कसले बनाउँछ सहर ?

मोटरसाइकल, कार, ट्रकका चर्का हर्न । कतै टाटेपाटे र कतै खुइलिएको कालोपत्रे सडकको किनारमा मैलो, पातलो सर्ट र खाली खुट्टामै ढुंगा, बालुवा, गिट्टी ओसारिरहेका, ढलछेउ गाह्रो लगाइरहेका मान्छेहरू । सस्ता चुरोटको धुवाँ उडाउ“दै सडक किनारामा थकित मजदुरहरू । यो सहरमा प्रत्येक मानिसका हलचल र प्रत्येकका पीडा अंकित छन् । उनीहरूका धुलो टाँसिएर बाक्लो भएका परेलामुनिका आँखा र अनुहारमा चरम पीडा, आक्रोश र थकान झल्किन्छ।

dipak-rajuत्यस्तै पीडा, आक्रोश र थकान हामीले सातदोबाटो सडकछेउ वाल लगाउँदै गरेका सुर्खेतका देवबहादुर विकका आँखामा देख्यौं । ज्यामी-जिन्दगीको बीसबर्से यात्रामा उनको आङमा कहिल्यै सुखको उज्यालो घाम लागेन।

जीवनमा कहिल्यै ‘सुख’ ले नचियाएपछि वाक्क भएर सुदूरपश्चिम वा मधेसबाट मजदुरी गर्न काठमाडौं लम्किनेको कथा हो यो । ‘फिस’ चप्पल लगाएका, पुसको चिसा रातमा पनि कालो, रातो वा पहेंलो पातलो गन्जी र मैलो पाइन्टमा भेटिएका यी मजदुर दिनभरिको कामले बेस्सरी गलेका छन् । यिनीहरू सडक किनारमै पाल टाँगेर ‘गुटुमुटु’ भएर सुत्छन् । कतिपय बालबच्चा, श्रीमती र परिवारसहित त्रिपालमुनि बस्छन्।

‘सर, मेरो दुःख तपाईंहरूलाई भनेर के गर्नु ? आफ्नो दुःख र भाग्य आफैंस“ग छ’, सातदोबाटो सडक किनारमा वाल लगाउने मीना विक भन्दै थिइन् । उनीहरू घर-गाउँका सबै दुःख बिर्सन चाहन्छन्, तर सहरको दुःख झन् कहालिलाग्दो छ । उनीहरूको एउटै बोली छ, ‘हेरौं, भाग्यले कता लैजान्छ ।’

यो सहर त रातभरि जागा रहन्छ । एकातिर ठमेलमा मस्त नाचेर फर्कनेहरू छन्, अर्कोतिर सडक-किनारमै पाल टाँगेर बस्नेहरू । उनीहरू चिसोमा काम्दै छेउछाउबाट बटुलेका काठका साना टुक्रा तापेर रात कटाउँछन् । रातले यो सहरको सौन्दर्यलाई अझ रहस्यमय बनाइदिन्छ ।

सयौं वर्ष पुरानो यस सहरका कलात्मक मन्दिरहरू, पुराना दरबारहरू अतीतको शान जोगाएर उभिएका छन् । तर यहाँका मानिस कहिल्यै सोध्दैनन्- यी मन्दिर, यो सहर र यहाँका पुराना दरबार बनाउने मजदुरको खबर ।

dhobighat-(11)

योजनाहरू नीति-निर्माण तहमा बन्छन् । त्यो योजना कार्यान्वयन हुन निर्देशनका दर्जनौं तह पार गर्दै अन्तिममा मात्रै मजदुरको हातमा पुग्छ । मजदुरले चिनेको हुँदैन राष्ट्रिय योजना आयोग । बुझ्न आवश्यक पनि ठान्दैन पुनर्निर्माण प्राधिकरण र सहरी विकास मन्त्रालय । मजदुरलाई मतलब हुन्छ- केवल कामसँग ।

भौतिक विकासका पूर्वाधार मजदुरको पसिनाविना असम्भव छ । तर राज्य ती मजदुरबारे बेखबर छ । ‘मजदुर’ कुनै विश्वविद्यालयले अनुसन्धान गर्नलायक विषय पनि बन्दैन । मजदुरसम्बन्धी संसद्मा कुनै विधेयकमा चर्को बहस पनि हुँदैन ।

यो सहर निर्माण गरिरहेका मजदुर कुन अवस्थामा बाँचेका छन् ? के खान्छन् ? कसरी बस्छन् ? पुसको जाडो होस् या चैतको गर्मी- धुलो÷धुवाँमा मडारिएर खुला स्थानमै बसिरहेका हुन्छन् उनीहरू । सधैं अहोरात्र खटिरहेकै देखिन्छन् । चिसोमा रात-दिन कटाउनुपर्दा उनीहरू बिरामीले थलिँदै गएका छन् । काम गर्दा लगाउनुपर्ने आवश्यक पोसाक पनि लगाएका हुँदैनन् । पुसको चिसो वास्तै नगरेजसरी उपत्यकाका विभिन्न स्थानमा अहोरात्र काम गरिरहेका मजदुरलाई हामीले भेटेका थियौं ।

स्थान : धोबीघाट

मिति : ०७४ पुस ६ गते

समय : राति ९ बजे

दिउँसो सातदोबाटोनजिकै सडकमा वाल लगाउँदै गरेको देवबहादुर विकको समूह राति धोबीघाटनजिकै सडक किनारमा त्रिपालमुनि भेटिए । रातको तिखो चिसो झेल्न कोही त्रिपालबाहिर आगो तापिरहेका थिए । कोही निदाउन त्रिपालभित्र गुटमुटिएका । तर बस, ट्रकको चर्को साइरनले उनीहरूलाई निदाउन दिँदैन । बेतोडले हुइँकिने बसको चर्को सुसेलीले निद्रा खल्बलिन्छ । ठ्याक्कै सडकको पेटीमै छ- उनीहरूको त्रिपाल । ठूला गाडी गुड्दा भुइँचालै गए झैं थर्किन्छ भुइँ ।

भौतिक विकासका पूर्वाधार मजदुरको पसिनाविना असम्भव छ । तर राज्य ती मजदुरबारे बेखबर छ । ‘मजदुर’ कुनै विश्वविद्यालयले अनुसन्धान गर्नलायक विषय पनि बन्दैन । मजदुरसम्बन्धी संसद्मा कुनै विधेयकमा चर्को बहस पनि हुँदैन ।

एकपटक ब्युँझिएपछि उनीहरू फेरि सुत्दैनन् । त्यसपछि निदाउन निकै कठिन हुन्छ । बरु पुराना अनेकथरीका घटना मस्तिष्कमा ओहोरदोहोर गरिरहन्छन् । त्यसपछि त्रिपालबाहिरको भुंग्रोमा फेरि आगो सल्काउन जरुरी हुन्छ ।

आगो तापिरहेका भेटिए एक पाका मजदुर । तीन बीस उमेर पुगेजस्ता देखिन्थे । तर खास उनको उमेर रहेछ ४० मात्रै । सुर्खेतका उनै देवबहादुर विकले सुनाए- मजदुरी जिन्दगीको कष्ट ।

उनको २० वर्ष उनको ज्यामी जिन्दगीको यात्रा । जीवनको आधा भाग निर्माण मजदुर भएर बिताए । अहिले बल्ल पेटी ठेकेदारमा पदोन्नति भएका छन् । उनी मातहत २१ कामदार छन् । मदजुरहरू कसैले एक दिनको ज्याला पाँच सय पाउँछन्, कसैले सात सय । उनीहरू चाइनिज कम्पनीको मातहतमा एक वर्षदेखि सातदोबाटो सडक-किनारमा गाह्रो लगाउने काम गरिरहेका छन् । एक वर्ष नै भयो, धोबीघाट सडकछेउमा पाल टाँगेर बसेको पनि । देवबहादुरको कमाइ मासिक २५ हजार हुन्छ । उनीहरूको समूहमा चार महिला र केही बालबालिका पनि छन् ।

गोपाल विक धिपधिप बलिरहेको आगो ताप्दै थिए । उनी बुबासँगै काठमाडौंमा छन् । श्रीमती छोराछोरी गाउँतिरै बस्छन् । पाँच कक्षासम्म मात्रै पढेका उनी गएको तिहार मानेर पहिलोपटक काठमाडौं आएका हुन् । उनले काठमाडौं घुमेका छैनन् । दिनको पाँच सय कमाउने उनका लागि काठमाडौं भनेको उही धुलो उडिरहने धोबीघाटको सडक हो । वरपर देखिने गुजुमुच्चु सिमेन्टीका घरहरू नै उनका आँखामा बसेको सहरको स्वरूप हो । भन्छन्, ‘काठमाडौं घुम्नै पा’को छैन ।’

पालबाहिर आगो बल्न छोडेर पुत्पुत् उडिरहेको छ- धुवाँ । दुई हत्केलाले आँखा छोप्दै छेउको ढुंगामाथि टुक्रुक्क बसिरहेकी छन्- सुर्खेतकी २४ वर्षीया मीना विक । काठमाडौंमा उनको एउटै काम छ- २१ जनाको मजदुरको समूहलाई खाना पकाउनु । पतिसहित पाँच र दुई वर्षका दुई छोरा पनि साथै छन् । उनको पनि कमाइ दिनको पाँच सय नै हो । सातामा एक दिन मासु खान्छ यो समूह । अरूबेला दिनैभर सडकछेउ धुलोमा खेलिरहने दुई बच्चा मासुको बास्ना आएपछि अगेनोछेउ झुम्मिन्छन् ।

उनले सात कक्षा मात्रै पढिन् । गाउँमा एउटी छोरी छोडेर सहर पसेकी मीना छोरालाई स्कुल पठाउनुपर्छ भन्ने सोच्छिन् । तर पठाउने कसरी ? पालभित्र रोइरहेको बच्चालाई बोलाउँदै मिना भन्छिन्, ‘के गर्नु, बच्चाबच्ची लिएर यस्तो चिसोमा बस्न कहाँ मन छ र ? यहाँ कोठाभाडै तिर्न सकिन्न ।’

सँगै आगो तापिरहेका मीनाका पति जितबहादुर विक तीन वर्षदेखि काठमाडौंमा मजदुरी गरिरहेका छन् । उनले तीन कक्षामात्रै पढे । अहिले पति-पत्नी सँगै काम गर्छन् । उनीहरूको आङमा न्यानो कपडा । अँगेनोबाट धुवाँ मात्रै आउन थालेपछि उनीहरू पालभित्र घुस्रिए । पालभित्र चाइनिज मोबाइलबाट टर्च बल्यो । पालनजिकै चामलको आधा बोरा, सुकेको खुर्सानी, नुनको पोका र स्वायबिन तेलको बाकस देखियो । पालभित्र अरू पनि थिए ।

तीमध्ये एकजनाले मोबाइलमा गीत बजाए, ‘कुटुमा कुटु सुपारी दाना…।’ त्यसपछि उनीहरू गुजुमुच्चु परेर तास खेल्न थाले ।

पालभित्र भेटिए- सुर्खेत भेरीगंगाका भरतकुमार विक । उनी मिस्त्री रहेछन् । कमाइ दिनको सात सय । प्राय:विदेश गइरहन्छन् । अहिले अरबको भिसाको पर्खाइमा छन् । भिसा नलागेसम्म उनी त्यहीं काम गर्नेछन् । पालभित्र केही लगातार खोकिरहेका थिए ।

मधुरो बत्तीमुनि थिइन् बाटुलो अनुहार भएकी सोनी शेर्पा । ओखलढुंगाकी उनी पतिसँगै पालमा बस्छिन् । हामीले भेट्दा उनी ज्वरो र खोकीले ग्रस्त थिइन् । प्रकाश विकसँग केही समयअघि मात्रै भागेर अन्तरजातीय विवाह गरेकी उनले ‘हनिमुन’ पालमा मनाइन् । २२ वर्षकी सोनी दिनभर सिमेन्ट-बालुवा घोल्छिन् । यसैगरी मायाको सानो संसार उभ्याउने सपना छ, उनको । दिनको पाँच सय कमाउँछिन् र पति सात सय । पालमै मोबाइल खेलिरहेका थिए- सुर्खेतकै गोविन्द विक, महावीर विक र अर्जुन विक । उनीहरूका लागि एउटै चुलोमा खाना पाक्छ । गाउँमा सबैको आर्थिक अवस्था कमजोर छ । खेतीपातीबाट ६ महिना मात्रै खान पुग्ने जमिन छ।

स्थान :सानेपा

मिति :०७४ पुस ७

समय :दिउँसो २ बजे

मकवानुपर टिस्टुङका चालीसबर्से कृष्णबहादुर स्याङ्तानले काठमाडौंका घर रंगाउन थालेको एक दशक पुग्यो । हामीले सानेपामा भेट्दा उनी एउटा भव्य घर रंगाउँदै थिए । कृष्ण मैतीदेवीमा भाडाको कोठामा बस्छन् । १० वर्षअघि दिनको ३ सय कमाइ हुन्थ्यो, अहिले ११ सय ५० पुगेको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मै उनले काम गर्नुपर्छ । १४ तलासम्मको घर रंगाएका छन् कृष्णले । तीन कक्षा मात्रै पढेका उनको आर्थिक अवस्था कमजोर छ ।

सुरुमा उनी अग्लो घर चढ्न डराउँथे । ‘घरबाहिर बाँसको भर्‍याङमा झुन्डिएर काम गर्नुपथ्र्यो, डर लाग्थ्यो । विस्तारै डर हराउँदै गयो’, उनी भन्छन् । तलबाट हेर्दा शिरको टोपी खस्ने, माथिबाट हेर्दा रिंगटा लाग्ने अग्लो घरमा उनी बाँसको भर्‍याङमा झुन्डिँदै चढ्छन् । हातमा हुन्छ ब्रस र रङको बाल्टिन । कुनै बेला त उनीसँग सेफ्टी बेल्ट पनि हुँदैन । डोरीकै भरमा उनले रंगाएका छन्- सहरका कैयन् घर । ‘गनेर साध्य छैन । कतिवटा घर रंगाइयो, रंगाइयो’, उनी भन्छन् । कृष्णले बानेश्वरको मुक्ति टावर, एभरेस्ट होटेल, याक एन्ड यती होटेल, विशालनगरका चार कोलोनी रंगाएका छन् ।

ज्यान हत्केलामा राखेर काम गर्ने कृष्णको जीवन बिमा छ÷छैन, उनैलाई थाहा छैन । देवी बुद्ध कन्स्ट्रक्सनमार्फत काम गर्दै आएका उनको नागरिकताको फोटोकपी कन्स्ट्रक्सनका सञ्चालक भोजबहादुर श्रेष्ठसँग छ । भोजबहादुरले कृष्णको बिमा गरे या गरेनन्, उनलाई हेक्का छैन । सञ्चालक श्रेष्ठ कृष्णको जीवन बिमा गरिएको बताउँछन् ।

पेन्टर बन्नुअघि उनी गलैंचा बुन्थे । गिटी कुट्थे । ट्रिपरमा गिटी बालुवा लोडअनलोड गर्थे । केही समय काठमाडौंमा ट्याक्सी चलाए । अहिले जीविका चलाउने पछिल्लो विकल्प बनेको छ- घर रंगाउनु ।

एउटा घरमा रङ लगाउँदा एकजोर कपडा फाट्छ । नयाँ किनेको कपडा रङैरङले बेरंगी हुन्छ र उध्रिएर जान्छ । एउटा घरमा काम गर्दा एकजोर लुगा सकिन्छ । त्यो लुगा आफैं जोरजाम गर्नुपर्छ । उनी जोखिममा बसेर काम गर्छन् । आजसम्म कुनै दुर्घटनामा परेका छैनन् ।

भन्छन्, ‘आजसम्म भगवान्ले बचाइदिनुभएको छ ।’

स्थान :सामाखुसी

मिति :०७४ पुस ७

समय :साँझ ५ बजे

सामाखुसी पुग्दा प्रमोद चौधरी भर्खरै काम सकेर घर हिँड्ने तरखरमा थिए । प्रमोदको मातहतमा दाङका १४ जना चौधरी युवाको समूह महिनौंदेखि घर निर्माणमा खटिइरहेको छ ।

सामाखुसी बस्दै आएका उनी १५ वर्षदेखि काठमाडौंमा घर बनाउँदै आएका छन् । ५५ वर्षीय प्रमोदले एक वर्षमा १५ वटासम्म घर बनाएका छन् । बितेको १५ वर्षमा उनले काठमाडौंमा करिब दुई सय घर बनाए । सुरुमा आफैं मजदुरको रूपमा काम गर्ने उनी अहिले घर ठेक्कामा लिएर काम गर्छन् ।

सामाखुसीको घर बनाउने नाइकेको भूमिकामा छन् दाङ गोबरदहका २६ वर्षीय सुरेश चौधरी । उनी मासिक ३० हजार ज्याला पाउँछन् । निर्माण भइरहेको घरछेउ जस्ताले छाएको एउटा टहरो छ, जहाँ उनको समूह बस्छ । तीन कक्षा मात्रै पढेका उनको मातहतमा १४ जना छन्, जसमध्ये दुईजनाले खाना पकाउँछन् । भान्सामा महिनामा तीनपटक मासु पाक्छ । ब्रोइलर कुखुरा उनीहरूको रोजाइमा पर्छ । उनीहरूको रमाइलो गर्ने माध्यम हो- मोबाइलमा गेम खेल्नु, फिल्म हेर्नु र बिना पैसा तास खेल्नु । ‘कहिलेकाहीं केटीसँग मस्ती गफ पनि हुन्छ’, नाइके सुरेश हाँस्दै भन्छन् ।

यस वर्षको चिसो उनीहरूले यहीं काट्नुपर्नेछ । उनीहरूका खुट्टामा जुत्ता छैन । टहराबाट शीत तप्किन्छ । १२ फुटको जस्ताको टहरामुनि १४ जना लहरै सुत्छन् । कोठामा यत्रतत्र झोला र कपडा झुन्डिएका छन् । मैला चप्पल ओछ्यानछेउ लडिरहेको छ । कसैको हातमा मोबाइल छ, कोही जिउ कन्याइरहेका छन् । आङमा जाडो छेक्ने लुगा छैन । कोही टोलाएर बसेका छन् । उनीहरूका हात-खुट्टा खिरिला देखिन्छन् ।

त्यही साँघुरो टहरामा बस्छन्, कपिलवस्तु बलखवाका १९ वर्षीय कैलाश चौधरी । मासिक १२ हजार कमाउँछन् । बालुवा चाल्ने, इँटा बोक्ने, मसाल घोल्ने उनको काम हो । टहरामै बस्ने भागपती चौधरी, विनोद चौधरी, लक्ष्मण चौधरी, विन्तु चौधरी, सुनिल चौधरी, रामचन्द्र चौधरी सबैले मासिक १२ देखि १५ हजार कमाउँछन् । उनीहरू प्राय:निरक्षर छन् । केहीले मुस्किलले पाँच कक्षा पास गरेका छन् । कसैले पनि माध्यमिक तह पास गरेका छैनन् ।

उनीहरूबीच बेलाबेला सामान्य ठाकठुक हुन्छ । तर झगडाचाहिँ गर्दैनन् । दिनभरि काम गरेर साँझपख चोकतिर निस्कन्छन् । महँगा क्याफे र होटेल उनीहरूको रोजाइमा पर्दैन । सडकछेउको चटपटे पसल, दारु-पानी पाइने भट्टीपसल उनीहरूको जक्सन हो । सामाखुसी चोकतिर कहिलेकाहीं टहलिन पुग्छन् । मोबाइल पसलबाट मोबाइलमा हिन्दी फिल्महरू हालेर ल्याउँछन् । दिनभर थाकेको शरीरलाई टहराको भित्तामा अढेस लगाउँछन् र हेर्छन् । स्थान :गोंगबु

मिति :०७४ पुस ७

समय :साँझ ७ बजे

गोंगबुको उत्तरी क्षेत्रमा भेटिएका रक्सौलका ४५ वर्षीय सुरेन्द्र साह मजदुरीका लागि काठमाडौं पसेको २० वर्ष भयो । उनीसँग अहिले २६ भारतीय मजदुर साथी छन् । उनलाई भारतभन्दा नेपालमा काम गर्न सजिलो लाग्छ । छठ, होली, दीपावलीमा मात्रै गाउँ जान्छन् । फेरि फर्केर यतै आउँछन् । भारतीय मिस्त्रीले महिनाको ३० हजारदेखि ४० हजारसम्म कमाउँछन् । लेबरले मासिक १२ हजारदेखि १५ हजार कमाउँछन् । सुरेन्द्र २० वर्षअघि पहिलोपटक काठमाडौं आउँदा उनको तलब ६ हजार थियो । अहिले उनी ३० हजारभन्दा माथि कमाउँछन् ।

दिनभरिको कामले निकै गलित हुन्छन् । बेलुका हल्का दारु पिउँछन् । चुलोमा महिनाको ६ पटक मासु पाक्छ । सामान्य बिरामी पर्दा उनीहरूको उपचार त्यहीं हुन्छ । महिनौं थलिएर बिरामी भए ठेकेदारले घर पठाइदिन्छन् । टहरामुनि एकसरो लुगा लगाएर बस्छन् । एकएकवटा पातलो ब्लांकेट छ । अति जाडो हुँदा आगो तापेर रात कटाउँछन् ।

उनीहरूको पनि मनोरञ्जनको साधन मोबाइल हो । मोबाइलमा भोजपुरी र हिन्दी गीत सुन्छन् । फिल्म हेर्छन् । बेलाबेला तास खेल्छन् । तीन छोरा र दुई छोरीका बुबा सुरेन्द्रकी श्रीमती रक्सौलमै छिन् । सुरेन्द्रसँगै बस्छन् रक्सौलकै पडोसी हरिन्दर साह, रोहित साह, पानालाल दासलगायत २६ जना । भारतीय सरकारले सबैको जीवन बिमा गरिदिएको बताउँछन् सुरेन्द्र । अरू कामदार सुरेन्द्रजस्तो स्थायी रूपमा काठमाडौं बस्दैनन् । अरू मजदुर केही महिना काम गर्छन् अनि जान्छन् काम खोज्दै पन्जाब, दिल्ली र कास्मिरतिर । प्रस्ट नेपाली भाषा बोल्ने सुरेन्द्रलाई यो सहर छोडेर जान मन छैन । भन्छन्, ‘काठमाडौंमा बस्न थालेको २० वर्ष भइसक्यो । अब कहाँ जानु ? ’

स्थान :गौशाला

मिति :०७४ पुस ७

समय :राति १०ः३० बजे

गौशाला पुग्दा डोजरले बत्तीसपुतलीतर्फ सडकखण्ड खनिरहेको थियो । रातको अँध्यारो चिर्ने गरी ठूलो लाइट माथिबाट सडकतिर बलिरहेको थियो । सडकमा फाट्टफुट्ट गाडी चलिरहेका थिए । पाँच÷सातजना मजदुर डोजरले खनिरहेको सडकछेउ बेल्चा बोकेर उभिएका थिए । सबैको टाउकोमा थियो- पहेंलो टोपी ।

दुई युवा पहेंलो टोपी र ज्याकेट लगाएर तीलगंगा जाने रोडतर्फ फर्किएर उभिइरहेका थिए । दुवैका हातमा बेल्चा थियो । अछाम विनायकका १८ वर्षीय प्रशान्त घर्ती र १७ वर्षीय रमेश घर्ती हुन् उनीहरू । दाजुभाइ ठूलाबुबा र काकाका छोरा । दुवैले १० कक्षासम्म पढेका । गरिबीले थप पढ्न दिएन । नौ पास भएर जागिर खान काठमाडौं हान्निए दुई भाइ । थापाथलीनजिकै बागमती किनारमा बनेको लेभर क्याम्पमा ४० जनाको समूहमा मिसिएर बस्छन् उनीहरू । मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने शर्मा कम्पनीमा उनीहरू कार्यरत छन् । एक वर्षदेखि काम गर्न थालेका उनीहरू दिनको पाँच सय कमाउँछन् । रातभरिको काम ओभर टाइम हो । राति काम गरेर प्रतिघन्टा ६२ रुपैयाँ कमाउँछन् । डोजरले छोडेको माटो साबेलले मिलाउँछन् ।

क्याम्पमा विजोगले बसिरहेका छन् । प्रशान्त भन्छन्, ‘खाना नमीठो छ । नखाई हुँदैन । भोक लाग्छ । के गर्नु ।’ महिनाभरि कमाएको पैसा घर पठाउँछन् । घरमा भाइबहिनीलाई पढाउनुपर्छ । भन्छन्, ‘काम गाह्रो छ । के गर्नु भाइबहिनीलाई पढाउनैपर्‍यो !’

के भन्छन् निर्माण व्यवसायी ?

निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठ सम्पूर्ण मजदुरको एकमुष्ट बेनामे जीवन बिमा गरिएको बताउँछन् । ‘प्रोजेक्ट अवधिभर कसैलाई केही भएमा बिमा कम्पनीले हेर्छ’ श्रेष्ठ भन्छन्, ‘बिमाले नसमेटेको पक्षबारे राज्य गम्भीर हुनुपर्छ । तर यसबारे राज्य उदासीन छ । मजदुरबारे राज्यसँग कुनै नीति छैन ।’

नेपालमा मजदुरको वर्गीकरण सही तरिकाले नभएको उनको बुझाइ छ । कस्तो काम गर्नेलाई मजदुर भन्ने ? परिभाषा गर्न गाह्रो भएको निर्माण व्यवसायी बताउँछन् । श्रेष्ठ भन्छन्, ‘स्थायी र अस्थायी मजदुर छुट्ट्याउनै गाह्रो छ । घन्टे मजदुर, हप्ते मजदुर पनि छन् ।’

महासंघका प्रशासनिक अधिकृत नवराज भण्डारी देशभर १२,५०० निर्माण व्यवसायी रहेको बताउँछन्, जसअन्र्तगत करिब १५ लाख मजदुर आ िश्रत भएको हुन सक्ने आँकडा छ । भौतिक यातायात तथा निर्माण मन्त्रालयको तथ्यांकअनुसार, काठमाडौंमा ९०१, ललितपुरमा ३५०, भक्तपुरमा २२१ कन्स्ट्रक्सनको कम्पनी दर्ता छ, जसअन्तर्गत लाखौं मजदुरले काम गरिरहेको अनुमान अधिकृत भण्डारीको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष पेम्बा लामा शेर्पा नेपाली मजदुरले काम गर्दा सुरक्षासम्बन्धी कुनै पनि सावधानी अपनाउने नगरेको बताउँछन् । भन्छन्, ‘नेपाली मजदुरले काम गर्दा लगाउनुपर्ने पोसाकबारे सचेत छैनन् । ठेकेदारले पनि ध्यान दिँदैनन् । विदेशी प्रोजेक्टले मात्रै त्यसलाई अत्यावश्यक सामग्रीको रूपमा लिने गर्छ ।’ विदेशी प्रोजेक्टले कुनै स्थानमा काम सुरु हुनुपूर्व शौचालयदेखि बस्ने स्थानसम्मको राम्रो प्रबन्ध गर्ने गरेको उनी बताउँछन् । ‘तर नेपाल सरकारको काममा कुनै व्यवस्था हुँदैन । मजदुरलाई चाहिने पञ्चा, गमबुट, बस्ने क्याम्प, टोपीसमेत व्यवस्था छैन’, उनी भन्छन् । – साभार :अन्नपुर्ण पोस्ट बाट 

यी समाचार पनि पढ्नुहोस्
Scroll Up