राष्ट्रियसभा अध्यक्ष निर्वाचित घोषणा आज, दुई वर्षमा एक तिहाइ घट्ने

काठमाडौं  । राष्ट्रियसभाको अध्यक्षमा गणेशप्रसाद तिमिल्सिनाको मात्र उमेदवारी परेपछि उनी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएको औपचारिकरुपमा आज घोषणा हुँदैछ । नेकपा (एमाले) को तर्फबाट तिमिल्सिनाले संघीय संसद भवनमा पुगेर सोमबार उम्मेदवारी दर्ता गराएका थिए । संघीय संसद भवनमा आज १ बजे बस्ने राष्ट्रियसभाको बैठकले तिमिल्सिनालाई औपचारिकरुपमा निर्वाचित भएको घोषणा गर्नेछ ।

तिमिल्सनाको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई र समर्थकमा माओवादी केन्द्रका दिनानाथ शर्मा र एमालेका सुमनराज प्याकुरेल रहेका छन् ।  पर्वतको मादी गाउँपालिकास्थित घर भएका तिमिल्सिना प्रदेश ४ बाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । माओवादी केन्द्रसँगको सहमतिअनुसार अध्यक्ष पद एमालेको भागमा परेपछि तिमिल्सिना र पर्शुमेघी गुरुङ्ले सो पदमा दावी गर्दैआएका थिए ।

एमाले शीर्ष नेताहरुको सोमबार बालुवाटारमा बसेको बैठकले तिमिल्सिनाको नाममा सहमति गरेपछि उनले उम्मेदवारी दर्ता गराएका थिए ।    प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले पनि उम्मेदवारी दर्ता गराउने बताए पनि अन्तिममा आएर सो दलबाट कसैले उम्मेदवारी दर्ता गरानन् । एमाले छैठौं महाधिवेशनबाटै केन्द्रीय सदस्यमा निर्वाचित भएका तिमिल्सिना अहिले एमाले पोलिटव्यूरो सदस्य र प्रदेश ४ को सह–संयोजकको जिम्मेवारीमा छन् । २०५४ मा पर्वतको जिविस सभापतिको जिम्मेवारी समेत उनले कुशलतापूर्वक निर्वाह गरेका थिए ।

इमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गर्छु

राष्ट्रिय सभाका अध्यक्षमा औपचारिकरुपमा निर्वाचित घोषणा हुन लागेका अध्इक्ष तिमिल्सिनाले इमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गर्ने बताए । तिमिल्सिनाले राष्ट्रकालागि काम गरेर देखाउने ठूलो जिम्मेवारी आफूमा आइपरेको बताए ।

पदमा रहँदासम्म राष्ट्रको जिम्मेवारी सम्झी काम गर्ने उनले प्रतिवद्धता जनाए । सरकारलाई राष्ट्रियसभाप्रति जिम्मेवार बनाउन र सरकारको कामकाजलाई पारदर्शी र प्रभावकारी बनाउनेगरी पदमा हुँदासम्म भूमिका निर्वाह गर्ने उनले प्रतिवद्धता जनाए ।

मुलुकमा गणतन्त्र स्थापनापछि पहिलो पटक गठन भएको राष्ट्रियसभाको अध्यक्षजस्तो पदमा निर्वाचित हुने वातावरण बनेको भन्दै उनले पार्टी र दलका नेताहरुलाई धन्यवाद ज्ञापन गरे । पाएको जिम्मेवारीलाई इमान्दारितापूर्वक वहन गरेर शीर उचो राख्ने प्रतिवद्धता उनले जनाए ।

पदमा रहँदासम्म सभामा कसैप्रति भेदभाव नगरी सत्तापक्षी र प्रतिपक्षीदलका सांसदहरुसँग समान व्यवहार गरेर पारदर्शी ढंगले अघि बढ्छु उनले भने । राष्ट्रिय सभामा ५९ जना सदस्य छन् । ५६ जना प्रत्यक्ष निर्वाचन (हरेक प्रदेशबाट आठ) बाट चुनिएका हुन् भने तीनजना राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा मनोनित गरेकी हुन् ।

५९ जना सदस्यमा एमालेको २७, नेपाली कांग्रेसको १३, माओवादी केन्द्रको १२, संघीय समाजवादी फोरम नेपालको २, राजपाको २ र मनोनित ३ रहेका छन् ।

दुई वर्षमा एक तिहाई सदस्य घटने

संविधानको धारा ८६ (३) अनुसार राष्ट्रिय सभाका सदस्यहरुको पदावधि छ वर्षको हुनेछ । तर हरेक दुई वर्षमा एक तिहाई सदस्यको पदावधि समाप्त हुने व्यवस्था छ । संविधानको प्रारम्भ भएपछि पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोलाप्रथाद्वारा एक तिहाईको दुई वर्ष, अर्को एक तिहाईको चार वर्ष र बाँकी एक तिहाईको छ वर्ष हुनेगरी पदावधि कायम हुने व्यवस्था संविधानमा छ ।

संवैधानिक यस प्रावधानअनुसार हरेक दुई वर्षमा २० जना सदस्यको पदावधि समाप्त हुनेछ । दुई वर्षपछि गोलाप्रथा प्रक्रियामा सबै ५९ जनाले नै सहभागिता लिनुपर्ने व्यवस्था छ ।

सोही धाराको उपधारा  (४) अनुसार सभाको पहिलो बैठकबाट सदस्यको पदावधि प्रारम्भ भएको मनिने प्रावधान छ ।  त्यस्तै, उपधारा (५) मा राष्ट्रिय सभाको रिक्त हुन आउने स्थानको पूर्ति त्यस्तो स्थान रिक्त गर्ने सदस्यको निर्वाचन वा मनोनयन जुन तरिकाले भएको थियो सोही तरिकाले बाँकी अवधकिालागि गरिने व्यवस्था गरिएको छ ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up