उत्तरकोरियाले छाड्यो अमेरिकी बन्दी, आफ्ना नागरिक छाडेलगत्तै ट्रम्पको यस्तो टिप्पणी

 

एजेन्सी– उत्तरकोरियाले आफ्नो मुलुकमा बन्दी बनाइएका तीन अमेरिकी नागरिकलाई रिहा गरिदिएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियो उत्तरकोरिया पुगेलगत्तै तीन अमेरिकी नागरिक रिहा भएका हुन् ।
आफ्ना नागरिक रिहा भएको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटमार्फत दिएका छन् । उनले विदेशमन्त्री माइकको उत्तरकोरिया भ्रमण लगत्तै आफ्ना नागरिक रिहा भएका र उनीहरुको स्वास्थ्य ठिक भएको जनाएका छन् ।

उत्तरकोरियाले उनीहरुलाई बुधबार अपरान्ह २ बजे रिहा गरेको जनाइएको छ । रिहा अमेरिकी नागरिकलाई विदेशमन्त्री पोम्पियोले आफ्नो विशेष विमानमा सँगै लिएर फर्किएका छन् । विदेशमन्त्री माइक एन्ड्यूज एयर फोर्सको विमानमार्फत उत्तरकोरिया पुगेका थिए ।

उत्तरकोरियाको यो कदमबाट आफु उत्साहित भएको राष्ट्रपति ट्रम्पले जनाएका छन् । उत्तरकोरियाको यो कदमले अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तरकोरियाली नेता किम जोङ उनबीच हुने भनिएको उच्चस्तरीय वार्ताका लागि थप वातावरण बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।


उत्तरकोरियामा केही समयदेखि तीन अमेरिकी नागरिकहरु किम हक–सङ, टोनी किम र किम डङ्–चुल बन्दी थिए । किम हकलाई उत्तरकोरियाले सन् २०१७ मा संदिग्ध रुपमा देश विरोधी गतिविधिमा लागेको आरोपमा पक्राउ गरेको थियो भने टोनी किमलाई जासुसीको आरोपमा सन् २०१७ को अप्रिलमा पक्राउ गरेको थियो ।

उनी प्योङयाङ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीका प्रोफेसर समेत हुन् । त्यस्तै किम डोंग चुललाई सन् २०१५ मा उत्तरकोरियाले पक्राउ गरेको थियो । उनी क्रिश्चियन पादरी हुन् । उनलाई उत्तरकोरियाले १० वर्षको काराबास सजाय सुनाएको थियो ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up