विश्व कप छनोट क्रिकेट : स्कटल्याण्डलाई चुनौती दिँदै नेपाल

काठमाडौं : जिम्बाबेमा जारी विश्व कप छनोट प्रतियोगिताको आफ्नो महत्वूुर्ण खेलमा नेपालले बिहीबार बलियो प्रतिद्वन्द्वस् स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। प्रतियोगितामा विश्व कप छनोट र एकदिवसीय टोलीको मान्यताको सम्भावना जीवित राख्न नेपाललाई स्कटल्यान्डविरुद्धको खेलमा जित आवश्यक छ। त्यसैले स्कटल्यान्डविरुद्घ नेपालले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गर्नुको विकल्प छैन।

नेपालका लागि स्कटल्यान्ड अहिलेसम्म पराजित गर्न नसकेको प्रतिद्वन्द्वी हो। त्यसमाथि स्कटल्यान्ड जारी प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गरिरहेको टोली हो। प्रतियोगितामा टेस्ट टोलीको मान्यता पाएको अफगानिस्तान र हङकङलाई पराजित गरिसकेको स्कटल्यान्ड समूह ‘बी’ को अंक तालिकामा जिम्बाबवेलाई समेत पछि पार्दै शीर्ष स्थानमा छ। अघिल्लो दुई खेलको नतिजाले स्कटल्यान्डका खेलाडीको मनोबल उच्च छ।

लगातार दुई जितका साथ सुपर सिक्स चरणको सम्भावना बलियो बनाएको स्कटल्यान्ड नेपालविरुद्धको खेलमा कुनै पनि दबाबबाट मुक्त हुनेछ। त्यसको ठिक बिपरित नेपाल भने जित्नै पर्ने दबाबमा हुनेछ। पहिलो खेलमा जिम्बाबेसँग एक सय १६ रनको अहिलेसम्मकै ठूलो अन्तरको पराजय बेहोरेको नेपाल त्यो पराजयको ‘ह्याङग’ बाट मुक्त हुँदै स्कटल्यान्डविरुद्ध मैदानमा उत्रने छ। त्यसैले पनि तीन पटक विश्व कप खेलिसकेको अनुभवी टोली स्कटल्यान्डलाई पराजित गर्न नेपाली टोलीलाई कुनै पनि दबाबबाट मुक्त भएर उत्कृष्ट प्रदर्शन गर्नु पर्ने चुनौती छ।

स्कटल्यान्डविरुद्धको जितले नेपालको सुपर सिक्स चरणको सम्भावना जीवित रहने छ। सुपर सिक्स चरणमा पुग्नु भनेको नेपाली टोलीका लागि अर्का वर्ष इङ्ल्यान्ड र वेल्सले संयुक्त रुपमा आयोजना गर्ने एक दिवसीय विश्व कपमा छनोट हुने र एक दिवसीय टोलीको मान्यता पक्का गर्ने सम्भावना पनि जीवित रहनु हो। आईसिसीको नियमअनुसार प्रतियोगिताको फाइनल खेल्ने दुई टोलीले सन् २०१९ को विश्व कपमा स्थान सुरक्षित गर्नेछन् भने एसोसिएट टोलीमध्ये शीर्ष तीनमा रहने (नेदरल्यान्ड्स बाहेक) टोलीले सन् २०२२ सम्मका लागि एक दिवसीय टोलीको मान्यता पाउने छ।

त्यसका लागि नेपालले तत्काललाई सुपर सिक्स चरणको यात्रा पक्का गर्नु आवश्यक छ। समूह ‘ए’ र ‘बी’ का शीर्ष तीन-तीन टोलीले सुपर सिक्स चरणमा पुगेर विश्व कप छनोट र एक दिवसीय टोलीको मान्यताका लागि प्रतिस्पर्धा गर्नेछन्। त्यसका लागि नेपालले बिहीबारको खेलमा स्कटल्यान्डरुपी तगारो पन्छाउनु आवश्यक छ।- साभार:अन्नपूर्ण पोस्ट बाट

यी समाचार पनि पढ्नुहोस्
Scroll Up