विपी राजमार्गमा ठूला सवारी चलाउन दिनु त्रुटीपूर्ण : विज्ञ, सरकार भन्छ– अध्ययन गरेरै दिइएको हो

काठमाडौं । विपी राजमार्गमा ठूला बस सञ्चालनको अनुमति दिने सरकारी निर्णयलाई विज्ञहरुले त्रुटीपूर्ण भनेका छन् । राजमार्ग बन्नुअघि नै यसमा कस्ता र कति सिट क्षमताका सवारी चल्ने भन्ने अध्ययन जापानका इन्जिनियरहरुले गरिसकेकाले हाल आएर केही व्यवसायीको स्वार्थअनुसार सवारी सञ्चालन दिनु वातावरणीय र भौतिक रुपमा पनि त्रुटीपूर्ण हुने उनीहरुको भनाइ छ ।

वातावरणविद् तथा इन्जिनियर भूषण तुलाधर भन्छन्, “ठूला मालवाहक सवारीलाई यस राजमार्गमा सवारी सञ्चालनको अनुमति दिनु त्रुटिपूर्ण छ । पहिलेकै डिजाइनअनुसार सवारी चलाउनु सुरक्षित हुन्छ ।”

केही व्यवसायीको स्वार्थ र दबाबमा मन्त्रालय, विभाग, ट्राफिक प्रहरी र केही विज्ञ तथा इन्जिनियरले सतही अध्ययनका भरमा निकालेको प्रतिवेदनका आधारमा ठूला सवारीलाई अनुमति दिँदा सडक दुर्घटनाको जोखिम बढ्ने तथा सडक भत्किने, पहिरो जानेजस्ता समस्या देखापर्ने सडक विज्ञहरुको दाबी छ ।

पूर्वाधारविज्ञ सूर्यराज आचार्य विपी राजमार्गमा सघन अध्ययनबिना नै सरकारले ठूला सवारी चलाउन अनुमति दिनु त्रुटिपूर्ण भएको बताउँछन् । “आवश्यक अध्ययनपछि मात्र मन्त्रालयले ठूला सवारी सञ्चालनको अनुमति दिनुपथ्र्यो,” आचार्यले बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिव तुलसी सिटौलाले यस सडक खण्डमा ठूला सवारी चलाउनका लागि विशेष गरी यातायात व्यवसायीको माग पहिलेदेखिकै रहेको बताए । “साना सवारीभन्दा ठूलामा भाडा सस्तो पर्ने लोभमा स्थानीयबासीको समर्थन पनि व्यवसायीले पाए, यसैले मन्त्रालयले उक्त सडकमा ठूला सवारी चलाउने अनुमति दिएको हुनसक्छ,” उनले भने ।

यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र सडक विज्ञको टोलीले विपी राजमार्गमा हालसम्म ३ पटक अध्ययन गरेको छ । यस राजमार्गमा पहिलो अध्ययन मेकानिकल निर्देशक शरद अधिकारीको संयोजकत्वमा २०७२ सालमा भएको थियो । उक्त अध्ययनले चालकसहित १६ सिट क्षमताका सवारी सञ्चालन गर्न सकिने देखाएको यातायात व्यवस्था विभागका निर्देशक तुलसीराम अर्यालले जानकारी दिए ।

यस्तै, २०७३ मा मेकानिकल इन्जिनियर गोविन्दप्रसाद खरेलको संयोजकत्वमा भएको दोस्रो अध्ययनले चालकसहित १८ सिट क्षमताका सवारी सञ्चालन गर्न सकिने बताएको थियो । २०७३ को अन्त्यमा विष्णुओम बादेको संयोजकत्वमा भएको तेस्रो अध्यननले भने चालकसहित ३८ सिट क्षमताको सवारी चलाउन सकिने निष्कर्ष निकालेको थियो ।

विपी राजमार्गमा ठूला सवारी सञ्चालन गर्दा सवारी साइड हुन नसक्दा ट्राफिक जामको समस्या देखिने त्यहाँका ट्राफिक प्रहरीको अनुमान छ । “सरकारले गरेको निर्णयलाई हामीले कार्यान्वयन गर्ने हो, तर धुलिखेलदेखि बर्दिबाससम्म नै सडकको आकार केही सानो भएकाले ठूला गाडीको सञ्चालन केही असहज हुनसक्छ,” जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव निरीक्षक चन्द्रकुमार थाजु श्रेष्ठले बाह्रखरीसँग भने ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मङ्गलबारबाट यस सडक खण्डमा ठूला सवारी चलाउने अनुमति दिएको हो । यसअघिका यातायात मन्त्री रमेश लेखक, वीरबहादुर बलायरलाई पनि यातायात व्यवसायीले यस सडक खण्डमा ठूला सवारी चलाउन दबाब दिँदै आएका थिए ।

यातायात व्यवसायी र स्थानीय जनप्रतिनिधिको समेत निरन्तर दबाब आएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यस सडक खण्डमा त्यस्ता सवारी सञ्चालनको अनुमति दिएको हुनसक्ने यातायात व्यवस्था विभागका एक निर्देशकले बाह्रखरीसँगको कुराकानीमा बताए ।

“यातायात व्यवसायीको दबाब पहिल्यैदेखिको हो, यसपटक मन्त्री पनि पूर्वकै पर्नुभएकाले त्यहाँका जनप्रतिनिधिबाट पनि ठूला गाडी चलाउन थप दबाब आएको हुनसक्छ,” विभागका ती निर्देशकले भने, “मन्त्रालयबाटै ठूला गाडी चलाउन निर्णय भइसकेकाले यसमा विभाग वा यातायात व्यवस्थालाई केही बोल्ने अधिकार छैन ।” यातायात व्यवस्था विभाग, व्यवस्था कार्यालय बाग्मती र मन्त्रालयकै केही अधिकृतले पनि मन्त्री महासेठले गरेको यस निर्णयलाई ‘हचुवाका भरमा गरेको निर्णय भनी अथ्र्याएका छन् ।

यातायात व्यवस्था विभाग भने मन्त्रालयले प्राविधिक अध्ययन गरेर नै विपी राजमार्गमा ड्राइभरसहित ३२ सिट क्षमताका सवारीलाई अनुमति दिएको बताउँछ ।

२०७३ साल अन्तिममा भएको पछिल्लो अध्ययनले विपी राजमार्गमा ३५ सिट क्षमताका सवारी चलाउन सकिने देखिएको विभागका मेकानिकल इन्जिनियर मोहन भट्टराईले बताए । “त्यसबेलाकै अध्ययनले विपी राजमार्गमा ३५ सिट क्षमताका सवारी चलाउन सकिने देखिएको हो, अध्ययनअनुसार नै हाल मन्त्रालयले ३२ सिट क्षमताका सवारी चलानउन सकिने निर्णय गेरको हो,” भट्टराईले भने ।

मन्त्रालयले विपी राजमार्गमा ४.२२५ मिटर लम्बाइ र २.४४ मिटर चौडाइका सवारीलाई अनुमति दिएको मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले बताए । उक्त आकारका मालबाहक सवारीलाई पनि ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनको अनुमति दिइएका प्रवक्ता शर्माले जानकारी दिए ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up