कांग्रेस नेता खुमबहादुर खड्काको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ । उनको भारतको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पुष्टि गरेका छन् । उनका अनुसार नेता खड्काको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा शुक्रबार बेलुका निधन भएको हो ।

अपोलो अस्पतालमा उपचाररत नेता खड्काको स्वास्थ्य अवस्था बुझ्न कांग्रेसले चैत १३ गते केन्द्रीय सदस्यद्वय रमेश लेखक र शंकर भण्डारीलाई भारत पठाएको थियो ।

शुक्रबार मात्रै स्वदेश फर्किएका नेता लेखकले आजको केन्द्रीय कार्यसमितिको बैठकमा बिरामी नेता खड्काको स्वास्थ्य अवस्था गम्भीर रहेको र थप उपचारका लागि अल इण्डिया मेडिकल कलेजमा सार्ने तयारी भइरहेको जानकारी गराएका थिए । खड्का मिर्गौला, छाती र नसा सम्बन्धी समस्याबाट पीडित थिए ।  मिर्गौला प्रत्यारोपण गरेका नेता खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुनको पहिलो साता नयाँ दिल्लीमा उपचारका लागि लगिएको थियो । नेपाली कांग्रेसको राजनीतिमा विद्यार्थी कालदेखि नै सक्रिय रहेका खड्का वि.स. २०३३ साल पुष १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर बी.पी. कोइरालासँगै नेपाल फर्किएका थिए ।

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । “नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापनामा सक्रिय भूमिका निर्वाह गर्नुभएका, लामो समय प्रवास र जेल जीवन व्यतित गर्नुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री खुमबहादुर खड्काको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ । स्व. खड्काले पार्टीको संगठन विस्तार र नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनामा जीवनपर्यन्त अनवरत रुपमा नेपाली कांग्रेसमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।

मेरा पुराना एवं आत्मीय साथीको निधनले नेपाली कांग्रेस र सिङ्गो मुलुकलाई अपूरणीय क्षति पुगेको  छ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु,” देउवाले भनेका छन् ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up