रोकिएन सिरियाको घौटामा आक्रमण

जेनेभा : सिरियामा पछिल्लो समयमा हिंसा बढ्दै गएको घौटा क्षेत्रमा आक्रमण रोकिएको छैन। त्यस क्षेत्रमा शनिबारको आक्रमणबाट पनि केही व्यक्ति मारिएको छन्।संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले घौटा क्षेत्रमा मात्र गएको दुई सातायता ५ सयभन्दा बढी नागरिक मारिएको खुलासा हालै गरेको थियो।

सिरियाली सरकार र त्यसको गठबन्धन सेनाले विद्रोहीविरुद्ध गरेको रक्षात्मक सुरक्षा कारबाहीका क्रममा उनीहरूको मृत्यु भएको हो। पछिल्ला केही दिनयता पनि सर्वसाधारणको मृत्यु भइरहेको छ।

राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले घौटामा हवाई तथा स्थल कारबाही रोक्न आग्रह गर्दै आएको छ। त्यहाँ नागरिकको नाजुक स्थिति भएकाले उनीहरूलाई अत्यावश्यक वस्तु उपलब्ध गराउन युद्धविराम गर्न राष्ट्रसंघले माग गरेको छ। मानवअधिकारका लागि राष्ट्रसंघीय उच्च आयुक्त जेइड राअड अल हुसेनले घौटामा दशौँ हजार नागरिक गत चेपुवामा परेका बताएका छन्। उनीहरू खाद्यान्न अभाव भोगिरहेका छन्। आधारभूत आवश्यकताबाट वञ्चित भएका बेला उनीहरू बम आक्रमण खेप्न विवश छन्।

घौटामा अत्यधिक असुरक्षा भएपछि धैरै नागरिक विस्थापित भएका छन्। उनीहरू सुरक्षित ठाउँ खोज्दै अन्यत्र पलायन भएका छन्। लाखौं व्यक्ति आन्तरिक रूपमा विस्थापित भएका छन् भने उत्तिकै संख्याका सर्वसाधारणले छिमेकी देशमा शरण लिएका छन्। सन् २०१३ यता घेराबन्दीमा रहेको पूर्वी घौटामा करिब चार लाख मानिसको बसोवास छ। घौटा सिररियाको राजधानी दमासकसनजिकको विद्रोहीको बलियो प्रभाव रहेको एकमात्र क्षेत्र हो।

सिरियामा सात वर्ष लामो द्वन्द्वका क्रममा भीषण रक्तपात भएको छ। पछिल्लो कारबाहीमा १ सयभन्दा बढी बालबालिका मारिएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ। सिरियामा सन् २०११ को मार्चबाट यहाँका राष्ट्रपति बसर अल असदको राजीनामा माग गर्दै आन्दोलन शुरु भएको थियो।

उक्त आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएपछि चार लाखभन्दा बढी नागरिकको ज्यान गएको छ भने लाखौँ नागरिक घाइते तथा अंगभंग भएका छन्। पछिल्लो समयमा त्यहाँको अवस्था थप तनावपूर्ण बन्दै छ। यहाँ पटक पटक शान्तिवार्ताका प्रयास भए पनि सफल हुन सकेको छैन।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up