‘मेरो रियल टेष्ट नौ महिना स्वास्थ्यमन्त्री हुँदा भयो भन्ने मान्छु’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ मा वाम गठबन्धनका डा. राजन भट्टराईसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापालाई असुविधा के छ भने उनी दोस्रोपटक चुनावी मैदानमा छन् । तर, राजन चाहिँ नयाँ उम्मेदवार भएकाले बिग्रेको, भत्केको केही पनि जिम्मा लिनुपरेको छैन ।

हामीले बुझ्दाखेरि काठमाडौं ४ को चुनावी मुद्दा नै त्यहाँको बाटो, खाजेपानी, धुलो, इत्यिादि बनेको छ । पुराना जनप्रतिनिधि थापाले विकासका यी कामहरु भए/नभएको स्पष्टीकरण दिनुपरिरहेको छ भने एमाले उम्मदेवार भट्टराईले अघिल्लाले काम नगरेको ‘मसला’ बनाइरहेका छन् ।

आखिर काठमाडौं क्षेत्र नम्बर ४ को चुनावी परिस्थिति के हो ? यसबारे हामीले कांग्रेस नेता थापालाई प्रश्नहरु सोध्दा उनले भने- ‘मतदातालाई प्रश्न गर्ने अधिकार छ, म अघिल्लो पटकको चुनावमा जति आशावादी थिएँ, अहिले पनि त्यति नै आशावादी छु ।

काठमाडौं ४ को चुनावी परिणाम कस्तो आउला ? पूर्वमान लगाउन सकिने अवस्था छ कि बाहिर भनिएको जस्तो रोचक भिडन्त नै छ ?

काठमाडौंको चुनावी परिणाम के होला भनेर अनुमान लगाउने काम असाध्यै गाह्रो कुरा हो । योभन्दा अघिल्लो चुनावमा म जसरी प्रतिस्पर्धा गरिरहेको थिएँ, त्यसबेला पनि चुनाव जितिन्छ भन्ने थियो । तर, मतान्तर त्यति ठूलो हुन्छ भन्ने थिएन । किनकि हेभिबेट पासाङजी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । मेरै पार्टीका निवर्तमान सांसद बागी हुनुहुन्थ्यो ।

योपटक पनि मलाई घरदैलोमा पहिला जुनखालको न्यानोपन पाएको थिएँ, त्यो अहिले पनि पाएको छु । फरक के छ भने कतिपय ठाउँमा आक्रोश छ, सुझावहरु छ । पहिला आफ्ना कुरा भन्नुहुन्छ तर, जानेबेलामा कि स्वास्थ्यमन्त्री हुँदा गरेको कामको कुरा गर्नुहुन्छ, कि यसरी भएन, तिमीले यो देश चलाउनुपर्छ भन्नुहुन्छ ।

अघिल्लो पटक जोसँग प्रतिस्पर्धा गर्नुभयो, एकजना (नन्दबहादुर पुन) उपराष्ट्रपति बन्नुभयो । अर्का (निर्मल कुइँकेल) प्रदेशतिर झर्नुभयो । योपटक नयाँ प्रतिस्पर्धी वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा (डा.राजन भट्टराई) आएका छन् । केही फरक छ ?

मेरो रियल टेष्ट भनेको नौ महिना स्वास्थ्यमन्त्री हुँदा भयो भन्ने मान्छु हो । स्वास्थ्य क्षेत्रको मान्छे नभए पनि नेपालमा काम गर्न सकिन्छ भन्ने स्थापित गर्न प्रयास गरेँ भन्न लाग्छ

ए… । त्यस्तो फरक छैन । अघिल्लोपटक लगातार भनिएको र मैले पनि मानेको के हो भने चुनाव एकदम गाह्रो छ । नन्दकिशोर पुन पासाङको मत अनुमान गर्न सकिने अवस्था थिएन । माओवादी पार्टी कमजोर थियो तर, पासाङ भनेको पासाङ हो भन्ने थियो ।

अर्को समस्या मेरो पार्टीका नेता एवं निवर्तमान सांसद सुप्रभा घिमिरे आफैं चुनाव लड्नुभएको थियो । त्यसको प्रभाव के पर्छ भन्ने कुनै अनुमान नै थिएन । राप्रपाबाट पनि हेभिवेट उम्मेदवार हुनुहुन्थ्यो । त्योबेला मैले चुनावभर एकदमै गाह्रो छ भनेर काम गरेको हो ।

यो पटक पनि डे वानबाट यो चुनाव मेरा लागि चुनौतीपूर्ण छ । प्रतिकुलताहरु धेरै छन् । दोस्रो र तेस्रो पार्टी मिलेका छन्, राष्ट्रिय राजनीतिमा मेरो पार्टी नेतृत्वले गरेको भूमिका कारण मेरो उम्मेदवारीमा ठूलो मद्दत पुर्‍याउने अवस्था छैन ।

काठमाडौंको मनोविज्ञान सत्तासँग चाँडै असन्तुष्टि गर्ने मनोविज्ञान हुन्छ । म दोहोर्‍याएर सांसद हुन गएकाले जनताका असीमित आवश्यकता छन्, स्रोत र साधनको सीमितता छ ।

अहिले काठमाडौंका मेयर वा कुनै वडाध्यक्ष चुनाव लड्न जानुभयो भने के हालत होला अनुमान लगाउन सक्छु । त्यसैले यो चुनावमा मेरा अनुलुकताभन्दा प्रतिकुलता धेरै छन् ।

अर्को प्रतिकुलता त स्थानीय चुनावको मत पनि त होला नि ?

हो, त्यो पनि ठूलै प्रतिकुलता हो । (काठमाडौं महानगरका ४ मध्ये २ वडा र बुढानीलकण्ठका ८ मा सबै वडा एमालेले जितेको छ) प्रतिकुुलताहरुको बीचमा मैले चुनाव लड्नु छ ।

यस बीचमा चुनाव जित्ने आधार भनेको मसँग कांग्रेसको सिंगो पार्टीपंक्ति एक ढिक्का भएर चुनावमा होमिएको छ, जो स्थानीय चुनावमा केही असन्तुष्टि थिए । राप्रपाको राम्रो उपस्थिति भएको हो र उहाँहरुको समर्थन पाएको छ ।

यहाँका पुराना माओवादीहरु, जो आन्दोलनबाट आउनुभएको हो । उहाँहरुले गणतन्त्रको आन्दोलनमा मलाई नजिकबाट देख्नुभएको छ र सजिलैसँग जोडिनुहुन्छ ।

एमालेको कार्यकर्ता होइन, मतदाता ठूलो पक्ति, जसले अघिल्लोपटक पनि मलाई भोट हाल्नुभएको थियो । उहाँहरु मैले राष्ट्रिय राजनीतिमा खेलेको भूमिका र लिएको अडानहरुबाट पूर्ण सन्तुष्ट नहुनुहोला तर, मन नै दुखाउने अवस्था छैन । त्यो मतको निरन्तरता रहने मेरा लागि अनुकुलता हो । योङ भोटरहरु पनि मेरा लागि अनुकुलता हो ।

यो ठाउँमा स्वतन्त्र मतदाताहरु पनि हुनुहुन्छ, जसले अन्तिम समयमा मात्र निर्णय गर्नुहुन्छ । उहाँहरु हेरिराख्नुभएको छ । जे जस्तो भए पनि हामी दुबैजना हिजो संसदमा बसेर आएका छौं । मेरो ट्रयाक रेकर्ड भएजस्तै प्रतिस्पर्धीको पनि ट्रयाक रेकर्ड छ ।

म प्रत्यक्ष निर्वाचित भएकाले प्रतिकुलता धेरै होला तर, यो सिस्टममा हामी दुबैले बसेर काम गरेका हुनाले विल्कुल नयाँ उम्मेदवार जस्तो सुविधा प्रतिस्पर्धीलाई छैन ।

अघिल्लो चुनावमा जसले तपाईलाई मत दिए, आफ्ना बाबुआमालाई कन्भिन्स गर्ने प्रयास गरे । यो पटक पनि उनीहरुलाई आफूहरुतिर तान्न सक्नुहुन्छ ?

म (युवा मतदाता आकर्षित) भएको देख्छु । किनकि युवाहरुको निराश वा आक्रोश काम भएन, रिजल्ट आएन भन्ने हो । र, मेरो परीक्षा पनि त्यही विषयमा भयो होला भन्ने ठान्छु । यसरी हेर्दा मेरो रियल टेष्ट भनेको नौ महिना स्वास्थ्यमन्त्री हुँदा भयो भन्ने मान्छु हो ।

स्वास्थ्य क्षेत्रको मान्छे नभए पनि नेपालमा काम गर्न सकिन्छ भन्ने स्थापित गर्न प्रयास गरेँ भन्न लाग्छ । काठमाडौंका विवेकशील मतदाताले यसलाई नजिकबाट हेरेका छन्, बुझेका छन् ।

झण्डै एक महिनाको चुनावी घरदैलोमा पनि यही पाएको छु । ‘ल ठीक छ तपाई नआत्तिनुस्, तपाईले गरिरहेको देखेका छौं हामीले’ भन्नुहुन्छ । शायद मैले कमाएको पनि त्यही नै हो ।

यसको विपरीत स्थानीय मुद्दाहरुलाई लिएर धेरै प्रश्नहरु पनि आएका छन् नि ?

अँ … । यो निर्वाचन क्षेत्रमा भएका स्थानीय मुद्दाहरुमा अग्रसरता लिएको सन्दर्भमा मेरो दाबी त होइन, तर, सम्भवत २४० निर्वाचन क्षेत्रमा राष्ट्रको ढुकुटीबाट वा बाहिरबाट स्रोत साधन जुटाएर लिएर जाने मेरो क्षेत्र होला । मेरो कत्रो ठूलो असफलता होला त ! यही मुद्दामा रक्षात्मक हुनुपर्ने । यो त मेरो सबैभन्दा ठूलो हतियार हुनुपर्थ्यो ।

मेरो मात्र यस्तो क्षेत्र हो, जहाँ क्षेत्रको विकासका लागि भनेर सांसदको कार्यालय खोलिएको छ । एउटा सरकारी अड्डामा जस्तो प्राविधिक, गैरप्राविधिक बसेर क्षेत्रको काम गरेका छन् ।

त्यसको प्रभाव पनि छ । तर, मैले काम गरेको छु भन्नुपर्ने वा प्रतिस्पर्धीले चुनावको बेलामा यो एउटै विषयलाई उठाउने अवस्था आउन दिने मैले वातावरण बनाएछु । यसले कम्युनिकेशनमा कति कमजोर भइएछ भन्ने ठूलो पाठ सिकाएको छ ।

भनेको तपाईको दाबी काम गरेको छु भन्ने हो ?

काम गरेको छु मात्र होइन, सम्भवतः २४० निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै गरेको छु भन्ने हो । एउटा सांसदले आफ्नो निर्वाचन क्षेत्रमा के गर्छ त ? राज्यको ढुकुटीबाट आफ्नो धेरैमा धेरैभन्दा धेरै पैसा (योजना) ल्याउँछ ।

मेरो निर्वाचन क्षेत्रमा सडक पूर्वाधारमा मात्र चुनावमा जाँदै गर्दा ४ अर्ब भन्दै थिएँ । गएको एक डेढ महिनामा एक अर्ब थपेछु । अर्थात मैले बोकेर हिँडेको फाइलमा तोक लगाएर ल्याएको छु ।

स्वास्थ्यको पूर्वाधारमा त नेपालकै नगरपालिकामध्ये यो मात्र त्यस्तो ठाउँ हो, जहाँ यति ठूलो लगानी हुँदैछ । महानगरतर्फ नक्साल, चाबहिलमा मैले काम गरिसकेको साना साना परियोजना होइनन् । यो सबैलाई एक ठाउँमा राखेर हेर्दा त उत्कृष्ट दाबी गर्ने आधार थियो ।

तर, ठूला दुई कमजोरी भएछ जस्तो लाग्छ अहिले फर्किएर हेर्दा । बाटोघाटोहरु बनाउने सन्दर्भमा मैले यतिधेरै महत्वाकांक्षा राखेंछु कि सबै सडक एकैपटक खोल्नतिर लागेँ । यसले मानिसहरुको दैनिक जीवनमा अप्ठ्यारो पर्‍यो । यसो गर्नुको साटो २/३ वटा बैकल्पिक मार्गहरु राखेर बाँकी सडकमा काम गरेको भए सहज हुने रहेछ ।

अर्को, कमजोरी म स्रोत साधन जुटाउनमा बढी केन्दि्रत भएँ । स्रोत साधन आएपछि स्थानीय स्तरमा काम भइरहेको ठाउँमा प्रत्यक्ष उपस्थित भएर मानिसहरुलाई दिनरात काम गरेको अनुभूति गराउन सक्नुपर्थ्यो ।

यो कम्युनिकेशनको अर्को तरिका त थियो नि ! शायद यसले मानिसहरुलाई गाह्रो साह्रो थाहा हुन्थ्यो र यो संसदको कुरा होइन है, बाटोको ठेक्का नै २ वर्षलाई छ । ६ महिनामा बनेन भनेर सांसदलाई भन्न मिल्दैन है भन्ने थाहा हुन्थ्यो । यो मेरो कमजोरी भएकै हो र आगामी दिनमा सच्याउँछु ।

यसलाई लिएर मलाई मेरो मतदाताले ‘तँ मेरो सांसद होस्, योभन्दा राम्रो गर्नुपर्थ्यो, ६ महिनामै सक्नुपथ्र्यो’ भन्ने स्वीकार गर्छु । तर, प्रतिस्पर्धीले भन्नुभयो भने स्वीकार्य हुँदैन ।

किन ?

मेरो क्षेत्रमा पर्ने धेरै सडकहरुको एकातिर क्षेत्र नम्बर ३ मा पर्छन् भने अर्कातिर क्षेत्र नम्बर ४ पर्छन् । त्यसतर्फ छलफल गर्नुपर्‍यो भने ‘हाम्रो ठेक्का प्रणाली नै खत्तम छ, वर्षौसम्म बाटो बन्दैन’ भन्छौं । तर, जब ४ नम्बर क्षेत्रतिर आउँछौं, सांसद नै खत्तम भो भनेर बहस गरिरहेका छौं ।

योभन्दै गर्दा म फेरि भन्छु, मतदातालाई प्रश्न गर्ने अधिकार छ । हिजो मलाई नै विश्वास गरेर जिताएर पठाएपछि अरु क्षेत्रसँग तुलना गर्न पाइन्छ । यसमा मैले अझै मेहनत गर्नुपर्छ र गर्छु ।

तर, प्रतिस्पर्धी उम्मेदवारले काम भएर समस्या भएको होइन, केही काम नै भएन भन्ने छ । काठमाडौंको मुटुमा बसेका छौं तर बाटो, खानेपानीको अवस्था भयावह छ । यो क्षेत्र त इटहरी वा हेटौंडा होइन, कञ्चनपुरसँग तुलना गर्नुस् । आफैं थाहा पाउनुहुन्छ भन्छन् नि ?

उहाँ भैंसेपाटीतिर बस्नुहुन्छ । यो क्षेत्रमा चुनावमा मात्र आउँदा उहाँलाई त्यो लागेको हो, जुन स्वभाविक हो । तपाई बनिरहनुभएको घरमा आउनुभयो भने कस्तो लाग्छ ? यता सिमेन्ट फालेको छ, उता रोडा फालेको छ, कतै रड निस्किएको छ … वाफ रे वाफ यो त कस्तो रहेछ भन्ने लाग्छ । तर, यो ठाउँमा घर बन्दै गरेको छ भन्ने थाहा पाएपछि केही दिनमै सम्पन्न हुन्छ भन्ने नाइस फिलिङ आउँछ ।

मेरो क्षेत्रको अवस्था त्यस्तै हो । जतिखेर म सांसद भएर गएँ, धेरै घरहरु खहरेमाथि बनेका थिए । त्यस्तो ठाउँमा एकै पटक दर्जनौं सडकमा हात हालियो र सबै अहिले निर्माणाधीन छन् । अबको २/४/६ महिनामा सम्पन्न हुँदैछ । म कहिले काँही सोच्छु पनि ६ महिनापछि चुनाव भएको भए के हुन्थ्यो होला ?

शायद मानिसहरुले हिजोको दुःख बिर्सनुहुन्थ्यो र अहिले कहाँ छ सडक भन्ने साथीहरुले ओहो इटहरी र कञ्चनपुरका मानिसहरुलाई कपन घुमाउन लैजाऔं भन्न सक्ने अवस्था बन्थ्यो होला । तर, चुनाव त अहिले लड्दैछौं, जतिखेर सबै बाटाहरु निर्माणाधीन छन् ।

खानेपानी लगायतका पूर्वाधारमा पनि त्यस्तो भनियो भने बस्तुस्थिति नै थाहा नभएको भन्ने हुन्छ । हामी दर्जन जति खानेपानी योजनामा मात्र काम गरिहेका छौं ।

तथ्यका आधारमा हो तर, साथीहरु भन्नुहुन्छ, भएको काम तैंले गरेको हो र ? सरकारले गरेको हो । अनि नभएको, दुःख पाएको जति गगनले । यो तरिका भएन । यो चार वर्षमा क्षेत्र नम्बर ४ मा विकास निर्माणका सन्दर्भमा भएका अस्तव्यस्तता वा अप्ठ्याराका दोष सांसदका रुपमा मैले बोक्नुपर्ने हो भने म तयार छु । तर, त्यही समयमा यो क्षेत्रमा मेरो अग्रसरमा त सरकार वा बाहिरबाट बजेट ल्याएर जे जति काम भएको छ, त्यसको श्रेय दिन पनि साथीहरु उदारतापूर्वक तयार हुनुपथ्यो नि त !

यो भयो भने विकासका क्रममा व्यवस्थापनमा भएको कमजोरी वा कानुन नियममा भएको कमजोरीका कारण अस्तव्यस्त भयो भनेर सजायँ दिने कि हाम्रो सांसदले स्रोत साधनमा ल्याउन असाध्यै धेरै अग्रसरता दिएछ भनेर पुरस्कार दिने निर्णय गर्न मतदातालाई छोड्छु ।

तर, भएका काम सबै सरकारले गरेको, नभएको गगनले गर्दा भन्ने बहस फेयर भएन भन्ने मात्र हो ।

कपनमा त समस्या भएकै हो नि हैन र ? वर्षायाममा त नाकाबन्दी जस्तै अवस्था थियो नि त ?

कतिपय मतदाताले भन्नुहुन्छ, मेरै घरमा चाहिँ किन आइनस् ? त्यसलाई मैले नकारात्मक रुपमा लिएको पनि छैन ।म आइपुगिनँ होला तर, मैले गरेको स्वास्थ्य विमा तपाईको घरसम्म आइपुग्छ

कपनको घनावस्तीबाट बाहिर निस्कने ५/६ वटा बाटा छन् । सबै बाटो विस्तारमा परे र करिब-करिब एकैपटक ठेक्कामा लागे । कुनै २० करोडको छ, कुनै ५० करोडको छ । हुँदाहुँदा मेरो एक, निर्वाचन क्षेत्रको एउटा बाटोको बजेट पनि त्यहीँ लगेर हालेँ । यसले गर्दा गएको वषर्ायाममा बाहिर निस्कने सबै बाटो निर्माणधीन रहे ।

गल्ती कहाँ भयो भने अघि भने, २/३ वटा बाटो नचलाई बाँकी बनाउनुपर्ने रहेछ । यसका लागि मैले क्षमा माग्नैपर्छ ।

तर, केही होइन भने सबै सडक भत्किए, कपनमा नाकाबन्दी भयो अनि म चुप लागेर बसेँ । कसैले मानिसहरुले दुःख पाए, म चुप लागेर बसेँ भन्छ भने त्यो पूर्ण गलत हुनेछ । अहिले हेर्नुस्, सबै सडकमा काम भएका छन् किनकि सबैको म्याद सकिन लागेको छ ।

उसोभए अब केका लागि तपाईलाई भोट दिने ?

केन्द्रको संसदमा सांसद पठाउँदै गर्दा हामीले उठाउने खोजेको सांसद हो । मेरो संसदले गर्ने निर्णयबाट मेरो क्षेत्रको स्थानीय विषय मात्र होइन, सिंगो देश प्रभावित हुन्छ । त्यसैले छान्दै गर्दा यसले यसले अबको ५ वर्ष राष्ट्रिय राजनीतिमा, जनताले चाहेका विषयमा योगदान पुर्‍याउन सक्ला कि नसक्ला ? चाहिने मानिस हो कि होइन सोच्नुपर्छ ।

त्यसपछि आफ्नो वरिपरिका विषय हेर्ने हो । यसमा मेरो अनुरोध छ, मैले गरेका प्रयासहरु सकारात्मक थिए कि थिएन हेर्नुस् । कतिपय काम गर्दा तरिका गलत भयो होला तर, नियत ठीक थियो कि थिएन ? सांसदको रुपमा मैले लिएको अग्रसरता ठीक थियो कि थिएन, त्यो हेर्नुस् ।

विनाशकारी भूकम्प आएको केही घन्टामा म शिक्षण अस्पतालमा थिएँ । जहाँ बन्द भएको औषधि पसलहरु खोल्न लगाएर बाँड्ने काम गरें । भोलिपल्टबाट आफ्नो क्षेत्रमा छु । बाहिरबाट फण्ड जुुटाएर स्कुलहरु बनाउँदैछु, घरघरमा इञ्जिनियर कार्यक्रम मेरै क्षेत्रमा मात्र चल्यो । तर, कतिपय मतदाताले भन्नुहुन्छ, मेरै घरमा चाहिँ किन आइनस् ? त्यसलाई मैले नकारात्मक रुपमा लिएको पनि छैन । निर्वाचित प्रतिनिधि भनेकै म मात्र थिएँ । त्यसैले मेरै घरमा आएर भेटुनुपर्थ्यो, मेरो कुरा सुन्नुपर्थ्यो भन्नु स्वाभाविक हो ।

तर, के बुझिदिनुपर्‍यो भने भूकम्प आएका बेलामा म कतै विश्राम लिएर बसेको भए दण्डित गर्नुस् । म त दिनरात काम गरिरहेको छु । तर, प्रत्यक्ष रुपमा भेट्न सकिएन होला । म आइपुगिनँ होला तर, मैले गरेको स्वास्थ्य विमा तपाईको घरसम्म आइपुग्छ । अहिले तपाईले उपचारमा २ हजार खर्च गरिरहनु भएको होला तर, योजना अनुसार काम भयो भने केही महिनामा त्यो विल हजार रुपैयाँ हुन्छ । तरिका फरक भयो होला तर, तपाईको घरसँग आइपुगेँ नि भन्छु ।

अहिले भोट माग्दै गर्दा मैले भनेको छु, सार्वजनिक शिक्षा र स्वास्थ्यमा मेरो आफ्नो पोजिशन छ । म निर्वाचित भएर गएपछि चिकित्सा शिक्षा अध्यादेश, जसको म अभियन्ता पनि हुँ, मेरो बलबुँता लगाएर अध्यादेशलाई ऐन बनाउन लाग्छु । त्यस्ता दर्शनौं कुरा छन् ।

म सार्वजनिक शिक्षा र स्वास्थ्य सुधारमा लाग्छु, ६५ वर्ष यसमा लड्छु । पर्‍यो भने आफ्नै पार्टीविरुद्ध लड्छु । हिजो पनि लडेरै आएको हुँ । यस्ता मुद्दाहरु छन्, जसमा राष्ट्रियस्तरमा हुने निर्णयले तपाईको दैनिक जीवनलाई असर गर्छ, त्यसमा मैले चुनेर पठाउने सांसदले के काम गर्छ भनेर पनि हेर्नुपर्छ भन्ने लाग्छ ।

तर, अहिले भनिँदैछ कि अब वाम गठबन्धनको बहुमत आउँछ, कांग्रेसले विपक्षमा बस्नुपर्छ । त्यसो हुने हो भने किन गगनलाई जिताउने ? उसको पार्टीले न सरकार बनाउँछ न गगन मन्त्री हुन्छ….

मतदातालाई त्यसरी क्याल्कुलेटरमा राखेर हिसाब गर्न मिल्छ ? मिल्ने भए त मैले अस्ति १३ हजार मतान्तरले जितेको, तीनवटा पार्टी जोड्दा पनि मेरो बराबर भोट पुग्दैन । देखाइदिए त हाम्रो पार्टीलाई स्थानीय चुनावमा ! त्यसैले यसरी सरेर जाँदैन ।

दोस्रोः एकछिनलाई मानौं, कांग्रेस प्रतिपक्षमै हुन्छ । तर, सांसदमा दुई क्याटगोरीका सांसद हुन्छौं । एउटा, पार्टीको सांसद । पार्टीले हुन्छ भने हुन्छ, हुन्न भने हुन्न भन्ने एकथरि । तर, म त संसदको यो ट्रेण्ड भत्काउनुपर्छ भन्ने मान्छे हुँ । मैले पार्टीका त्यस्ता हृवीप दर्जनौं पटक उल्लंघन गरेर आएको पनि छु, चाहे त्यो लोकमानसिंह कार्की प्रकरणमा होस्, चाहे गोविन्द केसीको प्रकरणमा होस् । म अबको ५ वर्ष त्यही गर्छु, मेरा मुद्दाहरुमा म एमाले र माओवादीका सांसदहरुसँग मिलेर काम गर्छु, कतिपय कुरामा आफ्नै पार्टीविरुद्ध लड्छु ।

अब मतदाताले छुट्याउनुस्, तपाईले भनेको जस्तै यदि देशैभरबाट वाम नै वाम साथीहरु जितेर आउँदै हुनुहुन्छ भने वाम नै वाम सांसदहरु भएका बेला एक्लो वृहस्पतिजस्तो सांसद किन छान्ने । त परेको बेला हिजो आफ्नै पार्टी र मन्त्री हुँदा आफ्नै प्रधानमन्त्रीसँग लडेर आएको मान्छे हुँ, फेरि लड्छु ।

सारमा भन्नुपर्दा चुनाव जित्नेमा कति आशावादी हुनुहुन्छ ?

अघिल्लो पटकको चुनावमा म जति आशावादी थिएँ, त्यति नै अहिले पनि आशावादी छु । तर, म जितिसकेँ भन्दिँन । जनतासँग यति तागत छ कि उहाँहरुले गगन थापालाई अब ५ वर्ष सांसदका रुपमा काम गर्न नदिने, यस्तो सांसद चाहिएको छैन भन्ने चाहनुभयो थन्काइदिनुहुन्छ ।

सांसद मात्र बनाउने होइन, अब युवकहरुले देश नै सम्हाल्नुपर्छ, त्यो भन्दामाथि जाने आधार दिनुपर्छ भन्नुभयो भने ठूलो मतान्तरले जिताइदिनुहुन्छ । त्यो मतदातामा निर्भर गर्छ । जनता जनार्दन हुन् । – साभार:अनलाइन खबर बाट

यी समाचार पनि पढ्नुहोस्
Scroll Up