएको छु । तर, अहिले विदा स्वीकृत भयो कि अस्वीकृत भयो, केही पनि जानकारी मलाई दिइएको छैन ।

अर्को कुरा, हामी क्यानडा जानका लागि बजेट पनि स्वीकृत गरिएको छ । गोपालमान श्रेष्ठ शिक्षा मन्त्री हुँदा हामीले ४० लाख रुपैयाँ माग गरेका थियौं । तर, शिक्षा मन्त्रालयले ३५ लाख स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो । युवराज खतिवडा अर्थमन्त्री बनेपछि यति धेरै रकम दिन सकिँदैन, प्रधानमन्त्री त्यति सकारात्मक हुनुहुन्न १० लाख जति दिलाऔंला भन्नुभएको थियो । र, १० लाख रुपैयाँ स्वीकृत पनि गरिएको थियो ।

सरकारले अनावश्यक विदेश भ्रमणमा रोक लगाउने निर्णय नै गरेको छ । महत्व नभएको कार्यक्रममा ठूलो टोली जानु उचित नभएर हो कि ?

बाघ र बाख्राको एउटा कथा छ के ! तपाईंले सुन्नुभा’छ कि छैन ? बाघले बाख्रालाई भनेछ– एई, खोलाको पानी किन धमिलो बनाइस् ?

बाख्राले उत्तर दिएछ– म त खोलाको तलतिर छु, तपाईं माथितिर हुनुहुन्छ । तलतिर भएको धमिलो पानी माथितिर आउँदैन । मैले धमिलो बनाएको होइन हजुर !

अनि बाघले भनेछ– ए, तैंले होइन ? त्यसोभए तेरा बाउ, हजुरबाउले होला । अहिले भएको पनि यस्तै हो । सरकारबाट कार्यक्रमै अस्वीकृत भएको होइन, भीसी (उपकुलपति) मात्रै सरकारलाई अस्वीकृत भएको हो । म कोइराला परिवारको सदस्य हुनुको कारण हो ।

क्यानडामा हुने भनिएको संस्कृत सम्मेलन कस्तो हो ? त्यसमा तपाई सहभागी नहुँदा के हुन्छ र ?

सन् २०२४ मा नेपालमा संस्कृत सम्मेलन गर्ने भनेर हामी तयारीमा छौं । क्यानडाको सम्मेलनमा म त्यही प्रस्ताव लिएर जान लागेको थिएँ । तर, राजनीतिक कारणले मलाई त्यहाँ जान दिइएन । यसबाट अन्तर्राष्ट्रियस्तरमा नेपालको बेइज्जत भयो ।

सम्मेलनमा एक सयभन्दा धेरै देशका विज्ञहरु सहभागी छन् । त्यहाँ संस्कृतलाई प्रवद्र्धन गर्ने, नेपालमा संस्कृत विश्वविद्यालय छ है भनेर विश्वभर चिनाउने अवसर गुम्यो । म नगएर त केही भएन होला, तर देशको बेइज्जत भयो ।

राजनीतिक कारणले नेपाल संस्कृत विश्वविद्यालयका भीसीलाई सम्मेलनमा आउन दिइएन भनेर विदेशमा पनि व्यापक समाचार आइरहेको छ रे । आज बिहान मात्रै पनि मलाई त्यहाँका साथीहरुले भाइबरमा म्यासेज पठाउनुभएको छ ।

अब सन् २०२४ मा नेपालमा संस्कृत सम्मेलन हुन्छ कि हुँदैन त ?

सरकारले सहयोग गरेमा हुन्छ । विदेशी पाहुनाहरुलाई खुवाउने, बसाउने, सुरक्षा दिलाउने, सबै प्रवन्ध मिलाउनुपर्‍याे । यो काम विश्वविद्यालयले मात्रै गर्न सक्दैन । सरकारको सहयोग भए सम्मेलन गर्न सकिन्छ ।

तपाईंको राजीनामा आउने हल्ला पनि चलिरहेको छ, अब के गर्नुहुन्छ ?

किन राजीनामा दिने ? के कारणले दिने ? पहिले ज्ञानेन्द्र शाहले गर्ने व्यवहार जस्तो थियो, अहिले प्रधानमन्त्री केपी ओलीको व्यवहार पनि त्यस्तै भयो । मैले ज्ञानेन्द्रविरुद्ध जे गरेको थिएँ, ओलीविरुद्ध पनि त्यही गर्नेछु, यदि कांग्रेसले साथ दियो भने ।- साभार:अनलाइन खबर बाट

यी समाचार पनि पढ्नुहोस्
Scroll Up