प्रचण्डलाई मिलौं भनेकै हुँ, स्वार्थ मिलेपछि एमालेतिर जानुभयोः बाबुराम

फाइल तस्बिर

एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी बनाएपछि डा. बाबुराम भट्टराईले भने, ‘प्रचण्डले पार्टी चलाउन नसकेर एमालेमा विलय गराए । यो एकताप्रति त्यती खुसी नदेखिएका उनले सत्ता र स्वार्थ मिलेर एकता भएको भन्दै धेरै नटिक्ने दाबीसमेत गरे ।

हिजो एमाले र माओवादीले एकता प्रक्रियामा मिसिएको तर, बीचमा छाडेर हिँडेका भट्टराई किन यति आक्रामक छन् ? शनिबार पोखरामा भेटिएका नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री भट्टराईसँग गरेको कुराकानीः

एमाले-माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेको छ । यसलाई कसरी लिनु भएको छ ?

एमाले र माओवादी केन्द्र घोषित विचारलाई परित्याग गरेर एकठाउँमा आउनुलाई अन्यथा भन्न मिल्दैन ।

तर, वैचारिक राजनीतिक विषयमा अलि दीर्घकालीन चासो राख्ने व्यक्तिका नाताले केही भन्न चाहन्छु । मार्क्सवाद भनेको गतिशील विज्ञान हो र समयानुसार विकसित तथा परिमार्जन हुन्छ । २००६ सालमा स्थापित कम्युनिष्ट पार्टी, जो दोस्रो विश्वयुद्ध पछिको परिवेशमा गठन भएको थियो, चिनियाँ क्रान्ति भर्खरै सम्पन्न भएको परिवेश थियो । नेपालको सन्दर्भमा कम्युनिष्ट पार्टीको कोशेढुंगा भनेको ०३० सालको झापा आन्दोलन थियो र त्यसको विकसित रुप एमाले बन्यो ।

अर्को विकसित रुप भनेको ०५२-०६२ को माओवादी जनयुद्ध थियो । म पनि माओवादी आन्दोलनको एउटा संस्थापक र अभियन्ता हुँ । कम्युनिष्ट आन्दोलनकै जोडबलमा नेपालमा जुन लोकतान्त्रिक गणतन्त्र स्थापित भयो र त्यसको उच्चतम माओवादी थियो । गणतन्त्र घोषणा र संविधान बनेपछि त्यसलाई नयाँ ढंगले रुपान्तरित गरेर जानुपर्छ, अब कम्युनिष्ट उही पुरानो रुपमा रहन हुँदैन भन्ने मेरो भनाइ थियो । म माओवादी आन्दोलनको रुपान्तरण चाहन्थें ।

तर, प्रचण्डले खोल मात्रै माओवादीको समात्नुभयो । सार तत्वलाई छोडेर जसरी एमाले स्खलित भइसकेको थियो, त्यसरी नै माओवादी आन्दोलनलाई स्खलित गर्नुभयो । अहिले त्यही स्खलित एमाले र माओवादी एक भएर २००६ सालको पुरानो नामतिर फर्किने कोसिश गर्नुभयो ।

सांकेतिक अर्थमा त्यो एउटा पश्चगमन हो । एउटा दुःखद परिघटना हो भन्ने कुरापछि इतिहासले आत्मसात गर्छ भन्ने मलाई लाग्छ ।

अस्ति प्रचण्डलाई ‘माओवादी जनयुद्धलाई छोडेर तपाईँ मदन भण्डारी पथमा लाग्नुभएको हो ?’ भन्नुभयो । आज माओवादी स्खलित भयो भन्नुहुन्छ । त्यही आन्दोलनबाट आएको तपाईं आफूचाहिँ के हुनुभएको ?

म रुपान्तरण चाहन्थें । मार्क्सवादी विचार र आन्दोलन, जसलाई कम्युनिष्ट आन्दोलन भनियो, १९१७ भन्दा अगाडि श्रमिक आन्दोलन, सामाजिक जनवादी आन्दोलन भन्ने चलन थियो । कुनै पनि शब्द प्रयोग गर्दै जाँदा त्यो भ्रस्टिकृत हुँदै जान्छ, त्यसको सारतत्वलाई ग्रहण गर्दै नयाँ प्रयोग गरिन्छ । एक सय वर्षसम्म कम्युनिष्ट भन्ने शब्द पनि भ्रस्टिकृत भयो । त्यसैले मार्क्सवादी आन्दोलनलाई २१ औं शताब्दीमा अगाडि बढाउन नयाँ पदावली खोज्नुपर्छ र नयाँ उन्नत प्रकारको समाजवादी, लोकतन्त्रमा आधारित रुपान्तरण गर्नुपर्छ भन्ने भनाइ थियो । त्यसैले मैले नयाँ शक्तिमार्फत त्यो मार्क्सवादी आन्दोलनलाई २१औं शताब्दी अनुरुप रुपान्तरण गर्न खोजेको हुँ ।

प्रचण्डले जनताको चेतनालाई दोहन गरेर सारतत्व छोड्न तर, कम्युनिष्ट र माओवादी खोल समात्दै आउनु भएको थियो । एमाले पनि ब्रान्ड मात्रै थियो । अहिले त्यही दुई शक्ति मिलेर नेपाल कम्युनिष्ट पार्टी गठन गरेका छन् । यो मार्क्सवादी आन्दोलनको भ्रष्टिकृत नै हो ।

फरक के हो भने, म मार्क्सवादी आन्दोलनलाई विकसित र रुपान्तरित गर्न चाहन्छु । उहाँहरु कम्युनिष्टको खोल ओढ्ने तर, त्यो आन्दोलनलाई विसर्जन गर्न चाहन्नुहुन्छ । नेकपाको गठन व्यवहारत मार्क्सवादको बिसर्जन हो ।

तर, असोज १७ मा त तपाई पनि एकता प्रक्रियामा सहभागी हुनु भएको थियो त ? फेरि प्रचण्डसँग मिल्ने भनेर वार्ता पनि गर्नु भएको थियो ।

मार्क्सवादलाई पछिल्लो ज्ञान र प्रविधिसँगै विकास गरौं, सारतत्व र रुप पक्षलाई पनि विकास गरौं भन्ने मेरो जोड थियो । दुई सन्दर्भमा यो कुरालाई म प्रस्ट पार्न चाहन्छु ।

पहिलो, १७ असोजमा तीन पक्षका बीचमा एकता गर्ने कुरा आयो । एमाले, माओवादी र नयाँ शक्ति मिल्ने कुरा भयो । त्यतिबेला पनि मैले मार्क्सवादलाई सिर्जनशील ढंगले प्रयोग गरेर नयाँ समाजवादी धारको रुपमा विकास गर्नुपर्छ भन्ने मैले राखेको थिएँ तर, समय कम थियो ।

प्रचण्डले मुखले ‘जाने त त्यतै हो’ भन्नुभयो तर, व्यवहारमा जान चाहनुभएन र हामी छोड्न बाध्य भयौं । केपी ओलीले पनि कम्युनिष्ट शब्द छोड्दा मलाई पार्टीभित्र अप्ठ्यारो पर्न सक्छ तर, जाने त त्यतै हो भन्नुभएको थियो ।

मैले माओवादी, संघीय समाजवादी फोरम र नयाँ शक्ति मिलेर समाजवादी केन्द्र निर्माण गरौं भन्ने पहल गरेकै हो । त्यही क्रममा पहिले प्रचण्डसँग भेटेँ, पछि उपेन्द्र यादवसँग भेटेँ, हामी तिनै जना पनि भेट्यौं । तर, प्रचण्डमा पूरै द्विविधा थियो

चैत महिनातिर आइपुग्दा एमाले र माओवादी केन्द्र मिल्ने कुरा ढलमलाइ राखेको थियो । त्यो बेला मैले फेरि एकचोटी प्रचण्डसँग कुरा गर्ने प्रयत्न गरेँ । तपाईंहरु अनावश्यक ढंगले सत्ता, स्वार्थमा केन्दि्रत भएर मूल चिजलाई छोड्दै जाँदै हुनुहुन्छ, त्यसले नोक्सान गर्छ, समय अझै बाँकी छ, तपाईले मार्क्सवादको प्रयोगलाई नयाँ ढंगले अगाडि बढाउनुपर्छ र नयाँ समाजवादी धार बनाउन चाहनुहुन्छ भने हामी मिलौं भनेको थिएँ । मेरो कुनै पूर्वाग्रह छैन पनि भनेँ ।

मैले माओवादी, संघीय समाजवादी फोरम र नयाँ शक्ति मिलेर समाजवादी केन्द्र निर्माण गरौं भन्ने पहल गरेकै हो । त्यही क्रममा पहिले प्रचण्डसँग भेटेँ, पछि उपेन्द्र यादवसँग भेटेँ, हामी तिनै जना पनि भेट्यौं । तर, प्रचण्डमा पूरै द्विविधा थियो । सत्ता र स्वार्थको भागबन्डा आफूले भनेअनुसार प्राप्त हुँदा उतै जाने र त्यो प्राप्त नहुँदा यतापट्ट िआउन उद्दत भएको म पाउँथेँ । त्यो बीचमा २/३ हप्ता उहाँ ढुलमुलमै रहनुभयो ।

अन्ततः एमालेले विश्वस्त गराए कि पार्टीभित्र उहाँको स्थान सुरक्षित रहन्छ । त्यसपछि फेरि उहाँ कम्युनिष्ट खोल ओढेर उतै जानुभयो । यथार्थ यही हो ।

माओवादी आन्दोलन, सशत्र संघर्ष र त्यसैको जगमा प्रधानमन्त्री हुनुभयो । अहिले आएर त्यही कम्युनिष्ट भन्नासाथ यति धेरै वितृष्णा किन ?

कम्युनिष्ट नामप्रति मात्रै मेरो कुनै आपत्ति होइन । सारतत्व नै फेरौं, चरित्र फेरौं भन्ने हो । सारमा उहाँहरुले चारित्रिक रुपमा चरम प्रकारको नोकरशाही, पुँजीवादको प्रयोग गरिरहनु भएको छ ।

केपी ओलीजी र प्रचण्डजीको शैली उस्तै छ । तपाईले हेर्नुभयो भने जुन प्रकारको कमिसन खोरहरु, विभिन्न प्रकारका भ्रष्टाचारजन्य गतिविधिमा संलग्न तत्वहरुको आड लिएर सत्ता सञ्चालन गर्ने काम गरिरहनुभएको छ, त्यो कसैबाट लुकिरहेको छैन । राज्य संयत्रलाई पनि एक किसिमले आसेपासे र पुँजीवादको विकास गरिराख्नु भएको छ । त्यसलाई परिवर्तन नगरेसम्म कम्युनिजमको खोल मात्रै लगाइदिएर भांग्राको टोपीमा गुहेंलीको फूल भनेजस्तो जनतालाई ढाँट्ने काम मात्रै हुन्छ । त्यसकारण कम्युनिष्ट शब्दप्रति मात्रै मेरो आपत्ति होइन, त्यो प्रकारको सार र रुप पक्ष नै बदलौं भन्ने हो ।

उसो भए तपाईंको नजरमा प्रचण्ड को हुन् ?

प्रचण्ड हाम्रो समकालीन नेपाली समाजको जुन वर्गीय, सामाजिक धरातल छ, त्यसमा जन्मिएको सक्षम पात्र हुन् । हाम्रो जुन पुँजीवादी संक्रमणकालीन समाज छ, जसले अत्यन्त गहिराइमा गएर सोच्न सक्दैन । त्यस्तो समाजमा तत्काल मन्त्रमुग्ध पारेर कुरा राख्न सक्ने त्यस्ता नेताप्रति नै मान्छे आकर्षित भएर उसको देवत्वकरण गर्छ । त्यसअर्थमा उहाँले छिटै आफूलाई स्थापित गर्न सफल त रहनुभयो ।

प्रचण्डको सकारात्मक पक्ष भनेको अत्यन्त क्रियाशीलता र बोली व्यवहारबाट मान्छेलाई प्रभाव पार्न सक्ने क्षमता छ । तर, मुख्य कुरा नेतृत्वमा हुनुपर्ने रुपान्तरणकारी राजनीति गर्ने व्यक्तिले चाहिँ आफ्नो विचारमा स्पष्टता, वैज्ञानिकता र त्यसप्रतिको दृढता चाहिँ आवश्यक पर्छ । त्यो कुरा उहाँमा कमी छ । क्षणिक लाभका निम्ति दीर्घकालीन लक्ष्यलाई तिलाञ्जली दिने खालको उहाँको स्वभाव थियो ।

नेपाली समाजलाई नै अग्रगामी दिशातिर लिएर जानका निम्ति एउटा रुपान्तरणकारी भूमिका निर्वाह गर्न सक्ने, अत्यन्त दूरदर्शी दृष्टि राख्ने राजनेताको समाजले खोजी गरेको छ । यो भूमिका ओलीजी र प्रचण्डजीबाट कसरी हुन्छ, त्यो भोलिको दिनमा मात्रै भन्न सकिन्छ

मसँग नमिल्दो चाहीँ केही कुरा थिए । म अलि परसम्मको कुरालाई जोड दिन्थें, उहाँ तत्कालीन विषयमा । उहाँले सत्ता, स्वार्थमा जोड दिए पनि त्यसको पूरक चाहिँ हुन्थ्यो । जब संविधान जारी भएपछि आन्दोलनले नयाँ चरणमा प्रवेश गर्‍यो, त्यसैले माओवादी आन्दोलनलाई नयाँ ढंगले प्रयोग गरेर जाऔं भनेर मैले भनेकै हुँ । त्यसको दुई वर्ष नबित्दै प्रचण्डले माओवादी आन्दोलनलाई बिघटन गर्नुभयो ।

अनि केपी शर्मा ओलीलाई यहाँले हेर्ने नजर नि ?

केपी शर्मा ओलीको पनि झापा आन्दोलनदेखि नै त्यस्तै प्रकृतिको स्वभाव थियो । साझा आन्दोलनको धारभित्र पनि ओलीको प्रवृति अलिकति दक्षिणपन्थी, अलिकति यथावादी सोच हो । पछिल्ला चरणमा पनि परिवर्तन, गणतन्त्र, संघीयताका विपक्षमा पनि उहाँ उभिनुभयो ।

संयोग के पर्‍यो भने, भारतीय नाकाबन्दीपछि पहाडी, खसआर्य समुदायको मनलाई एकतावद्ध गरेर राष्ट्रवादको कभरभित्र एउटा समुदायको नेता बन्ने अवसर पाउनुभयो । त्यसकै बलमा उहाँ शक्तिशाली व्यक्तिका रुपमा आउनुभयो तर, नेपालमा अत्यन्त पीछडिएको सामाजिक, आर्थिक अवस्था, विविधतायुक्त जातीय, क्षेत्रीय संरचना र अन्त्यन जटिल राजनीतिक संरचना छ । सन्तुलन मिलाउन देशलाई एकतावद्ध राख्दै समृद्धिको दिशा हुँदै समाजवादतिर जाने जुन कार्यभार बाँकी छ, त्यो पूरा गर्न उहाँलाई सहज छैन । तर, पनि ओलीजी एक सक्षम नेता हो, डाइनामिक नेता हो भन्ने कुरामा द्विविधा छैन ।

नेपाली समाजलाई नै अग्रगामी दिशातिर लिएर जानका निम्ति एउटा रुपान्तरणकारी भूमिका निर्वाह गर्न सक्ने, अत्यन्त दूरदर्शी दृष्टि राख्ने राजनेताको समाजले खोजी गरेको छ । यो भूमिका ओलीजी र प्रचण्डजीबाट कसरी हुन्छ, त्यो भोलिको दिनमा मात्रै भन्न सकिन्छ ।

एमाले र माओवादी मिलेर ठूलो बन्यो, अब अरु विचार, शैली मिल्ने पार्टी पनि एक हुन सजिलो होला । नयाँ शक्तिका बारेमा केही सोच्दै हुनुहुन्छ ?

सानो र ठूलो पार्टी भन्ने शब्द नै हामी प्रयोग गर्दैनौं । हामी त ठीक र बेठिक के हो हरौं भन्छौं । सत्य र असत्य, वैज्ञानिक र अवैज्ञानिक के छ भन्ने हेर्नुपर्छ । तत्काल आकारमा ठूलो भएको शक्ति सधैं ठूलो भइराख्दैन । कुनै बेला कांग्रेस धेरै ठूलो थियो, पछिल्लो समय एमाले ठूलो शक्ति बन्यो । २०६४/०६५ मा माओवादी ठूलो थियो । त्यसैले कुनै कालखण्डमा ठूलो हुनु महत्वपूर्ण कुरा होइन ।

सही हुनु वैज्ञानिक हुनु ठूलो कुरा हो । यो शक्ति आकारमा ठूलो भए पनि नेपाली समाजका अन्तर्विरोध हल गर्न सक्दैनन् र अन्ततः देशले विकल्पको खोजी गर्छ । एउटा पार्टीको विकासको मात्रै खोज होइन, विकसित विचार, नीतिमा आधारित वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने हाम्रो ध्येय हो । त्यसको औचित्व र आवश्यकता बढेर आएको छ ।

तर, नयाँ शक्ति पार्टी घोषणा हुँदा जुन उत्साह थियो, जुन व्यक्तिहरु थिए, उनीहरु हराउँदै-हराउँदै गए । अहिले प्रालिजस्तो भयो भन्ने छन् नि ?

कुनै पनि नयाँ चिज हेर्न बडो समय लाग्छ । वैज्ञानिक विचार र दर्शन स्थापित हुन सयौं वर्ष लाग्छ । मार्क्सवाद सूत्रपात गर्दा उनको मलामी जाने व्यक्ति एघार जना मात्रै थिए भने आज मार्क्सका अनुयायी एक अर्ब छन् ।

त्यसैले नयाँ विचार तुरुन्तै स्थापित भइहाल्छ भनेर सोच्नु वैज्ञानिक हुँदैन । वैकल्पिक शक्ति नयाँ शक्तिको पहिचान जनताले छिट्टै देख्छन् । हो, यही नाम गरेका धेरै शक्ति हुँदा जनतालाई भ्रम पर्न सक्छ । त्यसैले विचार र नीति तथा कार्यक्रम मिल्ने शक्ति एक ठाउँमा आउनु नै वैकल्पिक शक्ति निर्माणमा सहज हुन्छ भन्ने म ठान्छु ।

अहिले एमाले र माओवादी केन्द्रको एकता जुन सत्ता र स्वार्थमा आधारित छ, उहाँहरु अब कसरी अगाडि जानुहुन्छ, त्यो अगामी दिनमा पर्खेर हेनुपर्छ । अहिले हामी शुभकामना दिनबाहेक केही गर्न सक्दैनौं ।- साभार:अनलाइन खबर बाट

यी समाचार पनि पढ्नुहोस्
Scroll Up