शून्य किलो सुनकाण्ड ! गृहमन्त्रीभन्दा ‘गोरे ग्याङ’ बलियो !

फाइल तस्बिर

ठूला माछा समातिने सम्भावना घट्यो, भुरासमेत उम्कने संकेत


२२ जेठ, काठमाडौं । अहिलेको चर्चित प्रकरण हो- साढे ३३ किलो सुनकाण्ड । तर, यसलाई सुन तस्करहरुले ‘शून्य किलो सुनकाण्ड’ मा ढिसमिस गरेर गृहमन्त्रालयको अप्रेसनलाई असफल बनाउने प्रयास थालेका छन् ।

ज-जसलाई ‘साढे ३३ किलो सुनकाण्ड’ मा समातिएको छ, उनीहरुले एक लाल पनि सुन बरामद नभएका कारण तस्करी प्रमाणित हुनै नसक्ने जिकिर गर्न थालिसकेका छन् ।

पछिल्लो समय गृहमन्त्री रामहादुर थापा बादलभन्दा सुन तस्करीको आरोपमा पक्राउ परेकाहरुको स्वर चर्को देखिन थालेको छ । गृहमन्त्रालय रक्षात्मक बन्दैछ । सँगसँगै सुन तस्करीको मुद्दा एकपछि अर्को गर्दै कमजोर बन्न थालेको छ ।

यो प्रकरणमा मूलतः दुईवटा अपराध सतहमा आएका छन् र छानविन गर्नुपर्ने विषय पनि यिनै दुईवटा हुन्ः एउटा-सुन तस्करी एवं संगठित अपराध । अनि अर्को चाहिँ सनम शाक्यको हत्या भएकाले ज्यान सम्बन्धी अपराधको अनुसन्धान । अहिलेसम्म साढे ३३ किलो सुन नभेटिए पनि सनमको शवचाहिँ भेटिइसकेकाले ज्यान मुद्दाबाट गोरेको ग्याङ उम्कन कठिन छैन ।

खोइ त साढे ३३ किलो सुन ?

विहीबार मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका एसएसपी श्यामबहादुर खत्रीले अदालतमा दिएको वयानमा भनेका छन्, ‘यस मुद्दामा सुन नै बरामद भएको छैन । यसरी सुन नै बरामद नभएको कुरामा म उपर यस्तो झूठा मुद्दा लगाई मलाइ पूर्णरुपमा फसाउन खोजेको हो ।’

खत्रीले आफू विमानस्थल भन्सारमा कार्यरत रहँदा गोरेले सून सम्बन्धी सूचनाहरु दिएर सहयोग गरेको भन्दै उनको वचाउ गरेका छन् । साथै, गोरे डीआइजी गोविन्द निरौलाको मान्छे भएको खत्रीले बारम्बार दोहोर्‍याएका छन् ।

तस्करीको भनिएको साढे ३३ किलो सुन कहाँ छ, अहिलेसम्म गृहमन्त्रालयले पत्तो लगाउन सकेको छैन । यो पत्ता नलगाउने हो भने मुद्दा निकै नै फितलो बन्न जानेछ र यसको फाइदा तस्करहरुले उठाउने निश्चित छ

एसएसपी खत्री पहिले पनि सुनकाण्डमा समातिएर पाटन उच्च अदालतमा साधारण तारेखमा छाडिएका प्रहरी अधिकारी हुन् । अहिलेको प्रकरणमा उनी दोषी छन् कि छैनन् ? यो अनुसन्धानकै विषय हो । तर, खत्रीले दिएको वयान पनि फौजदारी न्यायशास्त्रमा कम्ता रोचक छैन ।

सुन नै छैन, कसरी म सुन तस्कर भएँ ?

भोलि यही तर्काधारमा अदालतले खत्री र अन्य आरोपीलाई विगतमा जस्तै रिहा गरिदियो भने गृहमन्त्रालयको तस्कर समात्ने अभियान बीचैमा तुहिन सक्छ । किनभने, विगतमा पनि तस्करहरु यसैगरी जोगिँदै आएका छन् । र, सरकारले हार व्यहोर्दै आएको छ ।

साढे ३३ किलो सुनकाण्ड प्रकरणमा अहिले गृहमन्त्रालयको पहलकदमीमा जसरी मुद्दा अगाडि बढाइएको छ, यसलाई असफल बनाउन तस्करहरुका तर्फबाट पैसा खाएर वकालत गर्ने विद्वान वकिलहरु अनेकन जालझेल र कुतर्कमा जुटिसकेका छन् । श्यामबहादुर खत्रीको वयान पनि तिनै वकिलहरुले घोकाएर पठाएको विद्या हो ।

अब तस्करहरुको पहिलो प्रयास ‘३३ किलो सुन प्रकरण’लाई ‘शून्य किलो सुन प्रकरण’ मा परिणत गर्ने हुनेछ । सुन नै बरामद भएको छैन, अनि कसरी र कुन सुन हामीले तस्करी गर्‍यौं ? यही प्रश्नलाई तस्करहरुले आफ्नो तर्काधार बनाउने छन् ।

किनभने, तस्करीको भनिएको साढे ३३ किलो सुन कहाँ छ, अहिलेसम्म पत्तो लगोको छैन । यो पत्ता नलगाउने हो भने मुद्दा निकै नै फितलो बन्न जानेछ र यसको फाइदा तस्करहरुले उठाउने निश्चित छ ।

अब गृहमन्त्रालयले सुन तस्करहरुलाई उम्कन नदिने हो भने अनामनगरबाट गायव भएको भनिएको साढे ३३ किलो सुन कहाँ छ, त्यो पत्ता लगाउनु पहिलो शर्त हो । त्यो सुन बरामद भयो भने मुद्दा बलियो हुनेछ ।

गोरेलाई जोगाउने चलखेल !

सुन तस्करीका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती ‘गोरे’ भागेर भारत पुगेका थिए । तर, उनी गौरीघाटबाट पक्राउ परे । उनले छिरिङ वाङ्गेल वा श्यामबहादुर खत्रीले जसरी मोरङ अदालतमा आत्मसमर्पण गरेका होइनन् ।

कुनै सरकारी अधिकारी वा सुरक्षा निकायको साथ विना गोरे सकुशल गौरीघाटस्थित घरमा प्रवेश सम्भव थिएन । प्रहरीको खोजीको सूचीमा रहेका उनी कसरी गौरीघाट आइपुगे ? यो वस्तुस्थितिलाई हेरेर कतिपयले गोरेले प्रहरी र सरकारी अधिकारीहरुसँग सेटिङ मिलाएर गिरफ्तारी दिएको अनुमान लगाएका छन् ।

गोरेका ससुराली नेकपाका ठूला नेता हुन् । यसका साथै वकिल विद्या जानेका आफन्तहरुको पनि आड र संरक्षण रहेकाले गोरेले गौरीघाटमा आएर गिरफ्तारी दिएको बुझ्न सकिन्छ ।

पक्राउ परेका गोरेमाथि दुईवटा सजायँ हुन सक्छ, एउटा सुन तस्करी र संगठित अपराधमा । र, अर्को सनम शाक्यको हत्या गरेको अभियोगमा ज्यान सजाय । सुन तस्करीमा छुटे पनि वा कम सजायँ भए पनि सनम हत्यामा गोरे फस्न सक्ने सम्भावना प्रवल छ ।

तर, यी दुबै प्रकरणबाट गोरेलाई फुर्सद दिलाउनका लागि विद्वान अधिवक्ताहरु लागिपरेका छन् ।

प्रथमतः सुनै बरामद नभएकाले सुन तस्करी गरेको देखिएन भन्ने अनि दोस्रोचाहिँ सनमको हत्यामा गोरे संलग्न नरहेको, कुटपिटमात्रै गरेको तर अरुले नै मारेको भनेर उसलाई फुर्सद दिलाउने प्रयास वकिलहरुले थालिसकेका छन् ।

गोरेलाई जोगाउनका लागि उनका अन्य सहयोगीलाई मात्रै सनमका हत्यारा करार गर्ने प्रयासमा गोरेका वकिलहरु लागेका छन् ।

यो काण्डमा प्रहरी अधिकारीहरु मुछिँदा प्रकाश अर्यालमात्रै मौन रहेका हैनन् कि सर्वेन्द्र खनाल पनि मौन छन् । पक्राउ परेका प्रहरीका अधिकारीको बचाउमा खनाल पनि बोलेका छैनन् ।

प्रहरीको संलग्नताले उब्जाएको प्रश्न

यो प्रकरणमा केही प्रहरीसमेत समातिएका छन् । केही प्रहरी सुन तस्करीको अभियोगमा समातिएका छन् भने केही चाहिँ अनुसन्धानकै क्रममा लागेका भनिएका पनि पक्राउ परेका छन् ।

आइतबार पाटनढोकामा आयोजित एक कार्यक्रममा पूर्वएआइजी राजेन्द्रसिंह भण्डारी र पूर्वडीआइजीद्वय रमेश खरेल अनि हेमन्त मल्ल ठकुरीले प्रहरीलाई पक्राउ गरिनु गलत भएको बताएपछि गृहमन्त्रालयसमेत झस्कियो । गृहले सोमबार प्रेस विज्ञप्ति नै जारी गरेर पूर्वप्रहरी अधिकारीको भनाइप्रति आपत्ति जनाएको छ । विनाआधार कसैलाई पनि नपक्रिएको गृहको दाबी छ ।

तथापि, यो घटनामा प्रहरीको संलग्नता एउटा गम्भीर प्रश्न हो । मोरङमा भएको अपराधको घटनामा काठमाडौंबाट प्रहरी खटिनु, सनमको लास गाडीमा बोकेर काठमाडौंका ती प्रहरी अधिकारीहरु धरान र इटहरीतिर घुमघाम गर्नु, गोरेसँग केही प्रहरीको पुरानै साँठगाँठ रहनु आदि हेर्दा यो हर्कतलाई ‘अण्डर कभर अप्रेसन’ मात्रै मान्न सकिने अवस्था देखिन्न ।

अपराध महाशाखालाई प्रश्न : गोरेलाई किन प्रतिवादी बनाइएन ?

तै पनि केही प्रहरी अधिकारीहरुले गृहमन्त्रालयसँग गुनासो गर्न थालेका छन्, जसले गृहमन्त्री र प्रहरी प्रशासनवीचमै यो काण्डबारे अन्तरविरोधको संकेत गर्न थालेको छ । आइतबार तीन पूर्वप्रहरी अधिकारीले दिएको अभिव्यक्ति यसैको संकेत हो ।

तर, ती प्रहरी अधिकारीहरु पनि अहिलेको प्रहरी नेतृत्व सर्वेन्द्र खनालको भूमिकालाई सही देख्ने र अघिल्ला आइजीपी प्रकाश अर्यालतिरमात्रै दोष थोपर्ने पूर्वाग्रहबाट ग्रसित देखिएका छन् । यसले प्रहरी संगठनभित्रै एउटाले अर्कोलाई दोषी देखाउने रोग पसिसकेको संकेत गर्छ ।

किनभने यो काण्डमा प्रहरी अधिकारीहरु मुछिँदा प्रकाश अर्यालमात्रै मौन रहेका हैनन् कि सर्वेन्द्र खनाल पनि मौन छन् । पक्राउ परेका प्रहरीका अधिकारीको बचाउमा खनाल पनि बोलेका छैनन् । पूर्व डीआइजीको आग्रहचाहिँ के देखिन्छ भने प्रहरी नेतृत्वले उनीहरुको पक्षमा बोल्नुपर्छ र तिनलाई बचाउनुपर्छ ।

गोरेलाई देखाएर ठूला माछा गायब !

अहिलेसम्म विभिन्न व्यक्तिका वयान र प्रारम्भिक तथ्यहरुलाई हेर्दा विमानस्थलबाट सुनको अवैध कारोबार गर्ने महत्वपूर्ण व्यक्तिमा मोहन अग्रवाल र तिनका दुई दाजुभाइहरु पनि हुन् । तर, उनीहरु फरार छन् ।

भरियाहरु पक्राउ गर्ने तर मालिक कहिल्यै पक्राउ नपर्ने तितो अनुभव छ । त्यसैले अहिले पनि सबै थोक गोरे हुन् भनेर अरुलाई छाड्ने त होइन भन्ने आशंका छ । त्यसो त सुन तस्करीमा गोरे कान्छो सदस्य हुन् । उनीभन्दा अगाडि नै भुजुङ गुरुङको समूहले पञ्चायतकालदेखि नै नियमितरुपमा सुन तस्करी गर्दै आइरहेको थियो ।

यीबाहेक सुन तस्करीमा अन्य राजनीतिक दलका नेता र ठूला व्यापारीको पनि संलग्नता रहेको अनुमान गरिँदै आएको छ ।

तर, यसमा गोरेतिर देखाएर ठूला अपराधीहरुका छेउमै नपुगी अनुसन्धान सकिने सम्भावना बढ्न थालेको छ । किनभने यो मुद्दा अब गृहमन्त्रालयको भन्दा पनि मोरङ जिल्ला अदालतको हातमा छ । र, यो स्थितिमा अब साढे ३३ किलो सुन प्रकरणमा ठूलो माछा छुट्ने त होइन भन्ने आशंका गर्नेहरु पनि भेटिन थालेका छन् ।

बरु समातिएकाहरु सहजै छुटे भने अब अचम्म नमान्दा हुन्छ । यो सुनकाण्डमा सघन अप्रेसन चलाएकोमा गृहमन्त्री रामबहादुर थापाले जनमानसबाट स्याब्बासी र प्रशंसा पाइरहेका छन् । गृहमन्त्रीको कदममा जनताको राम्रो साथ देखिएको छ । तर, यो प्रशंसा त्यसबेलासम्म कायम रहनेछ, जतिबेलासम्म दोषीहरु उम्कने छैनन् ।-   साभार:अनलाइन खबर

यी समाचार पनि पढ्नुहोस्
Scroll Up