पपुवान्युगिनीको सामना गर्दै नेपाल

एकदिवसीय मान्यताप्राप्त गर्न पहिलो खुड्किलोका रूपमा नेपालले पपुवान्युगिनीविरुद्ध बिहीबार जिम्बावेको हरारियन मैदानमा प्रतिस्पर्धा गर्नेछ । पपुवा न्युगिनीसँग पराजित हुँदा नेपालको एकदिवसीय मान्यता पाउने सबै ढोका बन्द हुनेछन् । जितले नेपालको सम्भावना यथावत् रहनेछ ।

सुपर सिक्समा पुग्न नसकेका चार टोलीबीच सातौँ स्थानका लागि भिडन्त भइरहँदा हङकङले नेदरल्यान्डको सामना गर्नेछ ।

एक राष्ट्रले मात्र पाउने
एकदिवसीय विश्वकप छनोटको सुपर सिक्समा एसोसिएट राष्ट्र स्कटल्यान्ड र युएई पुगेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले तीन एसोसिएट राष्ट्रलाई चार वर्ष (२०२२)सम्म अस्थायी एकदिवसीय मान्यता प्रदान गर्नेछ ।

यस समीकरणअनुसार सुपर सिक्समा पुगेका स्कटल्यान्ड र युएईले चार वर्षका लागि मान्यता पाइसकेका छन् । आइसिसी विश्व क्रिकेट लिगको विजेताका रूपमा नेदरल्यान्डले एकदिवसीय मान्यता पाइसक्यो ।

हङकङसँग पराजित हुँदा नेदरल्यान्डको स्टाटसमा परिवर्तन हुनेछैन । मूलतः पपुवा न्युगिनी, नेपाल र हङकङबीच मात्र एकदिवसीयका लागि प्रतिस्पर्धा हो । नेदरल्यान्डबाहेक पराजित हुने टोलीहरू सीधै डिभिजन–२ मा झर्नेछन् ।

नेदरल्यान्डबाहेक अरूलाई जित्नुपर्ने दबाब
नेदरल्यान्डले हङकङलाई पराजित गरेको अवस्थामा नेपाललाई फाइदा पुग्नेछ । फाइदा उठाउनुअघि नेपालले पपुवा न्युगिनीलाई हराउनुपर्छ । हङकङ हार्दा र पपुवा न्युगिनी पनि पराजित हुँदा नेपालले नेदरल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नुअघि नै एकदिवसीय मान्यता पाउनेछ ।

तर, पपुवा न्युगिनीसँगको हारले नेपाल पुनः डिभिजन–२ मा घटुवा हुनेछ । यस किसिमको समीकरणमा नेपालले पपुवा न्युगिनीलाई हराउनुबाहेक अरू विकल्प छैन ।

यही अवस्था पपुवा न्युगिनी र हङकङका लागि पनि नभएको होइन । हङकङले नेदरल्यान्डलाई हराउँदा नेपाल र पपुवा न्युगिनीबीचको विजेताविरुद्ध सातौँ स्थानका लागि खेल्नेछ । त्यही सातौँ स्थानको विजेताले एक दिवसीय मान्यता पाउनेछ ।

नेपाललाई ब्याटिङकै डर
विश्वकप छनोटमा कप्तान पारस खड्काबाहेक अन्य ब्याट्सम्यानले सोचेअनुरूप प्रदर्शन गर्न सकेका छैनन् । पारसले प्रतियोगितामा चार खेलबाट १ सय ८९ रन जोडेका छन् । प्रतियोगिताको सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा पारस सातौँ स्थानमा छन् ।

उनीभन्दा एक स्थान तल वेस्टइन्डिजका धुरन्धर ब्याट्सम्यान क्रिस गेल छन् । बढी रन बनाउने सूचीमा पारसपछि रोहितकुमार पौडेलले प्रतिनिधित्व गरेका छन् । रोहितले चार खेलमा ९४ रन बनाएका छन् । उनी ३४औँ स्थानमा छन् ।

रोहित र पारसबाहेक अन्य ब्याट्सम्यान रनका लागि संघर्षरत देखिन्छन् । नेपालका ओपनर चल्न सकेका छैनन् । ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्लले चार खेलबाट ६८ रन मात्र बटुलेका छन् । पपुवा न्युगिनीविरुद्ध चुनौती दिन नेपालका अन्य ब्याट्सम्यान चल्नुपर्ने आवश्यकता छ ।

यता, बलिङमा नेपाली बलरको औसत प्रदर्शन रह्यो । सन्दीप लामिछानेले चार खेलमा ७ विकेट लिएका छन् । उनी सर्वाधिक विकेट लिने सूचीको १३औँ स्थानमा छन् ।

हेड टु हेड
सन् २०१५ देखि तथ्यांक हेर्दा नेपाल र पपुवा न्युगिनीबीच दुईपटक मात्र प्रतिस्पर्धा भएको छ । सन् २०१५ मा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिपमा मात्र नेपालले पपुवा न्युगिनीविरुद्ध प्रतिस्पर्धा गरेको हो । लिगका दुवै खेलमा नेपाल पपुवा न्युगिनीसँग पराजित भयो ।

विश्वकप छनोटको समूह एमा पपुवा न्युगिनीले चारै खेल गुमाएको थियो । नेपालले चार खेलमा तीन हार र एक जित निकालेको थियो । समूह चरणमा जस्तो नतिजा बेहोरे पनि पपुवा न्युगिनी नेपालविरुद्ध जित निकाल्न आतुर छ ।

लिग च्याम्पियनसिपको पहिलो भेटमा पपुवा न्युगिनीले २ विकेटले जितेको थियो । दोस्रो खेलमा पपुवा न्युगिनीले नेपाललाई ८ विकेटले हरायो ।

मान्यता पाउँदाको फाइदा
एसोसिएट राष्ट्रले एकदिवसीय मान्यता पाउनु भनेको अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव बटुल्नु हो । आइसिसीले डिभिजन–१ वा एकदिवसीय मान्यता पाएका राष्ट्रहरूलाई वार्षिक बजेट छुट्याएको हुन्छ ।

आइसिसीका अनुसार यस समूहमा रहने राष्ट्रले प्रतिवर्ष ७ देखि ८ करोड नेपाली रुपैयाँ प्राप्त गर्छ । आइसिसीले उपलब्ध गराएको बजेट स्तरीय प्रशिक्षक, विदेशमा अभ्यास भ्रमण, खेलाडीको भत्ता, सुविधा तथा नियमित प्रशिक्षणमा खर्च गर्नुपर्छ ।

यसैगरी, आइसिसीले आयोजना गर्ने विश्व क्रिकेट च्याम्पियनसिप, इन्टरकन्टिनेन्टल कप र एसिया कपजस्ता ठूला अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोतिगामा सहभागिता जनाउन अवसर पाउँछ ।

सातौँ स्थानका लागि हुने खेलबाट निर्णय हुने एसोसिएट राष्ट्र (पपुवा न्युगिनी)बाहेक हङकङ र नेपालमध्ये एकले एसिया कपमा प्रतिस्पर्धा गर्ने मौका पाउनेछ । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानजस्ता टेस्ट मान्यताप्राप्त टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

४ वर्षको मान्यताप्राप्त राष्ट्र बन्दा आइसिसीले प्रत्येक महिना सार्वजनिक गर्ने एकदिवसीय वरीयतामा स्थान पाउनेछ । तर, एकैपटक ठूलो टोलीसँग प्रतिस्पर्धा गर्न नपाउने प्रचलन छ । – साभार:नया पत्रिका बाट

यी समाचार पनि पढ्नुहोस्
Scroll Up