सिरिया : सार्वभौमसत्ताको अपहरण

विगत सात वर्षमा सिरिया र यहाँका मान्छेले भोगेका पीडामध्ये मृतकको यकिन संख्या, सखाप पारिएका सहर–बस्ती र शरणस्थलको खोजीमा रहेका व्यक्तिकै आधारमै एउटा कुरा भने नाप्न सकिँदैन। त्यो हो : राष्ट्रिय सार्वभौमसत्ता र भूमिको अखण्डताको सिद्धान्त। अन्तर्राष्ट्रिय कानुन दुरुपयोगको घिनलाग्दो र भडकिलो उदाहरण बनेको छ सिरिया। मेरो विचारमा पश्चिमले सिर्जना गरेको र लामो समयसम्म व्यवस्थापन गरेको ‘ग्लोबल अर्डर’ को पतनतर्फको ठूलो फड्कोका रूपमा यो घटनाले वर्षौं; छोटो होस् या अनन्तकालसम्म र सिरियाभन्दा परसम्म पनि प्रभाव पारिरहनेछ। यसमा थप सकारात्मक छविको स्वाङ अझै गर्नु छ र स्वीकार्य अन्तर्राष्ट्रिय आचरणअनुसार नै परिवर्तन लागू गर्नु छ भने पनि सिरियाको विध्वंस भयानक प्रमाणित हुनेछ।

केही हप्ताअघि सिरियाको युद्ध सकिँदैछ कि जस्तो लाग्थ्यो। नियमित रहलपहल युद्ध मात्र सक्याउन बाँकी छ जस्तो देखिन्थ्यो। हाम्रासामु देखिएका घटना हेर्दा त्यो नै यथार्थ हो जस्तो लाग्छ। तर पछिल्ला महिना हेर्दा (आशा गरौं कि अब युद्धलाई महिनामा गन्न सकियोस्) स्थिति वितण्डामय र त्रासद देखिएको छ। यसको पछिल्लो दृष्टान्त गत हप्तादेखिको दमास्कसको पूर्वी घुटा उपनगरमा चर्केको हिंसालाई लिन सकिन्छ। यो स्थान लामो समयदेखि लडाकुको दह्रो आधार क्षेत्र हो र नागरिकलाई ढाल बनाएर लडाकुहरू यहाँबाट सरकारसँग लड्ने गर्छन्। यो प्रकट आतंकमा हामीले फेरि पनि गैरकानुनी हस्तक्षेपका कारण सिर्जित वास्तविक अपराधबारे बुझ्न आवश्यक छ।

अहिले सिरियाको अवस्था ‘परपीडक सर्कस’ सँग मेल खान्छ। नाम मात्रको इस्लामिक स्टेटका विरुद्धमा प्रारम्भमा सिरियामा सैन्यशक्ति खटाएका अमेरिकीहरू अहिले आफ्नो फौज अनिश्चितकालसम्म त्यहीं राखिरहने बताउँछन् जबकि आईएसआई इतिहासमा सीमित भइसक्यो। आईएसआईसँगको लडाइँमा सिरियाली कुर्दहरू निर्णायक ठहरिए, जुन जगजाहेर नै छ। अहिले कुर्दहरूलाई सिध्याउन टर्किसहरू उत्तरी सिरियामा छिरेका छन्। इजरायलीहरूको दक्षिणतर्फ, नियमित रूपमा सिरियन र इरानी सैन्यका विरुद्धमा बमहरू खसालिएका छन्। युद्ध सकिनै थाल्दा र शान्तिवार्ताले आशाको किरण छर्ने संकेत देखिँदै गर्दा यसो गर्नुको प्रस्ट उद्देश्य हो, युद्धस्थलको विस्तार।

अन्तर्राष्ट्रिय कानुन उल्लंघन

तीनवटा विदेशी हस्तक्षेपकै विषयले यस क्षेत्रका धेरैजसो प्रेस रिपोर्ट भरिने गरेका छन्। प्रत्येक हस्तक्षेप खसोखास अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हो। सिरियाको सातबर्से लामो त्रासदपूर्ण कालखण्डमा भएका वास्तविक पाप–अपराधबारे उल्लेख गरें। र, अहिले हामीले देखिरहेका घटनाको पहेली बुझ्न विगतका घटनाको पुनर्मूल्यांकन पनि गर्नुपर्छ। ठोकेरै भन्न नसकिए पनि, म आधाजसो निश्चिन्त छु कि पहिले त्यस्ता अपराधहरू नभएका भए सिरियाबाट आज आउने समाचारहरू जस्ता छन्, त्यसको ठीक विपरीत हुने थिए।

‘अमेरिकाको आधिकारिक कथनले अमेरिकाले सिरियाका राष्ट्रपति बसर अल असदको सत्ता हत्याउनका लागि गरेको त्यो स्तरको प्रयास र त्यसबाट निस्केको विनाशकारी परिणामबारे छिपाउन खोजेको छ। यो स्वाभाविक छ किनभने अमेरिकाका कृत्य अन्तर्राष्ट्रिय कानुनको जर्बजस्त उल्लंघन हो। अन्तर्राष्ट्रिय कानुनले संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रलाई सैन्य कारबाहीमार्फत अर्को सदस्य राष्ट्रको सरकार हटाउन प्रतिबन्ध लगाएको छ। मध्यपूर्वमा विगत सात वर्षका क्रममा भएका धेरैजसो नरसंहार संयुक्त राज्य अमेरिका र यसको गठबन्धन राष्ट्रका कारणले भएको हो।’

यो भनाइ दिगो विकासको रणनीतिसम्बन्धी अध्ययन गर्ने कोलम्बिया विश्वविद्यालयका अर्थशास्त्री जेफ्री स्याक्सले प्रोजेक्ट सिन्डिकेटमा लेखेको गत हप्ताको लेखबाट लिइएको हो। मैले कहिल्यै पनि स्याक्सलाई पूर्वी युरोप (पछि सोभिय संघ) का कतिपय स्थानमा उनले सुझाएको ‘सक थेरापी’ (सरकारी संस्थाको निजीकरण) का लागि कहिल्यै माफी दिन्नँ तर स्याक्सलाई यहाँ उल्लेख गर्न भने जायज लाग्यो। स्याक्स उदार विचारकहरूमध्येका एक गम्भीर अध्येता हुन्। उनले यस घटनालाई यति प्रस्टसँग बताउनुले सन् २०११ देखि सिरियासँग अमेरिकाको शत्रुता भएपछि हामीले देखेका घटनाक्रमको मूल्यांकन गर्दा हामी (अमेरिका) अन्ततः राष्ट्रका रूपमा सत्यतथ्यप्रति अघि चासो राख्दै अघि बढेको अनुभूतिसमेत हुन्छ।

सात वर्षसम्म एकमुष्ठ रूपमा धोकाधडी भएका नागरिकका बारेमा सम्भवतः हामी कुरासमेत गर्न सक्दैनौं। सोच्नैपर्ने अहम् प्रश्न हो यो। सिरियाबारे तोडमरोड गरिएका र भ्रमपूर्ण धारणा फिँजिएका छन् किनभने हामीमध्ये धेरैले त्यस्तै कुरा मात्र सुन्न चाह्यौं। हामीमध्ये धेरैले त्यसतर्फ अन्देखा गरेका छौं। त्यसको एउटै प्रमाण हो– थोरैमध्ये हामी केहीले हेरेका छौं र देखेका पनि छौं।

अरब आन्दोलनको छिटो

‘अरब स्प्रिङ आन्दोलन’ का क्रममा अन्य छिमेकी देशहरूमा झैं सिरियाको राजधानी दमास्कसमा केही सिरियाली र असद सरकारबीच द्वन्द्व सुरु भयो। गृहयुद्ध भन्न सकिने थोरै मात्र अवधि रह्यो त्यहाँ। सन् २०१२ मा सम्भवतः त्यसअघि ओबामा सरकारले असद सरकार ढाल्ने गरी पहिलोपटक सीआईए (अमेरिकाको जासुसी ऐजेन्सी) अप्रेसनका लागि स्वीकृति दिए।

यसमा टर्कीले गरेको हस्तक्षेपबारे पनि उल्लेख पर्नैपर्छ। कुर्दिस अल्पसंख्यकप्रति अन्कारा (टर्कीको राजधानी) को वैरभाव र थोरैचाहिँ त्यहाँका राष्ट्रपति रेसेप ताइप इर्दोगानको त्यस क्षेत्रमा ‘नव–ओत्तोमानकालीन शासन’ स्थापना गर्ने दिवास्वप्नबाट हस्तक्षेप प्रेरित थियो। समयक्रममा हामीले थाहा पायौं कि इस्लामिक स्टेटका लडाकुलाई हतियार बेच्ने तिनै इर्दोगान टर्कीको दक्षिणी सिमानामा आफूले नै पठाएको ट्रकमार्फत नियन्त्रित सिरियन रिफाइनरीबाट तेलसमेत किन्ने गर्थे। त्यसपछि साउदी र पछि कतारीले सुन्नी–सियाको भिडन्तस्थलका रूपमा सिरियालाई विस्तार गर्न चाहे। त्यसो गर्नुको उद्देश्य इरानलाई निर्विकल्प क्षेत्रीय शक्तिको रूपमा उदाउन दिनु र दमास्कसको धर्म निरिपेक्ष राज्य हटाएर सट्टामा अर्को धार्मिक राज्य बनाउनु थियो। र, इरानको जुनसुकै रूपमा जोडदार विरोध गर्ने इजरायलीहरूको पनि यहाँ स्वाभाविक चासो थियो जो। इजरायल आफ्नो सिमानजिकै स्थिर सरकार टिकिरहेको देख्न चाहँदैनथ्यो।

जटिल युद्ध

अनेक महत्वाकांक्षका साथ यति धेरै विदेशी हस्तक्षेपको विषय र आधुनिक युगका अन्य द्वन्द्वलाई कसरी एकै ठाउँमा अटाउन सकिन्छ भन्ने कुराले म अन्योलमा छु। मेरो शत्रुको शत्रु मेरो साथी हो र उसैले शीतयुद्धपूर्वको सबैभन्दा दर्दनाक ठानिने संकटको नेतृत्व गरेको छ। हामीले पहिलेदेखि नै थाहा पाएका छौं कि साउदी, कतारी र टर्किसले दमास्कसमा इस्लामी स्थापनाको चाहना राख्ने जिहादी लडाकुहरूको तर्फबाट आफ्नो प्रयास जारी राखेका थिए। अमेरिकाको सन्दर्भमा नरमपन्थी विद्रोहीहरूलाई सहयोग गर्न सीआईए र पेन्टागनले सिरियामा हस्तक्षेप गरेको कथा लामो समयसम्म भनियो। यसलाई पहिले फ्रि सिरियन आर्मी (एफएसए) भनियो र जोसुकैले जस्तो बुझ्न चाहन्छन्, त्यस्तै छ यो फ्री आर्मी। र, यसमा जिहादीहरूकै बाहुल्य छ।

‘इन्डिपेन्डेन्ट’ का लागि मध्यपूर्वका नामुद पत्रकार प्याट्रिक कोबर्नले केही वर्षअघि बताएका थिए– सिरियन युद्धमा नरमपन्थी नामको त्यस्तो कुनै तत्व छैन। उनको यो भनाइको कहिल्यै गम्भीर रूपमा प्रतिवाद गरिएको छैन। यस अवस्थामा तपाईं ख्याल गर्नुहोला कि युद्धको खबर दिने पश्चिमा मिडियाले जहिल्यै ‘विद्रोही’ को सन्दर्भ उल्लेख गर्छ। ‘विद्रोही’ त्यस्तो शब्द हो, जसले धेरै कुरा प्रस्ट पार्नुभन्दा पनि छक्याउँछ। पत्रकारिताको पूर्व अभ्यासकर्ताका रूपमा भन्नुपर्दा, प्रत्येकपटक यो शब्दको प्रयोग हुँदा, यसले व्यावसायिक धर्मको उल्लंघन गर्ने गरेको छ।

अमेरिकाको कृत्य अन्तर्राष्ट्रिय कानुनको जर्बजस्त उल्लंघन हो। अन्तर्राष्ट्रिय कानुनले राष्ट्रसंघको सदस्य राष्ट्रलाई सैन्य कारबाहीमार्फत अर्को सदस्य राष्ट्रको सरकार हटाउन प्रतिबन्ध लगाएको छ। मध्यपूर्वमा विगत सात वर्षका क्रममा भएका धेरैजसो नरसंहार अमेरिका र यसको गठबन्धन राष्ट्रका कारणले भएको हो।’

आशयअनुसार नै दुई अन्य हस्तक्षेपलाई मैले यहाँ उल्लेख गरेको छैन। द्वन्द्वको प्रारम्भिक चरणदेखि नै सिरियामा इरानीहरू छन्। रसियनहरूले ३० सेप्टेम्बर २०१५ मा इस्लामिक स्टेट र दमास्कसविरोधीलाई पहिलोपटक लक्षित गर्दै बम हानेर हामीलाई आश्चर्यचकित बनाएका हुन्। तर समयक्रममा सिरियन सरकारलाई रसियाले गरेको समर्थनका कारण घटनाक्रममा उलटपुलट हुन गयो। असद सरकारलाई मस्कोको साथ नभएको भए अहिले सिरियन अरब आर्मी (सरकारी सेना) जितको जति निकट छ, त्यो सम्भव थिएन।

यी हस्तक्षेपबारे कुरा गर्दा दुई विषय उल्लेख्य हुन आउँछन्। पहिलो, यो वैध छ : रसिया र सिरिया सार्वभौम सरकारको आग्रहमा नै यहाँ उपस्थित भएका छन्। मस्को र तेहरानले सिरिया द्वन्द्वका क्रममा अति सावधानीका साथ अन्तर्राष्ट्रिय कानुनको पालना गरेका छन्। र, वास्तवमा रसियनहरूले यसबारे धेरैपटक उल्लेख गरेका छन्। यसका कतिपय कारण देख्छु म। व्यावहारिक रूपमा भन्दा, दुवैका विरुद्ध पश्चिमाले फैलाइरहेको ‘तस्बिरको युद्ध’ को सन्दर्भमा, न त रसियन न त इरानियनले नै कानुनविहीनताको ठाडो आरोप थेग्न सक्छन्। त्यसका साथै, प्रकट यथार्थका आधारमा भन्नुपर्दा, तेहरान र मस्को अन्तर्राष्ट्रिय कानुनलाई नै सिरियाली संकट समाधानको प्रमुख आधारका रूपमा लिन्छन्। (अरू पनि सरकार होलान्, जसका नाम हामी थप्न सक्छौं।)

इरान र रसियाको स्वार्थ

यो तर्कले दोस्रो प्रश्नको माग गर्छ। त्यसो भए यी दुई देश सिरियामा के उद्देश्य पूरा गर्न चाहन्छन् त ? आफ्नो स्वार्थ नै यसको कारण हो भनेर हामी सीधै भन्न सक्छौं। सिरियाले मेडिटेरियन समुद्रमा रसियन नौ सैनिक अड्डा राख्न दिएको छ। र, मस्को यो नौ सेनिक अड्डा अमेरिकाले सिरियामा खडा गर्ने कठपुतली सरकारको हातमा सुम्पन तयार छैन, जसरी चार वर्षअघि क्रिमियामा अमेरिका रचित तख्तापलटका कारण रसियाले नौ सेनिक अड्डा गुमाउनुपरेको थियो। इरान व्यग्रताका साथ दमास्कसमा सुन्नी राष्ट्रवादीहरूको निरपेक्ष सरकार चाहन्छ– त्यो हुन उति असम्भव छैन।

अहिलेको समस्या समाधानका लागि झूटा सूचना र भ्रमपूर्ण खबरहरूको बाक्लो जालो काट्नुपर्छ। मस्को र तेहरानले बसर अल असदको सुखद भविष्यको सुनिश्चित गर्छन् भन्नेतर्फ थोरै आधार छन्। तर, माथि उल्लिखित हस्तक्षेपका कारण थङ्थिलो भएको यो ठाउँलाई स्थिरतामा ल्याउन यी दुई राष्ट्र प्रतिबद्ध छन्। राष्ट्रसंघले समाधान प्रयासका लागि जहिल्यै गर्ने कमजोर प्रयासको सट्टा रसियाले तेहरान र अंकाराको नेतृत्वमा शान्तिवार्ता गराउन गरेको प्रयासलाई गलत रूपमा लिनुपर्दैन। इरानीहरूले लामो समयदेखि साउदी र अन्य क्षेत्रीय शक्तिहरूलाई यस क्षेत्रमा रहेको शत्रुता र अविश्वास अन्त्य गर्ने उद्देश्यले क्षेत्रीय सुरक्षा–सहमति गर्न सम्झौता गर्न सुझाउने गरेको कुरो यहाँ उल्लेखनीय छ।

छोटोमा भन्दा सिरियामा हस्तक्षेप भइरहेका छन् र भइ नै रहेका छन्। मिडियाका तर्फबाट वास्तवमा कुनै पनि सहयोग नहुँदानहुँदै पनि हामीले बुझ्नैपर्छ कि कुन वैध र रचनात्मक सोचले गरिएको हस्तक्षेप हो र कुनचाहिँ होइन। विरोधाभासचाहिँ यो हो : सही धारणा बनाउन कठिन हुन्छ भन्ने बुझेपछि मात्रै हामी सही धारणा बनाउन सक्छौं। योजनाबद्ध रूपमा हामीलाई सिरियाका बारेमा कम जानकारी उपलब्ध गराइएको अवस्थामा सही धारणा बनाउने कुरा नै चुनौतीपूर्ण छ।

पश्चिमा मिडिया र भ्रम

यति भनिसकेपछि फेरि घुटातर्फ फर्कौं। अहिले त्यहाँको अवस्था के छ ? हामी सबैले गत हप्ता पढेका छौं कि आसाद सरकारले पुनः युद्ध क्षेत्रमा फसेका र निक्लने कुनै बाटो नभएका सर्वसाधारणमाथि दयाहीन आक्रमण गरेको छ। महिला, बालबालिका र अस्पताल क्षेत्रलाई लक्षित गरेर लगातार हवाई आक्रमण र बम हान्ने काम भइरहेको छ। हामीले बारम्बार सुनेका उही शब्द र कथन पश्चिमा मिडियामा छाइरहेका छन्। तर हामीले एउटा कुरा भुल्नु हुन्नः यी सबै खबरका प्राथमिक स्रोत असदविरोधी कार्यकर्ता, पश्चिमा सहायताकर्मी, द ह्वाइट हेल्मेट्स र एउटै मात्र व्यक्तिले बेलायतबाट चलाएको ‘सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स’ नामक संस्था हो, जसले माथि उल्लेख गरिएका स्रोत उद्धृत गर्दै समाचार उब्जाउँछ। कुनै पनि यस्ता समाचारका स्रोतलाई निश्पक्ष मान्न सकिँदैन। मैले भेटेसम्मका हप्ताभरिको सबै प्रेस खबरलाई हेर्ने हो भने ती सबै खबर घटना भएका ठाउँभन्दा धेरै परबाट लेखिएका थिए। सिरियामा के भइरहेको छ भन्नेबारे कुनै पनि मिडियाले सिरियाली सरकारको भनाइसमेत उल्लेख गरेका छैनन्।

तर जे भइरहेको छ, त्यो दर्दनाक र शोकजनक छ : गत साताको घटनालाई अन्य कोणबाट हेर्नै सकिँदैन। मृतकहरूको संख्या सैयौं छ। यो घटनामा रसियाले आफ्नो संलग्नता स्विकार्दैन भनेर हामीले सोच्ने अपेक्षा गरिन्छ। न्युयोर्क टाइम्सले उल्लेख गरेअनुसार राष्ट्रसंघका रसियन दूतले बिहीबारको आपत्कालीन सुरक्षा परिषद् बैठकमा ‘भ्रामक र प्रोपागान्डा भन्दै रिपोर्टलाई खारेज गरेको’ भनेर हामीले ठान्ने अपेक्षा गरिन्छ। राष्ट्रसंघका लागि रसियन सरकारका दूत भ्यासिली नेबेन्जयाले बल्लतल्ल यति मात्रै भने, ‘विश्वभरका मिडियामा आम मनोविकृति समन्वयात्मक ढंगले काम गरिरहेका छन्, यसले अहिलको अवस्थामा सुधार ल्याउन कुनै सहयोग गर्दैन।’ यो तर्क हामीले पढे–सुनेको भन्दा बेग्लै हो र यही कुरो सत्यको निकट देखिन्छ। नेबन्ज्याले यही अभिव्यक्ति दिएकै दिन रसियाली रक्षा मन्त्रालयका एक वरिष्ठ अधिकारीले अहिलेको सिरियाको अवस्थालाई ‘नाजुक भइरहेको’ बताए। रसियन विदेशमन्त्री सेर्गेई लाभ्रोभले गत साता यस्तै खालको धारणा बारम्बार सार्वजनिक गरिरहे।

हामीले ठानेभन्दा पनि बाहिर गएर बुझ्नुपर्ने त्यस्तो के कुरा हो जुन नेबेन्ज्याले हामीलाई सुझाएका छन् ? यो नै तर्कसम्म प्रश्न हो। रसियनहरूको व्याख्याअनुसार हामीले पढेको र बुझेको जे छ, त्यो जानीबुझीकनै अतिरञ्जित गरिएको र शतप्रतिशत अपूर्ण तथ्य हो। उनीहरूका अनुसार रसियाली हवाई आक्रमण घुटाबाट दमास्कसतर्फ गरिएको सीधा रकेट आक्रमणको विरुद्ध हो। पश्चिमाहरूको वर्णनअनुसार राजधानीमा सर्वसाधारणको मृत्युको संख्या धेरै ठूलो र बढ्दो छ। असदविरोधी विद्रोहीहरू प्रायः अस्पताल र विद्यालयबाट आफ्ना आक्रमण सञ्चालन गर्छन्। तर यो कुरो थोरैलाई मात्र थाहा छ किनभने यो कुरो मिडियामा विरलै आउँछ। असद सरकारको विरुद्धमा लड्नेमध्ये आतंकवादी समूह जभात फताह अल समान पनि छ, जुन पहिले अल नुस्राका नामले चिनिन्थ्यिो। यी समूहले युद्धको समयमा सहज मार्गद्वारा सर्वसाधारणलाई निकास दिने गरी रसियाले गरेको युद्धविरामको प्रस्ताव अस्वीकार गरेका छन्। (अलेपो सहरमा एक वर्षअघि उनीहरू र रसियनहरूले त्यसै सम्झौता गरेका थिए।)

पश्चिमा रिपोर्टमा विद्रोहीहरूले दमास्कसतर्फ रकेट प्रहार गरेको बारेमा विरलै कुनै दृश्य देखिन्छ। देखियो नै भने पनि त्यसलाई मिलाएर छोपिएको हुन्छ। हामीले सामान्य रूपमा बुझ्नेभन्दा अझै धेरै बुझ्नुपर्ने गरी खबर आउँछ। पश्चिमा मिडियामा पाइने एउटा मात्रै सन्तुलित र अहिलेसम्म भेटाइएकामध्ये उत्कृष्ट ‘कभरेज’ अर्का विख्यात संवाददाता रोबर्ट फिस्कको हो, जुन गत हप्ता छापियो।

राष्ट्रसंघको हस्तक्षेप

गत शनिबार अबेला, एकमहिने युद्धविराम, मानवीय सहायता र उपचारका लागि घाइतेहरूलाई निकाल्न सहयोगको आह्वान गर्दै राष्ट्रसंघको सुरक्षा परिषदले स्विडेन र कुबेतले मस्यौदा गरेको एक प्रस्ताव पारित गर्‍यो। धेरै दिनको घनीभूत छलफलस्वरूप यति हुन सकेको हो। यसअघिका रिपोर्टमा जनाइएअनुसार पूर्वी घुटाबाट दमास्कसतर्फ प्रहार गरिने रकेट प्रहार रोक्ने सुनिश्चितताका लागि रसियाले गरेको प्रस्ताव अमेरिकाले अस्वीकार गर्‍यो। हुन पनि अन्तिम प्रस्तावमा त्यस्तो कुनै सुनिश्चितता उल्लेख भएको देखिँदैन। र, आश्चर्यजनक रूपमा नेबेन्जयाले उत्साहबिनै सो प्रस्तावमा सहमति जनाए। घुटाका लडाकुलाई नियन्त्रण नगरी गरिने यस्तो प्रस्तावले खासै सकारात्मक प्रभाव पार्न सक्दैन भन्ने उनको बुझाइ छ। त्यसैले राष्ट्रसंघको प्रस्तावमा उनको टिप्पणी थियो, ‘केवल काल्पनिक।’

रसियाली विदेशमन्त्री लाभ्रोभले पहिले नै भनेका थिए कि स्विडिस र कुबेती मस्यौदा प्रस्तावको निहित उद्देश्य शान्तिप्रक्रियाबाट ध्यान मोड्नु हो। र, यो प्रक्रियामा ढिलाइ हुँदै गर्दा पूर्वी घुटामा असदविरोधी लडाकुहरूलाई जोगाउन सकिन्छ। नेबेन्ज्याले सोही धारणा शनिबार पनि दोहोर्‍याए। प्रस्तावमा छुटाइएको विषयलाई ख्याल गर्दा यो मूल्यांकन वास्तवमा जायज नै छ।

निचोड

सिरियामा भएका घटनाबारे हामी कति अँध्यारोमा छौं भन्नेबारे गत साताकै गतिविधिले प्रमाणित गरेको छ। तर मैले अर्को ठूलो निचोड निकालेको छु। सिरियाको यो दुर्भाग्यको कारण अब अन्तर्राष्ट्रिय कानुनलाई सबैले आत्मसात गर्दै त्यसलाई तत्काल लागू गर्न आवश्यक हुन्छ। सँगसँगै, राष्ट्रसंघका संयन्त्रहरूले यसो गर्नमा कति भरपर्दो भूमिका निर्वाह गर्न सक्छन् भन्ने अर्को एक प्रश्न छ। देश–राज्यहरू अघिल्लो युगका सिर्जना हो तर अन्तर्राष्ट्रिय सुव्यवस्था कायम राख्न सार्वभौमसत्ताको परम्परा पालन गर्नु अहिले पनि महत्वपूर्ण हुन्छ। त्यसतर्फको सफलता दूर क्षितिजमा कहीं कतै छ भने दुःखले आर्जिएको कोसेढुंगाका रूपमा सिरिया रहनेछ। यो त्यस्तो विन्दु हुनेछ, जहाँ विदेशीद्वारा प्रायोजित तख्तापलटको युग सकिनेछ र अन्तर्राष्ट्रिय द्वन्द्वको बहुध्रुवीय समाधान खोजिएको हुनेछ। त्यस्तो समाधान नै एक्काईसौं शताब्दीको अनिवार्य सर्तका रूपमा स्थापित हुनेछ।

(स्यालोन डटकमबाट। अनुवाद : प्रकाश आस्था) – साभार:अन्नपुर्ण पोस्ट बाट

यी समाचार पनि पढ्नुहोस्
Scroll Up