कोरियामा प्रथम नेपाल भलिबल कप आयोजना हुने।

 

लेसन गुरुङ, सोल ।

कोरियामा प्रथम नेपाल भलिबल कप प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल कोरिया भलिबल संघको आयोजनामा हुन लागेको प्रतियोगिता कोरियाको कम्पनीहरुमा दिईने गर्मी बिदाको अवसर पारेर आगामी जुलाईको २९ तारिख आईतवार हुने संघको संयोजक भजिन्द्र क्षेत्रीले जानकारी दिए ।

नेपालको राष्ट्रिय खेल भलिबलको विकास र संवर्द्धन गर्दै “हाम्रो प्रतिबद्दता, स्वास्थ्य र राष्ट्रको लागि खेलकुद प्रतियोगिता “ भन्ने मुल नारासहित नेपाल र कोरियामा आयोजना हुने भलिबल प्रतियोगिताहरुमा हुने आकस्मिक दुर्घटनाहरुमा घाइते खेलाडीहरुको उपचारमा सहयोग गर्ने उद्देश्यको साथ अक्षय कोष स्थापनार्थ प्रतियोगिता आयोजना गर्न लागिएको संघको सचिव लेसन गुरुङले बताए ।

अहिले सम्मकै सर्बाधिक पुरस्कार राशि राखिएको यस प्रतियोगितामा विजेताले नगद १५ लाख वन र उपविजेताले ११ लाख वन हात पार्दा सेमिफाइनलिष्ट दुई टिमले नगद ४ लाखको दरले पुरस्कार राशी हात पार्नेछ । खेल अवधिभर विभिन्न विधा(स्पाईकर,लिफ्टर,ब्लकर र लिबेरो)मा उत्कृष्ट खेलाडीहरुले ट्रफी,नगद र प्रमाणपत्र प्राप्त गर्नेछ ।

नेपाल कोरिया भलिबल संघले कोरियामा क्रियाशिल सम्पुर्ण संघसंस्थाहरुलाई आगामी जुलाई २९ तारिखमा कुनै खाले प्रतियोगिता नजुधाई संघलाई सहयोग गरिदिन सबैमा आग्रह गरेको छ ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up