तुरुन्तै राष्ट्रिय लिग गर्छौं : नवनिर्वाचित एन्फा अध्यक्ष शेर्पा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का नव निर्वाचित अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले लामो समयबाट हुन् नसकेको राष्ट्रिय लिग फुटबल तत्काल आयोजना गर्ने बताएका छन् ।

एन्फा अध्यक्ष पदमा शनिबार निर्वा्चित भएपछि बोल्दै अध्यक्ष शेर्पाले तुरुन्तै राष्ट्रिय लिग गर्ने बताएका हुन् ।  नव निर्वाचित कार्यसमितिको पहिलो बैठक सोमबार बस्ने जानकारी दिदै अध्यक्ष शेर्पाले भने, “नेपाली फुटबल जुन अवस्थामा छ । हामीले गर्नु पर्ने धेरै छ । तर, सक्षम टिम म सँग रहेको छ ।तुरुन्तै राष्ट्रिय लिग फुटबल आयोजना गर्ने छौ ।”

ललितपुरको सानेपामा सम्पन्न एन्फाको १६ औं साधारणसभाले शेर्पालाई अध्यक्षमा निर्वा्चित गरेको थियो । परिवर्तनकारी समूहका शेर्पाले सस्थापन पक्षका मणि कुँवरलाई भारी मतले हराएका थिए । कुल ७७ मतमध्ये ७६ भोट खसेको निर्वाचनमा शेर्पाले ६३ मत ल्याएका थिए । कुँवरले १२ मतमात्र ल्याए । तर, अध्यक्षका प्रत्यासी कुँवरले विधानविपरित निर्वाचन गरेको भन्दै निर्वाचनमा सहभागिता जनाएका थिएनन् ।

यस्तै अध्यक्ष शेर्पाले नेपाली फुटबलमा आफुले धेरै गर्न बाँकी रहेको बताउदै तीन महिनाभित्र एन्फा परिवर्तनको लागि विभिन्न नियमावली तयार गरिसक्ने बताए ।  “प्रजातान्त्रिक तरिकाले निर्वाचन सम्पन्न भएको छ । सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु,” अध्यक्ष शेर्पाले भने, “एन्फामा आर्थिक, प्रसाशनिक नियमावली छैन । तीन महिनाभित्र त्यो नियम कानुन बनाउने छौ । लिग र ग्रासरुट फुटबलको कार्यक्रम यहिँ बर्ष सुरु हुन्छ ।”

शेर्पाले फुटबल विकासको लागि पराजित समूहका सदस्यहरुलाई समेत टिममा राखेर अघि बढ्ने समेत बताए । आफ्नो कार्यकालमा खेलाडीले फुटबल खेलेर बाच्न सक्ने आधार बनाउने समेत उनले बाचा गरे । “पराजित साथीहरुलाई समेटेर जानुपर्छ । सबैलाई समेटर फुटबल अघि बढाउने छौ, खेलाडी र देशको शिर झुक्ने कार्य गर्दिन,” अध्यक्ष शेर्पाले भने ।

एसियाली फुटबल महासंघ (एएफसी), राष्ट्रिय खेलकुद परिसद (राखेप) को प्रतिनिधिको रोहबरमा भएको निर्वाचनबाट ४ उपाध्यक्ष र ११ सदस्यमा पनि शेर्पा समूहबाट विजयी भएका छन् । निर्वाचनको लागि एएफसीका प्रतिनिधि संजीभन बालासिन्घम नेपाल आएका थिए  । उपाध्यक्षका लागि नौजना प्रतिस्पर्धी रहेकोमा पंकज नेम्वाङ ६१, वीरबहादुर खड्का ३९, कृष्ण थापा ५२ र उपेन्द्रमान सिंह ५८ मत ल्याएर निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यका लागि २९ जना प्रतिस्पर्धी रहेकोमा दावा लामा, निरोध खत्री, पूर्णमान चित्रकार, रवीन्द्रनाथ श्रेष्ठ, मधुसुदन उपाध्याय, प्रदेशसिंह राठौर, दिनेश व्यञ्जनकार, दिर्घ बहादुर केसी, किरण राई, विजय घले र रत्नकुमार श्रेष्ठ निर्वा्चित भएका छन् । महिला सदस्यमा पेमा लामा निर्विरोध निर्वा्चित भईन् । एन्फाको कोषाध्यक्ष र महासचिव भने निर्वा्चित कार्यसमितिले मनोनयन गर्ने व्यवस्था रहेको छ ।

निर्वाचनमा ४४  जिल्ला संघ, १५ ए डिभिजन, ९ बि, ५ सी डिभिजन क्लब र ४ समितिले मतदान गरेका थिए । ७७ जना मतदाता रहेकोमा ७६ मत खसेको थियो । जसमा कञ्चनपुर फुटबल संघका अध्यक्ष तथा उपाध्यक्षका उमेदवार गणेश चन्दले भने मतदान गरेनन् ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up