आर्थिक र सांस्कृतिक लाभको लेनदेन

आदित्यमान श्रेष्ठ

काठमाडौंमा संसारका विभिन्न देशबाट विश्व नेवा दिन मनाउन आएकाहरूको जमघट देख्दा लाग्यो नेपालीहरु साँच्चि सबैतिर फैलिए छन् । विगत २५ वर्षदेखि नेपालीहरु यसरी नै संसारभर फैलिनुपर्छ भनेर कामना गर्दै र आवेदन गर्दै आइरहेकोले मलाई खुसी नलाग्ने कुरै भएन । यो सन्देश जुन बेला फैलाउन कोसिस गरेको थिएँ त्यस बखत सरकारी तथ्यांकअनुसार विदेशिएका नेपालीको संख्या छ सयको हाराहारीमा थियो । आज यो बढेर ६० लाख जति पुगिसक्यो । हुन त मध्यपूर्व र मलेसियामा श्रम गर्न गएका केही नेपालीको दुर्दशा देखेर विदेशिएका सबै नेपाली नेपालमै बसुन् र यहाँको विकासमा सहभागी होउन् भन्ने चाहना धेरैले प्रकट गरिरहेको पाइन्छ ।

विदेशिएका श्रमिकहरुको संख्या बढिरहेको र घटिरहेको अंक सार्वजनिक गर्दा विगत वर्ष र महिनासित तुलना गरिएको हुन्छ । बढिरहेको बेला खुसी प्रकट गर्ने र घटिरहेको बेला चिन्ता प्रकट गर्ने गरिएको छ । जुन अभिव्यक्ति निर्यात व्यापारको तथ्यांक बाहिर निकाल्दा दिइने गरिन्छ त्यही शब्दावलीमा नेपाली श्रमिकहरुको बहिर्गमनको पनि वर्णन गरिएको पाइन्छ । एकातिर नेपालीहरु बाहिर जान नपरोस् भन्ने कामना गर्ने अर्कोतिर बाहिर जान नपाएकोमा अपसोच मनाउने गरेको देख्दा हामीहरुको मानसिकता नै विकृत भएको भान हुन्छ ।

नेपालको विकासक्रम गतिलो हुने र श्रमिकहरुको माग बढ्ने हो भने बाहिर गएका नेपालीहरुमध्ये धेरैजसो आफ्नो देश छाडेर जाने थिएनन् । तर, सानै संख्यामा भए पनि नेपालीहरु बाहिर जाने क्रम भने रोकिनेछैन । नेपालीहरु खानै नपाएरमात्र बाहिर गएका होइनन् । उनीहरु बढी आम्दानी, बढी सुबिधा, बढी विकास र बढी सुखको खोजीमा पनि जाने गरेका छन्, गइरहेकै थिए र गइरहने पनि छन् । त्यसकारण यो सवाललाई एकातर्फबाट मात्र हेरिनु हुँदैन । ऐतिहासिक समयदेखि नै नेपालीहरु प्रायः बसाईंसराइ गर्दै गइरहेका पाइन्छन् । यसलाई अन्यथा लिनु हुँदैन ।

यस परिपेक्षमा विचार गर्दा विदेशिएका नेपालीहरुको अनेक स्तरका संघ संगठनहरु गठन भएका छन् । केही पूरै नेपाली समाजलाई समेटेर गठन गरिएका छन् भने केही जाति, समुदाय र स्थानको स्तरमा पनि गठन भएका छन् । जुन स्तरमा गठन भए पनि र जुन प्रकारले गठन भए पनि उनीहरुको उद्देश्य नेपाल र नेपालीको एकता र हिततिर उन्मुख भएको पाइन्छ । नेपाल जसरी बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक, बहुभौगोलिक, बहुधार्मिक र बहुआयामिक छ उसरी नै यस्ता संगठनहरुका विभिन्नरुप देखिन्छन् ।

सरकारी तथ्यांकअनुसार नेपालमा सयभन्दा बढी भाषा बोलिने गरेको छ । यहाँका विभिन्न समुदायलाई ६० भन्दा बढी भएको मानिएको छ । हुन त धेरै समुदायले नेपाल राज्यबाट अनेक प्रकारको पक्षपात, विभाजनकारी नीति, शोषण, दबाब आदि गरेको र गरिरहेको दोषारोपण लगाउँछन् । तर, त्यसो हुँदाहुँदै पनि नेपालको बहुल चरित्र यथावत् रहेको छ ।

यसमा राज्यको भूमिका शून्य भए पनि जनताको सबभन्दा ठूलो देन र सहभागिता रहेको छ । यो तथ्य नेपालभित्र भन्दा नेपालबाहिर टड्कारो रुपमा देखिँदै आएको छ । उदाहरणका लागि दसैं, तीज, ल्होसारजस्ता चाडपर्व जति नेपालभित्र मनाइन्छ त्यसभन्दा बढी उत्साह, जोस र फुर्तिसाथ बाहिर पनि मनाइएको देखिन्छ । यस मानेमा नेपालीहरु संसारको जुन कुनामा बसे पनि नेपालीपन नछाडेको र त्यसलाई निरन्तरता दिन प्रयत्न गरिरहेको देखिन्छ । यो प्रयत्नलाई उत्साहप्रद नै मान्नुपर्छ ।

यसै सिलसिलामा काठमाडौंमा हालै भएको नेवारहरुको सम्मेलनलाई हेर्न सकिन्छ । यसमा १८ देशमा बसोबास गरिरहेका नेवारहरुको उपस्थिति थियो । सन् २०११ मा गठन गरिएको विश्व नेवार संगठनले विभिन्न मुलुकमा कार्यक्रम गरिआएको छ । नेवार समुदाय नेपालमा नै आर्थिक रुपले सम्पन्न मानिन्छन् । अरु मुलुकहरुमा बसोबास गरिरहेका नेवारहरु पनि उत्तिकै सम्पन्न भएको अनुमान गर्न सकिन्छ ।

आर्थिक रुपले सम्पन्न भएका नेपाली आप्रवासीहरु एनआरएन अर्थात् नेपालबाट बाहिर बसोबास गरेका नेपालीहरुको एउटा संगठन छ । उनीहरुको काठमाडौंमा सम्पन्न विगत विश्व सम्मेलनमा सांगठनिक निर्वाचनमा करोडौं रुपैयाँ खर्च भएको समाचारले नेपाली अखबार भरिएका थिए । आर्थिकरुपले विभिन्न देशका धनीमा नेपाली पनि गनिन थाल्नु एउटा गर्व कै कुरा हो । उनीहरुले बसोबास गरेका देशको विकासमा जति सहयोग गरेका छन् त्यसको केही अनुपातमा नेपालको विकासमा पनि देन दिइरहेको देखिएको छ । यसलाई पनि एक प्रकारले सकारात्मक रुपमा लिन सकिन्छ ।

अर्थात्, बाहिरिएका नेपालीहरुबाट आर्थिक रुपले नेपाललाई सानो ठूलो देन भइ नै रहेको छ । वास्तवमा नेपाली श्रमिकहरुले वार्षिक चार देखि छ खर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा नेपालमा पठाउने गरेका छन् । यसबाट हजारौं नेपाली परिवार पालिएकामात्र छैनन् बरु नेपालको वैदेशिक मुद्राको सोधनान्तर अवस्था पनि सकारात्मक रहेको छ । योबिना नेपालमा हुने पैठारीका लागि वैदेशिक मुद्राको कमी हुनेछ । त्यो अवस्थामा अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोग लिनुपर्ने स्थिति हुनेछ । त्यसबाट नेपालको मौद्रिक नीतिमा अनेक अवरोधहरु लादिन जान्छन् । नेपाली श्रमिकहरुको मेहनत र त्यागले गर्दा यो दुर्दिन देख्नुपरेको छैन । तर, विदेशिने क्रम घट्न थालेपछि त्यो अवस्था हाम्रो अगाडि खडा हुनेछ ।

नेपालीहरु बाहिर बस्दा नेपाललाई आर्थिक रुपले जसरी लाभ भएको देखिन्छ उसरी नै नेपालीहरुको उपस्थितिले बसोबास गरिएका देशमा सांस्कृतिकरुपले लाभ पुर्याउनुपर्छ । नेपालको संस्कृतिको उच्चतम विकास भएको संसारले मानेको छ । त्यो सत्य नेपाल स्थित विश्व सम्पदाबाट पनि खुल्छ । नेपाली संस्कृतिको मुल सन्देश शान्ति, सहअस्तित्व र सहिष्णुतालाई मानिन्छ । यी भावनाहरुको महत्त्व र खाँचो विश्वका अरु देशहरुमा टड्कारो रुपमा देखिएको छ । नेवारहरुकै एउटा उदाहरण लिन सकिन्छ । नेपालको ऐतिहासिक कालको सुरुमा अथवा करिब २६०० वर्षअगाडिको समयमा नेवारी सभ्यता फस्टाएको मानिन्छ । वास्तवमा जो मानिस नेवारी भाषा बोल्न सक्थ्यो ऊ नेवार बन्थ्यो ।

त्यसबेला बाहिरबाट आएका मानिसहरुले नेवारी भाषा र संस्कृतिलाई अपनाए र नेवारी समाजमा घुलमिल गरेर बसे । उनीहरु जुन जातिको भए पनि नेवार भएको इतिहासकारहरु बताउँछन् । विभिन्न जातजातिको सम्मिश्रणबाट नै नेवारहरुको एउटा नौलो संस्कृति बनेको उनीहरुको भनाइ छ । अमेरिकामा विभिन्न देशबाट बसोबास गर्न गएका मानिसले जसरी एउटा अमेरिकी संस्कृतिको सृजना गर्न मदद गरे उसरी नै करिब दुई हजार वर्षदेखि नेपालमा बसोबास गरेका र आप्रवासीहरुबीचको घुलनबाट नेवारी संस्कृति  विकास भएको मानिएको छ । यसबाट जातीय सहिष्णुता र सद्भाव नै सबभन्दा महत्त्वपूर्ण र फलदायी भएको पाइएको छ ।

नेवारहरुले होस् या अरु समुदायले होस् उनीहरुले आफ्नो समुदायको सांस्कृतिक चाडपर्व मनाउँदा स्थानीय मानिसहरुलाई पनि सहभागी बनाउनुपर्छ । आफ्नो समुदायका मानिसहरुले सांस्कृतिक सम्पदालाई जगेर्ना गरेको राम्रो हो । तर, त्यसको साथै स्थानीय अरु समुदायलाई पनि त्यसमा सहभागी गराउनु र उनीहरुलाई यसबारे अवगत गराउनु उत्तिकै महत्त्वपूर्ण छ । नेपालीहरुले कर्म थलो बनाएका देशहरुबाट केही सिक्ने र लाभ लिनेगरेका छन् भने उनीहरुले ती देशका रैथानेहरुलाई आफ्नो सांस्कृतिक मूल्य मान्यता प्रदान गरेर लाभ दिनु सक्नुपर्छ । नेपालीहरुले यसलाई एउटा नयाँ हाँक र अवसरको रुपमा लिनु जरुरी छ । -स्रोत:१२खरि बाट

यी समाचार पनि पढ्नुहोस्
Scroll Up