तमु धीं द्वारा स्योंकैं (वनभोज) भव्यताका साथ सम्पन्न ।

तमु धीं द्वारा स्योंकैं (वनभोज) भव्यताका साथ सम्पन्न ।

 

बोम्जन गुरुङ, सउल ।

प्ये म्हस्याँ छ्या म्हमु,छ्या म्हस्याँ ल्हु म्हमु,ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात् “शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाती) हराउँछ ।

यस तमु धीं दक्षिण कोरियाले विगतमा जस्तै यही २०१८ जून २३ तारिक शनिबार र २४ तारिक आईतबार स्योंकैं (वनभोज) कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । स्योंकैं (वनभोज) कार्यक्रममा सहभागी बनौं, अति सुन्दर रमणीय मनमोहक दृष्यहरुसँगै प्रवासी थकित मनलाई शान्त र आनन्द दिलाऔं भन्ने नारासहित मध्य भूभागमा अवस्थित थोङनामु रिसोर्ट लोग्ली (충남 보령시 해안로 705-44) मा भव्य रुपमा स्योंकैं (वनभोज) सम्पन्न भएको हो ।

यसै बर्ष अप्रिल २९ मा नवगठित तमु धीं दक्षिण कोरियाको थेगु शाखा र बुसान-किम्हे/ गजेदो क्षेत्रमा रहेका सम्पुर्ण तमु बन्धुहरुहरुको सहकार्य र संयोजनसँगै यस स्योंकैं (वनभोज) कार्यक्रममा कोरियास्थित विभिन्न भेगका तमु दाजुभाई, दिदीबहिनीहरुको उत्साहजनक सहभागिता रहेको थियो । राजधानी सउल, थेगु, गजेदो, बुसान-किम्हेबाट कार्यक्रम स्थलसम्म जान आउन ५ वटा आरामदायी डिलक्स बसको व्यवस्था गरिएको थियो ।

कार्यक्रममा पर्याप्त मात्रामा स्वादिष्ट कोरियन र नेपाली विभिन्न परिकारहरु, तमु (गुरुङ) कलाकारहरुको मौलिक संस्कृति झल्किने साँस्कृतिक बेजोड प्रस्तुतिहरु, सामुन्द्रिक तटमा रमाईलो मनोरञ्जनात्मक खेलहरु, खुल्ला एकल/सामुहिक नृत्य तथा गायन प्रस्तुतिहरु लगायतका समावेश गरिएको यस स्योंकैं (वनभोज) कार्यक्रमका मुख्य आकर्षणहरु रहेका थिए ।

तमु (गुरुङ) हरुको आपसी सद्भाव र बन्धुत्वको भावनालाई अझै मझबुत र कसिलो बनाउने र यो कार्यक्रमले संस्थाको इतिहासमा ऐतिहासिक रुपमै नौलो आयाम थपिएको आयोजक तमु धींले दावी गरेको छ । अनौपचारिक रुपमा संचालन गरिएको कार्यक्रममा संस्थाका केन्द्रिय अध्यक्ष जीत गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम दोश्रो दिन अर्थात २४ तारिक वनभोज स्थलको कबर्डहलमा सञ्चालित कार्यक्रममा बोल्दै कार्यक्रम सम्पन्न गराउन मन, वचन र कर्मले सहयोग गर्नुभएकोमा समस्त उपस्थित महानुभावहरुमा हार्दिक आभार र धन्यवाद व्यक्त गरेका थिए ।

संस्थाको सर्वाङ्गगीण विकास र उन्नतिका लागि संस्थाद्वारा आयोजित हरेक कार्यक्रममा तमु (गुरुङ) हरुको साथ र सदासयता अनिवार्य अत्यावश्यक हुनेमा जोड दिदै वक्ताहरु तमु धीं दक्षिण कोरियाका संरक्षक भिम गुरुङ (पर्वत), केन्द्रिय वरिष्ठ सल्लाहकार गुप्त गुरुङ, थेगु शाखाका उपाध्यक्ष विनोद गुरुङ, बुसान क्षेत्रका सक्रिय प्रतिनिधि गोपाल गुरुङ लगायतले कार्यक्रमको उपयोगिता, महत्व र प्रभावबारे प्रकाश पार्दै आ-आफ्नो धारणा राखेका थिए ।

थेगु शाखाका सचिव बिल गुरुङको कार्यक्रम सहजीकरण सँगै केन्द्रिय समितिका महासचिव लेसन गुरुङले सम्पूर्ण कार्यक्रम संचालन गरेका थिए । तमु (गुरुङ) संस्कृति र परम्परा अनुसार च्याँगी प्रथालाई जगेर्ना गर्ने उद्वेश्य अनुरुप नितान्त नौलो अवधारणा सहित थेगु शाखा सचिव बिल गुरुङको परिकल्पनामा जातीय चालचलनलाई जीवन्त बनाउन थेगु क्षेत्रका चेलीहरुबाट सउल क्षेत्रका दाजुभाईहरुलाई ढाका टोपी लगाईदिएर सम्मान गरेका थिए ।

करीव दुई सय जनाको उल्लेख्य सहभागिता रहेको यस कार्यक्रममा उपस्थित भई सभ्य र भब्य रुपमा सफल बनाईदिनु भएकोमा कोरियामा रहेका सम्पूर्ण गुरुङ(तमु) तथा गैर गुरुङ (तमु) दाजुभाइ-दिदीबहिनीहरु, बुद्धिजीबीहरु, पत्रकारहरु, व्यवसायीहरुलाई तमु धीं दक्षिण कोरियाले हार्दिकताका साथ आभार तथा धन्यवाद व्यक्त गरेको छ ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up