डेढ दशकपछि राजबिराजको विमानस्थलमा उत्रियो विमान

९ जेठ, काठमाडौं । झण्डै डेढ दशकदेखि बन्द सप्तरीको राजबिराज विमानस्थल बिहिबारदेखि सञ्चालनमा आउने भएको छ । बन्द अवस्थामा रहेको विमानस्थलमा १५ सय मिटरको रन-वे पिच गर्ने काम दुई वर्षअघि सुरु भएको थियो । करिब ०६० सालबाट बन्द भएको राजबिराज विमानस्थल बन्द भएको १५ वर्षपछि सञ्चालनमा आउन लागेको हो ।

१४ वर्षअघि पिच नभएको अवस्थामा रहेको यो विमानस्थल सडक यातायात सहज भएसँगै बन्द भएको थियो । ०६० अघि नेपाल एयरलाइन्सको १७ सिटे जहाजले मात्रै उडान भथ्र्यो ।

बुधबार श्री एयरलाइन्सको सीआरजे २०० ले परीक्षण उडान गरेको छ । ५० सिटको उक्त जहाजले विराटनगरदेखि राजबिराजसम्मको उडान गरेको हो ।

बिहिबारदेखि यो विमानस्थल सञ्चालनमा ल्याउनको लागि बुधबार टेस्ट फ्लाइट गरेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता बिरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

अहिले श्री एयरलाइन्सले मात्रै यो विमानस्थलमा काठमाडौंदेखि उडान गर्ने इच्छा देखाएको छ । बिहीबार राजबिराज विमानस्थलको मन्त्री रबिन्द्र अधिकारीले उद्घाटन गर्ने कार्यक्रम छ । बिहिबार पनि श्री एयरलाइन्सले नै काठमाडौंदेखि राजबिराजसम्मको उडान गर्दैछ ।

उडान कहिलेदेखि गर्ने भन्ने बारेमा अहिलेसम्म कुनै टुंगो नलागेको श्री एयरलाइन्सका मार्केटिङ म्यानेजर अनिल मानन्धरले जानकारी दिए ।‘दैनिक उडान गर्ने योजना बनाएका छौं, कहिलेदेखि नियमित उडान गर्ने भन्ने बारेमा भने अहिलेसम्म टुंगो लागेको छैन,’ उनले भने ।काठमाडौंदेखि राजबिराजसम्मको उडान गर्नका लागि मौखिक रुपमा सहमति पाइसकेको मानन्धरले जानकारी दिए ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up