गल्याङ सामुदायिक स्वास्थ्य केन्द्र (अस्पताल) लाई एम्बुलेन्स भ्यान प्रदान ।

 

बोम्जन गुरुङ, सउल ।

स्याङ्जा परिवार दक्षिण कोरियाद्वारा २२ असार २०७५ (६ जुलाई २०१८) का दिन गल्याङ सामुदायिक स्वास्थ्य केन्द्र (अस्पताल) लाई बृहत निःशुल्क स्वास्थ्य शिविर समुद्घाटन कार्यक्रम विच औपचारिक रुपमा एम्बुलेन्स भ्यान प्रदान गरिएको छ ।

प्रवासी भूमि दक्षिण कोरियाको अति क्रियाशिल र गौरवमय संस्था मध्ये सन् १९९७ मा स्थापित यस स्याङ्जा परिवार दक्षिण कोरियाद्वारा गत वर्ष २८ जनवरी २०१७ मा स्याङ्जा जिल्ला अन्तर्गत स्वास्थ्य क्षेत्रको सहयोगार्थ “आँधीखोला सांगीतिक सौगात-५” भव्यताका साथ सु-सम्पन्न गरेको र कार्यक्रमको उद्वेश्यअनुरुप सोही वर्षको मार्च १२ तारिकको आय-व्यय सार्वजनिक तथा समिक्षा बैठकद्वारा सर्वसम्मत पारित निर्णय बमोजिम निर्माणाधीन गल्याङ सामुदायिक स्वास्थ्य केन्द्र (अस्पताल) लाई एम्बुलेन्स भ्यान प्रदान गरिएको हो l

नेपाल सरकार स्वास्थ्य राज्य मन्त्री श्री पद्मा अर्याल ज्यु र संस्थाका तत्कालीन अध्यक्ष एवं हस्तान्तरण कार्यक्रम संयोजक श्री राजु भण्डारी ज्युबाट संयुक्त रुपमा अस्पताल व्यवस्थापन समितिमा अध्यक्ष श्री लाल गोपाल अर्याल ज्युलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरिएको थियो । कोरियामा विभिन्न संघ-संस्थासँग सहकार्य र समन्वय गर्दै हरेक गतिविधिमा सक्रिय यस संस्थाले योभन्दा अगाडि २०११ मा गर्हौंकालिका घ्याङ्लिङ सामुदायिक अस्पताललाई एक्स-रे मेशिन, २०१३ मा जिल्ला अस्पताल स्याङ्जालाई एम्बुलेन्स भ्यान साथै २०१७ मा पेल्काचौर स्वास्थ्य चौकीलाई कम्प्यूटर सेट प्रदान गरिसकेको छ ।

व्यवस्थापन र समयको तालमेलको अभावको कारण एम्बुलेन्स २३ फेब्रुअरी २०१८ (११ फाल्गुण २०७४) बाट सञ्चालन आएपनि औपचारिक रुपमा एम्बुलेन्स हस्तान्तरण कार्यक्रम बाँकी रहेको थियो र आज गल्याङ नगरवासी र आसपासको क्षेत्रबाट निःशुल्क स्वास्थ्य शिविरमा सहभागी करीव ५०० जना जनसमुदायको विच यस कार्यक्रम सम्पन्न भएको थियो ।

हालसम्म विभिन्न देशका १२ वटा स्याङ्जाली संघ-संस्था आबद्व भएको साथै मूल समन्वयकारी भूमिका खेलेको नेपाल स्थित २०६६ मा स्थापित स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको वर्तमान अध्यक्ष श्री चन्द्र बहादुर रोकाहा, महासचिव ख्यामनारायण काफ्ले, सामाजिक अभियान्ता राजेश पाण्डे, संस्थाका सञ्चार विभाग प्रतिनिधि कृष्ण प्रसाद बस्याल लागायतको रहोवरमा सो एम्बुलेन्स हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति अभिभावक/संरक्षक रहने गरि यो एम्बुलेन्सको नियमित निगरानी रहनेछ ।

यस स्याङ्जा परिवार दक्षिण कोरियाको प्रतिष्ठा र मर्यादालाई उच्च बनाउन सांगीतिक कार्यक्रमलाई सफल बनाउन सहयोगी समस्त नेपाली मनकारी व्यक्तित्वहरु लगायत आजको यो पुण्य कार्यसम्म जोडिनुभएको सम्पूर्णलाई अतुलनीय सहयोगको संस्मरण र सम्मान गर्दै स्याङ्जा परिवारले पुनः हार्दिक धन्यवाद र कृतज्ञता व्यक्त गरेको छ ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up