बजेट बचाउन अमिताभले आफ्नै लुगा लगाएको खुलासा

बलिउड महानायक अमिताभ बच्चनले फिल्मको बजेट कम भएका कारण कतिपय फिल्ममा आफैँले किनेको लुगा लगाएर सुटिङ गरेको रहस्य खोलेका छन् । उनले बजेट कम भएका कारण ऋषिकेश मुखर्जीको ‘आनन्द’सहित कतिपय फिल्ममा आफ्नै लुगा लगाएर सुटिङ गरेको बताएका हुन् ।

अमिताभले मुम्बईमा आयोजित एक कार्यक्रममा पत्रकारसँग कुराकानीका क्रममा भने, ‘जब म ऋषिकेश मुखर्जीको फिल्ममा काम गर्ने गर्थें, त्यसक्रममा कतिपटक त्यस्तो भएको छ । मैले उनका कतिपय फिल्ममा आफैँले किनेका लुगा लगाएर सुटिङ गरेको छु ।’

उनले यसको कारण पनि बताए कि ऋषिकेश निकै सीमित बजेटमा फिल्म निर्माण गर्थे । यस्तो अवस्थामा उनले आफैँले किनेका लुगा लगाउनुपर्ने हुन्थ्यो । त्यति मात्र होइन, ऋषिकेश फिल्मका कलाकारलाई स्पष्ट शब्दमा भनिदिन्थे कि ‘यदि रिटेक दियो भने रिलको पैसा पनि तिर्नुपर्नेछ ।’

अमिताभले ऋषिकेशको ‘आनन्द’, ‘मिली’, ‘चुपके चुपके’, ‘नमक हराम’ र ‘अभिमान’जस्ता सुपरहिट फिल्ममा काम गरेका थिए । यी सबै फिल्म खेल्दा उनले आफ्नै लुगा लगाएको बताए । त्यो समयका बारेमा बताउँदै अमिताभले भने, ‘त्यसवेलाका निर्देशक व्यर्थैमा रिल खराब भयो भने निकै रिसाउँथे र पाई पाईको हिसाब राख्थे ।’

जमानाका कुरा गर्ने अमिताभ संयोगवश चाँडै फिल्म ‘१०२ नट आउट’मा देखिने भएका छन् । यस फिल्ममा रहेको ‘बडुम्बा’ बोलको गीत उनले कम्पोज मात्रै गरेका छैनन् आफैँ गाएका पनि छन् । संयोग भन्नुपर्छ यो गानामा ऋषि कपुरको पनि आवाज छ ।

यस गीतका बारेमा बोल्दै फिल्म निर्देशक उमेश शुक्लले भने, ‘यो फिल्मको एउटा गानालाई लिएर बच्चनसाब निकै चासो दिइरहनुभएको थियो । मैले उहाँलाई यो सुझाब दिएँ कि ऋषि कपुर र बच्चनजीका जति पनि गीत छन् ती सबैको एक मेलोडी बनाइयोस् ।

तर, बच्चनसाब त यार हुनुभएन ।’ अमिताभले यो गीतका लागि दिनभरि सुटिङ सकेर ११ बजे स्टुडियो पुग्ने र बिहान ४ बजेसम्म रेकर्डिङ गरेको पनि निर्देशक शुक्ले खुलासा गरे ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up