कोरियामा लाख कमाउदा खुसी छैन

 

Online Radio Gorkhali ,दक्षिण कोरिया

एसएलसी पास गरे पछि प्लस टु पढ्न जनकपुर गएँ । कलेज जनकपुरकै पुरानो र चर्चित राम स्वरुप राम सागर बहुमुखी क्याम्पस थियो । कलेजको समय पछि खासै काम थिएन । फुर्सदिलो थिएँ । मनमा केही न केही त गरौ भन्ने लाग्यो । त्यो बेला देशै भरि रेडियोको वोलवाला थियो ।

त्यस्तैमा जनकपुरमा रेडियो जनकपुर खुल्यो । एफएमको परिक्षण प्रसारणको समय थियो । गीतहरु धेरै बज्ने । तर बिच बिचमा एउटा आवाजमा कार्यक्रम पनि आउँथ्यो । मेरो ध्यान त्यो आवाजले तान्थ्यो । विस्तारै म रेडियोको फ्यान भएँ । रेडियो प्रस्तोताको फ्यान भएँ । हुँदा हुँदा रेडियो मै काम गर्नु पर्छ कि जस्तो लाग्यो । एक्लै कोठामा हुँदा रेडियोमा बोल्नेहरुले झै बोले जसरी बोलियो । हैट क्या जिन्दगी छ रेडियोमा बोल्नेको । मान्छेले पनि चिन्ने जागिर पनि खाइने । यस्तो काइदाको जागिर पो जागिर ।

त्यसो त स्कुल पढदा साथीहरु वीचमा बढाई सकेर के बन्ने भनेर चर्चा हुन्थ्यो । साथीहरु थरि थरिका कुरा गर्थे । म केही नसोची जवाफ दिन्थे टिभीमा बोल्छु । उनीहरु छक्क पर्थे । गाउँ भरिका कोही छैनन् तँ कसरी बोल्छस् ? उल्टै सोध्थे ।
कलेज पढ्यो । रेडियो सुन्यो । मनमा रेडियोमा बोल्ने रहर बढेको बढ्यै छ । बोल्ने तर कसरी ? रेडियोका कसैसंग चिनजान भए पो । त्यही माथि दिदी रेडियो विरोधी । रेडियो सुन्न बस्योकी दिदीले पढ भनेर हैरान । शायद दिदीलाई लाग्दो हो यो रेडियो सुनेर के गर्छ ? पढाई बिर्गान त हो ।
आफुलाई रेडियोमा नबोली भाछैन । समय वित्दै गयो । कतैबाट कुनै बाटो छैन रेडियोमा बोल्ने । एक दिन यसो पत्रिका पल्टाउँदै गर्दा नयाँ खुल्ने रेडियोका लागि मान्छे चाहिएको छ भनेर लेखिएको रहेछ । लाग्यो यो विज्ञापन मेरै लागि हो ।

दिदीलाई नभनि रेडियोमा काम गर्ने फर्म भरे । एक हप्तापछि अन्र्तवार्ताका लागि गए । सामान्य कुरा सोधे । कस्तो कार्यक्रम बनाउने ? प्रश्न सोधियो । रमाइलो । उत्तर पनि तुरुन्तै गयो । लौ त फोन इन कार्यक्रम चलाउ त । प्रश्न सोध्नेले अह्राए । यही हो मौका कोठामा एक्लै रेडियो प्रस्तोता भएर चलाइएको फोन इन चलाइदिएँ । कार्यक्रम सकियो । ठीक बेठीक केही भनेनन् । जानुस सम्पर्क गर्छौ । एउटाले भने ।

दस दिन जति पछि फोन आयो । तँपाईको प्रस्तुति राम्रो छ । काम गर्नु आउनुस् । आफैलाई विस्वास भएन । हेर्दाहेर्दै म पनि आरजे बन्ने भए (रेडियोमा काम गर्ने मान्छे, रेडियो जक्की ) । रेडियोमा बोलेको तलब पाइने भो पच्चीस सय । भुँईमा खुट्टै थिएन ।

जिन्दगीको पहिलो तलब पच्चीस सय । कोठा भाडा महिनाको ६ सय तिर्नुपथ्र्यो । पढाई खर्च अलि अलि लाग्ने भो । दाल, चामल, तरकारी घरबाट नै आउथ्यो । खाना खर्च चाहिने भएन । जनकपुरको चोक चोकमा भेट्ने चटपटे, पानीपुरी, चाट खुब सानले खाइन्थ्यो । पैसा सकिन्थ्यो ।

दिनहरु रमाइला थिए । रेडियोको जागिर । पच्चीस सय तलब । जिन्दगी रंगिन थियो । समय वित्यो ।
दस बर्ष पछि अहिले कोरियामा छु । सपनाको घरजग्गा जोड्न आएकी, चाहे जस्तो आफ्नै व्यवसाय गर्न आइपुगेकी । लाखौ कमाउने रहर, विदेशिएकाहरुले फेसबुकका भित्ता भरि लोभलाग्दो फोटाहरु राखेको देख्दा त्यस्तै हुन पाए, बन्न पाए, घुम्न पाए जस्तो लाग्ने रहर । त्यस्तै रहर अनि बाध्यताले कोरियामा ल्याइ पुर्याएको । दिनको ८ घण्टा देखि १२ घण्टा काम गरिएको छ । कोरियाको काम उस्तै हो ।

एकछिन मेशिन बन्द भयो भने कोरियन दौडदै आइपुग्छ । हतार हतार बनाउँछ र हामीलाई हेरेर छिटो छिटो काम गर भन्दै दौडिन्छ । एक मिनेट पनि ढिलो भए कारण खोज्छन् । टोक्न थाल्छन् । अनि सोच्छु आफनो देशको पच्चीस सय र विदेशको लाख । पच्चीस सय कमाउदा फुरुंग हुने म आज लाख कमाउदा नि खुशी छैन हँ ?
copy pest Fonijkorea.net

यी समाचार पनि पढ्नुहोस्
Scroll Up