सुत्केरीलाई पाँच हजार प्रोत्साहन भत्ता

दाङ : दाङ उपमहानगरपालिकाले सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता स्वरुप रु पाँच हजार दिने भएको छ। मातृ तथा शिशु मृत्युदर घटाउन र सुरक्षित मातृ स्याहार गर्नका लागि सुनौलो हजार दिनका आमामा लगानी कार्यक्रम ल्याएको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए।

सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता कार्यक्रम साउन १ गतेदेखि तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामा लागू हुनेछ। गर्भवती भएदेखि सुत्केरी भएको ३५ दिन भित्रको आमा र बच्चालाई उत्प्रेरणा र पोषण स्थितिमा आमा र बच्चाको स्वास्थ्य सुधार गर्नका लागि महिला र बालबालिका कार्यक्रमअन्तर्गत कार्यक्रम ल्याएको उपमहानगरपालिकाले जनाएको छ।

कार्यक्रमअन्तर्गत प्रसूति सेवा सरकारको सूचीकृत संस्थाबाट सेवा लिएको सुनिश्चित गरिएको कागजात पेश गरी प्रसूति जाँच गरेको बच्चालाई बी.सी.जी. खोप लाएको र ३५ दिनभित्र वडा कार्यालयमा जन्मदर्ता गराएको प्रमाण पेश गर्नुपर्ने प्रावधान रहेको छ।

सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता कार्यक्रम ल्याउनुको मुख्य उद्देश्य आमा र बच्चालाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु, असल पारिवारिक वातावरणमा पोषणयुक्त खाद्य वस्तु उपभोग गर्नु, आमा र शिशुको मृत्युदरमा कमी ल्याउनु, महिला र बालबालिका मैत्री सेवा विस्तार गर्नु निरोगी सुपोषित र स्वावलम्बी नागरिक निर्माण गर्नु रहेको बताइएको छ।

प्रसूति स्याहार प्रोत्साहन पोषण भत्ता पाँच हजार दुई किस्ता गरी दिइने छ। जसअन्तर्गत चारपटक गर्भ जाँच र सूचीकृत स्वास्थ्य संस्थामा (नेपालभर या बाहिर पनि) प्रसूति सेवा लिएमा रु ९०० प्रसूति सेवा लिएका संस्थाबाट प्राप्त हुनेछ। दोस्रो किस्ता रकम रु चार हजार १०० तुलसीपुर उपमहानगरपालिकाको वडा कार्यालयबाट उपलब्ध गराइनेछ। प्रसूति स्याहार प्रोत्साहन पोषण भत्ता एकजना महिलालाई दुईवटा बच्चा वा दुईपटक प्रसूति सेवासम्म मात्र उपलब्ध गराइने छ।रासस

यी समाचार पनि पढ्नुहोस्
Scroll Up