हिंसा फैलिएपछि श्रीलंकाली सरकारद्वारा संकटकाल घोषणा

धार्मिक असहिष्णुता र राजनीतिक खिचातानीले श्रीलंका अशान्त


२३ फागुन, काठमाडौं । दक्षिण एसियाको ठूलो टापु श्रीलंकामा मुसलमान एवं मस्जिदमाथि हमलाको श्रृङ्खला बढेपछि सरकारले संकटकाल घोषणा गरेको छ । सन् २००९ मा चरमपन्थी संगठन एलटीटीईलाई ध्वस्त बनाएपछि धेरैले सोचेका थिए कि अब श्रीलंकामा शान्ति स्थापना भयो । तर, पछिल्लो समय बौद्ध मुस्लिमको झगडाले उग्र रुप लिने संकेत देखिएको छ ।

यही घटनाको प्रतिक्रियास्वरुप सोमबार बौद्ध धर्मालम्बीले मुस्लिमको पसल जलाइदिए । मंगलवार एक मुस्लिम युवकको जलेको लास भेटियो ।श्रीलंकामा बौद्ध एवं मुस्लिमबीच तनाव क्याडी शहरवाट सुरु भएको हो । ट्राफिक सिग्नलवाट झगडाको सुरुवात भएको थियो । झगडाले कतिसम्म उग्ररुप लियो भने मुस्लिम मिलेर एक बौद्ध धर्मालम्बीलाई पिटी पिटी मारिदिए । श्रीलंकामा बौद्ध–मुस्लिमको झगडा यो पहिलो होइन । सन् २०१२ देखि नै सुरु भएको थियो ।

संकटकाल घोषणा

जारी हिंसाको कारण के हो ? यस प्रश्नको जवाफ दिँदै दक्षिण एसियाली मामलाका जानकार प्रोफेसर एसडी मुनि भन्छन्, ‘श्रीलंकाका मुस्लिम मुस्लिम मात्र होइनन, उनीहरु तमिल भाषा बोल्ने मुस्लिम हुन् । विवाद पुरानै छ ।’ तर तमिल भाषा बोल्ने मुस्लिमले तमिल राष्ट्रका लागि लड्ने एलटीटीईलाई भने अहिलेसम्म साथ दिएका छैनन् ।

तमिल भाषाको अतिरिक्त हिंसाको कारण राजनीतिक पनि हो । एसडी मुनीका अनुसार हालै भएको स्थानीय निर्वाचनमा पूर्वराष्ट्रपति महिन्दा राजपाक्षको पार्टीलाई अभुतपूर्व सफलता मिल्यो । राजपाक्षको पार्टीले ३४० मा २४९ सिटमा जित हासिल गर्यो । तर प्रधानमन्त्री रनिल विक्रमासिंहको पार्टीले जम्मा ४२ र राष्ट्रपति मैत्रीपाला सिरिसेनाको दलले ११ स्थानमा जित्यो ।

श्रीलंकाका लागि भारतीय पूर्वराजदुत राकेश सुद पनि एसडी मुनीको भनाइमा सहमत छन् । उनका अनुसार राष्ट्रपति सिरिसेना र प्रधानमन्त्री विक्रमा सिंहबीचको मनमुटावले यस्ता घटना सुरु भएको छ । सुद भन्छन् ‘घरेलु राजनीतीमा जब समस्या आउँछ साम्प्रदायिक ध्रुवीकरण सुरु हुन्छ ।’

ध्रुवीकरणको राजनीति

श्रीलंकामा ध्रुवीकरणको राजनीति नौलो विषय होइन । विक्रमा सिंह र सिरिसेनाबीच गठबन्धन भएलगत्तै अन्य शक्तिलाई समेत साथ लिएर अघि बढ्ने विश्वास ब्यक्त गरिएको थियो ।

तर उनीहरु त्यसो नगरेर भोट बैंकको पछि लागे । एसडी मुनिका अनुसार, स्थानीय चुनावमा तमिल र मुस्लिमले अलग भोट दिए, सिंहलिया बौद्धले अलग भोट दिए । २ं१ करोड जनसंख्या रहेको श्रीलंकामा ७० प्रतिशतभन्दा धेरै सिंहला, १२ प्रतिशत तमिल हिन्दू र १० प्रतिशत मुस्लिम छन् ।

श्रीलंकामा रोहिग्या मुसलमान

रोहिग्या मुसलमानको विवाद श्रीलंकामा पनि जारी छ । केही बौद्ध राष्ट्रवादीहरु रोहिग्यालाई शरण दिन नहुने तर्क गरिरहेका छन् । एसडी मुनिका अनुसार बंगलादेशमा रोहिग्या मुसलमानलाई बास दिने विषयमा भारतले आपत्ति जनाइसकेको छ । केन्द्र सरकारले त रोहिग्या मुलुकको सुरक्षाको लागि खतरा भएको टिप्पणी गरेको छ । बीबीसी हिन्दीको सहयोगमा

यी समाचार पनि पढ्नुहोस्
Scroll Up