सुरक्षा खतरा थियो गोरेलाई ? अनुसन्धान समिति भन्छ– तीनवटा समूहबाट थियो खतरा

फाइल तस्बिर

काठमाडौं । गायब भएको साढे ३३ किलो सुन र सनम शाक्य हत्यासँग जोडिएका चर्चित पात्र तथा मुख्य अभियुक्त हुन् चूडामणि उप्रेती ‘गोरे’ । गत माघ ९ गते यूएईबाट आएको भनिएको साढे ३३ किलो सुन गायब भएपछि गोरेको समूहले निर्मम यातना दिएर सुन लुकाएको आशंकामा सनम शाक्यको हत्या गर्यो । सनमको हत्यापछि महानगरीय अपराध महाशाखाका सई बालकृष्ण सञ्जेलमार्फत् सनमको शव व्यवस्थापन गर्न आर्थिक ‘डिल’ गर्यो गोरेको समूहले । महाशाखाको टोलीले गत फागुन १८ गते सनमको शव फेला पार्यो ।

त्यतिबेला महाशाखाको टोलीले गोरेसँग पैसाको डिल भएको तर आफूहरुले गोरेलाई समात्ने योजना बनाएको उच्च प्रहरी अधिकारीलाई बतायो । विराटनगरमा सनमको शव फागुन १९ मा सार्वजनिक गरियो, तर गोरे समातिएनन् । गोरे भागे तर अपराध महाशाखाका डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलको टोलीले हत्या प्रतिवेदनमा गोरे फरार भएको कुरा उल्लेख गरेनन् ।

त्यही घटनामा पक्राउ परेका टेकराज मल्लले सनम हत्याको जिम्मा लिए । हत्याको जिम्मा लिएबापत गोरेले टेकराजकी श्रीमतीलाई ५० लाख दिने बचन दिएको कुरा बाहिर आएको छ । तर, गोरेले पैसा नदिएपछि टेकराजकी श्रीमतीले सनमलाई यातना दिएको भिडियो मोरङ प्रहरीको हातमा पुर्याएको बताइएको छ । भिडियोमा सनमलाई करेन्ट लगाउँदै गरेको देखिन्छन् गोरे ।

प्रहरीको अनुसन्धानमा शंका लागेपछि सनमका आफन्तले प्रदेश १ सरकारका मुख्यमन्त्री तथा प्रधामन्त्रीसम्मलाई भेटे ।

घटना रहस्यमय भएको देखिएपछि मन्त्रिपरिषद्ले गृह मन्त्रालयका सहसहचिव ईश्वरराज पौडेलको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गर्यो । अनुसन्धान समितिले बहालवाहा प्रहरी एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, रापप्रा प्रजातान्त्रिकका पुराना नेता भुजुङ गुरुङलगायत ३० जनालाई अनुसन्धानका लागि पक्राउ गर्यो तर गोेरे फरार नै रहे । ३० मध्ये २८ जना मोरङ जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि जेल चलान भइसकेका छन् ।

कसरी समातिए गोरे ?
सरकारी अनुसन्धान समितिले ‘गोरे’लाई घटनाको मुख्य अभियुक्त ठहर गर्यो । पक्राउ परेका ३० जनाबाहेक ३३ जना फरार भनेर मोरङ जिल्ला अदालतमा मुद्दा दायर भयो । फरार सूचीमा गोरेकी श्रीमती निरु खरेलदेखि भाइ रमेश उप्रेतीसम्मका पारिवारिक सदस्य पनि थिए ।

अनुसन्धान समितिले सुनमा लगानी गर्ने गोरेभन्दा माथि एमके अग्रवाल भएको निष्कर्ष पनि निकालेको छ । गोरे फेला नपरेपछि डिफ्युजन नोटिस पनि जारी भएको थियो । अनुसन्धान समितिका एक सदस्य भन्छन्, “हामीलाई गोरे ज्युँदै फेला पर्छन् कि पर्दैनन् भन्ने चिन्ता थियो, किनकि उनको ज्यानमाथि विभिन्न समूहबाट खतरा थियो ।” अनुसन्धान समितिले सुनको जालो पछ्याउँदै जाँदा गोरेको ज्यानमाथि खतरा भएको निष्कर्ष नै निकाल्यो ।

त्यसपछि अनुसन्धान समितिले विभिन्न माध्यमबाट गोरेकी श्रीमती निरु खरेललाई सम्पर्क गर्दै गोरेको ज्यान खतरामा रहेकाले सम्र्पकमा ल्याउन आग्रह गर्यो । यो खबर निरुले पति गोरेलाई पुर्याइन् । अनुसन्धान समितिका ती सदस्य भन्छन्, “‘आफूमाथिको खतरा गोरेले पनि महसुस गरिरहेकै थिए, त्यसैले उनी आफैं सम्पर्कमा आउन खोजेका थिए ।”

त्यसो त प्रहरीको एक विशेष टोली गोरेको शंकास्पद डेरा खोज्दै भारत गइसकेको थियो । टोली भारत गएको गोरेले चाल पाइसकेको ती सदस्य बताउँछन् । त्यसपछि गोरे भारतबाट नेपाल आएर आफूनिकटका व्यक्तिमार्फत् प्रहरीलाई सूचना दिएका थिए । अनुसन्धान समितिको भनाइअनुसार त्यसपछि उनी समातिए र सार्वजनिक गरियो ।

गोरेलाई ३ समूहबाट खतरा
अनुसन्धान समितिका सदस्यका अनुसार गोरेलाई तीनवटा समूहको सुरक्षा ‘थ्रेट’ थियो । उनी भन्छन्, “‘नेपाली बजारमा गोरेले १५ करोडभन्दा बढी रकम उठाउन बाँकी देखिन्छ । यस्तो अवस्थामा ती व्यापारीहरुबाट पनि गोरेलाई खतरा थियो ।”

आफ्नो पोल खुल्ने डरले ती व्यापारीले गोरेलाई अप्ठ्यारोमा पार्नसक्ने र ज्यान नै तलमाथि हुनसक्ने समितिको अनुमान छ । भारत तथा दुवईका सुन व्यापारी र एमके अग्रवाललगायत सुन लगानीकर्ताबाट पनि गोरेमाथि खतरा थियो । ती सदस्य भन्छन्, “गोरेमाथि प्रहरी अधिकारीबाटै पनि खतरा थियो । सुन तस्करीमा संग्लन प्रहरी अधिकारीहरुले आफ्नो पोल खुल्ने डरले केही हर्कत गर्नसक्ने थिए ।” – साभार:१२खरि बाट

यी समाचार पनि पढ्नुहोस्
Scroll Up