कांग्रेसलगायतका दलले गरेको आलोचनाको प्रतिवाद गर्न प्रधानमन्त्री द्वारा निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष केपी शर्मा ओलीले विपक्षी दल कांग्रेस लगायतका दलको आलोचना बढ्दै गएकाले प्रतिवादन गर्न आग्रह गरेका छन् । ने क पाको स्थायी कमिटी बैठकमा उनले पार्टीका नेताहरुलाई यस्तो निर्देशन दिएका हुन् । सरकारले सकारात्मक काम गर्दा पनि त्यसलाई उचालेर विपक्षीहरु अघि बढ्न खोजेको बताउँदै त्यसको कडा प्रतिवाद गर्न आग्रह गरेका थिए ।
“विपक्षीले सरकारका राम्रा काममा पनि हमला गर्ने रणनीति बनाएका छन्,” ओलीको भनाई उद्धृत गर्दै एक नेताले भने,“ त्यसको कडा रुपमा प्रतिवाद गरौं ।”

उनले गोविन्द केसी प्रकरण, गंगामाया प्रकरण र निषेधाज्ञा लगायतमा कांग्रेसलगायतका समूह आक्रामक रुपमा सरकारको आलोचना गर्न लागिपरेकाले प्रतिवादन गर्न आग्रह गरेको स्थायी कमिटीका एक सदस्यले बताए । बैठकमा ओलीले आफ्नो भारत तथा चीन भ्रमणबारे रिपोर्टिङ गर्दै भ्रमण मुलुकको हितमा भएको बताएका छन् ।

दुवै भ्रमणबाट नेपालको स्वतन्त्र परराष्ट्र नीतिको प्रभावकारी कार्यान्वयनको प्रक्रिया अगाडि बढेको उनको भनाइ थियो । भ्रमणबाट दुवै छिमेकीसँग सकारात्मक सम्बन्ध स्थापना गर्न सहयोग पुगेको र नेपालको हितमा केही सन्धिसम्झौताहरु भएको उनले बैठकमा जानकारी गराएका थिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि वर्तमान समसामयिक राजनीतिक परिस्थितिबारे रिपोर्टिङ गरेका थिए । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयको रिपोर्टिङका साथै पार्टीको नियमावलीबारे छलफल भएको जानकारी दिए ।

श्रेष्ठका अनुसार राजनीतिक स्थितिको थप समीक्षाा र तीनै तहका सरकारको कामकारबाहीबारे छलफल गर्न स्थायी कमिटीको अर्को बैठक बस्ने भएको छ । “संघ, प्रदेश र स्थानीय सरकारका कामकारबाहीको समीक्षा गर्न र अझ प्रभावकारी बनाउन स्थायी कमिटीको छुट्टै बैठक बस्नेछ,” उनले भने ।

बैठकमा पार्टीको प्रस्तावित नियमावलीबारे स्थायी समितिका सबै सदस्यले सुझाव दिएका थिए । सबै सुझावलाई ध्यानमा राखेर सचिवालयले त्यसलाई अन्तिम रुप दिने श्रेष्ठले बताए । पार्टी कमिटिको संख्या, पदाधिकारी, कसरी सबैलाई समावेश गर्ने भन्नेबारेमा सुझावहरु प्राप्त भएको उनले जानकारी दिए । पार्टी महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलले नियमावलीको मस्यौदा सचिवालयलाई बुझाइसकेको छ ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up