पृथ्वीनारायणको कृतिको पुनर्निर्माण

दुई वर्षअघि वैशाखमा आएको भूकम्पले काठमाडौं उपत्यकाका वास्तुकला र कलालाई नराम्रो क्षति पुर्याजयो। २० वटा जिल्लाका १५९८ भन्दा बढी स्मारक क्षतिग्रस्त भए। भूकम्पले वसन्तपुरस्थित नौतले दरबारलाई पनि नराम्रै असर पार्योक। छिमेकी राष्ट्र चीनको प्राविधिक र आर्थिक सहयोगमा पुनर्निर्माण कार्य प्रारम्भ भइसकेको छ। मल्ल राजा प्रतापमल्लले ने.सं. ७९२ (वि.सं १७२९) काठमाडौं दरबारको मुख्य प्रवेशद्वारमा हनुमानको मूर्ति स्थापना गरेपछि त्यो दरबार हनुमानढोका राजदरबारका नामले चिनिन थाल्यो।

महिन्द्र मल्ल, प्रताप मल्ल र पृथ्वीनारायण शाहका कृतिहरू हनुमानढोका दरबारमा धेरै छन्। लोंह चोकमा निर्मित दरबारको लंगमा वसन्तपुर बुर्जा (टावर), कीर्तिपुर बुर्जा (टावर) ललितपुर बुर्जा (टावर) र भक्तपुर वुर्जा (टावर) लाई भूकम्पले क्षति पुर्याएको छ। हाल चीन सरकारका विभिन्न कम्पनीले नौतले दरबारको जीर्णोद्धार कार्य गर्दैछन्। नौतले दरबार जीर्णोद्धार गर्नुपहिले वैज्ञानिक ढंगले विभिन्न कार्य सम्पन्न गरिएको थियो। नौतले दरबारको माटो परीक्षण, अन्वेषण र उत्खनन कार्य गरियो। त्यसपछि ड्रोनको सहायताले विभिन्न कोणबाट फोटो खिचियो। थ्रीडी स्क्यानद्वारा भवनका गारोहरूको परीक्षण, काठ, इँटा, माटोको नमुना परीक्षणजस्ता काम नेपाल र चीनमा गरेपछि पुनर्निर्माणको कार्य थालनी गरिएको हो।

इतिहासकारहरूका दृष्टिमा पृथ्वीनारायण (वि.सं १७७९—१८३१) सफल योद्घा, कुशल प्रशासक र कूटनीतिज्ञ मानिन्छन्। ५२ वर्षमै परलोक भएका पृथ्वीनारायणले युद्घ, विजय अभियानसँगै नेपाली मूर्त र अमूर्त सम्पदाको संरक्षणमा ३२ वर्ष बिताए। काठमाडौं वसन्तपुरको दरबार प्राकृतिक प्रकोपबाट भग्नावशेषमा परिणत भएपछि पृथ्वीनारायणले जगैदखि बनाएको वर्णन सुन्दरानन्द वाडाको त्रिरत्न सौन्दर्यगाथामा वर्णित छ।

वसन्तपुर दरबारको झोंसे जाने सडकपट्टि र नासलचोकको उत्तरी भागको मूल द्वारमाथि एकएकवटा शिलालेख राखिएका छन्। यी शिलालेखमा पृथ्वीको वंशावलीको वर्णन र वसन्तपुर दरबार निर्माणको उल्लेख छ। नेपाल सरकारसँग १०÷२९ जनवरी २०१६ मा चीन सरकारले वसन्तपुर दरबार पुनर्निर्माण गर्ने सम्झौता गर्योप। अहिले भवनले ओगटेको ५६०० स्क्वायर मिटर र वरिपरिको १३०० स्क्वायर मिटरमा परम्परागत निर्माण प्रविधि कालिगढ र चिनियाँ विशेषज्ञ टोलीले पुनर्निर्माण र जीर्णोद्घारको कार्य गर्दैछ। चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज, निनिस्ट्री अफ कमर्स, मिनिीट्री अफ कल्चरल टुरिजम्, ही वी इन्स्टिच्युट फर प्रिजरभेसन अफ एन्सिएन्ट आर्किटेक्चर, एजेन्सी फर इन्टरनेसनल इकोनोमिक कर्पोरेसन आदि संघसंस्थाको संयुक्त प्रयासमा नौतले दरबारको पुनर्निर्माण कार्य द्रूत गतिले भइरहेको छ।

वसन्तपुरको नौतले दरबारको माथिल्लो तल्लाबाट काठमाडौं बस्तीको सुन्दर दृश्य अवलोकन गर्न छिट्टै पाइने आशाले मन पुलकित भएको छ। 

भूकम्प गएलगत्तै राष्ट्रिय योजना आयोगको नेतृत्वमा विपद्पछिको आवश्यकता आकलन (पीडीएनए) को सक्रियतामा सम्पूर्ण वा आंशिक निर्माण गर्ने गरेर भौतिक सम्प्रदायहरूको पहिचान भएको थियो।

भारत, चीन, श्रीलंका, जापान, स्विट्जरल्यान्ड र अमेरिकाको यूएसआईडी र अमेरिकन एम्बेस्डर फन्डले पुरातत्व विभागसँग सम्झौता गरेर काठमाडौं उपत्यकाका पुरातात्विक महत्वका सम्पदाहरूको पुनर्निर्माण प्रारम्भ गरिसकेको छ। २०७४ साउन ३१ गते काठमाडौंमा चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र नेपालका उपप्रधानमन्त्री कृष्णबहादुर महराले संयुक्त रूपमा सम्झौतामा हस्ताक्षर गरेर नौतले दरबार पुनर्निर्माण कार्यको शुभारम्भ भएको थियो। चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजले नुवाकोटको साततले दरबार र वरपरका क्षेत्रको संरक्षण र पुनर्निर्माण गर्न वैज्ञानिक ढंगले सर्वे कार्य गरिसकेको छ। त्रिरत्न सौन्दर्यगाथामा वसन्तपुरको जग्गामा नयाँ घर निर्माण गर्न वास्तु साधन गरेर हरिवंश नामका ब्राह्मणलाई पृथ्वीले अराइपराइ गरेको उल्लेख छ।

वसन्तपुर दरबारको पुनर्निर्माण प्राचीन स्मारक संरक्षण ऐन २०१३ सम्बन्धित मापदण्ड र युनेस्कोको अन्तर्राष्ट्रिय कानुनको सीमाभित्र रहेर भइरहेको छ। वसन्तपुर दरबारको नासल चोकमा राष्ट्रिय एकता दिवस २०७४ मनाउने मेसो मिलाउनुपरेको छ।

इतिहासकारहरूले राष्ट्र निर्माणका अभियन्ता, महान् सिपाही र सामाजिक र सांस्कृतिक एकताका प्रतीक भनेर पृथ्वीनारायणलाई सम्बोधन गरेका छन्। यस लेखमा उनको सांस्कृतिक पक्षसँग सम्बन्धित कला, वास्तुकलाको पक्ष मात्रै समेटिएको छ। वसन्तपुर दरबार लौकिक वास्तुशैलीको रूपमा निर्मित भएको देखिन्छ। वसन्तपुर कैलासको उचाइ ७२ हात छ भने अन्य बुर्जाहरू ४९, ५० र ५१ हात उचाइका छन्। बखतमानसिंह बस्नेतका संग्रहमा भएको कागजमा चारै कुनाका बुर्जाको नाम र उचाइ हातअनुसार दिइएको छ। सुन्दर वास्तुकला काष्ठकलाको नमुनाको रूपमा वसन्तपुर दरबारको चर्चा गरिन्छ। झ्यालका विभिन्न स्वरूपहरू संझ्याल, गाःझ्याल, वाकुझ्याल, पासुखाझ्याल, विमान झ्याल, सूर्यमुखी झ्याल, कमल झ्याल, तोरणयुक्त झ्याल आदि यस दरबारमा प्रयोग गरिएका छन्।

नौतले दरबारनजिकैको कुमारी घरमा पनि विविध कलात्मक सुन्दर झ्यालहरू देख्न पाइन्छ। मल्लकालको स्तरीय काष्ठकलाको शैली नै दरबार मन्दिर र घरहरूमा प्रयोग गरेको पाइन्छ। धार्मिक र लौकिक कलाकृतिले सजिएको नौतले दरबार पुनर्निर्माण भइरहेको देख्दा रमाइलो लागेको छ। वसन्तपुर नौतले दरबारको टुँडालहरूमा भएको लौकिक जीवनको झलक देखाउने कामकलाका दृश्यहरूले तन्त्रका गोप्य विषयवस्तुमध्ये पञ्चमकारमा पर्ने मैथुनको माध्यमबाट परमात्मा प्राप्तिमा पाइने सुखको संकेत देखाउन खोजेको भान हुन्छ। नौतले दरबारमा स्थापना गरिएका कलात्मक दुईवटा शिलालेखमा फागु उत्सव र पृथ्वी वंशको उल्लेख छ। नौतले दरबारको वसन्तपुर डबली अर्थात् सडकतर्फ स्थापित अभिलेखमा फूलको पत्रले चारैतर्फ सिँगारिएको छ। अभिलेखका बीचमा अठार हात भएको देवी महिषासुर मर्दिनी देव मन्दिरको शैलीमै नागकन्याका आकर्षक मूर्ति पनि बनाइएका छन्।

चमर हमकन लागेका नागकन्याका मूर्तिले लिच्छवीकालमा स्तरीय प्रस्तर मूर्तिको सम्झना गराउँछ। वसन्तपुरको नौतले दरबारको माथिल्लो तल्लाबाट काठमाडौं बस्तीको सुन्दर दृश्य अवलोकन गर्न छिट्टै पाइने आशाले मन पुलकित भएको छ। राष्ट्रको चिनारीका रूपमा रहेको कला र वास्तुकलाको मौलिकताको जर्गेना गर्दै हामीले आधुनिक प्रविधिद्वारा सम्पदालाई चीरायु पनि बनाउनुगर्छ। सम्पदाको संरक्षण गर्न निश्चित समयमा मर्मत गरिरहनुगर्छ। त्यसका लागि समाजका सबै तहका सदस्य जागरुक हुनुगर्छ। सम्पदाको महत्व, इतिहास र संस्कृतिबारे नवपुस्तालाई पाठ्यक्रमद्वारा जानकारी दिनुगर्छ।

उपसंहार

पृ्थ्वीनारायणले आफ्नो विजय अभियान सफल बनाउन तयार गरेका रणनीतिमध्ये स्थायी र अस्थायी फौजको व्यवस्थाको प्रशंसा इतिहासकारहरूले गरेका छन्। मध्यकालीन विष्टी वा झारा प्रथा जसमा काम गरेवापत पारि श्रमिक दिइँदैनथ्यो, त्योभन्दा फरक ढंगले पृथ्वीनारायणले व्यवस्था गरेका थिए। बालीखर्च र कामअनुसार पदोन्नति गरेर सैनिकहरूको मनोबल बढाउने रणनीति अपनाएकाले नै उनी सफल भएका हुन्। पृ्थ्वीको सम्पूर्ण समय युद्धको योजना, आक्रमण र व्यवस्थापनमा बितेको देखिन्छ। तर उनले काठमाडौं उपत्यका, नुवाकोट र गोरखामा नेवारी कला र वास्तुकलालाई सम्मान गर्दै निरन्तरता प्रदान गरे। त्यसकै एउटा ज्वलन्त उदाहरण हो- वसन्तपुरको नौतले दरबार।- साभार:अन्नपुर्ण पोस्ट बाट 

यी समाचार पनि पढ्नुहोस्
Scroll Up