‘कांग्रेसको पहिलो पुस्ताले अब विश्राम लिनुपर्छ’

मेची-महाकाली वामपन्थी हावा चल्दै गर्दा काठमाडौं- ४ मा सुरक्षित उभिए, गगन थापा । कांग्रेसका अधिकांश शीर्षस्थ नेताहरू वाम लहरका अघिल्तिर टिक्न सकेनन् । बौद्धिक छविका एमाले प्रतिस्पर्धी डा. राजन भट्टराईलाई तीन हजार चार सय मतान्तरले पछि पार्दै जितेका थापालाई चुनावमा धर्मराएको कांग्रेसका शुभेच्छुक सम्हाल्नुपर्ने चुनौती यसकारण छ, उनीलगायत युवा पुस्तातिर उनीहरू अपेक्षाको नजरले हेरिरहेका छन् । शनिबार बिहान विजय जुलुसमा सामेल भएर पोखरा हानिएका उनी अपराह्न काठमाडौं फर्कंदा विजयको कुनै खास उल्लासभाव देखिन्नथ्यो, निधारको सानो टीकाबाहेक । उनले हामीसँग कुराकानीका क्रममा अब कांग्रेसको पहिलो पुस्ताले चुनाव पराजयको जिम्मेवारी लिँदै वि श्राम लिनुपर्ने अभिव्यक्ति मात्रै दिएनन्, अब विशेष महाधिवेशन डाकेर नयाँ यात्रा तय गर्नुपर्नेसमेत प्रस्ताव गरे । उनले आसन्न वामपन्थी सरकारले लोकरिझ्याइँका कार्यक्रम दिन सक्ने सम्भावनाबीच कांग्रेसले मध्यमार्गी नीतिको बाटो अवलम्बन गरिरहनुपर्ने तर्कसमेत दिए । थापासँग कुराकानी :

चुनाव नतिजाले वाम लहर छाएको देखाइरहेको छ । कसरी हेरिरहनुभएको छ ?

यो वाम लहर हो वा दुई पार्टीबीचको गठजोडको परिणाम हो, समानुपातिक मतगणना भइनसक्दासम्म अहिल्यै निष्कर्ष निकाल्नु हतारो हुन्छ । कांग्रेसको अनुमान थियो- यो केवल एमाले र माओवादी नेतृत्वको गठबन्धन हो, जसमा समर्थकहरूको भोट जस्ताको तस्तै सरुवा हुँदैन । तर भोट मज्जाले सरेको देखियो । कांग्रेसलाई मतदान गर्दै आएका मतदाताचाहिँ घटेका हुन् कि होइनन्, घटेका हुन् भने कति घटेका हुन भन्नेचाहिँ पूरा परिणाम आएपछि भन्न सकिन्छ । यो भन्दै गर्दा के भन्नचाहिँ हतारो हुन्न भने योपल्ट कांग्रेसका समर्थकबाहेक अन्य मतदातालाई पार्टीले आकर्षित गर्नै सकेन ।

वाम गठबन्धनले जे विषयलाई चुनावी एजेन्डा बनाएको थियो, त्यसको तुलनामा हाम्रो स्वर असाध्यै झीनो रह्यो । कांग्रेसले अरू बेला हामी यस्तो हौं, अरू यस्ता हुन् भनी परिभाषित गथ्र्यो, यसपल्टचाहिँ अरूले बनाइदिएको परिचय बोकेर हामी चुनावमा गयौं । हाम्रो परिचय हामी आफैंले भन्नै पाएनौं । वामपन्थीले राष्ट्रियताको पहरेदार हामी मात्रै हौं, विकासको ठेक्का हामीले मात्रै लिने हो आफैंले भने, अनि हाम्राबारेमा पनि उनीहरूले मात्रै भन्न पाए । यस्तो चुनावको परिणाम यस्तै खालको हुन्छ ।

कांग्रेस रक्षात्मक ढंगले चुनावमा गयो भन्नुभएको ?

चुनावमा मात्रै होइन, संविधान निर्माणपछि दुई वर्षयताको समग्र राजनीतिक अभियानमै कांग्रेस रक्षात्मक देखियो । संविधान बन्नेबित्तिकै प्रधानमन्त्री चुनावमा जब सुशील कोइराला प्रधानमन्त्री चुनावमा लड्न जानुभयो, त्यसयता एकपछि अर्को घटनामा हामी फस्दै गयौं । त्यसैको भारी बोकेर चुनावमा जानुपर्‍यो । केही गल्तीहरू नगरेको भए अनि सही निर्णयहरूका बारेमा सही सम्प्रेषण गर्न सकेको भए आज सबैभन्दा बढी विजयी मुडमा हामी नै हुने थियौं । शान्ति प्रक्रिया टुंग्याएको जस कांग्रेसलाई प्राप्त हुने थियो, संविधान निर्माण र सारा प्रक्रियामा हामीबाहेक अरू कोही छैन भनी चुनावमा जान पाइन्थ्यो । राजनीतिक रूपमा त चुक्यौं नै, रणनीतिक रूपमा पनि कमजोर देखियौं ।

आफूसँगै सरकारमा बसेको माओवादी केन्द्र एमालेसँग गठबन्धन गर्न जाँदैछ भन्ने भेउ हामीले पाउनै सकेनौं । जबकि केही महिनाअघिको स्थानीय चुनावमा हामीले सबै हद र सीमाहरू पार गरेर माओवादी अध्यक्ष प्रचण्डकी छोरीलाई भरतपुरमा मेयर जिताएका थियौं । पार्टीका योजनाकारहरू कहाँनेर चुके भन्ने यी सामान्य उदाहरण मात्रै हुन् । चुनावका लागि अभियान कसरी चलाइन्छ भन्ने कुरा ठूलो महत्वको विषय हो । म एउटा उम्मेदवार भएर दुःखका साथ भन्नुपर्छ, हामी प्रत्येक कांग्रेस उम्मेदवारले एक्लाएक्लै चुनाव लडेर आएका हौं ।

वामपन्थी कमजोर हुँदा कांग्रेसका लागि स्पेस बन्छ भन्ने धारणा राख्नु नै गलत हो ।

एउटा संगठित पार्टीका सशक्त अभियन्तासँग हामी लड्दै थियौं, जबकि हामीसँग केही पनि कुरा योजनाबद्ध थिएन । एक्लै लडेर आयौं । सिंगो कांग्रेस पार्टी यसपल्ट चुनावमा होमिएको थिएन । कसरी योजनाबद्ध प्रोपागान्डाका शृंखला चले ! वास्तवमा हामी त बल्लबल्ल बाँचेर यसपालि आएका हौं । एउटा त्यस्तो पार्टीको विचार, संगठन, आक्रामक अभियान अनि व्यवस्थित प्रोपागान्डा पार गरेर आयौं । तर चुनाव अभियानमा मात्रै चुकेकाले हारेको भन्नु अपूरो हुन्छ । दुई वर्षयताका सबै शृंखलालाई एक ठाउँ राखेर हेर्नुपर्छ ।

 यो क्षतिको जिम्मेवारी कसले लिने ?

दुईवटा पाटा छन् । संविधान बन्ने बेलासम्म जनताले बुझ्ने गरी हाम्रो स्पष्ट एजेन्डा थियो- संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गर्ने । अरू कुराले हाम्रासामु धेरै अर्थ राख्दैनथ्यो । त्यसअघि पनि हामो एजेन्डा स्पष्टै थियो, माओवादीलाई युद्धबाट शान्ति प्रक्रियामा लेराउने । संविधान निर्माणपछि भने हामी बरालियौं । जनतासँग जोडिने हाम्रो मुद्दा नै भएन । हामी अब को हौं त, हाम्रो उद्देश्य के हो त ? त्यसै बेला हामीसँग प्रतिस्पर्धा गर्ने पार्टी भने राष्ट्रवादको एजेन्डा मैदानमा लिएर आयो । त्यही बेला हाम्रा निर्णयहरूलाई भने जनताले अर्कै ढंगले बुझे । राजनीतिक पार्टीबाट जनताले अब के हुन्छ त, कस्तो एजेन्डा बोक्छ त भनी अपेक्षा गर्छन् । हाम्रो नेतृत्वपंक्तिले अबको नेपाल हाँक्छ भन्ने नारा लोकप्रिय हुनु त कता, उल्टै जनता तर्सिए । उनीहरू यो लिडरसिपलाई मान्न तयारै भएनन् । यसको मतलब के होइन भने, फगत एक व्यक्तिले यी दोषहरूको जिम्मा लिनुपर्छ । यो आरोप लगाउने तरिका मात्रै हो, जसले कुनै टुंगोमा पुर्‍याउँदैन ।

 अब के गर्नुपर्छ ?

तीनवटा कुरा तत्काल गर्नुपर्छ- एक, जनताले प्रतिपक्षमा बस्ने जनादेश दिएका छन्, त्यसको सम्मान गर्नुपर्छ । कम्युनिस्ट गठबन्धन आउँदैछ, लोकतन्त्रका केही मूल्यमान्यतामा सम्झौता गर्ने गरी अघि बढ्न खोजी हामी रोक्न तयार हुनुपर्छ । किनभने हामीले भनेको कुरै त्यही हो । दोस्रो, कांग्रेसको सिंगो पार्टीपंक्तिले अब ग्र्यान्ड रिफर्म (आमूल परिमार्जन) का लागि आफूलाई तयार पार्नुपर्‍यो । यो सुधार सभापति देउवाले मात्रै गरेर हुँदैन, माथिदेखि तलसम्म प्रत्येक कार्यकर्ताले पार्टीमा ठूलो परिवर्तन चाहिएको छ, त्यो आफैंबाट थाल्नुपर्छ भन्ने मान्नुपर्छ । तेस्रो, सुविचारित बहसको कार्यसूची बनाऔं । आजका मितिमा म के भन्न सक्छु भने, पार्टीभित्र तुरुन्त उत्साह सिर्जना गर्न पहिलो पुस्ताका नेताहरूले अब वि श्राम लिनुपर्‍यो । यी नेतामध्ये कोही यो चुनाव जितेर आउनुहोला, कोही पराजित भएर । तर आदरपूर्वक वि श्राम लिनुपर्‍यो । पार्टीले तुरुन्त विशेष महाधिवेशन बोलाउनुपर्‍यो । समग्र समीक्षा गरेर अबको योजना बनाउनुपर्‍यो । पार्टी संरचनामा ठूलो फेरबदल गर्नुपर्‍यो । अनि संविधान निर्माणपछिको यो परिदृश्यमा कांग्रेसले आफ्नो औचित्य जोडका साथ स्थापित गर्न जनतासँग जोडिने खालका मुद्दाहरूको खोजी गर्नुपर्‍यो, तिनलाई स्थापित गर्न लाग्नुपर्‍यो । यतिचाहिँ मानेर जानुपर्‍यो ।

आज हामीले दिनभर सोसल मिडियामा कतिपयको टिप्पणी देख्यौं- किन महाधिवेशन कुरिरहने, संसदीय दलको नेता नै फेरेर पार्टीमा नयाँ उत्साह भर्नुपर्छ । तपाईंको टिप्पणी ?

पार्टीको पहिलो पुस्ताका नेताहरूले आदरपूर्वक वि श्राम लिनुपर्छ भनिसकेपछाडि ती ठाउँमा पनि नयाँ नेतृत्व आउनुपर्छ । यसमा म नै आउनुपर्छ, हामी नै हुनुपर्छ भन्नु पनि उचित नहोला । सबै पार्टीको अवस्था एउटै हुन्न, एमालेको भिन्न रह्यो होला । यो उमेरको मात्रै कुरा होइन, सोचको कुरा हो । कुनै बेला गिरिजाप्रसाद कोइराला नै हाम्रो पार्टीभित्र सबैभन्दा आवश्यक भएको बेला पनि थियो । इतिहासले फरकफरक समयमा फरकफरक नेतृत्वको माग गर्छ । हाम्रा लागि यो नेतृत्वको औचित्य अब सकियो । त्यसैले पार्टी नेतृत्वदेखि संसदीय दल सबैतिर नयाँ कुरा चाहियो । त्यो नयाँ भनेको के हो भन्ने हामी बुझ्छौं । अघिल्लो पुस्ताले ल है भनेर छोडिदिएपछि नयाँको खोजी प्रक्रिया सुरु हुन्छ । त्यो को आउँछ भन्ने कुरा कसैले कसैलाई लेखेर दिने कुरा होइन । त्यहाँभित्र आफ्नै खाले प्रतिस्पर्धा होलान्, त्यसले आफ्ने बाटो खोल्छ । हाइरार्की भनेको यस्तो कुरा रहेछ, माथिको नेतृत्वले छोड्न तयार नहुँदासम्म त्यसलाई तोडेर जाने इच्छा हुँदाहुँदै कहिलेकाहीं सम्भव हुन्न । म आफैंले महाधिवेशनमा त्यो देखेर आएँ । मैले कांग्रेसभित्र नयाँ पुस्ता र सोचको प्रतिनिधित्व अब निर्णय गर्ने ठाउँमा चाहिन्छ है, थपडी बजाउने ठाउँमा होइन भन्दै महामन्त्रीमा प्रतिस्पर्धा गरें । तर पार्टी संरचनाभित्र हामी सफल हुन सकेनौं । हामी संघर्ष पनि जारी नै राख्छौं, तर नेतृत्वले महसुस नगर्दासम्म सफल भइन्न ।

 कांग्रेस पुनर्जागरणको धारणा भनेको हाम्रो आफ्नो एजेन्डा, पहिचान र कार्यशैलीमा प्रखरता ल्याएर जनतामा जाने नै हो ।

 कांग्रेस नेतृत्वले महसुस गर्ला त ?

सजिलोसँग स्विकार्ला भन्ने लाग्दैन । तर अहिले कांग्रेसले जे बेहोरिरहेको छ, त्यो सामान्य परिघटना होइन, जसमा एकले अर्कालाई दोष पन्छाउने सुविधा लिन सकियोस् । हामी बाँकी रहेका साथीहरू कति मिलेर काम गर्न सक्छौं, कतिको दबाब झेल्न सक्छौं भन्ने कुराले धेरै निर्भर गर्छ ।

तपाईंले विशेष महाधिवेशन बोलाउनुपर्ने माग राख्नुभयो, तर अढाइ वर्षअघिको महाधिवेशनका पदाधिकारीले नै पूर्णता पाइसकेका छैनन् ।

कांग्रेस जसरी चलेको छ, त्यसरी नै चलाइरहँदा राजनीति हाम्रो हातमा रहन्छ भन्ने सोच व्याप्त राखेर हुन्न । पछिल्ला राष्ट्रिय मुद्दामा आफूलाई सही कित्तामा राख्न सकेनौं । पार्टीको भ्रातृ संस्था अधिवेशनजस्तो सामान्य कुरामा वास्ता गर्न सकेनौं । त्यसैले टालटुले सुधारले अब हुँदैन । विशेष महाधिवेशनमा केवल पदाधिकारी छान्ने कुरा होइन, संरचनागत कुरा गर्नुपर्छ । दुईवटा कम्युनिस्ट मिलेर एउटै पार्टी मिलाउँदा जुन संगठन शैली अपनाउँछन्, त्यससँग प्रतिस्पर्धा गर्न त्यस्तै बन्ने वा बढी लोकतन्त्रीकरण गर्दै जाने ? म त कांग्रेस अब खुला सदस्यतामा जानुपर्छ भन्ने पक्षमा हो । तर छलफल त हुनुपर्‍यो नि । खुला सदस्यताले तत्काललाई क्षति त होला, तर दीर्घकालका लागि यही बाटो उचित हो ।

८. संसद्‍मा अब तपाईंहरूको भूमिका कस्तो हुन्छ ? कि फेरि माओवादीसँग सत्ता समीकरण गर्ने हो ?

सत्ता राजनीतिमा यस्ता प्रयास भइरहन्छन् । समीकरणहरू आफैंमा अपवित्र पनि हुँदैनन् । तर कांग्रेसले अहिलेका लागि जनमतको सन्देश सुन्नुपर्छ । प्रतिपक्षको बेन्चमा गएर बस्नुपर्छ । अरू कुरामा खेल्नतिर लाग्नु हुँदैन ।

वामपन्थीहरू गठबन्धन बनाएर किन सफल भए ? किन लोकतान्त्रिक गठबन्धनचाहिँ सफल भएन ?

हामीलाई खासमा त्यो गठबन्धन सफल हुँदैन भन्ने लागेको थियो । चुनावमा हामीले जे मुद्दा उठाएर गयौं, त्यसले वाम गठबन्धनलाई झन् बलियो राख्न मद्दत गर्‍यो । हामीले एउटा कम्युनिस्ट पार्टी बन्दैछ, त्यसले १०-२० वर्ष आफ्नै ढंगले शासन गर्नेछ भन्ने सन्देश जनतामा लैजान खोज्यौं । त्यसले उल्टै उनीहरूलाई संगठित हुन मद्दत गर्‍यो । मैले त्यहाँ उत्सवमय वातावरण देखें । नेताहरू बरु यताउता गरे, तर वाम समर्थकहरूमा अभूतपूर्व उत्साह थियो, हामी कम्युनिस्ट, हाम्रो एउटै सरकार भन्ने किसिमको ।

उनीहरूमा यो गठबन्धन रहिरह्यो भने कांग्रेसलाई झन् चुनौती थपिन्छ, होइन ?

अब कांग्रेसलाई त जुनसुकै अवस्थामा पनि चुनौती नै रह्यो । वामपन्थी कमजोर हुँदा कांग्रेसका लागि स्पेस बन्छ भन्ने धारणा राख्नु नै गलत हो । कांग्रेस पुनर्जागरणको धारणा भनेको हाम्रो आफ्नो एजेन्डा, पहिचान र कार्यशैलीमा प्रखरता ल्याएर जनतामा जाने नै हो । कांग्रेसलाई नयाँ बनाउनेभन्दा पनि २००७ सालको कांग्रेसजस्तो बनाउनेतिर सोच्नुपर्छ । त्यस्तो कांग्रेस, जसमा जनताको पूरापूरा भरोसा हुन्छ । वामपन्थी फुट्लान् र हामी उदाउँला भन्ने सोच राख्नु हुन्न ।

 मधेसलाई समेट्न भनेर संविधान संशोधनको नारा दिनुभयो । तर नतिजा हेर्दा मधेसको जनमत पनि तपाईंहरूविरुद्ध नै गएको देखिन्छ नि ?

त्यसैले मैले भनेको, कतिपय निर्णय सही भए पनि प्रभावकारी रूपमा लैजान सकिएन । हामीले पुष्टि गर्न नसकेको एउटा निर्णय यही हो, संविधान संशोधनको । यो बाटो असाध्यै सही थियो । हामीले पनि यो बाटो नराखेर कुनै न कुनै खालको अतिवादी धार नै समातेको भए न अहिले चुनाव हुन्थ्यो, न त कसैले जित्न या हार्न नै पाउँथे । हामीले मध्यमार्गी बाटो समायौं । सबैलाई मिलाएर अघि जान खोज्नु कठिन प्रक्रिया हो । यस्तो प्रक्रिया अपनाउँदा कहिलेकाहीं धेरै कुरा गुमाउन सकिन्छ । तर त्यो कसैले गर्नुपर्छ । त्यही गर्न खोज्दा हामीलाई कायर भएको, कमजोर भएको, आत्मसमर्पणवादी भएको ढंगले प्रस्तुत गरियो- मधेस, पहाड सबैतिर । हो, यहींनेर चाहिन्छ- नेतृत्व । नीतिलाई प्रभावशाली ढंगले लैजान नेतृत्व चाहिन्छ, जसलाई जनताले पत्याऊन् । किन संविधान संशोधन मागिएको हो भन्नेबारे जनतालाई बताउन चुक्यौं । हामी हिँडेको बाटो ठीक थियो, भरोसायुक्त नेतृत्व नहुँदा जनमतलाई आश्वस्त गर्न सकिएन ।

यी त आफ्नै ठाउँमा छन् । तर गलत निर्णयहरू पनि भएका थिए नि ?

हो, भएका थिए । अहिले कांग्रेसको बारेमा सबैभन्दा बढी छलफल गरिने विषयहरू हुन्, प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग, आईजीपी प्रकरण, जम्बो क्याबिनेट । यदि यी निर्णयहरू अपराध थिए भने त्यसको एउटा पार्टनर त माओवादी केन्द्र पनि थियो नि । माओवादी अहिले कहाँ छ, एमालेसँग गठबन्धनमा । यदि हाम्रो लाइन आत्मसमर्पणवादी थियो भने त्यसको एउटा नेता प्रचण्ड हो नि । उहाँ एमालेसँग हुनुहुन्छ । विगत १० वर्षमा भएका कतिपय गलत शासनको एउटा कारण हामी हो भनी कसैले भन्छ भने, सबैभन्दा कम सरकारमा बसेको त हामी हो नि ।

वामपन्थी कमजोर हुँदा कांग्रेसका लागि स्पेस बन्छ भन्ने धारणा राख्नु नै गलत हो ।

कांग्रेस पुनर्जागरणको धारणा भनेको हाम्रो आफ्नो एजेन्डा, पहिचान र कार्यशैलीमा प्रखरता ल्याएर जनतामा जाने नै हो ।

कांग्रेसलाई नयाँ बनाउनेभन्दा पनि २००७ सालको कांग्रेसजस्तो बनाउनेतिर सोच्नुपर्छ । त्यस्तो कांग्रेस, जसमा जनताको पूरापूरा भरोसा छ ।

कांग्रेसकै केही साथीभाइले चुनाव सार्न वा संघ र प्रदेश चुनावलाई अलगअलग मितिमा गर्ने प्रस्ताव नल्याएका होइनन् । तर प्रधानमन्त्रीले बरु प्रलय हुन्छ भने होस्, तर म चुनाव सार्दिनँ भनेर कडा अडान लिनुभयो ।

एउटा संगठित पार्टीका सशक्त अभियन्तासँग हामी लड्दै थियौं, जब कि हामीसँग केही पनि कुरा योजनाबद्ध थिएन । एक्लै लडेर आयौं । सिंगो कांग्रेस पार्टी यसपटक चुनावमा होमिएको थिएन ।

कसरी योजनाबद्ध प्रोपागान्डाका शृंखला चले ! वास्तवमा हामी त बल्लबल्ल बाँचेर यसपालि आएका हौं ।

हाम्रा लागि यो नेतृत्वको औचित्य अब सकियो । त्यसैले पार्टी नेतृत्वदेखि संसदीय दल सबैतिर नयाँ कुरा चाहियो ।

बढी सरकारमा बस्ने त यही वाम गठबन्धनका पार्टी हुन् नि । तर चुनावमा खै बताउन सकेको ? हामीसँग क्षमता र शैली नै भएन । हो, मैले यहींनेर लिडरसिपको कारण देखाएको । जनता हाम्रो नेतृत्वसँग यति सञ्चारविच्छेदको अवस्थामा थिए कि नेतृत्वले बताएको कुरालाई उनीहरूले लिइरहेकै थिएनन् ।

 देउवालाई भन्न खोज्नुभएको ? किनभने प्रधानमन्त्री र पार्टी सभापति दुवै पदमा उहाँ हुनुहुन्छ ।

म त्यसरी एकजनालाई भन्दिनँ । पार्टीका निर्णयहरू लिने र सञ्चालन गर्ने कुरामा सामूहिकताको पद्धति अवलम्बन गरिएको छ । त्यसैले एकजनालाई भागीदार बनाएर पन्छिन मिल्दैन । त्यसैले कतिपय कुरामा हाम्रा कमजोरी छन् । तर नेतृत्वले एउटा पुस्ता वा पंक्ति भन्दै गर्दा त्यसमा अरू नेता पनि पर्नुहुन्छ, जो जिम्मेवारीमा वा कम जिम्मेवारीमा हुनुहुन्छ ।

 नामै लिएर भनौं न, रामचन्द्र पौडेल, शशांक कोइराला ?

जसले आफूलाई पार्टीभित्र वरिष्ठ नेता, प्रभावशाली नेता भन्नुहुन्छ, जसको निर्णय हामी अखबारमा पढेर थाहा पाउँछौं । त्यो समूहले नै जिम्मेवारी लिनुपर्छ । एउटाको ठाउँमा अर्को आउने कुराले हामीलाई कहीं पुर्‍याउँदैन । किनभने त्यो समूह एकै तरिकाले बनेको समूह हो, जसमा कोही महाधिवेशनमा हारेका होलान्, कोही जितेका ।

भनेपछि अब कांग्र्रेसको पुनर्जागरणकाल सुरु भयो ?

भयो, अब त भयो भयो । कांग्रेसका साथीहरूलाई मेरो अपिल छ : हामीसँग यो बेला दुईवटा विकल्प छन् । एक, हामी असाध्यै कमजोर भएर सकियौं भन्ने लघुताभासमा बस्नुपर्‍यो । दुई, यो हार कांग्रेसलाई पुनर्जागृत गर्ने ठूलो अवसर हो भन्ने ठानेर अघि बढ्नुपर्‍यो । हामीले पहिलो संविधानसभामा पनि करिब यस्तै अवस्था भोगेका थियौं । माओवादीले जहाँतहीं जितेका बेला कांग्रेस बिस्तारै पुनर्जागृत भएको हो । तर त्यसका लागि नयाँ काम गर्नुपर्‍यो । हिजोकै शैलीमा हिजोकै काम गरेर फरक नतिजा आउँदैन । पार्टीका साथीहरू, तपाईंहामी दोस्रो विकल्पमा जाऔं । यो, त्यो नभनी अहिले बनेका सारा गुटहरू भत्काइदिऔं । समान ढंगले पार्टीप्रति चिन्तन भएका साथीहरू एक ठाउँमा आऔं ।

यो चुनावले कांग्रेस मात्रै लोकतन्त्रको पहरेदार हो भन्ने मान्यता खण्डित गर्‍यो भन्ने लाग्दैन ? एमाले पनि प्रतिबद्ध लोकतन्त्रवादी भएर आइसक्यो । अनि विवेकशील साझा पार्टीलगायत पनि आइसके ।

मुख्य समस्या के रह्यो भने आजका मतदातालाई लोकतन्त्रको मुख्य न्यारेटिभ हामीले कहिल्यै बताएनौं । सबै जाति, भाषा, क्षेत्रका जनतालाई राज्यप्रति अपनत्व जगाउने विचारको पक्षपोषण गर्नुपथ्र्यो । अनि जनताको उन्नतिको बाटो खोज्नुपथ्र्यो । कांग्रेसले २००७ सालमा, २०४६ सालमा लडेको थियो भनेर गौरव गर्ने विषय त हो, तर त्यति मात्रै भनेर अबका मतदातालाई एजेन्डा सम्प्रेषण गर्न सकिन्न । अबका मतदाताले २०८० सालमा नेपाल कस्तो होला भनेर कल्पना गर्छन्, त्यस्तो समयमा पुग्न हामीसँग कस्तो पार्टी चाहिन्छ भनेर कल्पना गर्छन् । यस्तै विश्वासहरू जागृत गर्ने नेतृत्व र योजनाका लागि विशेष महाधिवेशन चाहिन्छ ।

तपाईंलाई यस्तो डर लाग्दैन, अब वाम गठबन्धनले पपुलिस्ट नाराहरू दिएर सर्वसत्तावाद लाद्नेछ ?

मेरो सबैभन्दा ठूलो डर यसैमा छ । यही कुरा कांग्रेसले जनतालाई बुझाउन सकेन । हामीले अधिनायकवाद आउन सक्छ भनेर मानिसलाई भन्यौं । लोकतन्त्र जनताको जीवनमा यसरी प्रवेश गरिसकेको छ कि अब कसैले त्यसलाई आफ्नो अनुकूल अधिनायकवादमा लैजानेछ । ती पार्टीहरूका घोषणापत्र पढ्दा, हिजो सरकारमा बसेर गरेका कामका तौरतरिका हेर्दा अब बन्ने सरकारले लोकरिझ्याइँका लागि यस्ता कार्यक्रम ल्याउन सक्छ, जसलाई राज्यले थेग्न सक्दैन । हामीले अब दुईतीन वर्षभित्र ठूलो फटको मारेनौं भने त्यसपछि समय फर्केर नआउन सक्छ । हाम्रो जनसांख्यिक बनोट उमेरका हिसाबले पनि रूपान्तरण हुँदै जान्छ ।

हामी क्रोनी क्यापिटालिज्म भन्छौं नि, पुँजीवादको एकदमै विकृत रूप । नेपाली अर्थतन्त्रका विविध ठाउँहरूमा पार्टीबाट संरक्षित, नियन्त्रित समूहहरूको वर्चस्व रहने अवस्था आउन सक्छ । लोकरिझ्याइँका बढीभन्दा बढी कार्यक्रम आउन सक्ने सम्भावना छ । पुँजी निर्माण गर्नेतिर अर्थतन्त्रलाई लैजानेमा सरकार कति लाग्छ, हेर्न बाँकी छ । तत्काल केही समयका लागि मान्छेको मन पनि तान्ला, तर दीर्घकालीन राहतको दिशामा नजाने खतरा छ । यो मैले सरकारमा सँगै बसेर काम गरेको आधारमा, अनि संसद्का विभिन्न समितिमा बसेको, घोषणापत्रहरू पढेको, अनि नेताहरूका उठबसबाट थाहा पाएको हुनाले भनिरहेको छु ।

वाम गठबन्धनदेखि तपाईंहरूका निर्णयहरूसमेतमा हाम्रो राजनीतिलाई भूराजनीतिले ठूलो प्रभाव पार्ने गरेको चर्चा हुन्छ । पछिल्ला दिनमा राष्ट्रिय सामथ्र्य बढेको अनुभूति जनतामा छ । तर के नेतृत्वहरूको टकरावका कारण हामी अर्को दुष्चक्रमा फस्दैछौं ?

नेपाल गलत बाटोमा नजाओस् भन्ने सन्दर्भमा सर्वाधिक ठूलो भूमिका अब नेतृत्व गर्ने पार्टीको हुन्छ । उसले यो विषयलाई कसरी ह्यान्डल गर्नेछ ? घरभित्रको जनमतलाई आकृष्ट गर्ने नाममा झन् ठूलो दुर्घटनामा लिएर पो जान्छ कि ! विवेक पुर्‍याएर सबैलाई समेटेर पो जान्छ कि ! कांग्रेस यसमा प्रतिक्रियात्मक भएर चल्नु हुँदैन । संसदभित्रको प्रतिपक्षी हुनाले हामी प्रजातान्त्रिक मूल्यमा जसरी कतै सम्झौता गर्दैनौं, त्यसैगरी राष्ट्रिय स्वार्थका विषयमा पनि न समर्पण, न गलत सम्झौता, न कसैप्रति अनावश्यक रुझान । हामी कसैको खेल्ने मैदान पनि नबनौं, अतिरिक्त चासोको विषय पनि नबनौं । हामी सबैसँग सन्तुलित सम्बन्ध कायम राख्दै आफ्नो बाटो आफैं तय गरौं ।

वाम गठबन्धन बनेसँगै कांग्रेसले अब चुनाव हुन दिन्न भन्ने त्रास फैलिएको थियो । तर चुनाव सफल भइछोड्यो । त्यसको जस आफूले पाउनुपथ्र्यो भन्ने तपाईंलाई लाग्दैन ?

कांग्रेसकै केही साथीभाइले चुनाव सार्न वा संघ र प्रदेश चुनावलाई अलगअलग मितिमा गर्ने प्रस्ताव नल्याएका होइनन् । केही साथीहरूले माघ ७ मा संसद् पो रहन्न भनेको हो त, वैशाखमा चुनाव गर्दा के जान्छ समेत भन्नुभयो । तर प्रधानमन्त्रीले बरु प्रलय हुन्छ भने होस्, तर म चुनाव सार्दिनँ भनेर कडा अडान लिनुभयो । तर ओलीजीले चुनावकै दिनसमेत प्रधानमन्त्रीले सार्ने प्रयास गरे पनि चुनाव सफल भइछोड्यो भन्नुभयो । हामी आफूले गरेका सफल कामहरूको जससमेत लिन कसरी चुकेछौं भन्ने सबैभन्दा ठूलो उदाहरण यही हो । यस्ता कति काम भए, कति ।

 सामान्य अवस्था रहे अब केपी ओली प्रधानमन्त्री बन्दै हुनुहुन्छ । उहाँलाई तपाईंको के सन्देश छ ?

माओवादीले ०६४ को संविधानसभामा प्रचण्ड मत पाउँदाको अहंकार खुलामञ्चमा प्रकट भएको थियो । त्यो अहंकारले अन्ततः सिंगो पार्टी र देशलाई असफलतामा लगेको थियो । दोस्रोपल्ट त्यो सफलता कांग्रेसलाई प्राप्त भयो । सुशील कोइरालाको विनम्रताबाट त्यो यात्रा प्रारम्भ भयो । एमालेलाई कसरी सरकारमा ल्याउने, माओवादीसँग सम्बन्ध कसरी सुधार गर्ने । बाबुराम भट्टराईलाई संवैधानिक समिति सभापति बनाएर त्यो यात्रा अघि बढ्यो । संविधान निर्माणको ठाउँसम्म सफलतापूर्वक अघि बढ्न हामीलाई यस्तै निर्णयहरूले सघाएका थिए । ओलीजी, यो चुनावमा पाउनुभएको सफलताको लागि तपाईंलाई बधाई छ । चुनावअगाडि देखिएका अहंकारहरू बिसाएर यात्रा सुरु गर्नुहोस् । तपाईंका लागि पनि यो यात्रा सुखद रहनेछ, हामीलाई र देशलाई पनि । प्रचण्डजीले बोकेको अहंकारकै भारी आफू पनि बोकेर यात्रा गर्नुभयो भने त्यसैले थिचिएर असफल हुनुहुनेछ ।

प्रचण्डलाई चाहिँ के सन्देश छ ? उहाँ त तपाईंहरूसँगै अहिले सरकारमा पनि हुनुहुन्छ ।

(हाँसो) यसबारे चाहिँ मैले सोचेको रहेनछु । उहाँलाई मेरो यत्ति भन्नु छ- अहिलेसम्म हामीसँगै हुनुहुन्छ । अब गठबन्धनको सरकार बन्ला । अहंकार र अतिवादको भारी बोकेर ओलीको यात्रा होला कि भन्ने मैले आशंका गरेको छु । तपाईंको आफ्नै अनुभवका आधारमा पनि त्यो सहयात्राको प्रारम्भ त्यसरी नहोस् । राष्ट्रिय राजनीतिमा समन्वयको भूमिका तपाईंबाट अपेक्षित छ । राष्ट्रिय राजनीति चर्को ध्रुवीकरणमा नजाओस् ।

तपाईंलाई साँच्चिकै विश्वास छ, एमाले-माओवादी गठबन्धन पार्टी एकतासम्मै पुग्नेछ ?

(एकछिन सोचेर) शंका छ । यो गठबन्धनलाई जतिसुकै सैद्धान्तीकृत गरे पनि यात्रा सँगै अघि जाला भन्नेमा शंका छ । हामी सरकारमा नजिकै बसेर हेरेको आधारमा, हामीसँग भएका छलफलहरू पनि थाहा छ । अंकगणितका बारेमा पनि राम्रै ज्ञान छ । बाहिर जे भनिए पनि भित्र हिसाब नमिलेको थाहा पाइसकेपछि… (फेरि हाँसो) । पत्याइहाल्ने बेला भएको छैन । तर प्रि-इलेक्सन अलाइन्स आफैंमा खराब कुरा होइन । हाम्रो निर्वाचन प्रणालीले यस्ता गठबन्धनको माग पनि गर्छ । यत्ति हो, उहाँहरूको गठबन्धन बन्यो, हाम्रो सफल भएन । तैपनि गठबन्धन एउटै पार्टी बनेर जाओस्, शुभेच्छा छ । – साभार:अन्नपुर्ण पोस्ट बाट

यी समाचार पनि पढ्नुहोस्
Scroll Up