चुहिने छानोमुनि चिसो भुइँमा बसेर पढ्न बाध्य

मटिहानी नगरपालिका–९ सिमरदहीको लक्ष्मीनारायण माविका विद्यार्थी चुहिने छानोमुनि चिसो भुइँमा बसेर पढ्न बाध्य छन् । विद्यालयमा न पर्याप्त भौतिक सामग्री छ, न बस्ने सुविधाजनक व्यवस्था । वर्षामा पानी पर्न थालेपछि विद्यार्थीलाई बिदा दिइन्छ । तर, भिजेर घर जान नसक्दा विद्यालयमै जसोतसो ओत लागेर बस्ने गरेको अभिभावक बताउँछन् ।

बेलायत सरकारको सहयोगमा विद्यालयका लागि दुईकोठे भवन बनाइएको छ । तर, एउटा कोठा कार्यालय र अर्को माथिल्लो कक्षाका लागि प्रयोग गरिएको छ । केही दिनअघि अनुगमनमा गएको स्थानीय जनप्रतिनिधिको टोलीमा सहभागी प्रदेश सांसद अभिराम शर्माका अनुसार कक्षा १० सम्म पढाइ हुने विद्यालयमा दुई कोठा पर्याप्त छैन ।

अनुगमनमा सहभागी जिसस संयोजक सुरेशप्रसाद सिंहले विद्यालयको अवस्था सुधार्न सम्बन्धित निकायसमक्ष रिपोर्ट पठाउने बताए । तर, यसअघि तत्कालीन जिल्ला शिक्षा कार्यालयले आर्थिक वर्ष ०७३/७४ मा विद्यालय सुधारका लागि प्रत्येक विद्यार्थी बराबर पाँच सय रुपैयाँका दरले रकम पठाएको थियो । सो रकम शैक्षिक सामग्री, कार्पेट, दराज, खेलसामग्री खरिदमा खर्च भए नभएको छानबिन हुनुपर्ने एक अविभावकले बताए ।

विद्यालयमा सहयोगी भए पनि कक्षाकोठा कहिल्यै सफा गर्ने नगरिएको पाइएको छ । विद्यालयको दुईकोठे भवन निर्माण समितिका अध्यक्ष श्याम चौधरीले प्रायः दलित समुदायका बालबालिका अध्ययन गर्ने हुनाले सरोकारवालाहरूले विद्यालय व्यवस्थापनमा चासो नदेखाएको आरोप लगाए । उनले विद्यालयलाई थप सहयोग गर्न स्थानीय तहका प्रतिनिधिलाई आग्रह गरे ।

छैन खाजासमय
लक्ष्मीनारायण माविका विद्यार्थीलाई बस्ने ठाउँको राम्रो व्यवस्था त छैन नै, खाजा खाने समय पनि दिइएको छैन । विद्यालय परिसरमा घेराबार नभएकाले टिफिनमा घर गएका विद्यार्थी नफर्कने हुँदा लगातार पढाएको प्रधानाध्यापक राजकिशोर चौधरीले बताए ।

‘विद्यार्थी सबै घन्टी भोकै पढ्छन्,’ चौधरीले भने, ‘यसमा मेरो पनि मन दुखेको छ, तर व्यवस्थापन समिति र अभिभावककै आग्रहमा यस्तो निर्णय गरेका हौँ ।’ – साभार:नया पत्रिका बाट

यी समाचार पनि पढ्नुहोस्
Scroll Up