कालो हरिण काण्ड, सलमानलाई पाँच वर्ष जेल

बलिउड स्टार सलमान खान कालो हरिण काण्डमा दोषी साबित भएपछि उनलाई पाँच वर्ष जेल सजाय तोकिएको छ । अदालतले उनलाई वाइल्ड लाइफ प्रोटेक्सन एक्टअनुसार सजाय सुनाउँदै १० हजार जरिबाना पनि तोकेको छ ।

दोषी साबित भएपछि सलमानलाई बिहीबार नै जोधपुर जेल पठाइएको छ । यद्यपि, सलमानका वकिलले जोधपुर ‘सेसन कोर्ट’मा जमानतका लागि याचिका दायर गरेका छन् । दायर याचिकामाथि शुक्रबार सुनुवाइ हुने बताइएको छ ।

कालो हरिणको सिकार गरेको प्रमाण नपुगेपछि फिल्मी स्टार सैफअली खान, अभिनेत्री नीलम, सोनाली, तब्बु र एक अन्य स्थानीय गरी पाँचजनालाई भने सफाइ दिइएको छ ।

फैसलाका क्रममा सलमानका दुवै बहिनी अर्पिता र अलविरा पनि अदालतमा उपस्थित थिए । अदालतमा सजायबारे बहस भइरहेका वेला सलमानका वकिलले कमभन्दा कम सजाय सुनाउन अदालतलाई निवेदन गरेका थिए । तर, सरकारी वकिलले भने कम्तीमा ६ वर्षको सजायको माग गरेका थिए ।

बिहीबार तोकिएको फिल्मी स्टारहरूको पेसीलाई ध्यानमा राखेर जोधपुर प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको थियो । कालो हरिण सिकार काण्डमा सलमान खान यही वर्षको ४ जनवरीमा पनि जोधपुरको सिजेएम ग्रामीण कोर्टमा उपस्थित भएका थिए । उनी त्यसवेला सुटिङका क्रममा जोधपुरमा नै थिए ।

१९ वर्ष पुरानो कालो हरिण काण्डका सिलसिलामा सलमान अदालतमा उपस्थित हुँदै आएका थिए । जनवरीमा भएको सुनुवाइका क्रममा साक्षी पुनमचन्दको बयानको भिडियो अदालतमा पेस गरिएको थियो । त्यसबखत सलमान निकै तनावमा देखिएका थिए ।

जेलमा कडा सुरक्षा

अभिनेता सलमान खानलाई पाँच वर्ष जेल सजाय सुनाइएपछि पुलिसले उनलाई जोधपुर सेन्ट्रल जेलमा पु¥याएको छ । सलमानको जेलमै स्वास्थ्य परीक्षण गरिएको छ । जोधपुर जेलका डिआइजी विक्रम सिंहका अनुसार अदालतको फैसलालाई मध्यनजर गरेर सुरक्षाको व्यवस्था चार गुना बढाइएको छ । उनले यो पनि भनेका छन् कि ‘जेलमा अन्य कैदीलाई जुन खाना दिइन्छ, सलमानले पनि त्यही खाना खानेछन् ।’

बिस्नोई समाज खुसी

अभिनेता सलमानलाई अदालतको ढोकासम्म पु-याउने समूह बिस्नोई समाजका नामले चिनिन्छ । यो समाज पर्यावरणप्रति निकै समर्पित मानिन्छ । यसको इतिहास हेर्ने हो भने यस समाजका सदस्यले रुख, विरुवा र पशुपक्षीको रक्षाका लागि ज्यानसमेत गुमाएका छन् ।

सलमानलाई सजाय तोकिनेबित्तिकै बिस्नोई समाजले खुसी व्यक्त गरेको छ । समाजका प्रदेश अध्यक्ष रामपाल भवादले प्रतिक्रिया दिएका छन्, ‘हामी अदालतको फैसलाको अध्ययन गर्छौं, त्यसपछि सफाइ पाएका आरोपिविरुद्ध पनि अपिल गर्छौं ।’

के थियो हरिण काण्ड ?

सन् १९९८ को कुरा हो । राजस्थानको जैसलमेरमा सुरज बडजात्याको फिल्म ‘हम साथ साथ हैँ’को सुटिङ भइरहेको थियो । सलमानलाई आरोप थियो कि १ अक्टोबर १९९८ को राति जोधपुर जिल्लाको काँकणी गाउँनजिकै सलमान खान र सोही फिल्मसँग सम्बद्ध कलाकारले त्यहाँ कालो हरिणको सिकार गरेका थिए । सलमानलाई अवैध हतियार राखेको र प्रयोग गरेको आरोप छ । उनलाई आम्र्स एक्टसम्बन्धी मुद्दा पनि दायर गरिएको थियो । आम्र्स एक्ट मुद्दाबाट भने गत जनवरी १८ मा उनलाई सफाइ दिइएको थियो ।

अन्योलमा फिल्म

सलमान खान फिल्म ‘रेस ३’को सुटिङका क्रममा छन् । रेमो डिसुजाले निर्देशन गरिरहेको फिल्मको सुटिङ सकिएको छैन । सय करोड बजेटको फिल्मका अभिनेता जेल परेपछि निर्माता अन्योलमा परेका छन् ।

त्यस्तै, अली अब्बासले निर्देशन गर्न लागेको फिल्म ‘भारत’मा पनि सलमान अनुबन्धित थिए । सलमान जमानतमा छुटेनन् भने यो फिल्मको भविष्य पनि अन्योलमा पर्नेछ । सलमानले नै लिड रोल गर्ने तय भएको ‘दबंग ३’को निर्माण पक्ष पनि अन्योलमा परेको छ ।

सन् २०१८ को अन्त्यबाट सो फिल्मको छायांकनको तयारी गरिएको थियो । सलमानको जेल सजायले ‘किक २’को भविष्य पनि अनिश्चित बनेको छ । आगामी अक्टोबरबाट सुरु हुने ‘बिग बोस १२’का लागि पनि सलमानको नाम तय गरिएको थियो । सोका लागि सलमानले ११ करोड पारिश्रमिक लिँदै आएका थिए ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up