११ वर्षपछि लिभरपुल फाइनलमा

इंग्लिस क्लब लिभरपुल ११ वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । च्याम्पियन्स लिगको बुधबार राति सम्पन्न दोस्रो लेगमा रोमासँग ४–२ ले पराजित भए पनि समग्रमा लिभरपुल ७–६ को गोल अन्तरले विजयी हुँदै अन्तिम दुई स्थान पक्का गरेको हो ।

पहिलो लेगमा लिभरपुलले घरेलु मैदानमा ५–२ को नतिजा निकालेको थियो । लिभरपुलले अन्तिमपटक च्याम्पियन्स लिग फाइनल २००७ मा खेलेको थियो । अब २६ मे मा युक्रेनको राजधानी किभमा लिभरपुलले उपाधि भिडन्तमा रियल म्याड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो हाफमा इंग्लिस क्लब हाबी

घरेलु मैदानमा इटालियन क्लब रोमाले क्वार्टरफाइनलमा जस्तै चमत्कारी नतिजा निकाल्न कोसिस   ग-यो । तर, एक गोलले पछि पार्दा रोमा फाइनल पुग्न बन्चित भयो । खेल नवौँ मिनेटमा साडियो मानेको गोलसँगै लिभरपुलले १–० को अग्रता लियो ।

मानेले रोवर्टो फिर्निगोको सटिक पासमा गोल गरे । खेलको १५औँ मिनेटमा जेम्स मिल्नरको आत्मघाती गोलसँगै रोमा १–१ को बराबरीमा फर्कियो ।

डिफेन्डर डेजानले बल क्लियर गर्न खोज्दा मिल्नरको टाउकामा लागेर आत्मघाती गोल भएको थियो ।

खेलको २६औँ मिनेटमा लिभरपुल २–१ ले अघि रह्यो । यसपटक जोर्जिनोले अग्रता दिलाए । जोर्जिनोको अग्रता गोलसँगै लिभरपुल समग्रमा ७–३ को बलियो स्थितिमा पुग्यो ।

रोमाले उत्कृष्ट पुनरागमन गर्न लिभरपुललाई कम्तीमा दोस्रो लेगमा ६–२ ले हराउनुपर्ने थियो ।

रोमाको उत्कृष्ट पुनरागमन

अतिरिक्त समयमा खेल लान रोमाले ५–२ को नतिजा निकाल्नुपथ्र्यो । फाइनल पुग्ने आशा जीवित राख्दै रोमाले खेलको ५२औँ मिनेटमा इडन जेकोको गोलसँगै खेल २–२ को बराबरीमा पु-यायो । खेलको ८७औँ मिनेटमा नाइगोलानले रोमालाई ३–२ को अग्रता दिलाए ।

खेलको अन्तिम इन्जुरी समयमा उनले नै पेनाल्टी गोल गर्दै रोमालाई ४–२ को स्थितिमा राखे । दोस्रो लेगमा सानदार जित निकाले पनि रोमा ७–६ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो ।

लिभरपुलको गोलमा कीर्तिमान

११ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको लिभरपुलले गोलको कीर्तिमान राखेको छ । च्याम्पियन्स लिगको एकै सिजनमा सर्वाधिक गोल गर्ने लिभरपुल तेस्रो क्लब बनेको छ । यस सिजनमा इंग्लिस क्लब लिभरपुलले ४० गोल गरेको छ । इतिहासमा बार्सिलोनाले एकै सिजनमा सर्वाधिक गोल गरेको छ । सन् १९९९/२००० को सिजनमा बार्सिलोनाले १६ खेलमा ४५ गोल गरेको थियो ।

साबिक दुईपटक विजेता रियल म्याड्रिड धेरै गोल गर्ने क्लबको सूचीमा दोस्रो स्थानमा छ । रियल म्याड्रिडले २०१३/१४ को सिजनमा १३ खेलमा ४१ गोल गरेको थियो । सन् २००० देखि २०१८ सम्म भएका च्याम्पियन्स लिगमा रियल म्याड्रिडले ५ पटक ३० गोलभन्दा बढी विपक्षी पोस्टमा प्रहार गरेको छ ।

च्याम्पियन्स लिगमा उत्कृष्ट लयमा प्रदर्शन गरेको लिभरपुलले यसपटक एक हार मात्र सामना रोमासँगै व्यहो-यो । लिरभपुलले गरेको ४० मध्ये ३० गोल साडिओ माने, रोवर्टो फिर्मिगो तथा मोहमद सलाहले गरेका छन् ।

रोनाल्डो र सलाहबीच भिडन्त

किभको रंगशालामा मोहमद सलाह र क्रिस्टियानो रोनाल्डोबीच नै उत्कृष्ट भिडन्त हुने देखिन्छ । यस सिजनमा लिभरपुलका स्ट्राइकर सलाह उत्कृष्ट फर्ममा छन् ।

रोमाबाटै लिभरपुल आएको पहिलो सिजनमै सलाहले प्रेरणादायी प्रदर्शन गरी सबैबाट वाहवाही पाएका छन् ।

उनले यस सिजन लिभरपुलबाट सबै खाले प्रतियागितामा गरी ४३ गोल गरेका छन् । च्याम्पियन्स लिगकै सर्वाधिक गोलकर्ता रोनाल्डोले सेमिफाइनलको दुवै लेगमा गोल गर्न सकेनन् । तर, उनले यस सिजनमा रियलबाट ४२ गोल गरिसकेका छन् ।

लगातार तेस्रोपटक च्याम्पियन्स लिग उपाधि जित्ने अभियानमा रहेको रोनाल्डोलाई लिभरपुलका सलाहले कडा चुनौती दिने अपेक्षा छ । यस सिजनमा सलाहले ४९ तथा रोनाल्डोले ४१ खेल खेलेका छन् ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up