पानीको बहाव बढे संगै ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी पूरा क्षमतामा

मस्र्याङ्दी नदीमा पानीको बहाव बढेपछि मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्र पूरा क्षमतामा चलेको छ । केही दिनयता प्रतिदिन औसत ७१ मेगावाटसम्म विद्युत् उत्पादन भइरहेको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रका प्रमुख पशुपतिराज गौतमले बताए । यसअघि मध्य हिउँदमा खोलामा पानीको बहाव घटेपछि ७० मेगावाट क्षमताको यस केन्द्रबाट प्रतिदिन औसत २५ मेगावाटसम्म मात्र विद्युत् उत्पादन भएको थियो ।

‘मस्र्याङ्दी नदीमा पानीको मात्रा कम भएकाले मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रमा जडित ३५–३५ मेगावाट क्षमताका २ वटै टर्बाइन २४सै घन्टा चल्न सकेका थिएनन्,’ जलविद्युत् केन्द्रका प्रमुख गौतमले भने, ‘लगातार परेको वर्षाका कारण मस्र्याङ्दी नदीमा मिसिने स–साना खहरे खोला तथा छहराहरूमा पानीको बहावमा वृद्धि भएपछि मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको उत्पादनमा एक्कासि वृद्धि भएको हो ।’ उनका अनुसार परियोजनाको बाँध क्षेत्रमा पानी बढी भएर चौबीसै घन्टा खोलामा फ्याँक्नुपरेको छ ।

रन अफ द रिभर प्रविधिको यो केन्द्रमा पानी कम हुँदा पानी सञ्चित गराउँदै उत्पादन लिनुपर्ने भए पनि वर्षा लागेकाले अहिले त्यसो गर्नुनपरेको गौतमले जानकारी दिए । उनका अनुसार जेठ २० अगाडि केन्द्रबाट औसत ६५ मेगावाट विद्युत् उत्पादन भएको थियो भने यो साताबाट निरन्तर रूपले विद्युत् उत्पादनमा वृद्धि हुँदै गएको छ ।

निर्माण सम्पन्नपश्चात् अहिलेसम्म परियोजनाबाट विद्युत् उत्पादन २५ मेगावाटभन्दा तल नघटेको परियोजनाले दाबी गरेको छ । वर्षायाममा पानीको बहाव प्रचुर मात्रामा भएपछि ७० मेगावाट क्षमताको जलविद्युत् केन्द्रबाट ७४ मेगावाटसम्म विद्युत् उत्पादन हुने गरेको केन्द्रले जनाएको छ ।

यसअघि मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको विद्युत्गृहमा जडित २ वटै टर्बाइन र जलाशयमा समस्या देखिएको थियो । उक्त समयमा एक हप्तासम्म केन्द्रले विद्युत् उत्पादन बन्द गरी मर्मत–सम्भारसमेत गरेको थियो । मर्मतका क्रममा केन्द्रले इलेक्ट्रोमेकानिकलअन्तर्गत टर्बाइन, जेनेरेटरलगायतका सामग्रीको मर्मत गरेको केन्द्र प्रमुख गौतमले बताए ।

वर्षायाम सुरु भएसँगै लमजुङमा रहेको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी–ए, ४ मेगावाटको खुदी, ५ मेगावाटको सिउरी, ४.४ मेगावाटको राँधी र २ मेगावाटको छ्याङ्दीबाट पूरा क्षमतामा विद्युत् उत्पादन भइरहेको छ ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up