मदिरा सेवनकर्तालाई तीन पुस्ते खुलाउन लगाऔं

छिमेकी मुलुक भारत, पाकिस्तान लगायतमा मदिरा नियन्त्रित वस्तुमा पर्दछ । मदिराजन्य वस्तु जथाभावी बिक्री गर्न र खरिद गर्न पाइन्न । मदिरा खरिदकर्ताले ‘शराबीका नाम, शराबीका पिताका नाम, उम्र…’ लगायतको विवरण भर्नुपर्छ । मदिरा विक्री गर्ने पसलमा सिसी क्यामेरा जडान हुन्छ । सुरक्षा र चोरी नियन्त्रणका लागि मेशिनद्वारा शारीरिक जाँच गराएर मात्र मदिरा पसलभित्र छिर्न पाइन्छ र बाहिरिने अनुमति हुन्छ । यस्ता मदिरा पसल सिसाले बारिएका खुल्ला हुनुपर्छ । ती पसलले अनिवार्यरुपमा परिचयपत्र हेरेर मात्रै मदिरा बिक्री गर्न पाउँछन् ।

विदेशीले मदिरा खरिद गर्दा राहदानी प्रदर्शन गर्नुपर्छ । ती पसल राज्य नियन्त्रित हुन्छन् । यसर्थ आफूले मदिरा बिक्रीका लागि पाएको इजाजत सबैले देख्ने गरी झुण्ड्याउनु पर्छ । ती पसलले अनिवार्यरुपमा बिल बिजक जारी गर्नुपर्छ । यस्ता पसल तोकिएको समयमा खुल्छन्, तोकिएको समयमा बन्द हुन्छन् । निश्चित उमेर समूहका व्यक्तिलाई मात्र मदिरा पसलमा प्रवेश दिइन्छ । बिशेष अवस्थामा चिकित्सकले जारी गरेको शारीरिक तन्दुरुस्तीको प्रमाणपत्र प्रस्तुत गरेर मात्र मदिरा किन्न पाइन्छ । यसर्थ मदिरा नियन्त्रण गर्न इच्छा शक्ति भए पुग्छ । जनसमर्थन उर्लेर आउने अभिमत अघि सार्न चाहान्छु ।

गृह मन्त्रीको सकारात्मक चासो

यस पंक्तिकारसँग अछाम जिल्लामा २०५०/५१ सालमा प्रमुख जिल्ला अधिकारी हुँदा पूर्ण सफलताका साथ ‘मदिरामुक्त अछाम जिल्ला’ सञ्चालन गरेको अनुभव छ । सोही अनुभव समेतका आधारमा तयार भएको ‘रक्सीमा डुबेर समृद्धि आउँदैन, नेपाललाई मदिरामुक्त बनाऔँ !’ भन्ने मेरो लेख अनलाइनखबरमा गत २०७४ फागुन २४ गते प्रकाशित भयो । सो लेख स्वदेश र विदेशमा रहनु भएका लाखौँ नेपालीले पढ्नु भयो । ३८ हजारभन्दा बढीले शेयर गर्नुभयो । कैयौँले सो लेखको पक्षमा आफ्नो लिखित अभिमत नै अघि सार्नु भयो । कैयौं एफएमले सो लेख पढेर जनतालाई सुनाउनु भयो । जस्को प्रभावस्वरुप २०७५ वैशाख २३ गते वर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले यस पंक्तीकारलाई मदिरामुक्त नेपालका पक्षमा कार्यपत्र प्रस्तुती गर्न आमन्त्रण गर्नु भयो भने छलफलमा सहभागी हुन प्रतिनिधि सभाका सांसद, प्रदेशका मन्त्री, महिला सञ्जालका नेतृत्व र गृह सचिव लगायत उच्च पदाधिकारीलाई डाक्नु भयो । छलफलमा प्रायः सबैले मदिरामुक्त नेपालको प्रस्तावको मुक्तकण्ठले प्रशंसा गर्नु भएको थियो । यसका लागि मन्त्री बादल स्वतः धन्यवादका पात्र हुनुहुन्छ । साथै उहाँले १५ दिनभित्र यस सम्बन्धमा सुझाव दिन कमिटी नै गठन गरेको जान्न पाउदा थप उत्साही भएको छु ।

तीन चरणमा मदिरामुक्त नेपाल बन्ने

मैले आफ्नो लेखमा तीन चरणमा मुलुकलाई मदिरामुक्त तुल्याउने धारणा अघि सारेको थिएँ । जसअनुसार पहिलो चरणमा मदिरा र यस्को कच्चा पदार्थ आयातमा पूर्ण निषेध गर्ने, दोस्रो चरणमा मदिरा बिक्री नियन्त्रण र औद्योगिक उत्पादनमा रोक लगाउने तथा तेस्रो चरणमा मुलुकको धर्म, संस्कृति, परम्पराको पूर्ण सम्मान गर्दै सोही प्रयोजनका लागि बाहेक व्यापारिक प्रयोजनका लागि घरायसी मदिरा उत्पादनमा समेत रोक लगाउने मेरो अभिमत हो ।

यसलाई शिष्ट र मर्यादित ढंगले आम नेपालीबीच बहस गरेर, जनमत तयार गरेर, कसैको पनि भावनामा ठोस नपुर्‍याएर, खुल्ला अर्थनीतिको पनि उपहास नहुने गरी सभ्य नेपाल, समृद्ध नेपालको लागि ‘मदिरामुक्त नेपाल’ को प्रस्ताव अघि सारेको हुँ ।

मदिरा नियन्त्रणको विश्वव्यापी अनुभव

छिमेकी मुलुक भारतको विहार र गुजरात लगायतमा मदिरा नियन्त्रण पछि समृद्धि भित्रिएको हो । विश्वका मुस्लिम मुलुकहरु मदिरामुक्त छन् । अमेरिका, क्यानडा जस्ता उच्च विकास गरेका र समृद्धि चुमेका मुलुकले पनि मदिरा नियन्त्रणको प्रयास गरेको पाइन्छ । फ्रान्स, बेलायत, अष्ट्रेलियाजस्ता मुलुकले उच्च परिमाणमा मदिरा उत्पादन गरेपनि ती देशको खपत भने न्यून छ । सोभियत संघका तत्कालीन राष्ट्रपति मिखाईल गोर्भाचोभले सन् १९८५ देखि १९८८ सम्म ‘एण्टी अल्कोहल क्याम्पेन (ड्राई ल)’ लागू गर्नु भएको थियो । एक अनुमानअनुसार, सो बखत सोभियत संघमा औसतमा प्रति व्यक्ति वार्षिक मदिराको खपत १४ लिटर थियो, जबकी अमेरिकाको खपत ८ लिटर थियो ।

नेपालमा कहाँबाट मदिरा आयात हुन्छ ?

चालू आ. ब. २०७४/७५ को प्रथम ९ महिनामा नेपालमा रु १ अर्ब ८५ करोड बराबरको मदिरा आयात भएको पाइन्छ । गत वर्ष सोही अवधिमा रु २ अर्ब १६ करोड बराबरको आयात भएको थियो ।

नेपालमा अष्ट्रेलिया, फ्रान्स र चिलीबाट बढी वाइन आयात हुन्छ । यसैगरी अमेरिका, थाइल्याण्ड र बेल्जियमबाट बढी बियर आयात हुने गर्दछ ।

नेपालमा मदिराका कच्चा पदार्थ भारत, पोल्याण्ड र फ्रान्सबाट आयात हुने गरेको छ । यसरी गरिब मुलुकले मदिरा उपभोग गरेबापत समृद्ध मुलुकमा रकम पठाउने गरेका छौं ।

मदिरा सेवनका बेफाइदा

बेलायतबाट प्रकाशन हुने जर्नल विएमसीका अनुसार अल्कोहल सेवन गर्ने मानिस सात सय प्रकारका किटाणुबाट संक्रमित हुन्छन् । मदिरा सेवनले शरीरका विभिन्न भाग र मुखमा गम्भिर असर पुर्‍याउँछ । अत्याधिक मदिरा सेवनले मुखको क्यान्सर निम्त्याउँछ ।

अमेरिकामा अल्कोहल सेवन गर्ने, नगर्ने र कम मात्रामा गर्ने १० हजार ४४ जनामा केन्द्रित अनुसन्धानले विविध नतिजा सार्वजनिक गरेको छ । जस अनुसार नियमित अल्कोहल पिउने मानिसमा क्यान्सर, हृदयघात, कलेजो र पाचन प्रणाली सम्बन्धी रोग देखिएको छ । साथै यसको अधिक सेवनले पाचन प्रणाली र फोक्सोमा क्यान्सर हुने संभावना बढ्छ । अत्याधिक मदिरा सेवन गर्नेको अल्पायुमै र आकस्मिक मृत्यु हुने गरेको छ । यसले उच्च रक्तचापको संभावना बढाउँछ । यसका सेवनकर्ताहरू मधुमेह र मुटुरोगबाट ग्रसित हुन पुग्छन् ।

मानिसले तनाब कम गर्ने निहुँमा मदिरा सेवन गर्छ र मस्तिष्कलाई ‘ड्यामेज’ गराउने जोखिम बढाउँछ । मदिरा सेवनकै कारण ‘ह्याङ्गओभर’ स्वरुप मानिसमा शरीर शिथिल हुने, निद्रा नपर्ने, मनमा बढी कुरा खेल्ने, दिग्दारी बढ्ने र जीवनप्रति नै नैराश्यता पैदा हुने गर्दछ ।

मदिरा बिक्री वितरण नियमन निर्देशिका, २०६५

डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा यो पंक्तीकार राजश्व सचिव थियो । सो बखत अर्थमन्त्रीको नेतृत्वमा यस पंक्तीकार समेतको प्रत्यक्ष संलग्नतामा मदिराको बिक्रीलाई व्यवस्थित गर्न निर्देशिका जारी गरिएको थियो । जसमा नगरपालिका क्षेत्रमा मदिरा र सूर्तीजन्य पदार्थ बिक्रीका लागि छुट्टै पसल खोल्नु पर्ने, किराना पसल वा अन्य पसलमा मिसाएर मदिरा बिक्री गर्न नपाइने व्यवस्था लागू गरिएको थियो ।

साथै डिपार्टमेन्ट स्टोरमा छुट्टै सेक्सन खडा गरेर मात्रै मदिरा बिक्री गर्न पाइने प्रवन्ध मिलाइएको थियो । सो बखत बिनाइजाजत मदिरा बिक्री गर्न नपाइने व्यवस्था गरिएको थियो ।

निर्देशिकामा मदिरा पसल बिहान १० बजेदेखि राति १० बजेसम्म मात्र खोल्न पाइने र १८ वर्षभन्दा बढी उमेरकालाई मात्रै बिक्री गर्न पाइने शर्त इजाजतपत्रमा राखिएको थियो । यस निर्देशिकाका प्रावधान मदिरा आयातकर्ता, उत्पादक, होलसेलर र डिष्ट्रीब्यूटरले पनि अनिवार्यरुपमा पालना गर्नुपर्ने व्यवस्था भएको थियो ।

साथै इजाजत पत्र सबैले देख्ने गरी पसलमा झुण्ड्याउनु पर्ने र अनिवार्यरुपमा बिल बिजक जारी गर्नुपर्ने प्रवन्ध गरिएको थियो । यस प्रवन्धको प्रभावकारी कार्यान्वयनको लागि केन्द्र र जिल्ला दुवै तहमा अनुगमन टोली गठन गरिएको थियो । साथै यस निर्देशिका विपरित काम गर्नेको मदिरा जफत हुने र पटकै पिच्छे रु १० हजार दण्ड गर्ने प्रवन्ध मिलाइएको थियो ।

साथै निर्देशिकामा इजाजतबेगरको मदिरा बिक्रीको सुराक दिनेलाई १० प्रतिशत, मदिरा जफत गरी ल्याउनेलाई २० प्रतिशत तथा मदिरा र व्यक्ति दुवै पक्राउ गरी ल्याउने नागरिक र राष्ट्रसेवक कर्मचारीलाई विगोको ३० प्रतिशत पुरस्कार दिने प्रवन्ध गरिएको थियो । हाल पनि यो नियमावली जिउँदै हुनुपर्छ भन्ने अनुमान गर्छु । उसबखत यस नियमावलीका व्यवस्था लागू गर्न गराउन निजी क्षेत्रसमेत सहमत भएको सत्य समेत उजागर गर्न चाहान्छु ।

तत्काल मदिरा नियन्त्रण र व्यवस्थापनको प्रस्ताव

नेपाललाई मदिरामुक्त घोषणा गर्ने लक्ष्यका साथ तत्कालका लागि मदिरा नियन्त्रण र यस्को बिक्री वितरणको व्यवस्थापनका लागि निम्न प्रस्ताव अघि सार्न चाहान्छु:

१. मदिरा बिक्रीको लागि छुट्टै पसल हुनुपर्ने । कुनै पनि हालतमा किराना पसल लगायतबाट छासमिस गरेर मदिरा बिक्री गर्न पूर्णतः निषेध गर्ने ।

२. यस्ता मदिरा बिक्री गर्ने पसल सीमित हुनुपर्ने । हालका लागि नगरपालिकाका हकमा प्रति वडा एउटा र गाउँपालिकाका हकमा एउटा पसल स्थापना गर्न दिने गरी कोटा प्रणाली लागू गर्ने । यसमा पारदर्शी सिद्धान्तबाट पसल छनौट गर्ने ।

३. मदिरा बिक्री गर्दा खरिदकर्ताको तीन पुस्ते लगायतको अभिलेख राख्ने । यस्तो पसलमा सिसी क्यामेरा राख्ने । अनिवार्यरुपमा विद्युतीय बिल जारी गर्ने । यस्तो पसल पारदर्शी सिसाको हुनुपर्ने । निश्चित परिणाम मात्रै बिक्री गर्न पाइने व्यवस्था गर्ने ।

४. मदिरा बिक्री गर्ने र नगर्ने रेष्टुराँ, होटल, लज, रिसोर्ट, होमस्टेको पहिचानका लागि ‘मदिरारहित रेष्टुराँ’ र ‘मदिरासहितको रेष्टुराँ’ भन्ने बोर्ड अनिवार्य गर्ने । यसबाट कति मानिस मदिराजन्य होटलमा वा रेष्टुराँमा जान्छन् कति मदिरा निषेधितमा जान्छन्, स्वतः जानकारी सार्वजनिक भै नेपाललाई मदिरामुक्त मुलुक घोषणा गर्न सकिने नसकिने तथ्य तथ्यांक सार्वजनिक हुनेछ ।

५. डिपार्टमेन्ट स्टोरमा रहने छुट्टै मदिरा बिक्री कक्षमा १८ बर्ष मुनिका लागि प्रवेश निषेध गर्ने ।

६. सरकारी भोज भतेरमा मदिरा प्रयोग गर्न नपाइने व्यवस्था झैँ सार्वजनिकरुपमा पार्टी प्यालेसमा आयोजना गरिने विवाह, ब्रतबन्ध लगायतका भोजमा मदिरा ‘सर्व’ गर्न नपाइने प्रवन्ध गर्ने । यही व्यवस्था होटल, घर जहाँ सार्बजनिक निमन्त्रणसहित पार्टी गरेपनि मदिरा ‘सर्व’ गर्न नपाइने प्रवन्ध गर्ने । धार्मिक र परम्पराका दृष्टिकोणले आफ्ना परिवार र गुठियारबीच निजी घरमा, निजी स्थलमा, सीमित संख्यामा, एउटै थर भएकाहरु सहभागी भै पर्व मनाउनुलाई हालका लागि बेग्लै कुराका रुपमा लिने । तर, यस्मा सम्मानित व्यक्ति, बुढापाकासँग बसेर थप बहस गर्ने ।

७. विद्यालय, अस्पताल, सार्बजनिक कार्यालय जस्ता संवेदनशील स्थानमा मदिरासेवन गरी उपस्थित हुनेलाई तत्कालै पक्राउ गरी मुद्दा चलाउने ।

८. जसरी प्रहरीले मापसे अर्थात् मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई कारवाही चलाएको छ, सोही रितले मदिरा पियर सार्वजनिक सडकमा हिँडडुल गर्नेलाई पनि पक्राउ गर्ने प्रवन्ध गर्ने ।

९. मदिरामुक्त नेपालको गन्तव्यमा पुग्न तत्कालका लागि मदिरा आयातमा रोक लगाउन, पूर्ण कडाई गर्न, ह्वात्तै भन्सार दर बढाउन वा के गर्न सकिन्छ गर्ने र कुनै पनि नेपाली वा विदेशीलाई विदेशबाट नेपाल आउँदा साथमा मदिरा ल्याउन निषेध गर्ने ।

१०. सरकारी सवारी साधन, सार्वजनिक सवारी साधन, हवाइ जहाज लगायतबाट मदिरा ढुवानी गर्न निषेध गर्ने । मदिरा ढुवानी गर्ने छुट्टै सवारी साधन, छुट्टै खच्चडको व्यवस्था गर्नु पर्ने ।

११. नेपालमा हाल ६ हजार ७४३ वडा छन् । प्रत्येक वडाका वडाध्यक्षको नेतृत्वमा मदिरामुक्त वडा घोषणा गर्ने कार्यक्रमको आरम्भ गर्ने । तत् पश्चात गाउँ वा नगरपालिकालाई मदिरामुक्त स्थानीय तह घोषणा गर्ने । त्यसपछि जिल्ला र प्रदेश हुँदै पूरै मुलुकलाई मदिरामुक्त घोषणा गर्ने । यसबाट कुन जनप्रतिनिधिले कुन हदसम्म मदिरा नियन्त्रणमा योगदान गरे भन्ने सकारात्मक प्रतिस्प्रधा हुन्छ र यस्ले भोलिका लागि के गर्न सकिन्छ र के गर्न सकिन्न भन्ने बिषयमा नेतृत्वको क्षमताको सांकेतिक मूल्यांकन हुनेछ ।

१२. कुनै पनि सरकारी कार्यालय, सरकारी आवास र सार्वजनिक निकायमा मदिरा उपभोग गर्न नपाउने व्यवस्था लागू गर्ने । ‘स्मोकिङ्ग जोन’ जस्तै तोकिएको ‘अल्कोहल जोन’ मा मात्रै मदिरा सेवन गर्न पाइने व्यवस्था गर्ने ।

१३. सरकारी निकाय, राजनैतिक दल, गैह्र सरकारी संस्था, निजी क्षेत्र लगायत जोसुकैले जेसुकै विषयको सार्वजनिक कार्यक्रमको आयोजना गरे पनि मदिरा सेवनविरुद्धका जनचेतनामूलक फ्लेक्स बोर्ड राख्ने वा डकुमेण्ट्री देखाउने वा यस बिषयमा मन्तव्य दिनुपर्ने गरी सरकारले सार्वजनिक आह्वान गर्ने । यसको पालना नगर्नेको कार्यक्रम जो कोहीले बहिष्कार गर्न पाउने सामाजिक समझदारी बनाउने ।

१४. नेपाललाई मदिरामुक्त घोषणा गर्ने वातावरण निर्माण गर्न मदिराको बिक्री वितरणलाई नियन्त्रण र व्यवस्थापन गर्न जनजागरण कार्यक्रम सञ्चालन गर्न र यस सम्बन्धी रचनात्मक कार्य गर्न तत्कालै निश्चित रकम छुट्याउने र जागरण कार्यक्रम आरम्भ गर्ने ।

१५. मदिराको उपयोग बढाउने गरी कुनैपनि प्रकारको विज्ञापन गर्न नपाइने गरी पूर्णरुपमा निषेध गर्ने । तत्कालै गाउँपालिका र नगरपालिकाले आफ्नो स्थानभित्र रहेका मदिराका होर्डिङ्ग बोर्ड हटाउने । हवाइ जहाज कम्पनीले सिटमा राखेका मदिराका स्टिकर तत्काल हटाउने । अरु जो जे गर्नुपर्छ, कठोर भएर लागू गर्ने गराउने ।

नेपाललाई सभ्य, समृद्ध र मर्यादित राष्ट्रको रुपमा विश्व रंगमञ्चमा परिचित गराउन नेपाललाई मदिरामुक्त गर्ने अभियानमा जुटौँ भनी सार्वजनिक आह्वान गर्दछु ।- साभार: अनलाइन खबर बाट

यी समाचार पनि पढ्नुहोस्
Scroll Up