कविता – “रेगिस्थानी सफर र तिम्रो यादहरू”

बिहान हुन नपाउदै
सुर्यको किरण नउदाउदै
शीतहरू नसुक्दै
मिर्मिरेमै सफर गरिन्छ
यो एउटा रेगिस्थानी सफर

सपनाहरूको ताज महल बनाउनु अघि
मैले तिम्रो यादहरूलाई महसुस गर्दै
प्रत्येक पल
माधुर्य शालीन शितहरू झै
बिहानीको उदाउँदो रंगमञ्चमा
एकनास बसेर कुरिरहेको छु
तिम्रो यादहरुको एक लहर ।

जिन्दगीको बिछ्ट्टै उन्मादहरुमा
यादहरूले पटकपटक जिउँदै मारेका छन
रेगिस्थानीको शितलहर संग
कयौंपटक मुकाबिला गरेको छु
म हुनुको आभास संगै
म रुनुको पिडा संगै
तिमी संग टाढिएर देखि
सयौं पिडाहरू झेलिरहेको छु
मरुभूमिमा एक्लै-एक्लै रुमलिएर

बेमौसमी एक फकिर यात्री म
तिम्रा यादहरूको महासागरले
यो उजाड-उजाड रेगिस्थानहरुमा
शीतल हावाहरू छाए झैँ
यो बिरानो लाग्ने शहरहरू
यो अन्धकार लाग्ने गल्ली र चौबाटोहरू
यो शून्य शून्य लाग्ने रातहरू
यो जिन्दगीको अन्तिम आर्यघाट झैँ लाग्ने ठाउँहरू
बिगतका प्रत्येक पलहरूले मलाई
जिवित बनाईरहन्छ र बाँचेको अनुभुती दिलाउछ

मलाई यस्तो महसुस –
हर प्रहर यादहरूले भिजाएर जानू
छट्पटीमा रात कटाउने बहानामा
कयौ रातहरू अनिदो कटाउनु
र भक्कु सम्झिनु तमोर तरेर संगै हिडेको पलहरू
सक्रान्तीको देउरालीमा पुग्नै आट्दा
अक्षता चामल पोखिएर
तिमी रिसाएको पलहरू सम्झनु
संगै हिड्दा – हिड्दै चुटिएको चप्पल र लोति सम्झिनु
यादहरूको आधिँभेरी संगै
मन-मनै युद्ध लडिरहनु
मनहरूको मैदानमा
र बारम्बार म हारी रहनु
यादहरूको मैदानबाट
विडम्बना म रेगिस्थानी सफरहरुमा हुनु
जस्तो साउने भेल बर्सिएर आएपछि
निथ्रुक्क भिजेको तिम्रो त्यो मुलायम ओठहरू र मुलायम चेहरा संगै
यादहरूले पटकपटक मारी रहनु
के मेरो भाग्यको दोष या कर्मकोफल ।

म हरेक पल झस्की रहन्छु
निदाउनु पुर्व
जसरी निदाएको बेला
सपनाहरूमा कहिल्यै भेटिएनन्
ती मिठा बाचा र बन्धनहरू
भेट्नु पनि कसरी यी रेगीस्थानी सफरहरूले
प्रत्येक पल गलाईरहन्छ
जहाँ उसैको अधिनमा अडिएर
हातखुट्टाको यात्राहरू तय गर्नुपर्छ
म उभिएको धर्तिमा
उसैको आदेशमा स्वास फेर्नुछ
र यो रंगिन दुनियाँ हेर्नुपर्छ
बाध्यता र परिस्थितिले ।

आजकल
म निदाउनु पनि एउटा बहाना चाहिन्छ
र उठ्नु पनि
यहाँ चाहानाले चल्दैन
जस्तोकी तिमी संग निदाउनु पुर्व नरम ओठहरु चुमे झैँ
गुलाबी ओठमा लिप्त भएर मद्होसी कम्पन संगै
निर्धक्क युगिन साझमा तिमी संग निदाए झैँ
हो यसरी
कहिल्यै भएनन् रेगिस्थानी रातहरूमा ।

यादहरू धुलमिल भएर होला
अचेल निदाउनु अघि
जिन्दगीको लक्ष्य र गन्तव्यहरुले
तमोर र कावेलीहरूले समुन्द्रलाई भेट्ने
सपनाहरू बोके जस्तै
जिन्दगीको गन्तव्यहरू तर्जुमा गरि रहेको छ
त्यसैले त तिम्रो यादहरूको
अजम्बरि सम्झाना बोकेर एक्लै -एक्लै फकिर घुमिरहेको छु
तिम्रो यादहरू संगै
यो रेगिस्थानी गल्ली र दोबाटोहरूमा ।

सुमन सहयात्री योङहाङ
हाल कतार

यी समाचार पनि पढ्नुहोस्
Scroll Up