बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २७ किलोमिटर लामो सुरुङ चार वर्षमा पूरा

माघपछि मात्रै पिउन योग्य


‘पाइपभित्र विभिन्न फोहोर जमेका हुन सक्छन् । स्वास्थ्यमा असर गर्ने खालका कीटाणु पनि पाइपमा हुन सक्छन् । ट्रिटमेन्ट गर्न समय लाग्छ । त्यसबाहेक उपभोक्ताका घरघरमा जोडिएका प्रत्येक पाइपमा मिटर जडान गर्न बाँकी छ । यसका लागि मात्रै ३ महिनाभन्दा धेरै समय लाग्ने देखिन्छ,’ परियोजना कार्यन्वयन निर्देशनालयका प्रमुख तिरेश खत्रीले भने ।

बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २७ किलोमिटर लामो सुरुङ चार वर्षमा पूरा भएको छ । मंगलबार दिउँसो २ः२५ बजे २७.५८४ किमि सुरुङ ‘ब्रेक थ्रु’ भएसँगै मेलम्चीको पानी काठमाडौं छिटै आउने सम्भावना बलियो भएको छ । अन्य व्यवस्थापकीय काम सकेर आगामी भदौसम्ममा काठमाडौंमा पानी आइपुग्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले बताए । तर, उपभोगका लागि भने माघदेखि मेलम्चीको पानी प्रयोगमा ल्याइने उनले बताए ।

अब, कति काम बाँकी ?
सुरुङ खनिए पनि प्लास्टर र भुइँ ढलान गर्न बाँकी नै छ । अहिलेसम्म ४.५ किमिमा मात्रै प्लास्टर र भुइँ ढलान भएको छ । २३.०८४ किमि सुरुङको प्लास्टर र भुइँ ढलान गर्न कम्तीमा तीन महिना लाग्ने समितिले जनाएको छ ।

सुरुङभित्र कम्तीमा तीनवटा एअर लिफ्ट भेन्टिलेटर पनि राख्नुपर्छ । यसका लागि कम्तीमा ६० दिन लाग्छ । सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र र सुरुङको मुख जोड्न २५० मिटर पाइप बिछ्याउन बाँकी छ । सिन्धुपाल्चोकस्थित पानीको मुहानमा पनि ६० मिटर लम्बाइको पाइप बिछ्याउन बाँकी छ । सुरुङभित्र छिर्ने अडिटको मर्मत पनि गर्नुपर्नेछ । सबै काम योजनाअनुसार अघि बढे सकिन कम्तीमा साउनको मसान्तसम्म कुर्नुपर्छ । तर, सबै काम सकिएको अर्को ६ महिनापछि मात्रै उपत्यकावासीले पानी पिउन पाउनेछन् ।

समितिका कार्यकारी निर्देशक देवकोटाले मेलम्ची खानेपानी परियोजना–१ अन्तर्गत सुरुङ खन्ने काम सकिए पनि सम्बन्धित ६.७७ प्रतिशत काम बाँकी नै रहेको बताए । उनले भने, ‘सुरुङ खन्ने काम त सकियो । यसको अर्थ अहिले नै सुरुङभित्र पानी छिराएर उपत्यका ल्याउने होइन । काम अझै बाँकी छन् । ती काम सक्न अगस्ट लाग्छ । त्यसपछि मात्रै सुरुङमा पानी पठाउन मिल्छ ।’

पानी वितरणका लागि उपत्यकाभित्र करिब हजार किमि पाइप बिछ्याउनुपर्नेमा सय मिटर बाँकी नै छ । पानी संकलनका निर्माणाधीन ९ वटा ट्यांकीमध्ये ८ वटाको ८० प्रतिशत काम सकिएको छ । एउटा ट्यांकी त भर्खर निर्माण सुरु गरिएको छ ।

यसबाहेक भक्तपुरको कटुन्जेमा पनि एउटा ट्यांकी निर्माण हुँदै छ । यी सबै काम अगस्टसम्ममा सकिनेछन् ।

२८ अर्बको योजना
समितिका अनुसार मेलम्ची खानेपानी पारियोजनाअन्तर्गतको सुरुङ निर्माण तथा पानी प्रशोधन केन्द्र निर्माणको कुल बजेट २७ अर्ब ७६ करोड रुपैयाँ हो । त्यसमध्ये करिब ८० प्रतिशत एसियाली विकास बैंकको ऋण हो भने बाँकी २० प्रतिशत नेपाल सरकारको छ । अहिलेसम्म २४ अर्ब २२ करोड रुपैयाँ खर्च भइसकेको छ ।

ठेकेदारले माग्यो १ अर्ब ६५ करोड क्षतिपूर्ति
निर्धारित समयभन्दा ६ महिनाअघि ठेकेदार कम्पनीले सुरुङ खन्ने काम सकेको भए प्रतिदिन ३८ लाख ६१ हजार ७ सय ३५ का दरले ६ महिनाको एकमुष्ट रकम ६९ करोड ५१ लाख १२ हजार ३ सय रुपैयाँ बोनस पाउँथ्यो । तर, यसले निर्धारित समयमा काम सकेन । यद्यपि, यसले अहिले सरकारसँग एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेको छ ।

समितिका अनुसार ठेकेदार कम्पनीले भूकम्पले क्षति पुर्‍याएकाले निर्माण भइसकेको सुरुङमा चट्टान झरेको र त्यसलाई फोड्न परेकाले क्षतिपूर्ति माग गरेको हो । यही माग राखेर उसले केही दिन कामसमेत रोकेको थियो । पछि सरकार २८ करोड रुपैयाँ दिन राजी भएपछि काम पुनः सुरु भएको थियो । यद्यपि, उसले राख्दै आएको माग भने छाडेको छैन । चिनियाँ ठेकेदार कम्पनी सिआरसिसीले छाडेपछि ३१ असार ०७० देखि इटालियन ठेकेदार कम्पनी को–अपरेटिभ मुरातोरी इ सेमेन्तेस्टी (सिएमसी दी रेभेन्ना)ले आयोजना निर्माणको ठेक्का पाएको थियो । ठेक्का सम्झौताअनुसार उसले सुरुङ निर्माणको सम्पूर्ण काम १०९५ दिन (३६.५ महिना) मा सक्नुपर्ने थियो । तर, सुरु निर्माण गर्न १४६० भन्दा धेरै दिन लगाएको छ ।

२० वर्षको सपना साकारोन्मुख
मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउने बहस खासगरी प्रजातन्त्र पुनस्र्थापनापछि भएको पाइन्छ । तत्कालीन अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले काठमाडौंमा मेलम्चीको पानी ल्याउने नारा ०४८ को निर्वाचनमा बाँडेका थिए । तर, निर्वाचनमा उनी हारे । त्यसपछि मेलम्चीको पानी काठमाडौं ल्याउने बहस सेलायो ।

०५४ को स्थानीय चुनावपछि मेलम्ची खानेपानीले फेरि चर्चा पायो । त्यसलगत्तै मुलुकमा संसदीय चुनावको महोल बन्यो । विशेषगरी कांग्रेसले उपत्यकामा मेलम्ची खानेपानी ल्याउने विषयलाई चुनावी एजेन्डा नै बनायो । नभन्दै ०५५ मा पहिलोपटक मेलम्ची खानेपानी विकास समिति गठन भयो । ०५६ को संसदीय चुनावको संघारमा कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईले काठमाडौंका सडक मेलम्चीको पानीले पखालिदिने भाषण नै दिए ।

समितिले परियोजनाको अध्ययन गर्‍यो । डिपिआर बनायो । आवश्यक जग्गा अधिग्रहण ग¥यो । आवश्यक अन्य संरचना पनि बनायो । तर, परियोजना निर्माणको भरपर्दो आर्थिक स्रोत जुटाउन सकेन । आर्थिक स्रोत खोजीकै क्रममा ०६५ मा एसियाली विकास बैंक मेलम्ची खानेपानी परियोजना निर्माणका लागि ऋण दिन तयार भयो । एडिबीसँग लगत्तै सम्झौता भयो । सुरुङ निर्माणका लागि विश्वव्यापी बोलपत्र आह्वान भयो । ०६६ मा चिनियाँ ठेकेदार कम्पनी सिआरसिसीले सुरुङ मार्ग निर्माणको जिम्मा पायो । ठेकेदार कम्पनीले तीन वर्षको अवधिमा ६.५ किमि मात्रै सुरुङ खन्यो । त्यसपछि सरकारले उक्त ठेकेदार कम्पनीलाई हटायो । ०६९ मा सुरुङ मार्ग निर्माणका लागि इटालियन ठेकेदार कम्पनी सिएमसी डी रेनेभा नियुक्त भयो । यसले पनि केही महिना काम गर्न आलटाल गर्‍यो । विभिन्न दबाबपछि अन्ततः ३१ असार ०७० बाट उसले काम सुरु गर्‍यो । भारतको नाकाबन्दी, भूकम्पलगायत विविध समस्या तोड्दै ठेकेदार कम्पनीले बल्ल सुरुङ खन्ने काम सकाएको छ । -साभार:नया पत्रिका बाट

यी समाचार पनि पढ्नुहोस्
Scroll Up