कांग्रेसले सरकारविरुद्ध सडक र संसदमा आन्दोलन चर्काउने

काठमाडौं: सरकारले दुईतिहाइ बहुमतका आडमा अधिनायकवाद लाद्न खोजेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशव्यापी आन्दोलन घोषणा गरेको छ। कांग्रेसले संसद र सडकबाट आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

चिकित्सा शिक्षा सुधार मागसहित अनसनरत प्रा. डा. गोविन्द केसीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै कांग्रेसले सरकारको अधिनायकवादी शैलीविरुद्ध साउन ३ गतेदेखि आन्दोलन गर्ने भएको हो । उसले साउन १५ गते ७७ जिल्लामै विरोध प्रदर्शन गर्ने भएको छ ।

मंगलबार बिहान पार्टी मुख्यालय सानेपामा पार्टीका भातृ र शुभेच्छुक संस्थाका प्रमुखसँगको बैठकमा उपसभापति विमलेन्द्र निधीले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । कांग्रेसले साउन ३ गते संसद अवरुद्ध गर्ने र त्यही दिन सडकमा प्रदर्शन गर्ने भएको छ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा प्रदेश सभामा पनि माथेमा कार्यदलको प्रतिवेदनका आधारमा संसदमा दर्ता चिकित्सा शिक्षा विधेयक हुबहु पारित गर्नुपर्ने माग गर्दै कांग्रेसले बिरोध गरिरहेको छ। साउन ३ गते नै नेपाल चिकित्सक संघ र प्रजातन्त्रवादी प्राध्यापक संघले माइतीघर मण्डलाबाट विरोध प्रदर्शन गर्दै नयाँ बानेश्वरस्थित प्रतिनिधि सभा अगाडि कोणसभा गर्ने भएका छन् ।

विरोध प्रदर्शनमा कांग्रेसले आफ्ना सबै भातृ तथा शुभेच्छुक संस्थाका सदस्यलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । कांग्रेसका उपसभापति निधिले सरकारले चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक कसैको स्वार्थमा ल्याएको भन्दै त्यसविरुद्ध आन्दोलन गर्नुपरेको बताए ।

केसीको जीवनबारे सरकार गैरजिम्मेवार बनेको बताउँदै उनले केसीको स्वाथ्यमा तलमाथि भए सरकार नै जिम्मेवार हुनुपर्ने उल्लेख गरे। चिकित्सा शिक्षाको विरोधमा तरुण दलले साउन ५ गते काठमाडौँमा प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ । यसैगरी, साउन ६ गते बिपी कोइरालाको स्मृति दिवसका अवसरमा केन्द्र र जिल्लामा कार्यक्रम गर्ने भएको छ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up