प्रहरी महानिरीक्षकमा सर्वेद्र र सशस्त्र महानिरीक्षकमा शैलेन्द्र नियुक्त

नेपाल प्रहरीको आईजीपीमा सर्वेन्द्र खनाल नियुक्त भएका छन् । अाज दोस्रोपटक बालुवाटारमा बेलुकी साँझ बसेको मन्त्रिपरिषद् बैठकले डिआईजी खनाललाई आईजीपीमा नियुक्त गरेको हो ।

नेपाल प्रहरीका आईजीपी प्रकाश अर्यालले चैत २८ गतेबाट ३० वर्षे उमेरहदका कारण नियमित अवकाश पाएपछि नेपाल प्रहरीमा नयाँ नेतृत्व चयन गरिएको हो । खनाल २०४६ माघमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए । आफ्नो ब्याचमेटहरुमा एसएसपीबाट डिआईजीमा बढुवा हुँदा खनाल एक नम्बरमा बढुवा भएका हुन् ।

‘सेलिब्रेटी अफिसर’को रुपमा चिनिएका खनाल २०७२ मा महानगरीय अपराध महाशाखको प्रमुख थिए । अपराध महाशाखाको प्रमुख हुँदा २०७२ भदौ ३ गते उनले गुण्डा नाईके कुमार ‘घैंटे’को इन्काउन्टर गरेका थिए ।

नेपाली फुटबलको ओरालो यात्रामा ब्रेक लगाउन खनालको ठूलो योगदान रहेको छ । अपराध महाशाखा प्रमुख हुँदा ‘म्याच फिक्सिङ प्रकरण’मा अनुसन्धान गरेका खनालले २०७२ असोज २७ गते तत्कालिन राष्ट्रिय टिमका कप्तान सागर थापासहित ५ खेलाडीलाई नियन्त्रणमा लिएर मुद्दा चलाएका थिए ।

प्रहरीले लिएको भिडियो बयानमा उनीहरुले म्याच फिक्सिङ स्वीकार गरेका थिए ।  त्यसपछि संगठनभित्र मात्रै नभएर समाजमा पनि खनाल सेलिब्रेटी अफिसरको रुपमा चिनिएका थिए ।

नयाँ संविधान निर्माणपछि भारतीय नाकाबन्दीको फाइदा उठाउँदै कालोबजारी गर्ने कार्यमा सहयोग गर्ने सह–सचिव तथा नापतौल विभागका प्रमुख रामआधार शाहलाई उनले हत्कडी लगाएका थिए । त्यहिबाट रिमोट कन्ट्रोल जडान गरेर उपत्यकामा ठगी गर्र्दै आएका पेट्रोलपम्प सञ्चालकहरुलाई खनालले कानुनी दायरीमा ल्याएका थिए ।

अपराध महाशाखाको नेतृत्व सम्हालेको एक सातामै खनालले जमिम शाह हत्याकाण्डमा संलग्न पूर्व–डिएसपी जगदीश चन्दलाई नियन्त्रणमा लिएका थिए । २०६६ सालमा लाजिम्पाजमा शाहको गोली प्रहारबाट हत्या भएको थियो ।

तराईमा बस्दा विभिन्न भूमिगत समूहहरुको गतिविधि नियन्त्रण गरेका खनालले दर्जनबढी नक्कली इन्जिनियरलाई पक्राउ गरेर कारवाही गरेका थिए । जनकपुर,  पर्सालगायतका स्थानमा बस्दा त्यहाँका भूमिगत समुहविरुद्व उनले विशेष अपरेशन सञ्चालन गरेको  थिए ।

उपत्यकाको अपराध श्रृङ्खलामा ललितपुरको बडिखेलमा भएको ‘बडीखेल हत्याकाण्ड’ निकै चर्चित मानिन्छ । एउटै परिवारका ५ जनाको विभत्स ढंगले भएको हत्या काण्डकाको खनालले नै पर्दाफास गरेका थिए । २०६० सालमा एउटै परिवारको पाँच जनाको ज्यान लिने चन्द्रबहादुर पहरीलाई खनालले करिब १२ बर्षपछि पक्राउ गरेका थिए । काठमाडौंमा बस्दा खनालले अवैध कन्सल्टेन्सीमा छापा हानेर उनीहरुलाई कारवाहीको दायरामा समेत ल्याएका थिए ।

सशस्त्रको कमान्ड शैलेन्द्र खनाललाई

मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीको प्रमुखमा शैलेन्द्र खनाललाई नियुक्त गरेको छ । सशस्त्रको आइजिपीका लागि खनालसँगै पुष्पराम केसी दौडमा थिए ।

बैठक अघि प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलसँग आईजीपी नियुक्तिबारे परामर्श गरेका थिए ।

नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवा अवधिका कारण बुधबारदेखि अवकाश पाउँदैछन् ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up