अल्लोबाटै बन्छ कोटदेखि जुत्तासम्म

विदेशी आकर्षित, नेपालीले चिनेनन्


६ चैत, इटहरी । नेपालमा घरेलु तथा लघु उद्योगबाट उत्पादित सामग्रीलाई महत्त्व दिने चलन छैन । तर त्यही उत्पादनहरू विदेशीका आँखामा महत्वपूर्ण र मूल्यवान छन् ।

राम्रो र हेर्दा चिटिक्क परेको फिनिसिङ भएका उद्योगमा उत्पादित सामानले धेरैको ध्यान तान्छ । पछिल्लो समयमा विदेशीहरू भने त्यस्ता मेसिनले भन्दा मान्छेले बुनेका हाते सामग्रीको उपयोग गर्न थालेका छन् । संखुवासभामा उत्पादन हुने अल्लो यसको एउटा ताजा उदाहरण हो ।

नेपाली हात र घरेलु प्रविधिको प्रयोगले बनाइने अल्लोका उत्पादनहरूको महत्त्व नेपालमै भने कमैले बुझेको लामो समयदेख अल्लो प्रयोग गर्दै आएका इटहरीका केशव पौडेल बताउँछन् ।जिल्लाको मकालु बेस क्याम्प र अन्य रमणीय स्थलहरूमा घुम्न आउने तेस्रो देशका आगन्तुकहरुले अत्यधिक मन पराउँछन्, अल्लो । यद्यपि, प्रचारप्रसार र आक्रामक अन्तर्राष्ट्रिय बजार विस्तारको अभावमा अल्लोको व्यापार खल्लो भएको संखुवाबासी अल्लो उत्पादकहरुको गुनासो छ ।

अल्लोकै कोटमा सजिएर सार्वजनिक कार्यक्रम र पर्वहरूमा ठाँटिने पौडेल भन्छन्, ‘हेर्दा धमिलो रङ्गको देखिने भएकोले नयाँ पुस्ताले पुरानो कपडा जस्तो देख्छन् तर अल्लोको महत्त्व बुझेमा त्यो धमिलो कपडामा सङ्लो रङ देख्छन् ।’

उद्योगबाट उत्पादित रंगिचंगी सामानभन्दा नेपाली हात, नेपाली सीप र नेपाली कच्चा पदार्थको प्रयोगबाट बनेको अल्लो टिकाऊ र आकर्षक हुने उनको भनाइ छ । भन्छन्, ‘युवा पुस्ताले पनि अल्लोको बारेमा बुझेमा यसले नेपाली घरेलु तथा साना उद्योगमा ठूलो टेवा पुर्याउनेछ ।’

अल्लो प्रयोगकर्ता पौडेलले भने जस्तै अल्लोको महत्व कमैले मात्रै बुझेको अल्लो व्यापारी नरेन्द्रकुमार राई बताउँछन् । ‘अल्लोको कोट केहीले लगाउँछन् तर अल्लोकै जुत्ता, पर्स, टिसर्ट र झोला पनि प्रयोग गर्न सकिने कुरा भने थोरैलाई मात्रै थाहा छ,’ पूर्वका विभिन्न स्थानमा आयोजित घरेलु उद्योगका उत्पादन प्रदर्शन स्थलमा अल्लोको स्टल राख्दै आएका राईले भने, ‘यो बुझाउन थोरै भने पनि सहयोग होला कि भनेर संखुवासभादेखि अन्य विभिन्न स्थानको प्रदर्शनीमा सहभागी हँुदै आएका छौं ।’

अल्लोको ब्राण्डिङ गर्न अब प्रदेश सरकारले सहयोग गर्ने अपेक्षा राईको छ । ‘आजसम्म अल्लोका उत्पादनहरूमा जे जति विकास र विस्तार भएको छ सबै निजी क्षेत्रबाट मात्रै भएको छ’, एक सयको रुमालदेखि पाँच हजारको कोटसम्म उत्पादन गर्दै आएका राई भन्छन्, ‘तर अब स्थानीय र प्रदेश सरकारले पनि कृषि र उद्यमशीलतालाई प्रथम स्थान दिने बताएकाले केही आशा पलाएको छ ।’

यी समाचार पनि पढ्नुहोस्
Scroll Up