रौतहटमा प्रहरीसँग दोहोरो गोली हानाहानमा एकजनाको मृत्यु

अत्यधुनिक हतियार बरामद गरेको प्रहरी भनाइ


काठमाडौं । रौतहटमा गएराति प्रहरी र अज्ञात समूहबीच दोहोरो गोली हानाहान भएको छ ।  रौतहटको राजदेवी नगरपालिकास्थित मुडबलागाउँको उत्तरमा रहेको बागमती नदिको तटबन्ध क्षेत्रमा दोहोरो गोली हानाहान हुँदा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले जानकारी दिए ।

मृत्यु हुने व्यक्तिको सनाखत भइसकेको छैन ।  प्रवक्ता थापाका अनुसार दोहोरो रुपमा करिब ३१ राउण्ड गोली चलेको थियो ।  उनले उक्त समूह ठूलै आपराधिक गिरोह हुन सक्ने बताउँदै उनीहरुसँग भएका अत्यधुनिक हतियार बरामद गरिएको बताए ।

खुट्टा र पिठ्युमा गोली लागेका उनलाई उपचारका लागि गौर अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो ।  मृतकको साथबाट एसएमजी बन्दुक र त्यसमा लाग्ने म्यागेजिन बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले अत्यधुनिक हतियारसहित नेपाल प्रवेश गरेको सूचना पाएपछि टोली परिचलान गरेको थियो ।  उक्त समूहलाई रोक्ने प्रयास गर्दा मोटरसाइकलमा आएको समूहले गोली चलाएपछि प्रहरीले पनि चलाउनुपरेको जनाएको छ । गोली चलेको स्थान भारतीय सीमाक्षेत्र नजिकै भएकाले घाइते भएका दुईजना भारततर्फ भागेको प्रहरीले जनाएको छ ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up