डीपीएलमा स्थानीय टोलीको दबदबा

धनगढी : धनगढीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) मा स्थानीय टोलीहरूले दबदबा कायम राखेका छन। ६ वटा टोलीको सहभागिता रहेको डीपीएलमा महेन्द्रनगर युनाइटेड, सीवाईसी अत्तरिया र टिम चौराह धनगढी गरी तीनवटा टोली क्वालिफायर चरणमा प्रदेश गरेका छन्। यसका साथै काठमाडौं गोल्डेन्स पनि शीर्ष स्थानमा रहँदै क्वालिफायरमा प्रवेश गरेको छ।

काठमाडौं पाँच खेलमा नौ अंकका साथ अंकतालिकाको शीर्षस्थानमा यथावत् रहेको छ। महेन्द्रनगर ६ अंकका साथ तेस्रो स्थानमा छ। टिम चौराह धनगढी समान ६ अंक भए पनि राम्रो रनरेटका भएकोले दोस्रो स्थानमा रहेको छ। मंगलबारको पहिलो क्वालिफायर खेल काठमाडौं गोल्डेन्स र टिम चौराहबीच हुनेछ। दोस्रो खेल महेन्द्रनगर युनाइटेड र सीवाईसी अत्तरियाबीच हुनेछ।

पहिलो क्वालिफायर खेलमा जित्ने टोली सीधै फाइनल प्रवेश गर्नेछ भने पहिलो क्वालिफायरको उपविजेता र दोस्रो क्वालिफायरको विजेताले फाइनलका लागि एलिमेटर खेल्नेछन्। तीनवटा स्थानीय टोली क्वालिफायरमा परेकाले फाइनलमा दुवै स्थानीय वा कम्तीमा पनि एउटा टोली पुग्ने पक्का भएको छ। स्थानीय नामका टोली क्वालिफायर पुगे पनि ती टोलीमा विदेशी खेलाडीहरू र राष्ट्रिय टोलीका खेलाडीहरूको कसिलो खेल भइरहेको छ।

महेन्द्रनगर युनाइटेडमा विनोद भण्डारीले नेतृत्व प्रदान गरेका छन् भने सीवाईसी अत्तरियामा सुवास खकुरेललाई चोट लागेपछि प्रदीप ऐरीले नेतृत्व सम्हालेका छन। ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्स र सोमपाल कामीको नेतृत्वको टिम चौराह धनगढीले पनि राम्रो प्रदर्शन गरिरहेका छन्। डीपीएलमा सहभागी तीनवटै स्थानीय टोली क्वालिफायरमा पुगेपछि यस क्षेत्रका खेलप्रेमी र टिमका ओनर (मालिक)हरू पनि हौसिएका छन्। साबिक विजेता टिम चौराहका एकजना लगानीकर्ता पुष्कर ओझा भन्छन् ‘तीनवटै टोली क्वालिफायरमा पुगेपछि धनगढीमा क्रिकेटको क्रेज जबर्जस्त रूपमा बढेको छ।’

उनले धनगढीमा क्रिकेटको बढ्दो क्रेजले एउटा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानका लागि सरोकारवाला पक्षलाई दबाब दिने काम गरेको बताए। उनले भने,’ डीपीएलमा यूएईका कप्तान रोहन मुस्तफा, हङकङका कप्तान बाबर हयातजस्ता राष्ट्रिय टोलीका कप्तानहरू खेलिरहेका छन्, अझ भारतको आईपीएल र रणजी ट्रफी खेलेका खेलाडीहरूको जमघटले धनगढी क्रिकेटमय बनेको छ’ उनले भने।

क्रिकेट संघको अस्तित्व नभएका बेला भएको डीपीएलका माध्यमबाट सुदूरपश्चिमको पहिचानका लागि लगानी गरेको महेन्द्रनगर युनाइटेडका सञ्चालकमध्येका एकजना सुशील श्रेष्ठ बताउँछन्। ‘यो प्रतियोगिताले ७ नम्बर प्रदेशलाई अन्तर्राष्ट्रिय रूपमा चिनाएको छ, धनगढीको प्रमोसन भएको छ, यही होस् भनेर हामीले व्यावसायिकभन्दा पनि समाजका लागि केही गर्नुपर्छ भनेर लगानी गरेका हौं’ श्रेष्ठले भने। सीवाईसी अत्तरियाका लगानीकर्ता नरबहादुर राई पनि खेलका माध्यमबाट यस क्षेत्रको प्रवद्र्धनका लागि लगानी गरेको बताउँछन्।-स्रोत:अन्नपूर्ण पोस्ट बाट

यी समाचार पनि पढ्नुहोस्
Scroll Up