सुनकेसरीका लागि यात्रु ओसार्दै ऋचा

लगानी जुटाउनु, फिल्म बनाउनु मात्र ठूलो कुरा होइन । त्यसलाई दर्शकसम्म पु-याउनु झन् चुनौतीपूर्ण काम हो । एकपछि अर्को फिल्म बन्ने र प्रदर्शन हुने क्रम बढेका वेला आफ्नो फिल्म हेर्न दर्शक जुटाउनु चुनौती नै हो । त्यसमाथि फरक स्वाद र शैलीमा बनेको फिल्मका लागि दर्शक जुटिहाल्छन् भन्ने ठोकुवा गर्न सकिँदैन ।

आफैँले निर्माण र अभिनय गरेको हरर फिल्म ‘सुनकेसरी’का लागि दर्शक जुटाउन ऋचा शर्माले यात्रुलाई गन्तव्यमा पु-याउने काम गरेकी छन् ।

अन्य फिल्म निर्माताले रोड सो, प्रचार अभियान र विभिन्न कार्यक्रम गरे पनि सुनकेसरीको प्रचारका लागि नायिका/निर्माता ऋचाले गाडी पर्खिएर बसेका यात्रुलाई आफैँ स्कुटरमा बोकेर गन्तव्यसम्म पु-याउने र फिल्मबारे जानकारी दिने शैली अपनाएकी हुन् ।

यसो गर्दा सेवा पनि हुने, प्रचार पनि हुने देखेर नयाँ विधि अपनाएको उनको भनाइ छ । टुटलको सहकार्यमा प्रचारको यो शैली अपनाएको बताउने ऋचाले यात्रु पनि खुसी भएको बताइन् । जेठ ११ गते प्रदर्शन हुन लागेको फिल्म सुनकेसरीका निर्देशक अर्पण थापा हुन् ।

कार्यकारी निर्मातामा मनोज अधिकारी रहेको फिल्ममा ऋचा, भीम न्यौपाने, रवीन्द्र झा, सुनील पराजुली, अस्टे«लियन नागरिक लाँरेन लाँफबर्ग, तमन्ना शर्मालगायतले अभिनय गरेका छन् । अस्ट्रेलियामा छायांकन गरिएको फिल्म भूतप्रेतको कथामा आधारित छ । -साभार:नया पत्रिका बाट

यी समाचार पनि पढ्नुहोस्
Scroll Up